करिब ७ कराेड लगानी रहेकाे एशियाकै लामो झोलुङ्गे पुलकाे निर्माण अन्तिम चरणमा
बलेवा । बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक (फ्याल) बिछ्याउने काम शुरु भएको छ । पुललाई आवश्यक २४ वटा लठ्ठा तानिसकेपछि त्यसमाथि स्टिलको फ्ल्याक बिछ्याउन थालेको निर्माण कम्पनी थानी/बिएलटी/हिमशिखर कन्स्ट्रक्शनका प्रतिनिधि नरहरि खड्काले जानकारी दिए । करिब ६५ मिटर लठ्ठामा फ्याल जडानको काम सकिएको छ । “फागुनभित्र फिटिङको काम सकिन्छ”, उनले भने । कालीगण्डकी नदीमाथि बन्दै गरेको १३० मिटर अग्लो पुलको लठ्ठा तान्न गाह्रो र चुनौतीपूर्ण भए पनि नेपालमै पहिलोपटक नमूना परियोजनाको रुपमा लामो पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ । अहिले २१ कामदारले नियमित काम गरी रहेका छन् । पहिलो चरणमा २४ लठ्ठा तानिएको छ । बाँकी चार वटा साइड लठ्ठापछि थप गरिनेछ । पुलमा कूल ९४५ स्टिलका फ्ल्याक बिछ्याउनु पर्छ । दैनिक ४०–५० फ्ल्याक बिछ्याउन सकिन्छ । पुलको प्रतिवर्ग फिटमा चार जना अट्ने र पुल भरिभराउ हुँदा थेग्न सक्ने क्षमताको हुनेछ । पुल लामो भएकाले मोटरसाइकल सञ्चालनमा रोक लगाइने छ । आयु ५० वर्ष हुने पुल निर्माणपछि बागलुङ बजारसँग व्यावसायिक सम्बन्ध रहेका कुश्मा नगरपालिकाका जलजला गाउँपालिकावासीलगायतलाई सहज हुने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । उक्त पुल बागलुङ प्रवेशद्वार मालढुङ्गा बजार, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर सडकखण्डको ठीकमाथि बन्ने भएकाले पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने छ । ‘सस्पेन्सन’ पुल विभागमार्फत भएको खुल्ला बोलपत्र प्रक्रियाबाट निर्माणको जिम्मेवारी पाएको कम्पनीले रु छ करोड ९१ लाखमा ठेक्का सम्झौता गरेको हो । यो पुल एशियाकै लामो भएको निर्माण कम्पनीको दाबी छ । कञ्चनपुरको महाकाली नदीमा बनाइएको मल्टीस्पान प्रकृतिको चाँदनी–दोधारा पुल एशियामा लामो मानिए पनि यहाँको खुल्ला प्रकृतिको पहिलो हो । चाँदनी–दोधारा पुलमा १४/१५ वटा टावर राखेर बनाइएको छ । बागलुङमा बन्ने पुल खुला आकाशमा बन्ने भएकाले यस प्रकृतिको पुल नेपालकै सबैभन्दा लामो रहेको निर्माण कम्पनीका प्रतिनिधि खड्काको भनाइ थियो । निर्धारित समयभन्दा छ महिना पहिलै पुल निर्माण सक्ने निर्माण कम्पनीको लक्ष्य छ । रासस
अर्घाखाँची सिमेन्टले थप्याे ‘धन वर्षा’ योजनाको समयावधी
काठमाडौं । अर्घाखाँची सिमेन्टले आफ्ना उपभोक्ताका लागि बिगत दुई महिनाअघिदेखि लागू गरिरहेको ‘धन वर्षा’ योजनाको समयावधी केहि समयका लागि थप गरेको छ । अर्घाखाँची सिमेन्टको ‘धन वर्षा’ योजनामा ग्राहकको उत्साहजनक सहभागीता रहेकोले यस स्युर सट नगद उपहार योजनालाई अतिरिक्त केही समयमा लागि निरन्तरता दिइएको कम्पनीले बिहीबार प्रेश विज्ञप्तिमार्फत जानकारी दिएको छ । “नव निर्माणमा धनको बहार, अर्घाखाँचीमा करोडाैं उपहार” नारा दिइएको यस योजना अर्घाखाँची सिमेन्टलले स्थापनाको पाँचाैं वर्षको उपलक्ष्यमा मंसिर ८ गतेदेखि माघ ८ सम्मका लागि ल्याएको थियो । कम्पनीले यस योजनाअन्तर्गत समयावधी बाहेक अन्य शर्तहरु परिवर्तन नभएको पनि जनाएको छ । यस योजनाअन्तर्गत ग्राहक तथा उपभोक्ताले अर्घाखाँचीको जुनसुकै (ओपिसी वा पिपिसी) १५ बोरा सिमेन्टको खरिदमा एक स्क्रयाच कुपन पाउनेछन् जसलाई स्क्रयाच गरी उपभोक्ताहरुले रु १ सय देखि रु ५ सय, रु १ हजार, रु १० हजार, रु २५ हजार, रु ५० हजार र रु १ लाखसम्मको सुयोर सट नगद उपहार पाउनेछन् । यसरी पाउने नगद उपहारमा नेपाल सरकारको नियमानुसार लाग्ने कर विजेताले नै तिनुपर्नेछ । देशैभरी लागु हुने यस योजनाअन्तर्गत भाग्यशाली विजेताले डिलर वा हार्डवयेरमार्फत सिमेन्ट खरिद गर्दाकै समयमा सुयोर सट नगद उपहार प्राप्त गर्नेछन् । ग्राहकसँगको सम्बन्धलाई थप सुदृढ गर्न यस योजनाको समयावधी थपिएको कम्पनीका सहायक महाप्रबन्धक रमेश थापाले बताएका छन् ।
चाकुखोला जलविद्युतबाट पुनःउत्पादन शुरु
चाैतारा । बाढीपहिराेबाट क्षतिग्रस्त भई बन्द रहेको ६.५ मेगावाट क्षमताको सिन्धुपाल्चोकको चाकुखोला साना जलविद्युत् आयोजनामा मङ्गलबारदेखि पुनः उत्पादन शुरु भएको छ । हेडवक्स तयार हुन करिब चार महिना समय लाग्ने भएकाले अस्थायी रूपमा पानी ‘डाइभर्ट’ गरी उत्पादित विद्युतलाई लामोसाधु सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारणलाइनमा जोडिएको आयोजनाका मेनेजर शोभाकान्त हमालले बताए । निजी क्षेत्रको लाफिङ बुद्ध प्रालिद्वारा भोटेकोशी गाउँपालिका वडा नं ४ र ५ को बिचमापर्ने चाकुखोलामा निर्मित तीन आयोजना गत असार २१ गते राति आएको बाढी र पहिराले क्षतिग्रस्त भई बन्द भएका थिए । त्यति बेलासँगै रहेको शिवश्री हाइड्रोपावरको निर्माणाधीन आयोजनालाईसमेत क्षति पुगेको र दुई कामदारलाई बगाउनुका साथै दुई घाइते भएका थिए । एकजना कामदार अझै बेपत्ताकै अवस्थामा छन् । बाढी र पहिराले हेडवक्र्स, इन्टेक, ट्रान्समिशन, विद्युत् गृह, कर्मचारी आवास गृह, टेलरेश र स्वीचयार्ड समेतमा क्षति पुगेको थियो । उक्त आयोजनालाई २०७२ को विनाशकारी भूकम्प र २०७४ असार ३१ गतेको बाढी तथा पहिराले समेत क्षति पुर्याइ लामो समयसम्म उत्पादन बन्द भएको थियो । आयोजनाका मेनेजर हमालका अनुसार क्षतिग्रस्त आयोजना पुनःनिर्माण गर्न रु २० करोड भन्दा बढी लाग्ने अनुमान गरिएको छ । उक्त कम्पनीले त्यहाँ १.८ मेगावाटको मिडडल चाकु, बिचको चाकुखोला तीन मेगावाट र तल्लो चाकु १.७५२ मेगावाटसहित तीन आयोजनाबाट कूल ६.५ मेगावाट विद्युत् उत्पादन हुँदै आइरहेको छ ।रासस