निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको वार्षिक साधारण सभा हुने भएको छ । उक्त साधारण सभाले महासंघको नयाँ नेतृत्व निर्वाचित हुने भएको छ । महासंघका महासचिव रोशन दाहालकाअनुसार महसंघले माघ १५, १६ र १७ गते काठमाडौंमा आफ्नो २६औँ साधारण सभा र निर्वाचन हुनेछ । प्रदेश महासंघहरू, जिल्ला संघहरु, एशोसिएट सदस्यहरु लगायत वस्तुगत संघ सदस्यहरु प्रतिनिधिहरु महसंघमा हुनेछन् । महासंघको प्रतिनिधि प्रदेश महासंघबाट अध्यक्षसहित १५ जना, ५० जनासम्म सदस्य भएको जिल्लाले ३ जना र त्यो भन्दा माथि छानबिन समितिले यकिन गरे बमोजिम हरेक ५० जनामा एक जना, ५ जना भन्दा बढी प्रतिनिधि पठाउनेले एक जना महिला अनिवार्य, एशोसिएट सदस्यहरूबाट एशोसिएट सदस्य समन्वय समितिका संयोजक सहित ३९ जना र प्रत्येक वस्तुगत संघबाट एक जना साधारण सभा प्रतिनिधि हुनेछन् । प्रतिनिधिको नामावली पुस २९ गतेसम्म केन्द्रिय कार्यालयमा पठाउन महासंघले आग्रह गरेको छ ।
दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नतिमा ७१ प्रतिशत काम सम्पन्न
म्याग्दी । म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्रगति भएको छ । यो म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त सडक आयोजना हो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा. महेन्द्र बानियाँका अनुसार दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित २०८१ साल जेठ २० गते निर्माण कम्पनीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको योजनाको ताकम खण्डमा करिब नौ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएकाले ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ । छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । सडक स्तरोन्नतिको कामले गति लिएपछि स्थानीयवासी उत्साहित भएका धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए । आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५८ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको म्याग्दी १ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बताए । गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा-काठमाडौं जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको जुग्जालीले बताए । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी हुँदै ढोरपाटनको जलजला गत असारमा सडकले जोडिएको थियो । ढोरपाटनदेखि जलजलासम्म यसअघि नै सडक निर्माण भइसकेको छ । रासस
बूढीगण्डकी ‘क’ र ‘ख’ निर्माणको तयारी, लागत ८८ अर्ब रुपैयाँ
काठमाडौं । गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । १०३.४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ जलविद्युत् आयोजना बन्ने तरखरमा रहेको आयोजनाका इञ्जिनियर दुर्गेश मगरले बताए । उनका अनुसार दुवै आयोजना नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले प्रवर्द्धन गर्न लागेको हो । कम्पनीले ३१ अर्ब ३२ करोड रुपैयाँको लागतमा बूढीगण्डकी ‘क’ र ५६ अर्ब ९९ करोड रुपैयाँको लागतमा बूढीगण्डकी ‘ख’ आयोजना निर्माण गर्न लागेको इञ्जिनियर मगरले जानकारी दिए । बूढीगण्डकी ‘क’ अन्तर्गत, धार्चे-३ को लुस्याङमा बाँध बाँधेर ४ किलोमिटर सुरुङबाट पानी ल्याई माछाखोलामा विद्युत् गृह निर्माण गर्ने योजना कम्पनीको छ । आयोजना रन अफ द रिभर प्रविधिको हुनेछ । १११ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए । सो आयोजनाको माछाखोलामा उत्पादित विद्युत् १२.७ किलोमिटर ट्रान्समिसन लाइन हुँदै बूढीगण्डकी ख मा जोडिनेछ । २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ को बाँध धार्चे-७ खानीबेंसीमा बाँधिनेछ । त्यहाँबाट ९.५ किलोमिटर सुरुङ हुँदै सोतीमा विद्युत् गृहमा विद्युत् उत्पादन गरिनेछ । रन अफ द रिभर प्रविधिको सो आयोजनामा १९७.९७ मिटर अग्लो सतहबाट पानी खसालेर विद्युत् उत्पादन गरिने इञ्जिनियर मगरले बताए । ‘यी दुवै आयोजनाको इआइ र पिपिए भइसकेको छ । भूकम्पअघि गरेका दुवै आयोजनाको सर्वेमा भूकम्पको प्रभावपछि भएको हेरफेरको अवस्थाबारे अहिले अन्तिम सर्वेको काम भइरहेको छ । आउँदो सुक्खायामबाट निर्माणको काम गर्ने तयारी छ,’ उनले भने । यहाँ उत्पादन भएको र बूढीगण्डकीबाट प्राप्त भएको गरी ३२९.४ मेगावाट विद्युत् १८.५ किलोमिटर टाढा धादिङको लापास्थित सवस्टेशनमा जोडिने छ ।