१२ कराेड लागतमा शहीद स्मृति उद्यान बनाइँदै

तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा निर्माण गर्न लागिएको शहीद स्मृति उद्यानको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई हस्तान्तरण गरिएको छ । शहीद उद्यान निर्माण समितिले सोमबार उनलाई प्रतिवेदन हस्तान्तरण गर्दै आवश्यक बजेट विनियोजन गर्न माग गरेको छ । निर्माण समितिका अध्यक्ष बाबुराम विक, सचिव रामकुमार श्रेष्ठ र सल्लाहकार ओमकुमारी पौडेलले संयुक्त रूपमा मन्त्री भट्टराईलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए । भानु नगरपालिकाको रु १० लाखको लागतमा प्रतिवेदन तयार गरिएको र उद्यान निर्माण गर्न नगरपालिकाले थप रु १० लाख विनियोजन गरेको निर्माण समितिका अध्यक्ष विकले जानकारी दिए। ओख्ले सामुदायिक वनको १५३ रोपनी जग्गामा राणाविरुद्धको आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनका शहीदको स्मृतिमा उद्यान निर्माण गर्न लागिएको छ । उद्यान निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिने समितिले जनाएको छ । उद्यानमा शुरुआती चरणमा भानु नगरपालिकाभित्र घर भएका शहीदको स्मारक राख्ने योजना भए पनि भविष्यमा जिल्लाभरका शहीदको स्मारक बनाइनेछ । उद्यान निर्माण गरिने डाँडाको टुप्पोमा स्थानीयवासीले वर्षौँदेखि पूजा गर्दै आएको कालिका मन्दिर रहेको हुँदा उक्त मन्दिरसम्म पुग्ने पैदलमार्गसमेत निर्माण गरिने र मन्दिरलाई विशेष प्रकारले संरक्षण गर्ने योजना रहेको छ । रु १२ करोडको लागतमा निर्माण हुने उद्यानमा शहीदका स्मारकबाहेक भ्यूटावर (दृश्यावलोकन स्तम्भ), चिल्ड्रेन पार्क (बाल उद्यान), फन पार्क (मनोरञ्जन उद्यान), ४०० जना अट्ने सभाहल, पैदलमार्ग, साहित्यिक स्रष्टाको स्मारक, फूलको बगैँचा, रेष्टुरेन्ट, कफीहाउस, सवारी पार्किङस्थललगायतका संरचना निर्माण गरिने उद्यान निर्माण समितिका सल्लाहाकार पौडेलले जानकारी दिएका छन् । प्रतिवेदन ग्रहण गर्दै मन्त्री भट्टराईले शहीदको सम्मानमा निर्माण हुने उद्यानमा सरकारको तर्फबाट बजेट विनियोजन गर्न पहल गर्ने प्रतिबद्धता जनाए । रासस

सर्भे भएको १३ महिना बित्दा पनि बनेन पुल, बेलिब्रिज जडान शुरू

रारा । सर्वे भएको १३ महिना बितिसक्दा पनि कर्णाली नदीमा पक्की पुल बनाउने कार्य अगाडि बढेको छैन । सो पुलले कालीकोट जिल्लाको पचालझरना गाउँपालिकालाई सडक सञ्जालसंग जोड्छ । विसं २०७५ पुसमा पक्की पुल बनाउन सर्भे गरिएको थियो । सडक डिभिजन कार्यालय जुम्लाले पुल बनाउन पहल नगरेपछि गाउँपालिकाले अहिले बेलिब्रिज जडान गर्ने तयारी थालेको छ । कर्णाली प्रदेश सरकारले पुलको सट्टा बेलिब्रिज जडान गरी तत्काल यातायात सञ्चालनमा ल्याई पचालझरना र पलाँता गाउँपालिकालाई सडक सञ्जालले जोड्ने काम अगाडि बढाएको छ । पचालझरना गाउँपालिकाको केन्द्र जारकोटस्थित घाटलाइने ढुङ्गामा बेलिब्रिज जडान गर्न प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयलका प्राविधिक टोलीले सर्भे गरेको पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी दिए । ‘जुन ठाउँको नजिकै गत पुसमा पक्की पुल बनाउन सडक डिभिजन कार्यालयले सर्भे गरेको थियो । त्यो ठाउँमा नगरेर अहिले छुट्टै ठाउँमा गरियो’, उनले भने, ‘जहाँ भए पनि पुल बने भइहाल्थ्यो तर अहिलेसम्म कुनै काम भएको छैन ।’ एशियाकै अग्लो पचालझरना अवलोकन गर्न जान चाटेबगरमा पुल बने निकै सहज हुने गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताए । तर त्यो पुल बनाउने काम १३ महिनासम्म शुरु नहुँदा बेलिब्रिज जडानमा प्रदेश सरकारलाई आग्रह गरिएको उनले जानकारी दिए ।रासस

हेटौँडामा अवैध दश बालुवा प्रशोधन केन्द्र भत्काइयो

हेटौँडा ।  हेटौँडा उपमहानगरपालिका क्षेत्रभित्र अवैध रूपमा सञ्चालित १० बालुवा प्रशोधन केन्द्र भत्काइएको छ । जिल्ला अनुगमन समितिले सोमबार हेटौँडाको कुखरेनीखोलामा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा अनुगमन गर्ने क्रममा वडा नं ९ र १३ मा  सञ्चालित बालुवा प्रशोधन केन्द्र भत्काइएको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं अनुगमन समितिका संयोजक रघुनाथ खुलालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौर, सशस्त्र प्रहरी बल १४ नं गणका सशस्त्र प्रहरी उपरीक्षक विकास घिमिरे, डिभिजन वन कार्यालयका प्रमुखलगायतको सहभागितामा अनुगमन भएको थियो । यसक्रममा कुखरेनीखोल अवैध रूपमा सञ्चालन भएका बालुवा प्रशोधन केन्द्र भत्काइएको जिल्ला समन्वय समितिका प्रेस संयोजक विवश अधिकारीले जानकारी दिए ।सो टोलीले कुष्माण्डा सरोवर त्रिवेणीधामदेखि दक्षिणमा मानव सेवा अश्रमसम्मको कुखरेनीखोलाको बगर अनुगमन गरेको थियो । ती क्षेत्रमा १० बालुवा प्लान्ट अवैध रूपमा सञ्चालन भएको पाइएको छ । त्यस्तै सो क्षेत्रमा चार वटा क्रसर उद्योगसमेत सञ्चालन भएको पाइएको अनुगमन समितिका संयोजक खुलालले जानकारी दिएका छन् । अनुगमन टोलीले उक्त क्षेत्रमा अवैधरूपमा सञ्चालित बालुवा प्रशोधन केन्द्रमा प्रयोग गरिएका उपकरणसमेत जफत गरेको जनाइएको छ । चुरे क्षेत्रमा अवैध रूपमा बालुवा प्रशोधन केन्द्र सञ्चालन भएको भन्ने सूचनाका आधारमा अनुगमन टोलीले उक्त क्षेत्रको अनुगमन गरेको उनले जानकारी दिए । ती क्षेत्रमा अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणका लागि नियमित अनुगमन गर्ने निर्णय भएको संयोजक खुलालले बताए । अनुगमनपछि बसेको समितिको बैठकले नदीजन्य पदार्थको संरक्षणका लागि निरन्तर अनुगमनको आवश्यकता देखिएकाले अनुगमनलाई नियमित गर्ने निर्णय गरेको उनले जानकारी दिए । हेटौँडा उपमहानगरपालिका, भीमफेदी, मकवानपुरगढी, बकैया र वाग्मती गाउँपालिका क्षेत्रमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको सहयोगमा तीन समूह बनाई नियमित अनुगमन गर्ने जनाइएको छ । ती क्षेत्रमा डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख इमनाथ पौडेलको नेतृत्वमा अनुगमन हुने छ ।त्यस्तै, हेटौँडादेखि पश्चिम लोथरसम्म, राक्सिराङ र इन्द्रसरोवर गाउँपालिका तथा थाहा नगरपालिका क्षेत्रमा पनि प्रहरीको सहयोगमा तीन समूह बनाई डिभिजन वन कार्यालय मनहरिका प्रमुख दीर्घनारायण कोइरालाको नेतृत्वमा निरन्तर अनुगमन हुने छ ।रासस