विद्या सुन्दर शाक्यलाई सर्वाेच्च अदालतको प्रश्नः घरको मापदण्ड छुट्टै किन बनाएको ?

काठमाडौं । सर्वोच्च अदालतले काठमाण्डौ महानगरपालिकाले जारी गरेको छुट्टै भवन संहिता लागू गर्नुको कारण पेश गर्न आदेश दिएको छ । शहरी विकास तथा भवन निर्माण विभागले लागू गरेको राष्ट्रिय भवन संहिताको प्रतिकुल हुने गरी काठमाण्डौ महानगरपालिकाले छुट्टै कानुन बनाएपछि सर्वोच्च अदालतले त्यसको कारणसहित १५ दिनभित्रमा लिखित जवाफ पेश गर्न काठमाण्डौ महानगरपालिकालाई बिहिवार आदेश दिएको हो । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले संघीय सरकारले बनाएको कानुन प्रतिकुल हुने गरी महानगरपालिकाले छुट्टै भवन संहिता बनाउनुको कारणसहित लिखित जवाफ पेश गर्न भनेको हो । महानगरपाकिाले लागू गरेको भवन संहित उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गर्दै काठमाण्डौ उपत्यका विकास प्राधिकरणले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेतलाई बिपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सर्वोच्चले थप सुनुवाई गरी अन्तरिम आदेशवारे निर्णय गर्ने ठहर गर्दै दुवै पक्षलाई आगामी छलफलका लागि बोलाएको छ । २०७२ सालको बिनाशकारी भूकम्पपछि शहरी बिकास तथा भवन निर्माण विभागले जथाभावी भौतिक संरचना निर्माणमा कडाई गर्दै राष्ट्रिय भवन संहिता जारी गरेको थियो । उक्त संहिताको प्रतिकुल हुने गरी महानगरपालिकाले छुट्टै भवन संहिता लागू गरेको थियो । महानगरपालिकाले लागू गरेको भवन संहितालाई आधार मान्दै पछिल्लो समय राजधानीमा अग्लो खाले व्यापारिक भवन तथा टावरहरु बन्दै गइरहेका छन् । महानगरपालिकाको भवन संहिताकै कारण काठमाण्डौ उपत्यकामा भुकम्पीय दृष्टिकोणले जोखिमपुर्ण संरचना बन्न थालेपछि काठमाण्डौ उपत्यका बिकास प्रािधकरणले त्यसलाई रोक्न सर्वोच्च अदालत गुहारेको थियो ।

८० हजार किमि सडककोे जिम्मा कसले लिने ?

काठमाडौँ । देशभरका झण्डै ८० हजार किलो मिटर सडकको निर्माण, स्तरोन्नति र सुधारको काम कसले गर्ने भन्ने टुङ्गो लागेको छैन । देश नयाँ संरचनामा गएपछि कुनकुन र कस्ता सडक कसले जिम्मेवारी लिने भन्ने टुङ्गो लागि नसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बताएको छ । पहिले अधिकांश सडकको जिम्मेवारी सङ्घको भए पनि देशको नयाँ संरचनाअनुसार सडक निर्माण र सुधार प्रदेश र स्थानीय तहको समेत जिम्मेवारी भएको मन्त्रालयका प्रवक्ता शिवहरी सापकोटाले बताए । उनका अनुसार कुनकुन सरकारले कस्ता सडक निर्माण गर्ने भन्ने निर्धारण गर्नका लागि छलफल शुरु भएको छ । राष्ट्रिय गौरवका आयोजनाका सडक निर्माणको ठेक्का सम्झौता सङ्घले नै गरेको उनले बताए । गत सालदेखि यी सडकका लागि बजेट प्रदेशमा गएको छ । उनले भने, “एउटा तहले ठेक्का सम्झौता गर्ने र अर्कोले बजेट छुट्टाउने हुँदा ठेकेदारलाई समेत अन्योल हुनसक्छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत पुस ३ गते बसेको अन्तर प्रदेश परिषद्को बैठकले सङ्घले ठेक्का सम्झौता गरेका राष्ट्रिय गौरवको आयोजनाहरु प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । पुरानो संरचनाअनुसार सडक विभागले सबै अञ्चलमा रहेका डिभिजन सडक कार्यालय र त्यस मातहतका जिल्लास्थित डिभिजन सडक कार्यालय हुँदै सडक निर्माण र मर्मत गर्दै आएको मन्त्रालयले बताएको छ । अहिले अञ्चलस्थित कार्यालय प्रदेशमा हस्तान्तरण भइसकेको प्रवक्ता सापकोटाले बताए । उनले भने, “हामीसँग फरकफरक नामका सडक भएकाले कुन सडक कसको जिम्मेवारी भनेर स्पष्ट पार्न जरुरी छ ।” रासस

भाटभटेनीले त्रिवि शिक्षण अस्पतालमा नौ तले भवन बनाउने, १० महिनामा हस्तान्तरण

काठमाडौँ । भाटभटेनी सुपर मार्केटले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका लागि ९ तले भवन बनाइदिने भएको छ । यस सम्बन्धमा लिखित सम्झौताको प्रक्रिया अघि बढेको अस्पताल प्रशासनले जनाएको छ । भाटभटेनीले दश वर्ष अघि शिक्षण अस्पतालको आकस्मिक कक्ष निर्माण गरिदिएको थियो । अहिले सोही आकस्मिक कक्ष नजिकै ९ तले भवन निर्माणमा सहयोग गर्न लागेको र यस सम्बन्धमा सुपरमार्केटका सञ्चालक मीन गुरुङसँग कुराकनी भएको अस्पताल प्रशासन बताउँछ । ८–१० दिनमा भवन डिजाइनको अन्तिम चरणको काम अघि बढ्छ-अस्पतालका प्रशासक सूर्य अधिकारीले बताए । सुपरमार्केटले यसअघि निर्माण गरिदिएको आकस्मिक कक्षको लागत १३ करोड थियो । अब बन्ने भवन त्यो भन्दा बढी लागतको हुने बताइएको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले अस्पताललाई आकस्मिक कक्ष विस्तार, बिरामी कुरुवा कोठा, हेलिप्याड सहितको भवन निर्माण गर्ने इच्छा देखाएको अस्पताल प्रशासन बताउँछ । गुरुङले दस वर्षअघि आफ्ना स्वर्गीय मातापिता बृषबहादुर गुरुङ र धनमाया गुरुङको स्मृतिमा सो आकस्मिक कक्ष निर्माण गरी सफाइ व्यवस्थापन आफैं गर्दै आएका छन् । अब बनाउन लागिएको भवन १० महिना भित्र निर्माण हुने र अस्पतालमा हस्तान्तरण गर्ने सञ्चालन गुरुङको योजना छ दुई वर्ष अघि नै सुपरमार्केटले यो प्रस्ताव लगेपनि विविध कारणवश यो काम शुरु हुन सकेको थिएन, अब भने निर्माण कार्य शुरु हुने अस्पताल प्रशासनले जनाएको छ ।