शिव श्री हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । शिव श्री हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज असोज २३ गते अन्तिम दिन रहेको छ । भदौ १९ गतेदेखि बिक्री खुला गरेको कम्पनीको हकप्रद सेयरमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्ने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँको १ सय प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाा अंकित मूल्य दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बिक्री गरेको हो । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १६ गते बुक क्लोज गरेको थियो । त्यसैले साउन १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिटिजन्स बैंकको कुमारी पाटी, ठिमी, विराटनगर, बिर्तामोड, विरगंज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौंडा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
जेनजी युवाहरूको नाममा फ्री सेयरको आतङ्कले त्रसित हाइड्रो व्यवसायी, गुहार माग्दै गृहमन्त्रीको ढोकामा
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूको नाममा निःशुल्क सेयर माग्दै बन्द गराइएको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् । बुधवार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीको नेतृत्वमा पीडित जलविद्युत आयोजनाहरुका प्रतिनिधिसहितको टोलीले गृहमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । अध्यक्ष गणेश कार्कीले जेनजी युवाहरूको नाममा जलविद्युत योजना बन्द गराउनु अराजकता भएको भन्दै यथाशिघ्र आयोजना सञ्चालन हुने वातावरण बनाउन गृहमन्त्री अर्यालसँग माग गरेका थिए । लगत्तै गृहमन्त्री अर्यालले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई टेलिफोन गरी भोटेकोशी जलविद्युत आयोजना तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् । ‘जेनजी युवाहरूले माग राख्न पाउँछन् । जायज मागहरु भए वार्ता र छलफलबाट पुरा गर्न सकिन्छ । आयोजनाको उत्पादन नै बन्द गराउन त भएन,’ गृहमन्त्री अर्यालले बास्तोलालाई भने, ‘तपाईंले आयोजना सञ्चालनमा ल्याउन सक्नुहुन्न भने गृहले के सहयोग गर्नुपर्छ रिपोर्टिङ गर्नुस्, तर विद्युत उत्पादन रोकिनु भएन ।’ गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सिन्धुपाल्चोकमा सञ्चालित ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत आयोजनामा जेनजी युवाहरुलाई १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग राखी भदौ २५ गतेदेखि आयोजनाको विद्युत उत्पादन बन्द गराएका छन् । पूर्ण क्षमतामा विद्युत उत्पादन हुने वर्षायाममा आयोजनाले दैनिक ९८ लाख रुपैयाँ बराबरको विद्युत उत्पादन गर्दै आएको थियो । पछिल्लो २८ दिनदेखि आयोजना बन्द हुँदा करिब २७ करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाउनु परेको आयोजना प्रवर्द्धक भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले जानकारी दिए । जेनजी युवाहरूले १० प्रतिशत निःशुल्क सेयर नदिएसम्म भोटेकोशीबाट विद्युत उत्पादन गर्न नदिने धम्कीसहितको पत्र कम्पनीलाई पठाएका थिए । जेनजीको नाममा २८ दिनसम्म आयोजना बन्द हुँदा पनि आयोजना सञ्चालनमा ल्याउन नसक्दा यही मौकामा स्थानीयहरूले सिन्धुपाल्चोकका अन्य जलविद्युत आयोजनामा पनि १० प्रतिशत निःशुल्क सेयर दिनुपर्ने माग राखी पत्र पठाएका छन् । इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना भएकाले राज्यले जस्तोसुकै परिस्थितिमा पनि सुरक्षा दिनुपर्ने बताए । निजी क्षेत्रले १५ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेर ३ हजार मेगावाट विद्युत उत्पादन गरिरहेको भन्दै राज्यले सुरक्षाको प्रत्याभूति गर्न नसके निजी क्षेत्रले काम गर्न नसक्ने डाँगीको भनाई छ । माथिल्लो बलेफीका सञ्चालक मोहन विक्रम कार्कीले जलविद्युत उत्पादकको मनोबल गिराउने काम भएकोले यस्तो वातावरणमा कुनै पनि प्रवर्द्धकहरुले थप लगानी गर्न नसक्ने बताए । जेनजी युवाहरूले सञ्चालनमा आइसकेको २२।२ मेगावाटको माथिल्लो चाकु ए जलविद्युत आयोजनाले १० प्रतिशत फ्री सेयर नदिए यही असोज ३० गतेदेखि आयोजनाको विद्युत उत्पादन बन्द गराउने पनि धम्कि दिएका छन् । अहिले सिन्धुपाल्चोकमा सञ्चालनमा आइसकेका ३६ मेगावाटको माथिल्लो बलेफी ए, ७.२ मेगावाटको याम्बालिङ खोला, ९९० किलोवाटका सोलाङ खोला र घट्टेखोला जलविद्युत आयोजनामा पनि १० प्रतिशत निःशुल्क सेयर माग गरिएको छ । त्यस्तै अन्य निर्माणाधीन जलविद्युत आयोजनाहरुमा २२.१४ मेगावाटको बलेफी ए, १.५ मेगावाटको तल्लो सेलाङ, ४६ मेगावाटको माथिल्लो बलेफी, ३५ मेगावाटको न्यासिम खोला, ६५ मेगावाटको दूधखोला लगायतका आयोजनामा पनि १० प्रतिशत फ्री सेयर माग्दै जेनजी र स्थानीय युवाहरूको नामबाट पत्र काटिएको छ ।
भोटेकोशीको सेयर वितरणमा पारदर्शिताको माग, ड्याम र पावर हाउस बन्द गर्ने स्थानीयको चेतावनी
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित ३६ मेगावाट क्षमताको भोटेकोशी पावर कम्पनीले स्थानीय बासिन्दाहरूका लागि नि:शुल्क सेयर उपलब्ध गराउने सम्झौतामा ढिलाइ हुँदा स्थानीयहरू असन्तुष्ट बनेका छन् । हाइड्रोपावर कम्पनी र सर्वसाधारणबीच भएको सम्झौताअनुसार कम्पनीको १० प्रतिशत सेयर स्थानीय र सर्वसाधारणलाई वितरण गरिनुपर्ने थियो । तर अहिलेसम्म सेयर वितरण प्रक्रिया सुरु नभएको भन्दै स्थानीयहरूले कम्पनीलाई पत्र पठाएर असन्तोष व्यक्त गरेका हुन् । सेयर वितरणमा विभिन्न दलका जनप्रतिनिधि तथा सांसदहरूले भाग लिइरहेका छन् भन्ने विषयमा तत्काल स्पष्ट पार्न र वितरण प्रक्रिया सार्वजनिक गर्न स्थानीयहरूको माग छ । साथै सेयर पाएका व्यक्तिहरूको नामसमेत सार्वजनिक गर्न अनुरोध गरिएको छ । स्थानीयहरूले यस बारेमा उचित जानकारी र सेयर वितरण नभएमा कम्पनीको ड्याम र पावर हाउस अस्थायी रूपमा बन्द गर्न सक्ने चेतावनीसमेत दिएका छन् ।