माण्डु हाइड्रोपावरको १०.५२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । माण्डु हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको जेठ १८ गते बसेको बैठकले १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव सुन्दर श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६लाख ३७ हजार रुपैयाँको १० प्रतिशतका दरले १३ करोड ६३ लाख ६३ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशतका दरले ७१ लाख ७७ हजार रुपैयाँ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ । 

बुटवल-नारायणगढ सडकमा यात्रा सहज बन्दै, धुलो र जाम घट्दै

काठमाडौं । वर्षौंदेखि निर्माणका कारण जाम, धुलो र अस्तव्यस्तताको समस्या झेल्दै आएको बुटवल-नारायणगढ सडक खण्डमा सवारी आवागमन अब सहज बन्दै गएको छ । सडक विस्तारअन्तर्गत ढलान तथा स्तरोन्नतिको अधिकांश काम सम्पन्न भएसँगै यात्रुले राहत महसुस गर्न थालेका छन् । निर्माणाधीन सडकका प्रमुख भागमा ढलानको काम लगभग सकिएको र सवारीसाधन सञ्चालनका लागि सडकको अवस्था सुधार भएकाले यात्रा अवधि छोटिएको छ । यसअघि घण्टौँसम्म जाममा बस्नुपर्ने अवस्था रहेकामा बुटवल-नारायणगढ यात्रा तुलनात्मक रूपमा सहज र छिटो भएको यात्रुले बताएका छन् । सडक विस्तार आयोजनाका अनुसार अधिकांश क्षेत्रमा ढलान तथा कालोपत्र सम्पन्न भइसकेको छ भने बाँकी काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्यले गति लिएसँगै सडकमा सवारीसाधनको चाप व्यवस्थापन हुन थालेको र आवागमनमा सुधार देखिएको छ । वि.सं. २०७५ देखि विस्तारको काम सुरु भएको यस सडक खण्डमा निर्माण ढिलाइका कारण यात्रुले लामो समय सास्ती भोग्नुपरेको थियो । तर हाल काम सम्पन्नतर्फ उन्मुख भएपछि यात्रु, व्यवसायी तथा यातायात व्यवसायीले राहत महसुस गरेका छन् । आयोजना पूरा भएपछि बुटवल-नारायणगढ सडक खण्डमा यात्रा अझ सुरक्षित, सहज र समय बचत हुने अपेक्षा गरिएको छ ।

१ अर्ब २१ करोडको मादी पुल अन्तिम चरणमा

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मादीमा निर्माणाधीन चार लेनको पुलको सोमबार (आज) निरीक्षण गरेका छन् ।  निरीक्षणपछि मन्त्री लम्सालले निर्धारित समयमा निर्माण पूरा गर्न निर्माता कम्पनीलाई निर्देशन दिए । पुलको भौतिक प्रगति ८४ प्रतिशत भएको छ ।  तीन सय १५ मिटर लामो पुलमा छ वटा स्पान हुनेछन् । पुल निर्माणको ठेक्का एक अर्ब २१ करोड रुपैयाँमा दिइएको हो ।  मन्त्री लम्सालले आजै मुग्लिन-पोखरा सडकखण्डअन्तर्गत पूर्वी र पश्चिमी खण्डको समेत निरीक्षण गरेका मुग्लिन-पोखरा सडक आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।