माउन्ट एभरेष्टले असार ३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ बिक्री खुला गर्ने भएकाे हाे । कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर जारी गरेकाे हाे । जारी पुँजीको १० प्रतिशत अर्थात् ८ लाख ८६ हजार कित्ता स्थानीय बासिन्दा, ५ प्रतिशत अर्थात् ८६ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३४ हजार ४०० कित्ता कर्मचारीहरूका लागि बाँडफाँड गरिसकेको छ । अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १४ करोड २७ लाख ६० हजार रुपैयाँ बराबरको १४ लाख २७ हजार ६०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका बिक्री खुला गरिने जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले छिटोमा असार ८ गते र ढिलोमा असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  

रेलको ठेक्का पनि तोड्दै सरकार, महालक्ष्मी/हिरालाई १५ दिनको अल्टिमेटम

काठमाडौं । रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजना अन्तर्गत निर्माणाधीन सिमरा-बर्दिबास रेल खण्डको ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको छ । रेल योजना कार्यालय लालबन्दी, सर्लाहीले निर्माण व्यवसायी महालक्ष्मी/हिरा एण्ड नमिता जेभीसँग भएको खरिद सम्झौता अन्त्य गर्ने तयारी गर्दै १५ दिने स्पष्टीकरण सोधेको हो ।   आयोजनाको विवरणअनुसार रेल विभाग र उक्त कम्पनीबीच २०७० मङ्सिर २१ गते सम्झौता भएको थियो । पछि २०७७ मङ्सिर २८ गते योजना हस्तान्तरण भई रेल योजना कार्यालय, लालबन्दीमा कार्यान्वयन भइरहेको थियो । सम्झौताअनुसार सिमरा-बर्दिबास खण्डअन्तर्गत चेन ७९+६०० देखि ८०+५०० सम्मको रेल ट्र्याक बेड निर्माण कार्य २०८२ कात्तिक २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो । तर पटक-पटक लिखित तथा मौखिक ताकेता गरिए पनि निर्माण कार्य सन्तोषजनक रूपमा अघि नबढेको पाइएको छ । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ तथा सम्बन्धित उपदफाहरूअनुसार सम्झौता उल्लङ्घन भएको ठहर गर्दै सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको योजना कार्यालयले जनाएको छ । निर्माण व्यवसायीलाई सम्झौता किन अन्त्य गर्नु नपर्ने भन्ने विषयमा मनासिब कारण भए १५ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको छ । 

सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडको आईपीओमा आवेदन दिने आज जेठ २१ गते अन्तिम दिन रहेको छ । जेठ १८ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले आजसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका ८५ लाख ५० हजार कित्ता सेयर बिक्री जारी गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता विदेशमा रहेका नेपाली, ३ प्रतिशत अर्थात् १ लाख ७१ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ ।  दोस्रो चरणमा कम्पनीले ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।