ओली र माेदीद्वारा पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटन

काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ । आजै मध्याह्नदेखि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको हो । परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा रहेको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिरहेका थियो । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा पाइप लाइन परियोजनाको शिलान्यास गरेका थिए । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सो कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत नेपाल सरकरका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।

१५ करोड लागतमा नेपालगञ्जको सुविधासम्पन्न बसपार्क तयार, अब छिट्टै सञ्चालनमा आउने

राँझा । नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले बताएका छन् । उनले केही दिनमै औपचारिक रुपमा बसपार्क सञ्चालनमा ल्याईने जानकारी दिए । “बसपार्कको निर्माण कार्य सकिएको छ, एकहप्ता वा बढीमा दश दिनभित्र हामीले सञ्चालनमा ल्याउने छौँ”, नगरप्रमुख राणाले भने, “सबै बसलाई बसपार्कभित्रै पार्किङ गर्नुपर्ने बाध्यात्मक व्यवस्था मिलाउँदैछौँ ।” बसपार्कमा पार्किङ नगरी सडकका छेउछाउ बस रोक्दा दुर्घटनाको जोखिम हुनुका साथै अशोभनीय देखिएकाले सबै बसलाई बसपार्कभित्रै राख्ने अनिवार्य व्यवस्था कायम गर्न लागिएको उनले जानकारी दिएका हुन् । उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण गरेको हो । यातायातका साधनबाट असुली हुने रकमबाट नै ऋण तिर्ने उपमहानगरपालिकाको योजना छ । बसपार्कभित्र टर्मिनल भवन, सपिङ बिल्डिङ, शौचालय, चमेनागृह, पक्की पार्किङ क्षेत्र निर्माण गरिएको छ । निर्माण कम्पनीले मुख्यद्धार र पक्की पर्खाल निर्माणको समेत जिम्मा लिएको उपमहानगरका इञ्जिनीयर सुरजकुमार गुप्ताले बताएका हुन् । उनका अनुसार, बसपार्क निर्माणको जिम्मा युनाइटेड बिल्डर्सले रु २० करोड लागत अनुमान गरिएकामा रु १४ करोड ९४ हजारमा ठेक्का लिएको थियो । पटक–पटक म्याद थप गरी करिब एक वर्ष ढिलो गरी निर्माण कम्पनीले बसपार्क निर्माणको काम सम्पन्न गरेको छ । करिब २० वर्ष पुरानो बसपार्कले गाडी र यात्रुको चापलाई धान्नै नसकेकाले पश्चिम नेपालकै केन्द्रका रूपमा रहेको नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणका लागि यातायात व्यवसायीले पनि दबाब दिँदै आएका थिए । हरेक गाडीबाट दैनिक रु २० देखि रु १०० सम्म शुल्क उठाउँदै आएको बसपार्कमा अत्याधुनिक सेवा सुविधा दिन थालेपछि सेवा शुल्क बढाउने सहमति भइसकेको छ । भेरी बस व्यवसायी प्रालिका वरिष्ठ उपाध्यक्ष शोभाखर पौडेलले बसपार्क सञ्चालन नहुँदा यातायात व्यवसायी र यात्रुले दुःख झेल्नुपरेकाले तुरुन्त सञ्चालन गर्नुपर्ने बताए । उनका अनुसार, नेपालगञ्ज बसपार्कबाट काठमाडौँलगायत पूर्व–पश्चिम तथा उत्तरतर्फ गरी दैनिक ६०० बढी साना ठूला बस सञ्चालन हुने गर्दछन् । रासस

बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन परियोजनाको आज उद्घाटन हुने

अमलेखगञ्ज । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियप पाइप लाइन परियोजनाको मङ्गलबार अपराह्न १२ः१५ मा उद्घाटन गरिँदैछ । भारतको मोतिहारीबाट अमलेखगन्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावादबाट ‘भिडियो कन्फ्ररेन्स’मार्फत एकैसाथ स्वीच थिचेर परियोजनाको उद्घाटन गर्नेछन् । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रने छ । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइने छ । यसपछि क्रमशः पेट्रोल र मट्टीतेल ल्याइनेछ । मोतिहारी–अमलेखगन्ज पाइप लाइनको दूरी ६९ दशमलव २ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ २६ दशमलव २ र भारततर्फ ३३ दशमलव ६९ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने पेट्रोलियम पाइप लाइन परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च कटौती हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानीलागतको न्यूनीकरणले उपभोक्ता मूल्यसमेत समायोजन हुनेछ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको छ । पाइपलाइन परियोजना उद्घाटनको सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी पूर्ण भएको नेपाल आयल निगमले जनाएको छ । परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगन्जमा रहेको छ । यसका लागि निगमको उच्च अधिकारी सम्मिलित टोली अमलेखगन्ज पुगिसकेको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रहेको थियो । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापा र उहाँको भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो । निगमको नेतृत्व सम्हाल्ले लगत्तै कार्यकारी निर्देशक पौडेलले उक्त परियोजनालाई तोकिएको समयभित्रै सम्पन्न गर्न ताकेता तथा कुनै समस्या देखिए समाधानका लागि सहजीकरण गर्दै आएका थिए । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा पाइपलाइन परियोजनाको शिलान्याश गरेका थिए । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ (नेपाली रुपैयाँ करीब चार अर्ब ४० करोड) रहेको छ ।