अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ संचालन, डेढ करोड लागतमा निर्माण

काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर जोड्ने ‘मौरिस हर्गोज ट्रेल’ सञ्चालन गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा गाउपालिकाले पदमार्ग सञ्चालन गरेको हो । ८ हजार मिटरभन्दा अग्ला हिमालको पहिलोपटक आरोहण गरेका फ्रान्सका मौरिस हर्गोजका नाममा तयार भएको यो पदमार्ग नयाँ हो । हिमाल आरोहण भएको ७० वर्षपछि अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पदमार्गले जोडेर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। “आधार शिविरलाई आधारभूत स्तरको पदमार्गले जोड्नुका साथै पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौं” उनले भने, “नारच्याङदेखि नीलगिरिखोलाको किनारै–किनारै आधार शिविर जोड्ने पदमार्गमा पर्यटक र पूर्वाधारका लागि लगानी भित्र्याउन पहल थालेका छौं ।” पदमार्ग तयार भएको, अन्नपूर्ण आधार शिविर म्याग्दीमा पर्ने सन्देश प्रवाह गराउन पदमार्गको प्रवेशविन्दु नारच्याङमा बिहीबारदेखि प्रथम अन्नपूर्ण पर्यटन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटनका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘मौरिस हर्गोज ट्रेल’ घोषणा गर्नुका साथै पदमार्गको नक्सा सार्वजनिक गरे । हार्जोगले १९५० जुन ३ मा अन्नपूर्ण प्रथम हिमालको आरोहण गर्दै आठ हजारभन्दा अग्ला हिमालमा पहिलो पाइला टेक्ने दुर्लभ रेकर्ड बनाएका थिए । अन्नपूर्ण प्रथम आरोहण भएको तीन वर्षपछि सगरमाथामा मानव पाइला परेकाले यसलाई जेठो हिमाल पनि भनिन्छ । यो पदमार्ग मौरिसकालीनजस्तै कठिन र ‘वाइल्ड’ रहेको संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । ८ वर्षअघि गुरुङको अगुवाइमा पदमार्ग पहिचान भएको थियो । पछिल्लो पाँच वर्षयता पर्यटन विभाग, प्रदेश सरकार, गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को डेढ करोड लगानीमा पदमार्ग, झोलुङ्गेपुल, फड्के पुल, सिँढी निर्माण भएको छ । पदयात्रामा आउने पर्यटकका लागि सेल्टर निर्माण भएको छ । होटल तथा लज नभएकाले क्याम्पिङ पदयात्रा गर्नुपर्ने हुन्छ । नारच्याङदेखि छोटेपा, हुमखोला, भुसकेत हुँदै तीन दिनमा आधार शिविर पुग्न सकिन्छ । हिमाल आरोहण मात्र नभएर झरना, ताल, हिमाल, वन्यजन्तु, वनस्पति पदमार्गका आकर्षण भएका धवलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाँले बताए । फराकिलो फाँट भएकाले दुर्घटनाको जोखिम कम भएको अन्नपूर्ण आधार शिविरमा पुग्न सकिने सबैभन्दा छोटो, रमणीय र सुरक्षित यो पदमार्ग आठ वर्षअघि पहिचान गरिएको थियो । यसअघि मुस्ताङको कुञ्जो हँुदै भिर र जङ्गलमा एक साता हिँडेर, हेलिकोप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुग्नुपर्ने बाध्यता थियो । रासस

सिन्धु विकासको दशौं बार्षिक साधारण सभा, बनोस शेयर ११.५ प्रतिशत

काठमाडौं । सिन्धु विकास बैंकले दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा समापन गरेको छ । उक्त साधारण सभाले खुद मुनाफाबाट ११.५१३९ प्रतिशत बोनस शेयर तथा ०.५७५६ प्रतिशत नगद लाभांस बितरण गर्ने प्रस्ताव पारित गरेको हाे। साथै बैंकको सर्वसाधारण समुहको तर्फबाट रिक्त रहेको २ जना संचालकहरुमा संजिव प्रधान र हिरा के.सी. निर्बिरोध निर्वाचित भएका छन । बैंकका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले आगामी दिनमा प्रदेश नं. ३ को अग्रणी विकास बैंकको रुपमा सिन्धु विकास बैंकलाई लैजाने लक्ष्य लिएको जानकारी दिएको छ । बैंकले हाल सम्म सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर जिल्लामा समेत गरी कुल २२ शाखा र २ सिमिति बैकिङ्ग ईकाई गरी कुल २४ स्थानहरुबाट वित्तिय सेवा प्रदान गरिरहेको छ । वि.स २०७६ माघ १७ देखि संचालन भएको उक्त साधारण सभाले आर्थिक वर्ष ०७५/०७६ को बार्षिक प्रतिवेदन प्रतुत गरेको थियो । वि।सं२०६७ साल भाद्र २४ गते सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा प्रधान कार्यालय बनेपामा कर्पोरेट राखी कारोवार संचालन भइरहेको छ ।

 पहिलो पटक प्रदेश स्तरीय चित्रकला प्रदर्शनी विराटनगरमा

काठमाडौं । विराटनगरमा प्रदेश स्तरीय चित्रकला प्रदर्शनी समापन भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग र ललितकला संगम विराटनगरको सहकार्यमा सो कार्यक्रम प्रदेश नं १ विराटनगरको सेन्ट्रल महलमा सम्पन्न भयो । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारी, प्राज्ञ सभासदस्य सञ्जय वान्तवा, प्राज्ञ गंगा सुवेदी, प्राज्ञ सरोजा खड्गी, प्राज्ञ एस.सी. सुमन, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति विजु थपलिया, सामाजिक विकास मन्त्रालयका कानूनविद् कोष राज न्यौपाने , पत्रकार महासँघका अन्यक्ष विक्तम लुइटेलको आतिथ्यता रहेको थियो । ललितकला संगम विराटनगरका अध्यक्ष गोपाल कला प्रेमीको अध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रम ४० जनाभन्दा बढी व्यक्तित्वको चित्रकला अवलोकन गर्दै कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभाग प्रमुख प्राज्ञ सुषमा राजभण्डारीले  प्रदेश नं १ मा चित्रकलाको प्रदर्शनी भए । त्यस्तै नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, चित्रकला विभागले ललितकला संगम विराटनगरसँग गरेको यो कार्यक्रम पहिलो रहेकोले थियो । छ वटा विभाग यसमा कार्यरत छन् । म यस विभागको तर्फबाट के चाहन्छु भने प्रदेश नं १ विराटनगरमा एउटा कला म्यूजियम निर्माण गर्ने र यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । भ्रमण वर्षलाई टेवा पु¥याउनका निमित्त वरिष्ठ ललितकलाकारको प्रयोग गरेर कला तथा संस्कृतिमा पर्यटकहरुलाई तान्नमा जोड दिने प्रदेशको लक्ष्य रहेको छ । यसका निमित्त कलाको पूर्वाधार निर्माण आवश्यक पर्दछ । प्रमुख अतिथि माननीय सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले हाम्रो समाजलाई परिचय दिएको कुरा थाहा भएता पनि यस कुरामा म जानकार नहुन सक्छु तथापी मान्छे सबै कुरामा निपूर्ण नहुन सक्छ तर समाज विकासमा कलाको अहम् भुमिका निर्माण गरेको हुन्छ ।