पहिरो पन्छाएपछि बेनी-दरवाङ सडक सञ्चालन
काठमाडौं । पहिरोले अवरुद्ध बेनी-दरवाङ सडक सञ्चालन भएको छ । पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका निरीक्षक राम्जी आचार्यले जानकारी दिए । सडक खुलेसँगै अलपत्र परेका यात्री बोकेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमाना फापर खेतमा सामान्य वर्षा हुँदा पनि पहिरोको जोखिम हुने गरेको उनी बताउँछन् । पटक-पटकको पहिरोका कारण जिल्लाको पश्चिमी क्षेत्रका बासिन्दालाई आवागमनमा कठिनाइ भएको छ भने स्थानीय तहमा निर्माणाधीन सडक, विद्युत् सबस्टेशन, प्रसाररण लाइन र जलविद्युत् आयोजना प्रभावित भएका छन् ।
४५.४० करोड डलरमा भारत-भुटान पहिलो सीमापार रेल बन्ने, ४ वर्षभित्र सम्पन्न हुने
काठमाडौं । भारत र भुटानले पहिलो पटक दुवै देशलाई जोड्ने सीमापार रेलमार्ग निर्माण गर्ने सहमति गरेका छन् । करिब ४५ करोड ४० लाख डलर बराबरको यो विशाल परियोजना ४ वर्षभित्र सम्पन्न हुने घोषणा भारत सरकारले सोमबार गरेको छ । भारतीय विदेश सचिव विक्रम मिस्रीले भुटानको मुख्य व्यापारिक साझेदार भारतले हिमाली छिमेकी मुलुकको पूर्वाधार र अर्थतन्त्रको आधुनिकीकरणमा ‘महत्त्वपूर्ण योगदान’ दिइरहेको बताए । भारतका रेल मन्त्री अश्विनी वैष्णवले यो रेलमार्गले ‘भुटानका जनताका लागि ठुलो लाभ पुर्याउने बताए । साथै रेलमार्गले सम्पूर्ण क्षेत्र जोडिने र हाल केही दिन लाग्ने सामानको आवागमन केही घण्टामै सम्पन्न हुने आशा व्यक्त गरे । प्रारम्भिक ६९ किलोमिटर (४३ माइल) रेलमार्गले करिब ३४ अर्ब ५६ करोड अर्ब भारतीय रुपैयाँ (३९ करोड डलर) लागतमा भारतको उत्तर पूर्वी सहर कोक्राझारलाई भुटानको सीमा नजिकै अवस्थित १० हजार जनसङ्ख्या भएको सहर गेलेफूसँग जोड्नेछ । यस्तै, अनुमानित ५ अर्ब ७७ करोड भारतीय रुपैयाँ खर्च हुने दोस्रो २० किलोमिटर रेलमार्गले भुटानको उत्तर पश्चिमी औद्योगिक केन्द्र सामत्सेलाई पूर्वी भारतको बानरहाटसँग जोड्नेछ । ८ लाखभन्दा कम जनसङ्ख्या भएको सानो र भूपरिवेष्टित भुटान चीन र भारतबीच अवस्थित छ । विकासभन्दा ‘ग्रस नेशनल ह्याप्पीनेस’ (सामूहिक राष्ट्रिय खुशी) लाई प्राथमिकता दिने नीतिका लागि परिचित यस मुलुकले हाल विदेशी लगानी र पर्यटकलाई आकर्षित गर्न गेलेफुलाई आर्थिक क्षेत्रका रूपमा विकास गर्ने योजना अघि सारेको छ । ‘यो रेलमार्गले भुटानलाई दक्षिण एसिया र दक्षिण पूर्व एसियासँग जोड्ने आर्थिक केन्द्रका रूपमा स्थापित गर्नेछ,’ विदेश सचिव मिस्रीले भने । रेल मन्त्री वैष्णवले नयाँ रेललाइनहरू पूर्ण विद्युतीय हुने र सकेसम्म वातावरणमैत्री ढङ्गले निर्माण गरिने जानकारी दिए ।
खुल्यो नारायणगढ-मुग्लिन सडक
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ । अपरान्ह १२ बजे पहिरो खसेपछि दिनभर सडक अवरुद्ध भएको थियो । अहिले साँझ ६ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए ।