सरकारले तत्काल सडक विस्तारको नयाँ योजना नबनाउने
काठमाडाैं । काठमाडौँ उपत्यकामा विस्तारका क्रममा रहेका सडक ठेक्का सम्झौता भएको लामो समय बित्दासमेत सम्पन्न नभएपछि सरकारले नयाँ सडकमा विस्तारको योजना बनाएको छैन । काठमाडौँ उपत्यकामा सडक विस्तारका लागि चौडाइ उपलब्ध नहुने र सडकमा रहेका संरचना हटाउन पनि कठिन हुने भएकाले तत्काल विस्तारका लागि योजना बन्न नसकेको हो । अहिलेकै अवस्थामा सडक विस्तारको योजना बनाउन नसकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले काठमाडौँ उपत्यकामा १० स्थानका सडक विस्तार शुरु गरेको थियो । तीमध्ये अधिकांश स्थानमा सम्पन्न भइसकेको छैन । शुरु भएका योजना सम्पन्न नभएकै कारण नयाँ योजना बन्न नसकेको आयोजनाका इञ्जिनीयर लक्ष्मण देवकोटाले बताए । उनले भने, “निर्माणका क्रममा रहेका योजना सम्पन्न गर्नु नै अहिलेको लक्ष्य हो ।” काठमाडौँ उपत्यकामा धेरै स्थानमा अहिले पनि साँघुरा सडकका कारण स्थानीयवासी घण्टौँ सवारी जाममा पर्ने गरेका छन् । हाल निर्माणाधीन सडक नै अलपत्र भएपछि सरकारले सडक विस्तारको नयाँ योजना बनाउन नसकेको हो । सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनमा पनि निर्माणस्थल खाली भएपछि मात्रै ठेक्का सम्झौता गर्नुपर्ने व्यवस्था हुँदा नयाँ सडक निर्माणको योजना तत्काल नबन्ने देखिएको छ । चार वर्ष पहिले शुरु भएका विभिन्न सडक पनि अहिले आयोजनाले चौडाइ नबढाइ कालोपत्र गरिरहेको छ । विस्तारका क्रममा रहेका सडक लामो समयसम्म निर्माण नहुँदा धुलो र हिलोका कारण स्थानीयवासी हैरान भएपछि उलब्ध चौडाइमै निर्माण भइरहेको हो । रासस
नागढुङ्गा-कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने
काठमाडौं । चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौं प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि एक करोड रूपैयाँ बजेट विनियोजन गरेको छ । नगर प्रमुख घनश्याम गिरीले राजधानी भित्रिने प्रमुख नाकामा रहेको चन्द्रागिरीमा बटुवालाई बाटो काट्न सहजताका लागि आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिए । “आकाशे पुल निर्माणसँगै सडकमा हुने दुर्घटनामा कमी आउने विश्वास नगरपालिकाले लिएको छ”, उनले भने । यसैगरी नगरपालिकाले काठमाडौं भित्रिने प्रमुख स्थान नागढुङ्गामा प्रवेशद्वारसमेत निर्माण गर्ने भएको छ । उक्त प्रवेशद्वार निर्माणका लागि नगरपालिकाले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख गिरीले बताए । नगरपालिकाले चन्द्रागिरीका जनताको सुरक्षालाई ध्यानमा राखेर नागढुङ्गा-कलङ्की सडकखण्डमा सिसीटिभीसमेत जडान गर्न लागेको छ । सिसीटिभी जडानसँगै उक्त सडकमा घट्ने आपराधिक घटना सजिलै पत्ता लगाउन सहज पुग्नेछ । नगरपालिकाले सिसीटिभी जडानका लागि चालू आर्थिक वर्षमा रु एक करोड विनियोजन गरेर बोलपत्र आह्वानको कामसमेत अगाडि बढाइसकेको छ । उक्त नगरपालिकाले चन्द्रागिरीभित्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर वडा नं ८ मा १५ श्ययाको नगरस्तरीय अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ । भर्खरै सञ्चालनमा आएको अस्पतालमा वर्थिङ सेन्टरसमेत स्थापना गरिएको छ । चन्द्रागिरीका गाउँगाउँका बिरामीलाई अस्पतालसम्म ल्याउनका लागि नगरपालिकाले एम्बुलेन्ससमेत खरिद गर्न लागेको नगरप्रमुख गिरीले बताए । नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । रासस
पर्यटकीय गन्तव्य विकासमा तीन अर्बकाे योजना निर्माण
हेटाैंडा । वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि करिब रु तीन अर्ब खर्च गर्ने योजना निर्माण गरेको छ । प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास निर्माण, प्रचारप्रसारलगायतका कार्यमा उक्त रकम खर्च गर्ने योजना बनाएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु दुई अर्ब ८७ करोड ९५ हजारको योजना निर्माण गरी काम अघि बढाएको जनाएको छ । मन्त्रालयले यो वर्ष पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि मात्र रु एक अर्ब एक करोड ५३ लाख ९५ हजार छुटा्याइएको मन्त्रालयका योजना अधिकृत हेम पाठकले जानकारी दिए । त्यस्तै, स्थानीय पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि रु ५९ करोड ७५ लाख विनियोजन गरिएको उनले बताए। प्रदेश सरकारले प्रदेशभित्रका दश पर्यटकीय गन्तव्य स्थान तोकेरै आवश्यक भौतिक पूर्वाधार विकास प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयले काठमाडौँ उपत्यका बाहेक दश जिल्लाका स्थान नै तोकेर एकीकृतरुपमा भौतिक पूर्वाधारको विकास गर्दै ‘एक जिल्ला एक नमूना पर्यटन गन्तव्य’ निर्माण गर्न लागेको मन्त्रालयका अधिकृत पाठकले जानकारी दिए । उनले दोलखाको सैलुङ, सिन्धुलीको हरिहरपुर गढी, काभ्रेको वासुकी थुम्का, नुवाकोटको ककनी, सिन्धुपाल्चोकका ब्रमायणी, धादिङको रुबी भ्याली, रसुवाको सोम्दाङ, मकवानपुरको दामन–चित्लाङ, चितवनको मेघौली र रामेछापको जिरी शिवालयलाई पर्यटकीय गन्तव्य निर्धारण गरिएको बताएका छन् । मन्त्रालयले सिधैं नतोकेर जिल्लाबाट छनोट गरेर पठाएका आधारमा पर्यटकीय गन्तव्य तोकिएकाले ती स्थानको मात्र भौतिक पूर्वाधारको विकास गरिने बताइएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा मन्त्रालयले छुट्टै कार्यक्रम लागू गर्ने जनाएको छ । मन्त्रालयले स्थानीय तहहरुसँग सहकार्य गरेर उपत्यकाको लागि विशेष योजना बनाउने तयारी गरेको छ । मन्त्रालयले एउटा पर्यटकीय गन्तव्यमा रु ५० करोड खर्च गर्ने योजनाअन्तर्गत प्रत्येक गन्तव्यमा हरेक वर्ष रु पाँच करोड खर्च गरी दश वर्षमा पूर्णता दिने योजना बनाएको छ । मन्त्रालयले पर्यटकीय गन्तव्य तोकेका चितवन, रसुवा र काभ्रे गरी तीन जिल्लाका पर्यटकीय गन्तव्य बाहेक अन्य सात जिल्लाका गन्तव्य स्थानमा ‘हिल स्टेशन’ निर्माणको काम शुरु गरिसकेको जनाएको छ । प्रदेशका हेटौँडा उपमहानगरपालिकासहित नगरपालिका र गाउँपालिकाले पनि आ–आफ्ना क्षेत्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्व बोकेका पर्यटकीय गन्तव्यको पूर्वाधार विकास गर्ने कार्यक्रम आगाडि बढाएका छन् । रासस