गुल्मीको पश्चिमी क्षेत्रमा एकैपटक ४ पक्की पुल निर्माण, नागरिकमा खुसी
गुल्मी । गुल्मीमा मदन भण्डारी राजमार्ग योजना कार्यालयअन्तर्गत पश्चिमी क्षेत्रमा चार पक्की पुल निर्माणसँगै त्यस क्षेत्रका नागरिकलाई यतिबेला ठूलो खुसी मिलेको छ । यस पटकदेखि चाडबाडको समयमा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता लामो समयको प्रतीक्षापछि सधैँका लागि टरेको छ । जिल्लाको इस्मा गाउँपालिका, धुर्कोट गाउँपालिका र मालिका गाउँपालिका क्षेत्रभित्र रहेका खोलामा चारवटा पक्की पुल निर्माण भएसँगै त्यस क्षेत्रमा नागरिक निकै खुसी बनेका छन् । दसैँ, तिहार जस्ता चाडबाडको समयमा घरमा आउँदा सधैँ खोला तर्नुुपर्ने चिन्ताले पिरोलिरहने त्यस क्षेत्रका नागरिकले पुल बनेपछि सहज तरिकाबाट यात्रा गर्न पाएका छन् । उक्त क्षेत्रमा लामो समयको प्रयासपछि आर्थिक वर्ष २०८१/८२ मा एकै पटक चार पक्की पुल निर्माणसम्पन्न भएर सञ्चालनमा आएका हुन् । सञ्चालनमा आएका पक्की पुलमा फूलबारी खोला, घमिर खोला, हुलाके खोला र धनार्जी खोला गरी चारवटा रहेका छन । निर्माणसम्पन्न गरिएका पुलमा फूलबारी खोलाको पुल रु तीन करोड ३२ लाख ६८ हजार र घमिर खोला पुल रु तीन करोड १३ लाख ८४ हजारमा निर्माण सम्पन्न गरिएको हो । उक्त पुल निर्माणको काम पन्थ निर्माण सेवाद्वारा गरिएको थियो । त्यसैगरी सुनिल समिर निर्माण सेवाद्वारा हुलाके खोला पुल रु पाँच करोड ७९ लाख ५३ हजार र धनार्जी खोला पुल रु सात करोड ४८ हजार लागतमा निर्माणसम्पन्न भएकोे मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी होमनाथ पौडेलले जानकारी दिए । मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा खोलामा पक्की पुल नहुँदा वर्षातको समयमा त्यस क्षेत्रका नागरिकले ठूलो समस्या भोग्दै आउनुपरेको स्थानीय कृष्णप्रसाद अर्यालले बताए । पुल नहुँदा वर्षौंदेखि खोलाको बीचबाट सवारीसाधन सञ्चालन गर्नुपर्ने बाध्यता थियो । वर्षातको समयमा बाढी आउँदा कतिपय सवारीसाधन खोला तर्ने क्रममा बीचैमा अड्किने र कतिपय समयमा बाढीले बगाउने जस्ता समस्या झेल्नुपर्ने अवस्था थियो । त्यसकारण यात्रुलाई वर्षौंदेखि आवत–जावत गर्न सास्ती व्यहोर्दै आउनुपरेको थियो । पुल निर्माण नहुँदा उक्त क्षेत्रका राजनीतिक दल र नेतृत्वले समेत नागरिकबाट पटकपटक ठूलै आलोचना खेप्नुपरेको थियो । अहिले चारवटा पक्की पुल एकैचोटि निर्माणसम्पन्न भएर सहज रुपमा सवारीसाधन सञ्चालन भएपछि त्यस क्षेत्रका नागरिक निकै खुसी बनेको इस्मा–१ गुरुवाका स्थानीय दधिराम पन्थीले बताए । उक्त पक्की पुल निर्माण भएपछि जिल्लाको पश्चिमी क्षेत्रका चार स्थानीय तहसँगै बागलुङ र प्यूठानसम्मका नागरिकलाई समेत सहज बनेको मालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले बताए । 'पुल नहुँदा नागरिकले लामो समयदेखि पटकपटक समस्या र दुर्घटनाको जोखिम व्यहोर्दै आउनुपर्ने बाध्यता जस्तै बनेको थियो, अब खोलामा पक्की पुल बनेपछि विगतका समस्या समाधान गरिदियो, कालोपत्र सडकसँगै पुल निर्माण भएपछि यस क्षेत्रमा विकासले पनि नयाँ आयाम थप्ने भएको छ', गिरीले भने । तम्घास–सिमलटारी खण्डमा सडक र पुल निर्माण भएपछि छल्दी पनाहा, झरना, हुलाके, धनार्जी, चौरासी, राङ्दल, फुलबारी, सिमलटारीलगायतका स्थानमा व्यापारिक चहलपहल बढ्न थालेको इस्मा–६ का अगुवा कृषक कृष्णप्रसाद घिमिरेले बताए । जिल्लाको आधाजसो जनसङ्ख्या ओगटेको पश्चिमी क्षेत्रमा पुल निर्माण भएसँगै त्यस क्षेत्रका नागरिकमा सहज यात्रासँगै थप खुसी पनि थपिएको छ । रासस
पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन् । आज बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन–काठमाडौंको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आँबुखैरेनीमा करिब दुई/तीन सय सवारीसाधन रोकिएका छन् । वर्षा भइरहेकाले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा भने अहिलेसम्म अवरोध नरहेको कार्कीले उल्लेख गरे ।
बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध, यात्रु अलपत्र
ढोरपाटन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा अन्तर बागलुङको निसीखोला गाउँपालिका-४ स्थित कालापैराखोलामा सामान्य वर्षा हुँदा पनि लेदोसहितको बाढी आउँछ । बाढीले करिब दुई मिटर सडकमा क्षति पुर्याएको छ । चार वर्ष अगाडि कालोपत्र भएको लोकमार्ग अहिले पूर्ण रूपमा जीर्ण बन्दा यात्रा असहज बनेको छ । दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने राजमार्गको दूरावस्थाका कारण सास्ती खेप्नुपरेको छ । ठूलो वर्ष हुँदा सवारीसाधन ठप्प हुन्छन् । सवारीसाधन नचल्दा पश्चिम बागलुङको निसीखोलासहित पूर्वी रुकुम, पश्चिम रुकुम, रोल्पा, जाजरकोट, सल्यान, डोल्पालगायत जिल्लाबाट राजधानी काठमाडौँ, पोखरा, चितवन, बुटवल पुग्ने यात्रुले सास्ती खेप्नुपरेको छ । निरन्तर वर्षा हुँदा एक सातासम्म पनि लोकमार्ग बन्द हुने गरेको छ । हिउँदमा पनि वर्ष भयो भने सडक बन्द हुने गरेको छ । सडक बन्द हुँदा घण्टौँसम्म अलपत्र पर्नुपर्ने बाध्यता रहेको गाडी चालक प्रितम थापा मगरले बताए । बन्द हुने सडक समयमा नखुल्दा धेरै पटक सडकमै बास बस्नुपरेको गुनासो गर्नुभयो । बाढीसहित आएको लेदोमा गाडी फस्दा पाटपुर्जा बिग्रिएको उनको भनाइ छ । सडकलाई व्यवस्थित बनाउनका लागि सरोकारवाला निकाय उदासिन बनेको थापा मगरले बताए । उनले भने, 'यो लोकमार्गले पश्चिम नेपाललाई जोडेपछि धेरैजसो यात्रु यही मार्ग प्रयोग गरेर काठमाडौँ जाने गर्छन्, पहिले हामीहरू सुर्खेतबाट दाङ, बुटवल हुँदै काठमाडौँ जाने गर्थ्यौं, अहिले यो राजमार्गले काठमाडौँसँगको दूरी छोटो बनाएको हुँदा यताबाट जाने गर्छौं तर कालापौराखोलामा आउने बाढीले धेरै पटक दुःख पायौँ, दुईरतीन वर्ष भयो, अहिलेसम्म पनि व्यवस्थित बन्न सकेको छैन ।' मध्यपहाडी लोकमार्ग बागलुङमा सबैभन्दा बढी खण्ड निसीखोलामा पर्छ । पाखुट्टेदेखि पातीहाल्नेसम्म करिब ३८ किलोमिटर रहेको छ । अन्य ठाउँमा सडक सहज भए पनि कालापौराखोलामा बढी जोखिम छ । मध्यपहाडी लोकमार्गका सूचना अधिकारी उज्वल शर्माले ग्रामीण सडक व्यवस्थित नहुँदा लोकमार्गमा क्षति भएको बताए । निसीखोला गाउँपालिकाले कानाबगर बजारदेखि ओखरेनी गाउँ जोड्ने सडक निर्माण गरेपछि वर्षा हुँदा लेदोसहितको बाढी आएर लोकमार्ग अवरुद्ध हुने गरेको उनको भनाइ छ । कालापैराखोलामा आउने बाढी रोक्नका लागि ग्रामीण सडकनै व्यवस्थित बनाउनुपर्ने शर्माले बताए । यहाँको समस्या समाधान गर्नका लागि सडक विभागमै पत्र पठाउने उनी बताउँछन् । 'अहिले जनु ठाउँमा बाढीले सडक क्षति बनाएको छ, त्योभन्दा माथि ग्रामीण सडक छ, त्यो ठाउँ पनि अलिकति कच्ची रैछ, वर्षा भयो भने सबै बगेर आउँदो रहेछ, बाढी पन्छाएर सडक सुचारु गर्नका लागि एउटा मेसिन स्टानबाई राख्नु राखेका छौँ', उनले भने, 'स्थानीय तहले माथिल्लो क्षेत्रमा रहेको सडकलाई व्यवस्थित गर्यो भने यसको समाभान हुने थियो, हामीहरूले पनि अध्ययन गरेर समाधान कसरी गर्न सकिन्न छ भन्ने निचोड निकाल्ने छौँ ।' सडकमा हिलो बग्दा कानाबगर बजारनै कुरूप बन्न थालेको छ । यसको दीर्घकालीन समाधान नहुँदा सामान ढुवानी र यात्रा गर्न धेरै गाह्रो हुने गरेको निसीखोला गाउँपालिका–५ का स्थानी थमबहादुर घर्ती मगरले बताए । लोकमार्गको वैकल्पिक सडक भए पनि सुचारु नभएको उनको भनाइ छ । लामो समयसम्म निरन्तर वर्षा भएर धेरै दिन लोकमार्ग बन्द हुँदै आएको घर्तीले बताए । रासस