दैजी–जोगबुढा सडक : पञ्चायतमा ‘ट्रयाक’ खुल्यो, सडक अझै अधुरै
महेन्द्रनगर । कञ्चनपुर बेदकोट नगरपालिकाको दैजीबाट जोगबुढा हुँदै डडेल्धुरा पुग्ने सडकको ट्रयाक पञ्चायतकालमा खोलिएको भए पनि सडक कालोपत्रको काम अझै सकिएको छैन । तराईको जिल्ला कञ्चनपुरबाट भित्री मधेस डडेल्धुरा हुँदै सुदूरपश्चिमका पहाडी जिल्ला पुग्ने छोटो बाटोको रूपमा रहेको दैजी–जोगबुढा सडक निर्माणले प्राथमिकता नपाउँदा समस्या भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकाको दैजीदेखि डडेल्धुरा जिल्लाको सिमाना लिप्नासम्म १२ किलोमिटर सडक निर्माणका लागि नौ वर्षअघि ठेक्का सम्झौता भए पनि हालसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्र भएको छ । यहाँ २०७४ वैशाख ८ गते नार्गाजुन कन्स्ट्रक्सनसित रु २१ करोड २६ लाख ५३ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार २०७६ साउन ५ गते निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म सडक निर्माणले पूर्णताः पाउन सकेको छैन । पूर्वाधार विकास कार्यालय महेन्द्रनगरले सडक निर्माणका लागि पछिल्लो पाँचौँ पटक २०८२ असार २० गते निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरिएको भए पनि उक्त समयमा समेत सडक निर्माण हुन नसकेको जनाएको छ । गत आर्थिक वर्षमा सडक निर्माणको काम नहुँदा एक करोड रुपैयाँसमेत फ्रिज भएको थियो । पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्रबहादुर अधिकारीले सडक निर्माणको काम सुस्त रहेको स्वीकार गरे। ‘चालु आवमा ५० लाख बजेट आएको छ, अहिले बाटो मर्मत कार्य भइरहेको छ’, कार्यालय प्रमुख अधिकारीले भने, ‘काम भयो भने बजेट रकमान्तर गरेर पनि भुक्तानी गर्न सकिन्छ ।’ सडकको हालसम्म पाँच किलोमिटर सडक मात्रै कालोपत्र भएको छ । सात किलोमिटर सडक निर्माणको काम बाँकी नै छ । कार्यालयका अनुसार निर्माण व्यवसायीले हालसम्म १८ करोड ३६ लाख रुपैयाँ भुक्तानी पाइसकेको छ । पहाडी जिल्ला जान दूरीका हिसाबले नजिक पर्ने भए पनि सडक निर्माण नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ । ‘पञ्चायतकालमा सुरु भएको सडक अहिलेसम्म पनि निर्माण हुन सकेको छैन’, वेदकोट नगरपालिकाका स्थानीय केशव बोहराले भने, ‘यो सडक निर्माण नहुँदा हामीले धेरै दुःख पाएका छौं, हिउँदमा धुलाम्य हुन्छ बर्सातमा ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यता छ ।’ उनले जोगबुढासम्मको ३१ किलोमिटर सडक निर्माण नहुँदा यहाँका स्थानीय १५० किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपरेको गुनासो गरे । डडेल्धुराको आधा जनसङ्ख्या भएको भित्री मधेसलाई कञ्चनपुरसँग जोड्न यो छोटो दूरीको सडक भीमदत्त राजमार्गको विकल्पको रूपमा लिइन्छ । तर कच्ची ट्रयाकमा यो खण्डमा बर्सेनि सडक दुर्घटनामा परी स्थानीयले ज्यान गुमाउँदै आएका छन् । त्यसैगरी वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराले ट्रयाक खुलेको लामो समयदेखि दैजी–जोगबुढा सडक बन्न नसकेको बताए । ‘पञ्चायतको अन्ततिर २०४६ सालतिर ट्रयाक खुलेको हो’, नगरप्रमुख बोहराले भने, ‘तर सडक निर्माणकै अवस्थामा छ ।’
११ सय मेगावाट जलविद्युत आयोजना बनाउन २० अर्ब उर्जा ऋणपत्र ल्याउँदै
काठमाडौं । ४ वटा ठूला जलविद्युत आयोजनामा लगानी जुटाउन उर्जा ऋणपत्र जारी गर्न प्रक्रिया अघि बढ्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र चरणवद्ध रुपमा निष्कासन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेसँगै नेपाल विद्युत प्राधिकरणले प्रक्रिया अघि बढाउने भएको हो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले अब प्रक्रिया तत्कालै अघि बढ्ने जानकारी दिए । उनकाअनुसार बन्ड जारी गरेरै अपर अरुण जलविद्युत आयोजना बनाइँदैछ । करिब ११ सय मेगावाट क्षमताको उक्त आयोजनाका लागि लगानी जुटाउन थालिएको हो भने अर्को १ सय मेगावाटको तामाकोशी–५ मा पनि बन्ड जारी गरेरै लगानी जुटाइँदैछ । यस्तै २१० मेगावाटको चैनपुर सेती जलविद्युत अयोजना र ४२ मेगावाटको मोदी जलविद्युत आयोजना निर्माणका लागि ऊर्जा ऋणपत्र जारी गरेर लगानी जुटाउन लागिएको छ । यी आयोजनाहरु प्राधिकरणमार्फत बन्नेछन् । चार ठूला जलविद्युत आयोजनाका लागि आवश्यक रकम जुटाउन चरणबद्ध रुपमा ऋणपत्र जारी हुने सिलवालको भनाइ रहेको छ । सिलवालकाअनुसार जलविद्युत आयोजनाको लागि प्राधिकरणले आफ्नो तर्फबाट गर्ने लगानी सहज होस् भनेर ऊर्जा ऋणपत्र जारी गर्न खोजेका हो । कार्यकारी निर्देशक सिलवालले भने, ‘ऊर्जा बोण्डको चाहीँ जारी गर्न स्वीकृति, ऊर्जा बोण्ड जारी गरेर त्यो रकम संकलन गरेर त्यहाँ लगानी गर्ने हो । यसको स्वीकृति हामीलाई मन्त्रीपरिषदबाट प्राप्त भएको छ । यसले हामीलाई चाहीँ धेरै सहज बनाएको छ र अहिले पछिल्लो दिनहरुमा नेपाल सरकारले प्राधिकरणको लागि गर्ने लगानी रकम उल्लेख्य रुपमा कम आइरहेको अवस्थामा र प्राधिकरण पनि अब यति लामो समयमा आफ्नो खुट्टामा आफैँ उभिनुपर्ने चुनौती पनि छ । र यस्तो अवस्थामा यो चाहिँ फाइनान्सियल्ली विभिन्न टूल्सहरुमध्ये एउटा चाहिँ इनर्जी बोण्ड भन्ने टूल्सहरुमा हामीले युज गर्यौं । यसले हामीलाई धेरै सहज हुन्छ र यस्तै किसिमको टूल्सहरु हामी भविष्यमा चाहीँ युज गर्छौं । यसले प्राधिकरणको लगानी गर्ने क्षमतामा वृद्धि हुन्छ । नयाँ नयाँ आयोजनाहरु बनाउन सहज हुन्छ ।’ कार्यकारी निर्देशक सिलवालकाअनुसार अब उर्जा ऋणपत्र विद्युत प्राधिकरणले आवश्यकताका आधारमा गर्नेछ । किनभने सबै प्रोजेक्ट एकैचोटी बन्ने वाला छैनन् । प्रत्येक प्रोजेक्टको लगानको अनुमान गरिने र सोहीअनुसार आवश्यकताअनुसार प्रोजेक्टलाई अघि बढाउन ऋणपत्र जारी गरिनेछ । ‘अब हामीले बैंकहरुसँग प्रस्तावहरु माग्छौं । जसले हामीलाई न्यून दर रेटमा रकम उपलब्ध गराउँछन् । उनीहरुसँग लिने हो,’ सिलवालले भने । चार आयोजनाका लागि जारी गर्न लागिको ऋणपत्रमा दातृ निकायहरुलाई समावेश गर्ने योजना प्राधिकरणको छैन । ‘बन्डमा सहभागी गराउने अहिले हाम्रो सोच त्यो छैन । तर कोही इन्ट्रेस्टेड भएर आए भने, पनि नेपाल सरकारको स्वीकृति लिनुपर्ने हुन सक्छ । त्यस्तोहरुको अहिले हामी विचार गरेका छैनौं । अहिले हामीले स्वदेशीबाटै, स्वदेशी फाइनन्सियल इन्स्टिट्युसनहरुबाटै हाम्रो आवश्यकता पूरा हुन्छ भन्नेमा पूर्ण विश्वास छ,’ उनले बताए । अहिले आयोजनाहरु बनाउन बण्ड जारी गर्न लागेको प्राधिकरणले आगामी दिनमा ट्रान्समिसन लाइनहरु बनाउन पनि लगानी जुटाउन ऋणपत्र जारी गर्नसक्ने सम्भावना रहेको सिलवाल बताउँछन् । कार्यकारी निर्देशक सिलवालले भने, ‘भविष्यमा अब हामीले, हामीलाई आवश्यक पर्यो भने, हामीलाई आवश्यक पर्यो भने ट्रान्समिसन लाइन तिरको लागि पनि बोण्ड जारी गर्नुपर्नसक्छ । अहिले जलविद्युत आयोजनालाई मात्र ऋणपत्र गर्न लागिएको हो । चारवटा जलविद्युत आयोजना आएको छ । फेरि हामीले के हुन्छ भने एउटा प्रयोजनको लागि लिएर अर्को प्रयोजनमा खर्च गर्न पाउँदैनौँ । त्यही आयोजनामा खर्च गर्नुपर्छ । प्राइभेट सेक्टरले बनाइरहेका आयोजनाहरूमा, बन्डहरू जारी गर्नका लागि केही सम्भावना आगामी दिनमा हुनसक्छ । अब प्राइभेट सेक्टरले पनि गर्नसक्छ नसक्ने कुरा होइन । प्राइभेट सेक्टरले पनि गर्न सक्छ । यो त खाली एउटा फण्ड कलेक्शनको माध्यम हो ।’ निजी क्षेत्र उत्साहित, वितरण प्रणाली, क्रस बोर्डर प्रशारण लाइनमा लगानी गर्न सुझाव जलविद्युत क्षेत्रमा ऋणपत्र जारी हुनु सुखद् भएको उर्जा उत्पादक बताउँछन् । उर्जा उत्पादक सुमन जोशीले जलविद्युत उत्पादन गरेर मात्रै नहुने बताउँछन् । उनकाअनुसार उत्पादित बिजुलीलाई सहज रुपमा विक्रि गर्नका लागि अब जलविद्युत निर्माणका साथै प्रशारण लाइनहरुका लागि समेत सरकारले ऋणपत्र जारी गर्नुपर्ने उनको भनाइ छ । जोशीका अनुसार अर्बौं लगानी जलविद्युत क्षेत्रमा भइसकेको छ, अहिले पनि आयोजना बनाउने हो भने जुट्न पनि सक्छ तर उत्पादित बिजुली प्रयोगमा ल्याउन, अन्तर्राष्ट्रिय मार्केटमा निर्यात गर्न प्रशारण लाइनको चरम अभाव छ । त्यसैले कमजोर प्रशारण लाईनलाई बलियो बनाउन राज्यले त्यतातर्फ पनि बण्ड जारी गर्नुपर्ने उनको बुझाइ रहेको छ । उनका अनुसार वितरण प्रणाली र ट्रासमिसनलाइन निर्माणका लागि अब सरकारले ऋणपत्र जारी गर्न लाग्नुपर्छ । उर्जा उत्पादक जोशीले भने, ‘ऋणपत्र जारी गर्ने कुरा एकदमै राम्रो हो । नयाँ कुरा निस्केको छ, तर उत्पादनमा भन्दा पनि अझ बढी हामीलाई बलियो बनाउन, र उर्जा क्षेत्रलाई दीर्घकालिन रुपमा सस्टेनेबलको लागि चाहिने भनेको डिस्ट्रिब्युशन र ट्रान्समिसन हो । ट्रान्समिसन नभएको कारणले समस्या परिरहेको छ । ट्रान्समिसन र डिस्ट्रिब्युशनको राम्रो व्यवस्था नभएको कारणले अहिले चाहे त्यो विद्युत प्राधिकरणले उत्पादन गरेको विद्युत होस्, चाहे त्यो प्राइभेट सेक्टरले उत्पादन गरेको विद्युत होस्, खेर गइरहेको छ । अर्बौं रूपियाँको लगानी खेर गइरहेको छ । यदि इनर्जी बन्ड ल्याउने हो भने डिस्ट्रिब्युशन र ट्रान्समिसनमा नै जानुपर्छ । विद्युत उत्पादनमा पनि जाओस्, तर नेपाल विद्युत प्राधिकरणले चाहीँ सम्पूर्ण स्रोत चाहिँ उत्पादन तिर मात्र लगाउनु हुँदैन ।’ जोशीकाअनुसार प्राइभेट सेक्टरका प्रोजेक्टहरूको लागि लगानी पनि बिस्तारै जुटिरहेका छन् । प्राइभेट सेक्टर अगाडि बढिरहेको छ र ऋण पनि जुटिरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरणले बढीभन्दा बढी डिस्ट्रिब्युशन, क्रस बोर्डर ट्रान्समिसन र अन्य ट्रान्समिसन लाइनहरूमा लगानी बढाउनुपर्ने उनको भनाइ रहेको छ ।
बाढीपछिको अवरोध हट्दै, बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन
काभ्रेपलाञ्चोक । गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्ग आजदेखि खुलाइएको छ । शुक्रबार साँझ क्षतिग्रस्त सम्पूर्ण खण्डमा ‘ट्रयाक’ खुलाएपछि परीक्षण गरी आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । आज बिहानैदेखि सवारीसाधन सञ्चालनमा ल्याउने गरी रातको समयमा समेत कामलाई निरन्तरता दिइएपछि राजमार्ग पूर्ण रूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो । शुक्रबार साँझसम्ममा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी आजदेखि पूर्ण रूपमा यातायात सञ्चालन गरिएको बताए । कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको थियो । राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । “ट्रयाक खोलीसकेर खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्‍यौँ र थप सुधार गर्नुपर्ने तथा साँघुरो भएको स्थानमा राति काम गरेर आज बिहानदेखि पूर्ण रूपमा राजमार्ग सञ्चालनमा ल्याएका हौँ”, योगेशले भने। रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा समेत करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिररहेको बताए । बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्याएको थियो । सोही क्षेत्रमा गतसालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रूपमा सडक सञ्चालन हुँदै आएको थियो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सुचारु गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका थिए । घिसिङले रातको समयमासमेत काम गरेर भए पनि शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन आग्रह गरेका थिए। पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको थियो । रासस