राष्ट्रिय योजना आयोगको १५औं योजना पारित
काठमाडौं । राष्ट्रिय योजना आयोगको १५ औं योजना पारित भएका छन् । साेमबार भएकाे आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको हाे आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाले दिएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने बताए । उनले आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको बताए । १५ औं योजनाको आधारपत्र भने गत वैशाख १७ गते पारित भएको थियो । १५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ ।
झापाकाे मेचीनगरमा औषधिजन्य वनस्पति प्रशोधन केन्द्र बन्दै
भद्रपुर । झापाको मेचीनगर नगरपालिका–८ स्थित राजकामतमा रु एक करोड ३२ लाखको लागतमा बनस्पति प्रशोधन केन्द्र बन्न शुरु भएको छ । महेन्द्रद्वार सहकारी संस्थाले आठ कट्ठा जग्गा खरिद गरेर प्रदेश नं. १ सरकारको रु ७५ लाख अनुदानमा बन्न लागेको सो प्रशोधन केन्द्रको शिलान्यास भइसकेको संस्थाका अध्यक्ष राजकुमार दाहालले बताए । उनका अनुसार जिल्लामै पहिलोपटक संस्थाले तेजपत्ता प्रवद्र्धन तथा औषधिजन्य वनस्पति प्रशोधन केन्द्र सञ्चालनमा ल्याउन लागेको हो । संस्थाले रु ५७ लाख लगानी गरेर ट्रस्टको छानोसहित चार मेशिन, दुई टहरा र कार्यालयका लागि दुई वटा कोठा निर्माण गर्न लागेको छ । संस्थाका सञ्चालक समिति सदस्य तथा जडीबुटी प्रशोधन केन्द्र उपसमिति संयोजक कुन्दन निरौलाले चालु आर्थिक वर्षभित्रमै प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनका लागि तीव्र कार्य भइरहेको बताए । यसैगरी, बहुमूल्य नगदे बाली अलैंचीसम्बन्धी सबैखाले जानकारी सहज ढङ्गले उपलब्ध गराउन सक्ने गरी झापाको विर्तामोडमा अलैँची सूचना तथा अनुसन्धान केन्द्रको भवन निर्माण भइरहेको छ । अलैंची व्यवसायीकै आर्थिक सहयोगमा विर्तामोड–७ को हर्कलाल मार्गमा खरिद गरिएको दुई कट्ठा दुई धुर जग्गामा सो केन्द्र निर्माण भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका महासचिव सुभास भट्टराईले बताए । भवन निर्माणका लागि हालसम्म व्यवसायीबाटै आर्थिक सहयोग लिइएको बताउँदै उनले व्यवस्थित र प्रविधि सम्पन्न सूचना केन्द्र सञ्चालनका लागि कृषि मन्त्रालयले पनि चासो दिएको जानकारी दिए । मन्त्रालयले सो भवनलाई अलैँचीको अनुसन्धान केन्द्रका रुपमा विकास गर्नसमेत सुझाव दिएको र त्यसका लागि सहयोग गर्ने आश्वासन आफूहरुले पाएको महासचिव भट्टराईले बताए । सो भवनको लागत स्टिमेट रु दुई करोड रहेको छ । रासस
२२ करोड लागतमा ५७ किलोमिटर सडक कालोपत्र गर्ने काम अघि बढ्याे
तुलसीपुर । पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाले विकास प्राधिकरणको काम अघि बढाएको छ । प्राधिकरणअन्तर्गत अहिले सडक ग्राभेलको कामलाई तीव्रताका साथ अघि बढाएको हो । उपमहानगरपालिकाले यस वर्ष ५७ किलोमिटर सडक कालोपत्र गर्ने कामलाई अघि बढाएको हाे । सडक विस्तार हुन थालेपछि तुलसीपुर उपमहानगरपालिका–६ ज्ञानज्योति मार्ग टोलका बासिन्दाले आफैँ घर भत्काउन थालेका छन् । तुलसीपुर विकास प्राधिकरणले सडक विस्तार गर्न शुरु गरेपछि सोही टोलका बासिन्दाले आफैं घर भत्काउन थालेका हुन् । प्राधिकरणले सो क्षेत्रमा सडक कालोपत्र गर्नका लागि ज्ञानज्योति मार्गमा ३०० मिटर सडक विस्तार गर्न लागेको वडाध्यक्ष नवराज लामिछानेले बताए। उनका अनुसार ५० वटा घर भत्काइएको छ । “विकास प्राधिकरणअन्तर्गत वडा नं ६ को त्यस क्षेत्रमा सडक विस्तार गर्ने योजना थियो”, उनले भने, “सोहीअनुसार त्यहाँका बासिन्दाले आफ्नै सक्रियतामा घर भत्काउन थालिएको छ ।” अहिलेसम्म तुलसीपुरका १२ वटा वडामा ग्राभेलको काम पूरा भइसकेको छ, भने सात वटा वडामा ग्राभेलको काम भइरहेको इञ्जिनीयर पवनकुमार योगीले जानकारी दिनुभयो । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. १, २, ३, ६, ८, ९, १२, १४, १५, १६, १७, १८ मा ग्राबेलको काम पूरा भइसकेको छ । तुलसीपुर उपमहानगरपालिका– १ मा वडा कार्यालय अगाडिको बाटो र मनकामना मन्दिर (देव स्थान) जाने बाटो, वडा नं. २ को खैरीपुर, मनिकापुरलगायत ठाउँमा, वडा नं. ३ को भट्टे, दमारगाउँ, राणागाउँ, वडा नं. ६ को ६ स्थान, वडा नं. १४ को लुहाडबरा, वडा नं. १५ को ढमक्कापुर र वडा नं. ८ तथा १६ मा ग्राबेलको काम सम्पन्न भएको छ । यसैगरी वडा नं ४, ५, ७, १०, १९, ११ र १३ मा अहिले ग्राबेलको काम जारी रहेको छ । बाँकी वडामा पनि अबको केही समयमा काम पूरा हुने बताइएको छ । ग्राभेलको काम पूरा भएसँगै कालोपत्र गर्ने काम शुरु हुने उनको भनाइ छ । प्र्राधिकरणले प्रत्येक वडामा तीन/तीन किलोमिटरको दरले कालोपत्र गर्ने भएको छ । रु २२ करोडको लागतमा प्राधिकरणले कालोपत्रलगायतको काम गरिरहेको छ । जसअन्तर्गत इक्युप्मेन्ट खरिदका लागि रु पाँच करोड बजेट छुटाइएको योगीले बताए । इक्युप्मेन्टअन्तर्गत स्काभेटर, हप्मिक्स, पलान्ट, ग्रेडर, रोलर र बिटुमेन स्पेड्रर खरिद गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेको छ । त्यस्तै, स्काभेटर खरिदका लागि कन्टिन्मेटन ट्रेडिङ इन्टरप्राइजरले जिम्मा लिएको छ, भने उक्त सामग्री खरिद गर्नका लागि रु एक करोड ३१ लाख ५० हजार बजेट छुट्याइएको छ । त्यस्तै, हप्मिक्स पलान्ट र ग्रेडरको जिम्मा वल्र्ड वाइड ट्रेडिङ कम्पनी प्रालिले पाएको छ । जसअन्तर्गत हप्मिक्स पलान्टको लागि रु ५० लाख ५० हजार बजेट छुट्याइएको छ भने ग्रेडरका लागि रु एक करोड ४९ लाख ७० हजार बजेट छुट्याइएको छ । त्यस्तै, रोलर खरिदका लागि रु ३४ लाख ९९ हजार बजेट छुट्याइएको छ भने यसको जिम्मा जग्दम्बा कन्ट्रक्सन सोलुसन प्रालिले लिएको छ । बिटुमेन स्प्रेड्रर खरिदका लागि रु ६३ लाख ७० हजार बजेट छुट्याइएको छ, भने यसको खरिदका लागि स्यानो इन्टरनेसनल प्रालिले जिम्मा लिएको छ । तुलसीपुरका ठूला विकास पूर्वाधारका काम गर्नका लागि प्राधिकरण गठन गरिएको हो । प्राधिकरणले कामलाई धमाधम अघि बढाएको छ । रासस