१६ करोडमा मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा १४ मेगावाट क्षमताको मुदीखोला जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु भएको छ । म्याग्दी र गुर्जाखोलाको दोभानमा धौलागिरि गाउँपालिका–४ का वडाध्यक्ष यामबहादुर घर्तीले पहुँचमार्ग निर्माण कार्यको सुरुआत गरेका हुन् । दोभानदेखि अर्चेको फेदीमा रहने बाँध निर्माणस्थलसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण गर्न थालिएको प्रवद्र्धक कम्पनी एभरेष्ट इनर्जी एण्ड इन्फ्रास्ट्रचरले जनाएको छ । प्रवद्र्धक कम्पनीका सम्पर्क व्यक्ति राम केसीले विद्युत्गृहदेखि बाँध रहने स्थानसम्म पहुँचमार्ग पुर्याएपछि सिभिल ठेकेदारमार्फत बाँध, सुरुङ र विद्युत्गृह निर्माण थालिने जानकारी दिए । 'पहुँचमार्ग निर्माणसँगै वित्तीय व्यवस्थापन, सिभिल र इलेक्ट्रोमेकानिकल ठेकेदार छनोटको कामलाई पनि समानान्तर हिसाबले अघि बढेको छ', उनले भने, 'सुरुङ निर्माणमा आवश्यक पर्ने विस्फोटक पदार्थ भण्डारण र सुरक्षाका लागि आयोजनास्थलमा नेपाली सेनाको पोष्ट राख्न आवश्यक पूर्वाधार निर्माण पनि सुरु गर्ने तयारी छ ।' अर्चेको फेदीमा बाँध, गुर्जा र म्याग्दी नदीको दोभानमा विद्युत्गृह रहने आयोजनाको चार किलोमिटर सुरुङ रहनेछ । विद्युत् खरिद बिक्री सम्झौता भइसकेको आयोजनाले विद्युत् विकास विभागबाट जेनेरेशन अनुमतिपत्र पाइसकेको छ । बाँध र विद्युत्गृहको हेड ३३७ मिटर रहेको छ । यस आयोजनाको लागत प्रतिमेगावाट रु १६ करोड अनुमान गरिएको केसीले बताए । रन अफ द रिभर (नदी प्रवाह)मा आधारित यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतमा निर्माण गरेको १३२ केभिए क्षमताको सवस्टेशनमार्फत केन्द्रीय प्रणालीमा आबद्ध गराइनेछ । दोभानदेखि डाँडाखेतसम्म म्याग्दी र सहायक नदीमा निर्माणाधीन अन्य आयोजनासँग पनि साझेदारी गरेर आठ किलोमिटर लामो प्रशारण लाइन निर्माण गरिने भएको छ । धौलागिरि गाउँपालिका–४ को भूगोल भएर बग्ने नदीहरूमा मुदीखोलाबाहेक ५३ दशमलव पाँच मेगावाट क्षमतको अपर म्याग्दी–१, ४६ दशमलव २५ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना निर्माणाधीन छन् । पैँसठ्ठी मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले जेल्तुङदेखि दोभानमा रहने बाँध जोड्ने पहुँचमार्ग निर्माणको तयारी गरेको वडाध्यक्ष घर्तीले बताए ।  रासस

पूर्व-पश्चिम राजमार्गको बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याउने निर्माण व्यवसायीको प्रतिबद्धता

काठमाडौं । पूर्वपश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धा निर्माण व्यवसायी जनाएका छन् ।  मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरेका थिए ।  मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्यालगायतका विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए ।  मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुहरुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए । उनले पुल नजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्ने उल्लेख गरे । पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती-हिराचन उपक्रम (जेभी) काठमाडौंको रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए ।  निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए ।  चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती-हिराचन उपक्रम (जेभि)सँग २४ असार २०७५मा १७ करोड २२ लाख (कर सहित) मा ठेक्का समझौता भएको थियो ।  सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नु पर्ने थियो । पछिल्लो म्याद थप बमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नु पर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ । 

कुथेली बुखरी स्मल हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर बाँड्ने

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेको छ । सञ्चालक समितिको मंसिर २५ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१÷८२ को नाफाबाट चुक्ता पुँजी १३ करोड ४० लाख रुपैयाँको १० प्रतिशतका दरले १ करोड ३४ लाख ५ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीका अध्यक्ष सरोज काजी श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार प्रस्ताव गरिएको उक्त लाभांश १४औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने उनले बताए । यसअघि कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा १० प्रतिशत बोनस सेयर ०.५२ प्रतिशत नगद गरी १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो ।