९ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलियो, १ हजार ५४ आयोजना सम्पन्न
काठमाडौं । विकास-निर्माणका गतिविधिलाई केन्द्रमा राखेर क्रियाशील व्यास नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा नौ किलोमिटर नयाँ ‘ट्र्याक’ खोलेको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार नगरपालिकाले गत आवमा ३.९४ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ । हालसम्म नगरपालिकाका १०५ किलोमिटर सडक कालोपत्र र ढलान भएका छन् । यी पालिकाका भित्री सडक पनि हुन् । सोही आवमा एउटा पक्की पुल र ५ वटा उद्यान पनि निर्माण भएका छन् । साथै ४९६ घरमा स्वच्छ खानेपानीको प्रबन्ध भएको छ । १ हजार ५४ आयोजना सम्पन्न नगरपालिकाले गत आवमा वर्ष १ हजार ५४ आयोजना सम्पन्न गरेको छ । १ हजार २१ उपभोक्ता समिति र ३३ वटा आयोजना ठेक्का मार्फत सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी दिए । पूरा भएका १६ वटा आयोजना ५० लाख रुपैयाँभन्दा बढी लागतका, १६६ वटा आयोजना ५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मका र ८७२ आयोजना ५ लाख रुपैयाँ भन्दा कम लागतका हुन् ।
भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गमा राति गाडी चलाउन रोक
काठमाडौं । भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गमा आजदेखि २१ गतेसम्म राति गाडी चलाउन रोक लगाइएको छ । काभ्रे जिल्ला प्रशासन कार्यालयले असोज १६ गतेदेखि २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक र निजी यात्रु बाहक सवारीसाधन सन्चालनमा रोक लगाएको हो । बीपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेँसी-सिन्धुली सडक खण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन आवागमन निषेध गरिएको काभ्रे जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको हो । साथै, रोसी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्ने सूचनामा उल्लेख गरिएको छ। उच्च सतर्कता र पूर्वतयारी एवं प्रतिकार्यका लागि अनुरोध ! राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मिति २०८२ असोज १५ गते प्रकाशित उच्च सतर्कताका लागि अनुरोध गरिएको सूचना बमोजिम असोज १७ गतेदेखि २० गतेसम्म यस (काभ्रे) जिल्लामा समेत भारी वर्षाको सम्भावना रहेको जनाएको छ। बाढी पहिरोको उच्च जोखिममा रहेको देखिएकाले देहायअनुसार गर्ने गराउन सम्बन्धित कार्यालयहरू, संस्थाहरू एवं जिल्लावासी सबैमा अनुरोध गर्दैछौँ। क. वर्षात् र बाढी पहिरोबाट सवारीसाधन र यात्रुलाई हुन सक्ने जोखिम हुन नदिन २०८२ असोज १६ गते बिहीबारदेखि असोज २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेँसी-सिन्धुली सडक खण्डमा आवतजावत गर्ने एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रु वाहक सवारीसाधनको आवागमनमा निषेध गरिएको छ। साथै रोसी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्नेछ। ख. उल्लेखित अवधिमा अत्यन्त जरुरी नभईकन बाहिर नजाने, विशेषगरी टाढा र रातको समयमा यात्रा नगर्ने। ग. पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउने। विशेष स्थानीय तहहरूले स्वीकृत मनसुन कार्ययोजना अनुरूप आवश्यक पूर्वतयारी र प्रतिकार्य गर्ने गराउने। घ. डुबान हुने सक्ने बस्तीहरूलाई सुरक्षित क्षेत्र (अस्थायी) र सुरक्षित स्थानबारे जानकारी लिने र आवश्यक पर्दा गाँउपालिका/नगरपालिकाद्वारा यसअघि निर्धारित सुरक्षित स्थानमा जाने। ङ. जिल्ला स्थित सुरक्षा निकायहरू, स्थानीय तहहरू, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय स्वीकृत प्रतिकार्य योजना अनुरूप तयारी अवस्थामा रहने। च. बीपी र अरनिको राजमार्ग आयोजनाहरू (सडक डिभिजन भक्तपुर र सूर्यविनायक-धुलिखेल सडक आयोजना) ले सडकहरूमा तुरून्त परिचालन हुने गरी डोजर, एस्काभेटर, लोडरलगायतका साधनहरू तयारी अवस्थामा राख्ने । छ. पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क (अलर्टमा) रहने। ज. स्थानीय विपद् व्यवस्थापन समितिहरू र विपद् व्यवस्थापन समितिका क्लस्टर लिड र क्लस्टरको लिडहरूले स्वीकृत प्रतिकार्य योजनाअनुरूप तयारी अवस्थामा रहने।
डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा
काठमाडौं डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो । आयोजना प्रमुख रोशन अग्रवालका अनुसार ४ वर्षमा उक्त प्रगति भएको हो । वन क्षेत्र व्यवस्थापन, ‘सबस्टेसन, टावर’ निर्माणलगायत काममा विना व्यवधान सम्पन्न नहुँदा आगामी कात्तिक ३० गतेसम्ममा बाँकी काम पूरा गर्न असम्भव प्रायः छ । मालिका गाउँपालिका-७ डाडाखेतदेखि रघुगङ्गा गाउँपालिका-३ राहुघाटको अम्वाङ सम्म २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै स्थानमा सबस्टेसन निर्माण गर्न ४ वर्षअघि ३ अर्ब ५७ करोड रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । हालसम्म ४५ वटा ‘डबल सर्किट टावर’ निर्माण भइसेकाका छन् भने १४ वटा निर्माणाधीन छन् । म्याग्दी नदीमा एक सय ७२.८ मेगावाट क्षमताका ४ वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मंगले, ४८ मेगावाटको अपर राहुघाट र २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन् । ४० मेगावाट क्षमताको राहुघाट र २३.५ मेगावाटको माथिल्लो ठूलो खोला आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलो खोला आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा बिजुली प्रवाह गरेका छन् ।