गोदावरी सडक १६ मिटर चौडाइको बनाइँदै

काठमाडाैं । ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक १६ मिटर चौडाइको हुने भएको छ । तत्कालका लागि सडकमा आवश्यक अरू पूर्वाधारको निर्माण नगरी सो चौडाइमा सडक निर्माण गर्न लागिएको हो । सडकको कालोपत्र अहिले गरेपछि पैदलयात्रु मार्ग, ढललगायतका पूर्वाधार आगामी दिनमा निर्माण गरिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । २० मिटरको मापदण्ड भए पनि त्यसलाई कम गरेर पनि सडक निर्माण अघि बढाउन स्थानीयवासी, गोदावरी नगरपालिका, प्रदेशसभा र प्रतिनिधिसभाका संसद्बीच सहमति भएको थियो । सो सडकमा कालोपत्र मापदण्डानुसार नै हुने आयोजनाका इन्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । २० मिटरमा १६ मिटरमा कालोपत्र भएपछि अरू संरचना भने भविष्यमा निर्माण गर्ने गरी निर्माण अघि बढाइनेछ । सडकको चौडाइकै विषयमा विगतमा निर्माण व्यवसायी र स्थानीयवासीबीच विवाद भएको थियो । उनले भने, “जनप्रतिनिधिमार्फत समस्या समाधान भएकाले अहिले काम अघि बढाउने वातावरण बनाइएको हो ।” स्थानीयवासीले घरसँगै जग्गाको मुआब्जा माग गरेर निर्माण कार्य अघि बढाउन विगतका वर्षमा भौतिक प्रगति कम थियो । सडक मापदण्डभित्र पर्ने १२० घर सर्वाेच्च अदालतको निर्णयका कारण भत्काउन सकिएको थिएन । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ । यो सडक निर्माणको ठेक्का आयोजनाले आशिष सी एम जेभी र लामा समानान्तर जेभी गरेर दुई ठेकेदार कम्पनीलाई दिएको छ । ठेक्का अवधि आगामी वर्ष कात्तिकमा सकिँदैछ । यो सडक जस्तै उपत्यकामा १० सडक निर्माणाधीन छन् । तीमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवादका कारण सम्झौता अवधि सकिँदा वा थोरै समय बाँकी हुँदा पनि भौतिक प्रगति कम छ । ठेक्का सम्झौताको लामो समय बितेको भन्दै अहिले आयोजनाले जनप्रतिनिधिसँगको समन्वयमा काम अघि बढाइरहेको छ । रासस

पाैने ९ कराेड लागतमा निर्माणधीन बूढीगङ्गा नदीकाे पुल, तीन वर्षमा दुई पिल्लर, अब कहिले बन्ला ?

बाजुरा । बूढीगङ्गा नदीमा निर्माण हुन लागेको ५० मिटर लामो पक्की पुल निर्माणमा ढिलाइ भएको छ । साँफे मार्तडी सडकखण्डअन्तर्गत जिल्लाको बडिमालिका नगरपालिकाको ४ र ६ को बीच जडागङ्गामा पुल निर्माणधीन छ । विसं २०७५ असार ३० गतेसम्म निर्माणकार्य सम्पन्न भैसक्नुपर्ने सम्झौता विसं २०७३ असार ३० भएको थियो । नौ करोड ८३ लाख ८२ हजार ५७९ रुपैयाँ लागतमा सम्झौता भएको थियो । काष्ठमाडौँ मसिना जेभीले निर्माणको जिम्मा पाएको थियो । सडक डिभिजन कार्यालय साँफे बगर अछामका प्रमुख राजेश दासले छिटो निर्माण सम्पन्न गर्न कम्पनीलाई पत्राचार गरिएको जानकारी दिए । कम्पनीका प्रमुख जयदेव पन्तले नदीमा पानीको बहाव बढ्न गई पुल निर्माणकार्य गर्न समस्या भएकाले हो ढिलाे भएकाे बताउँछन् । उनले विसं २०७७ असारमा पुल निर्माणको काम सम्पन्न गर्ने जानकारी दिए । कामदारले काम गरेवापतको रकमसमेत नपाएको गुनासो गर्दै आएका छन् । बडिमालिका नगरपालिका–६ कोर्ध र जडागङ्गाका स्थानीयवासीले पुलमा काम गरेवापतको रु ४१ लाख नपाएको बूढीगङ्गा–६ का स्थानीयवासी पदम बडुवालले बताए । रासस

७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रको मर्मत शुरु

काठमाडौं । जलविद्युत आयोजनाको ‘हब’ जिल्ला भन्दै गरेको यस लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रको मर्मत कार्य शुरु भएको छ । मध्यमस्र्याङ्दी नदीमा बर्खायामका बेला बालुवा, माटोलगायत थुपै्रले आयोजनामा असर पर्ने हुँदा केन्द्रको दोस्रो युनिटको मर्मत कार्य बिहानबाट थालिएको हो । प्रत्येक वर्ष एउटा युनिटको मर्मत गर्ने क्रममा यस वर्ष केन्द्रको दोस्रो युनिटको मर्मत कार्य शुरु गरिएको केन्द्र प्रमुख शिवकुमार शाहले बताए । ‘‘नेपाल विद्युत् प्राधिककरणबाट १८ दिनसम्म युनिट बन्द गर्ने अनुमति आएको छ तर सकेसम्म त्योभन्दा छिट्टै मर्मत कार्य गरिसक्नेछौं’’ केन्द्र प्रमुख शाहले भने । केन्द्रको दोस्रो युनिटको पानी बन्द गरी पहिलो युनिटमा पठाएको र सो युनिटबाट पूरै विद्युत उत्पादन भइरहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार रनर फेर्ने, हेडकभर मर्मत, विद्युत् उपकरणहरुको जाँच तथा आवश्यक मर्मत, गाइडभेन फेर्ने, गाइटबुस फेर्नेलगायतका कार्य हुने भएको छ । तीन दिनसम्म टर्वाइन खोल्ने, टर्वाइनका पुर्जाहरु मात्रै खोल्न समय लाग्ने केन्द्र प्रमुख शाहको भनाइ छ । उनका अनुसार दैनिक २५/३० जनाले मर्मत कार्य गर्नेछन् । प्राधिकरणले हरेक वर्ष हिउँदमा मध्यमस्र्याङ्दीमा जडित उत्पादन युनिटको मर्मत गर्दै आएको छ । यस आयोजना ३५/३५ मेगावाटको गरी दुई वटा युनिटबाट ७० मेगावाट विद्युत् उत्पादन हुने गर्दछ । रासस