डिजेल र पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले कर बृद्धि, अब मूल्य बढ्ने

काठमाडौं । डिजेल र पेट्रोलको प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढ्ने भएकाे छ । सरकारले प्रतिलिटर पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर थपेर १० रुपैयाँ पुर्याएकाे हाे । बिहीवार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् । गत फागुन १२ गते बसेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको हो ।

माथिल्लो तामाकोसीको ठाडो सुरुङमा ३ सय ५५ मिटर पेनस्टक पाइप जडान, असारभित्रै विद्युत् उत्पादनको लक्ष्य

काठमाडौं । स्वदेशी लगानीमा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा ३ सय ५५ मिटर पेनस्टक पाइप जडान गरिएको छ । पाइप जडानका लागि सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २ सय २० मिटर र माथिल्लो ठाडो सुरुङमा १सय ३५ मिटर पेनस्टक पाइप जडान गरिएको हो । अब तल्लो र माथिल्लो ठाडो सुरुङमा क्रमशः १ सय ४७ र १ सय ७१ मिटर पाइप जडान गर्न बाँकी छ । माथिल्लो र तल्लो ठाडो सुरुङमा १० मिटरका दुई वटा पाइप जडान गर्न क्रमशः ७ र ५ दिनमा आइसकेकोले कुनै प्राविधिक समस्या नआएमा वैशाखभित्रमा पाइप जडान भइसक्ने आयोजनाले जानकारी दिएको छ । त्यसपछि माथिल्लो र तल्लो ठाडो सुरुङकोबीचमा रहेको तेर्सो भागमा पाइप जडान सुरु हुने र त्यसका लागि करिब साढे एक महिना लाग्ने बताइएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले निर्माणस्थलको निरीक्षण गरी आयोजनाका पदाधिकारी, परामर्शदाता, तीन वटै ठेकेदारहरुसँग संयुक्त रुपमा निर्माण सम्पन्न हुने कार्यतालिका बारेमा छलफल गरे । ठेकेदार कम्पनीहरुले आफ्नो तालिका अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यकारी निर्देशक घिसिङले अगामी असारभित्र कम्तिमा पनि एउटा युनिटबाट (७६ मेगावाट) विद्युत् उत्पादन गर्ने कार्यतालिका बनाइ त्यसअनुसार व्यवस्थापनमा सुधार गरी कार्यसम्पादन गर्न निर्देशन दिए । पहिलो युनिबाट विद्युत् सुरु भएपछि बाँकी ५ युनिटबाट क्रमैसँग विद्युत् उत्पादन हुने छ । ‘निर्माण सम्पन्न हुने समय तालिकामा प्रधानमन्त्री, ऊर्जा मन्त्रीलगायतको गम्भीर चासो छ, त्यसैले जुनसुकै अवस्थामा पनि चालू आर्थिक वर्षभित्रमा पहिलो युनिटबाट विद्युत् उत्पादन गर्नुपर्ने भएकाले आफूले जनाएका प्रतिबद्धता अनुसारका समय तालिकामा रहेर काम गर्नुहोला। आवश्यक समन्वय, सहयोग र सहजीकरण गर्न हामी संधै तयार छौं’, घिसिङले भने । लट २ को ठकेदारले पनि विगतमाभन्दा काममा केही सुधार गरेको देखिएको घिसिङले बताए । पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट २) ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै भारतमा रहेका टेक्स्म्याकोका प्रमुखलाई फोन गरी निर्माणमा ढिलाइ नगरिदिन आग्रह गरे । केही महिनाअघि ऊर्जा जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरे, कार्यकारी निर्देशक घिसिङ, माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठसहितको टोलीले कलकत्तास्थित टेक्स्म्याकोको मुख्यालय गई कम्पनीको उच्च व्यवस्थापनलाई भेटी निर्माणमा तिब्रता दिन आग्रह गरेको थियो । श्रेष्ठका अनुसार सिभिल कार्यअन्तर्गत मुख्य सुरुङमा ग्राउटिङ र कंक्रिटिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङमा जाने प्रवेश सुरुङमा गेट राख्ने तयारी भइरहेको छ । विद्युत गृहका सम्पूर्ण उपकरणहरु जडान भई तयारी अवस्थामा रहेका छन् । प्रसारण लाइनको १ सय २७ वटा टावर निर्माण र ४७ किलोमिटर टार टाङ्ने कार्य सम्पन्न भएको छ । रामेछापको खिम्तीमा निर्माण भइरहेको न्यू खिम्ती २ सय २० केभी सबस्टेसनको लिभिलतर्फका काम अन्तिम चरणमा पुगेको छ । उपकरणहरु जडान गरी चार महिनाभित्रमा सबस्टेसन संचालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।

सुर्खेतका सडक धमाधम निर्माण हुँदै, ४७ करोड बजेट विनियोजन

सुर्खेत । कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै गएकाले सरकारले यहाँको निर्माण कार्यलाई अघि बढाएको हो । वीरेन्द्रनगरभित्रका सडक गर्मीमा धुलाम्य तथा वर्षात्मा हिलाम्य हुने र बिग्रँदा भत्कँदा पनि सरकारले ध्यान नदिएको भन्दै वर्षे अधिवेशनमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए । राजधानी सुर्खेतको सडक, खानेपानी र विद्युत् आपूर्तिमा देखिएको समस्यालाई प्रदेशसभा सदस्यले उठाएपछि सरकारले त्यसतर्फ बढी जोड गरेको हो । प्रदेशसभा सदस्यको ध्यानाकर्षण र सरोकारवालाको सुझावसँगै कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास निर्देशनालयले राजधानी शहरका सडक पुस दोस्रो सातादेखि धमाधम निर्माण गर्न शुरु गरेको छ । भौतिक पूर्वाधार विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक वासुदेव पौडलका अनुसार २५ किलोमिटर सडक निर्माण हुन थालेको हो । “प्रदेश राजधानी शहरी सडक निर्माण कार्यक्रमअन्तर्गत नालीसहित २६ किलोमिटर सडक निर्माण गर्दैछौँ”, निर्देशक पौडेलले भने, “यसका लागि रु ४७ करोड बजेट विनियोजन गरिएको छ ।” छब्बीस सडक चालु आर्थिक वर्षका असारमा सम्पन्न हुने जनाउँदै बाँकी सडक क्रमागत रूपमा बन्दै जाने उनले बताए । उनले भने, “वीरेन्द्रनगर नगरपालिकाभित्र ४० सडक छन् । तीमध्ये ११ सडक गत वर्षदेखि क्रमागत छन् । छब्बीस यो वर्षमा नयाँ सडक छन् भने ६.५० किलोमिटर सडक समपूरक भन्ने छुट्टै शीर्षक र जनता सडकलगायत पाँच वटा शीर्षकका सडक निर्माण कार्य भइरहेको छ ।” एउटा पुल र सडकको बोलपत्र आह्वानबाहेक अरु सबै सडकका निर्माणकार्य सञ्चालन भइरहेको निर्देशक पौडेलकाे भनाइ थियो । कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले राजधानी शहरको मुहारसँगै सिङ्गो कर्णाली प्रदेशको पूर्वाधार विकासमा जोड दिने ‘स्पिरिट’का साथ निर्माण कार्य शुरुआत गरिएको बताए । यससँगै सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, वन, वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको सुरक्षार्थ पनि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रवक्ता केसीले जनाएका छन् । नागरिक समाजका अगुवा पीताम्बर ढकालले राजधानी शहरबाटै प्रदेशको विकास विस्तार गर्ने ढाँचा अघि बढाएको भन्दै सरकारको यो सोच सबैका लागि स्वागतयोग्य भएको प्रतिक्रिया दिए । उनले भने, ‘राजधानी सुन्दर, सभ्य र सुसंस्कृत हुन जरुरी छ । यसले नै हाम्रो पहिचान र सभ्यता दिने हो । सरकारले राम्रो कामको शुरुआत गरेकामा हामी कर्णालीवासी खुशी छौँ ।’ रासस