अस्पतालले सञ्चालन गरेको औषधि पसलबाट ६ महिनामा १ करोड नाफा

चितवन । भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महिनामा एक करोड ८१ लाख ३० हजार नाफा गरेको छ । अस्पतालले सोही मूल्य बराबरको सहुलियत पनि सेवाग्राहीलाई उपलब्ध गराएको छ । अस्पतालको औषधालय प्रमुख रामहरि ढकालका अनुसार गएको छ महिनामा छ करोड १५ लाख ६० हजार बराबरको औषधि बिक्री गरिएको थियो । अस्पतालले गत आर्थिक वर्षमा नौ करोड ५० लाख २८ हजार बराबरको औषधि बिक्री गरी दुई करोड ६० लाख ८० हजार नाफा गरेको थियो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण पौडेलका अनुसार अस्पतालले बोलपत्र आह्वान गरी औषधि खरीद गर्दै आएकाले सेवाग्राहीलाई निजी क्षेत्रको औषधालयभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराउन सकेको हो । उनले भने, “अस्पतालले जति नाफा राख्छ त्यतिनै बराबरको सेवाग्राहीको रकम बचत हुन्छ ।” बाहिरी औषधालयमा भन्दा ३० प्रतिशतसम्म छुटमा अस्पतालले औषधि बिक्री गर्दै आएको छ । बिरामीको चाप बढ्दै गएपछि अन्तरङ्ग विभागमा शल्यक्रिया, सघन उपचार कक्ष र पोष्टअपका लागि औषधालय थप गरिएको छ । अस्पतालले पछिल्लोसहित तीनवटा औषधालय सञ्चालनमा ल्याएको छ । सरकारले तीन वर्षअघि आफ्नै औषधालय सञ्चालन गर्न निर्देशन दिएसँगै भरतपुर अस्पतालले औषधालय सञ्चालन गरेको थियो । छ सय सैयाको उक्त अस्पतालमा दैनिक एक हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउने गर्छन् । रासस

चितवनमा ७ औं नेपाल फर्मा तथा हेल्थ एक्स्पो हुँदै

काठमाडौं । फागुन १७ गते देखि चितवनमा मरणेपरान्त अंगदानको लागि सामाजिक अभियानसहित ७ औं नेपाल फर्मा र हेल्थ एक्स्पो २०१९ शुरु हुने भएको छ । नेपालको औषधी उत्पादनलाई ध्यानमा राखि एक्स्पोमा २ सय वटा स्टल राख्ने आयोजकको भनाई रहेको छ । उक्त एक्स्पोमा कम्तिमा १ हजारले अंगदान गर्ने अनुमान आयोजक समितिको रहेको छ । चितवनमा हुने उक्त एक्स्पोमा करिब साढे १ करोड खर्च हुने जानकारी दिएका छन् । नेपाल औषधी उत्पादन संघका अध्यक्ष दिपकप्रसाद दाहालले आधारभुत संरक्षण दिने भए ७० प्रतिशत औषधीको उत्पादन गर्न सक्ने बताएका छन् । हाल नेपालमा करिब २० अर्ब औषधी उत्पादन भएपनि २५ अर्बको बाहिरी आयात हुँदै आएको हुँदा नेपाली बजार आयातमूखी बजारको कारण नेपाली बजार अन्योलमा रहेको अध्यक्ष दाहालको भनाई रहेको छ । एक्स्पोमा १० वटा निजि क्षेत्रका अस्पताल, ३०वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय कम्पनी र १० चिनीयाँ कम्पनीको सहभागिता रहने भएको छ । काठमाडौं बाहिर पहिलोपटक हुने उक्त एक्स्पोमा ५० हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने अनुमान संघको रहेको छ ।

ग्लोबल आइएमई बैंक र चिरायु नेसनल हस्पिटलबीच सेवा सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक र चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटबीच सेवा सम्बन्धि सम्झौता भएको छ । हस्पिटलले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटका हस्पिटल डाइरेक्टर सञ्जिव राजभण्डारी र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रवद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले उक्त पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात चिरायु नेसनल हस्पिटल एण्ड मेडिकल ईन्स्टिच्युटमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहकतथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट दिने भएको छ । ग्लोबल आइएमई बैंकको हाल १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११५ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ९ लाख५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ ।