मोतिदान कन्स्ट्रक्सन: २०.९५ अर्बका आयोजना हातमा, १८ अर्ब ऋण बैंकमा
काठमाडौं । मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिले गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ८८ करोड ९० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८८.५१ प्रतिशत अर्थात् १ अर्ब ८२ करोड ६० लाख रुपैयाँ बढी हो। कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीका अनुसार प्रमुख आयोजनाहरूको समयमै कार्यान्वयन र निर्माण कार्यको विस्तारले आम्दानीमा उल्लेखनीय वृद्धि भएको हो । यद्यपि, निर्माण सामग्री तथा सञ्चालन लागत बढेकाले सञ्चालन नाफा मार्जिन भने २३.२४ प्रतिशतबाट घटेर १४.७७ प्रतिशतमा झरेको छ । कारोबार विस्तारसँगै कम्पनीको नगद आम्दानी (ग्रस क्यास एक्रुअल) पनि बढेको छ । अघिल्लो वर्ष १७ करोड ५० लाख रुपैयाँ रहेको नगद आम्दानी गत वर्ष २५ करोड ९० लाख रुपैयाँ पुगेको छ । मोतिदान कन्स्ट्रक्सनले पछिल्ला वर्षहरूमा निरन्तर उच्च कारोबार गर्दै आएको छ । कम्पनीका अनुसार आव २०७९/८० मा २ अर्ब २८ करोड रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब ७० करोड ९० लाख रुपैयाँ, आव २०७७/७८ मा ३ अर्ब १२ करोड ३० लाख रुपैयाँ, आव २०७६/७७ मा १ अर्ब २८ करोड १० लाख रुपैयाँ, आव २०७५/७६ मा २ अर्ब २७ करोड १० लाख रुपैयाँ, आव २०७४/७५ मा ६१ करोड ७० लाख रुपैयाँ, आज २०७३/७४ मा ५१ करोड ३० लाख रुपैयाँ र आव २०७२/७३ मा २२ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको अधिकांश आम्दानी सरकारी निकायसँग भएका निर्माण सम्झौताबाट आउने गरेको छ । विशेषगरी खानेपानी, सडक, पुल तथा अन्य पूर्वाधार आयोजनामा कम्पनीको उल्लेखनीय उपस्थिति रहेको जनाएको छ । हाल कम्पनीसँग कार्यान्वयन हुन बाँकी परियोजनाको कुल मूल्य १९ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी रहेको छ । यो रकम गत वर्षको आम्दानीको करिब पाँच गुणा बराबर हो । कम्पनीका अनुसार यसले आगामी चारदेखि पाँच वर्षसम्मका लागि स्पष्ट आम्दानी सुनिश्चित गरेको छ । त्यसैगरी, कम्पनीले पछिल्ला दुई वर्षमा करिब २० अर्ब ९५ करोड रुपैयाँ बराबरका तीन ठूला आयोजना हात पारेको छ । ती आयोजनाको समयमै सम्पन्नता कम्पनीको भावी आम्दानी र नाफासँग प्रत्यक्ष रूपमा जोडिएको छ । नेपाल सरकारबाट मान्यता प्राप्त ‘क्लास ए’ निर्माण कम्पनी मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिको स्थापना सन् २००९ मा भएको हो । काठमाडौंमा मुख्य कार्यालय रहेको कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक रामबहादुर गौतमले गर्दै आएका छन् । कम्पनीले देशभर सडक, पुल, भवन, सिंचाइ, खानेपानी तथा खानी उत्खननलगायतका पूर्वाधार निर्माण कार्य गर्दै आएको छ । आफ्नै क्षमतामा आयोजना सञ्चालन गर्नुका साथै आवश्यकताअनुसार अन्य निर्माण कम्पनीसँग संयुक्त उपक्रम (जेभी) मार्फत पनि परियोजना कार्यान्वयन गर्दै आएको छ । यद्यपि, कम्पनीले निर्माण क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, सरकारी बजेट खर्चमा हुने ढिलाइ, आयोजना स्वीकृति प्रक्रियाको जटिलता तथा ब्याजदरको उतारचढावजस्ता चुनौतीको सामना गर्नुपरेको जनाएको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट करिब १८ अर्ब रुपैयाँ ऋण लिएको छ । जसमा २ अर्ब ६ करोड ७२ लाख रुपैयाँ दीर्घकालीन, ३ अर्ब ५७ करोड ३ लाख रुपैयाँ अल्पकालीन तथा १२ अर्ब ३६ करोड २४ लाख रुपैयाँ मिश्रित प्रकृतिको ऋण रहेको छ । कम्पनीले उपयोग गर्ने अधिकांश बैंक ऋण परिवर्तनीय ब्याजदरमा आधारित छन् । बैंक तथा वित्तीय संस्थाहरूको आधार दर अनुसार ब्याजदर मासिक रूपमा परिवर्तन हुने भएकाले कम्पनी ब्याजदरको उतारचढावबाट प्रभावित हुने सम्भावना रहन्छ । यदि ब्याजदर अपेक्षाभन्दा उच्च रह्यो भने कम्पनीको नाफा र तरलता अवस्थामा दबाब पर्न सक्छ । तर पछिल्लो समय बैंकहरूको आधार दर घट्दो क्रममा रहेकाले निकट भविष्यमा ब्याज खर्चमा केही राहत मिल्ने अपेक्षा कम्पनीको छ । नेपालको निर्माण क्षेत्रले कुल गार्हस्थ्य उत्पादन मा करिब ७ देखि ८ प्रतिशत योगदान पु¥याउँदै आएको छ । तीव्र शहरीकरण, पूर्वाधार विस्तार तथा सरकारी र निजी क्षेत्रको बढ्दो लगानीले निर्माण उद्योगलाई थप गतिशील बनाइरहेको छ । यद्यपि, दक्ष जनशक्तिको अभाव, आयातित निर्माण सामग्रीमा निर्भरता, नियामकीय अस्थिरता तथा ठेकेदारले भुक्तानी पाउन हुने ढिलाइजस्ता समस्या अझै कायम छन् । त्यसका बावजुद पूर्वाधार विकासमा सरकारको प्राथमिकता, सार्वजनिक–निजी साझेदारी को विस्तार र आधुनिक निर्माण प्रविधिको प्रयोगले निर्माण क्षेत्रको दीर्घकालीन सम्भावना सकारात्मक रहेको कम्पनीले जनाएको छ ।
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
खोटाङ । मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ । शुक्रबार साँझ परेको भारी वर्षपछि आएको बाढीले सडक बगाएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । बाढीले सडक बगाएपछि भोजपुरबाट काठमाडौं र भोजपुरतर्फ जाँदै गरेका बस, सुमो र मोटरसाइकल यात्री समस्यामा परेका छन् । नगर उपप्रमुख विशन राईले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको र केही समय लाग्ने भएकाले धैर्य गर्न यात्रुहरूलाई आग्रह गरिएको बताए । सडक खुलाउन नगरपालिकाले डोजर तथा स्काभेटरसहित कामदार परिचालन गरेको उनले जानकारी दिए । नगरपालिका–९ का वडाध्यक्ष दिनेश कठायतले बाढीले पङ्खुखोलाभन्दा माथिबाट आएको लेदोसहितको बाढीले करिब २५÷३० मिटर सडक अवरुद्ध बनाएको र सडक खुलाउने प्रयास भइरहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले अवरुद्ध सडक खुलाउन प्रहरी चौकी चिउरीडाँडा र जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको बताए । पङ्खुखोलामा विसं २०७३ मा मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याउनेगरी ठेकेदारले काम थालेको थियो । कालोपत्रको काम सम्पन्न भएको लामो समयसम्म पनि पक्की पुल निर्माण नहुँदा खोलाबाटै यातायातका साधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । पङ्खुखोला मोटरेबल पक्की पुल अलपत्र भएको अवस्थामा श्रम संस्कृति पार्टीमा आबद्ध श्रमदाताले यही जेठ १७ गते अटो तथा मोटरसाइकल वारपार गराउने मिल्नेगरी पार्टी काठे पुल निर्माण गरेका थिए । बाढीले उक्त पुलसमेत बगाएपछि पैदलयात्रुलाई समेत आवतजावतमा समस्या भएको छ । पक्की पुलको विकल्पमा बिरामी तथा विद्यार्थीका लागि लक्षित गरेर श्रमदाताले सञ्चालनमा ल्याएको काठे पुल बाढीले बगाएपछि दीर्घकालीन समस्या समाधानमा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरिएको श्रम संस्कृति पार्टीका प्रदेश अध्यक्ष प्रताप राईले जानकारी दिएका छन् । यसैबीच, गएराति मध्यपहाडी लोकमार्गकै साप्सुखोलामा आएको बाढीले ‘ब्रेकर’ बगाएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा र साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडको सीमानामा पर्ने साप्सुखोला किनारमा निर्माण व्यवसायीले ढुङ्गा फुटाउन प्रयोग गर्दै आएको ‘ब्रेकर’ बगाएको हो । भीषण वर्षपछिको बाढीले जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । विसं २०६४ मा यहाँ नेपाली सेनाको हेलिकप्टरमार्फत बोकेर ल्याएको गाडीमार्फत यातायात सेवा सुरु गरिएको थियो । हाल जिल्लाका सबैजसो ठाउँमा यातायात सेवा विस्तार भएको छ, तर दश स्थानीय तह रहेको यस जिल्लाका अधिकांश ग्रामीण सडक करिब छ महिना मात्रै सञ्चालन हुने गरेका छन् । यहाँ हरेक वर्षको जेठदेखि कात्तिक अन्तिमसम्म समस्या हुने गरेको खोटाङ यातायात प्रालिका महासचिव हिङमाङले बताए । रासस
बिपी राजमार्गमा रात्रिकालीन बन्दको समय २ घण्टा घटाइयो, जोखिम भने कायमै
काठमाडौं । बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलाञ्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द आजदेखि पुनः थप गरिएको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार (आज) को बैठकले वर्षालगायत जोखिमका कारण एक महिनादेखि साँझ ५ः०० बजेदेखि बिहान ५ः०० सम्मको बन्दलाई दुई घण्टा घटाएर पुनः अनिश्चितकालीन रूपमा राजमार्गमा आवागमन बन्द गराइएको हो । समितिले उक्त राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडाबाट सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा रातको समयमा आवागमन बन्द गराएको जनाएको छ । अर्को सूचना जारी नभएसम्म रातको समयमा गराइएको बन्दलाई दुई घण्टा घटाएर साँझ ६ः०० देखि बिहान ४ः०० बजेसम्म गराइएको समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । अधिकारीका अनुसार हालको समयमा दिन लम्बिएकाले यात्रु तथा विभिन्न व्यवसायीको मागलाई ध्यानमा राखेर बन्दको समय घटाइएको हो । बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा खोलाको सतह बढेर डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुने भएकाले गत वैशाख २२ गतेदेखि साँझ ५ः०० देखि बिहान ५ः०० बजेसम्मको समयमा अनिश्चितकालीन रागमार्ग बन्द गराइएको थियो । वैशाख २१ गते राति वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा फसेका पाँचवटा माइक्रो बसका ८९ यात्रुको राति उद्धार गर्नुपरको थियो । यसको भोलिपल्टै समितिले रातको समयमा आवागमन बन्द गराउँदै आएको हो । सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको प्रहरी टोलीले सुरक्षित स्थानमा रोक्दारोक्दै लापरवाहीपूर्ण तरिकाले यात्रुको जीउधनलाई बेवास्ता गरेको जनाउँदै प्रहरीले सवारी चलाउने ती माइक्रो बसका चालकलाई नियन्त्रणमा लिई कारबाहीसमेत गरिएको थियो । यसैबीच, प्रहरीले राजमार्गको अवस्था बुझेरमात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ । गतसालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन गराउँदै आइएको छ ।