स्थानीयवासीको आन्दोलनले रोकिएको मध्यमोदी पुनःसञ्चालनमा

काठमाडौं । पाँच दिनदेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य पुनःसञ्चालन भएको छ । चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४.५ मेगावाट क्षमताको सो आयोजनाको काम स्थानीयवासीको आन्दोलनका कारण रोकिएको थियो । स्थानीयवासीका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माण पुनः थालिएको हो । आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीको घरमा क्षति पुगेको भन्दै उनीहरुले क्षतिपूर्तिको माग गरी आन्दोलन थालेका थिए । मोदी गाँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा घरमा क्षति पुगेपछि स्थानीयवासी आक्रोसित भएका छन् । भूगर्भविद्ले दिएको प्रतिवेदनका आधारमा मोदी गाउँपालिका र आयोजना पक्षले संयुक्त प्राविधिक टोली खटाउने, प्राविधिक टोलीले घरको मूल्याङ्कन गरी पुनःनिर्माण वा प्रवलीकरण गर्दा लाग्ने लागत योजना तयार गर्ने र सोही आधारमा आयोजनाले घरधनीलाई रकम उपलव्ध गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको भनाई छ । क्षति पुगेका तीन घरको पुनःनिर्माणको काम स्वयंले गर्ने र आवश्यक रकम आयोजनाले दिने सहमति जुटेको छ । भूगर्भविद्ले घर भत्कनुमा मुख्य कारण भूकम्प र पराकम्प भएको तथा आयोजनाका कारण केही घरमा असर परेको प्रतिवेदन दिएकाले सोहीअनुसार कार्यान्वयन गर्न तयार रहेको आयोजना प्रमुख निरञ्जन राउत बताएका छन् । भूगर्भविद्ले १२ घरमा बढी क्षति, नौ घरमा सामान्य क्षति तथा सात घर प्रभावित हुनसक्ने प्रतिवेद न बुझाएको छ । रासस

१२ खानेपानी आयोजना निर्माण

काठमाडौँ । सरकार र स्थानीय जनताको सहलगानीमा १२  खानेपानी आयोजना सम्पन्न भएको छ । सरकारले नागरिकलाई शुद्ध खानेपानी उपलब्ध गराउने लक्ष्यअनुसार ति खानेपानी आयोजना निर्माण गरेको हो । आर्थिक वर्ष २०६९/७० देखि थालिएको सहलगानी खानेपानी आयोजना ७० प्रतिशत सरकार र ३० प्रतिशत स्थानीय जनसमूदायको लगानीमा निर्माण गरिएको हो । यस्तै ३९ खानेपानी आयोजना निर्माणाधीन अवस्थामा छन् । तीन वर्षमा ति आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत रहेको सहलगानी खानेपानी आयोजनाका प्रमुख प्रदीप मुडवरी १२ आयोजनाबाट तीन लाख २४ हजार व्यक्ति लाभान्वित भएको बताएका छन् । सरकार र स्थानीयको सहभागिता रहने हुँदा समयमा आयोजना सम्पन्न गर्न सहज हुने मुडवरीको भनाइ छ । सम्पन्न भएका आयोजनामा आनन्दवन शङ्करनगर खानेपानी आयोजना रुपन्देही, शङ्करनगर खानेपानी आयोजना रुपन्देही, चेपेखोला खानेपानी आयोजना गोरखा, अमरापुरी खानेपानी आयोजना नवलपरासी, मानगढ खानेपानी आयोजना मोरङ, उर्लाबारी खानेपानी आयोजना मोरङ र चन्द्रगढी खानेपानी आयोजना झापा रहेका छन् । यस्तै प्रगतिनगर पश्चिम कालीकानगर खानेपानी आयोजना रुपन्देही, नयाँगाउँ खानेपानी आयोजना रुपन्देही, धनगढा खानेपानी आयोजना चितवन, रत्ननगर नयाँगाउँ खानेपानी आयोजना चितवन र पर्सा नयाँगाउँ खानेपानी आयोजना चितवन सम्पन्न भएको छ । प्रत्येक खानेपानी आयोजना रु एक करोडभन्दा बढी लगानीका हुन् । विभागका सूचना अधिकारी रत्नप्रसाद लामिछाने सहलगानीका ठूला आयोजना केन्द्रले सञ्चालन गरे पनि केही आयोजनालाई प्रदेशस्तरबाटै सम्पन्न गर्नका लागि विभागले अनुमति दिइसकेको बताए । सर्रा सहलगानी खानेपानी आयोजना दाङ, बस्तीपुर सहलगानी खानेपानी आयोजना मकवानपुर, पाटन नयाँ शहर वृहद सहलगानी खानेपानी आयोजना बैतडी, ओखलढुङ्गा सहलगानी खानेपानी आयोजना ओखलढुङ्गा, लेखनाथ दोस्रो सहलगानी खानेपानी आयोजना कास्की, खानीखोला सहलगानी खानेपानी आयोजना धादिङ, रुकुमकोट सहलगानी खानेपानी आयोजना रुकुुम, किमडाँडा सहलगानी खानेपानी आयोजना अर्घाखाँची र शान्तिपुर सहलगानी खानेपानी आयोजना गुल्मीलाई प्रदेश तहमा हस्तान्तरण गरिएको छ । सहलगानी आयोजनाअन्तर्गत हिमाली क्षेत्रमा अधिकतम पाँच हजार, पहाडी क्षेत्रमा १० हजार र तराई क्षेत्रमा ३० हजार जनसङ्ख्या हुनु पर्छ । सरकारले १० सुख्खा क्षेत्रमा वृहत् खानेपानी आयोजना निर्माण थालेको छ । विभिन्न समयमा सरकारले सुख्खा क्षेत्र घोषणा गरिएका गाउँबस्तीलाई आधार मानेर वृहत् खानेपानी आयोजना निर्माण थालेको हो । निर्माण हुनलागेका सुख्खा क्षेत्र आयोजनामा यशोक वृहत पम्पिङ खानेपानी आयोजना पाँचथर, आङ्ना मौवा वृहत पम्पिङ खानेपानी आयोजना पाँचथर, हलेसी क्षेत्र वृहत् पम्पिङ खानेपानी आयोजना खोटाङ, तिमाल वृहत् सुख्खा क्षेत्र खानेपानी आयोजना काभ्रेपलाञ्चोक र चौँरीखोला ढोकाडाँडा वृहत् पम्पिङ खानेपानी आयोजना काभ्रेपलाञ्चोककाे रहेकाे छ । यस्तै पकरवास वृहत् पम्पिङ खानेपानी आयोजना रामेछाप, दरौँदी गोरखा वृहत् पम्पिङ खानेपानी आयोजना गोरखा, तानसेन कालीगण्डकी वृहत् खानेपानी आयोजना पाल्पा, विजेश्वरी चौरजहारी वृहत् पम्पिङ खानेपानी आयोजना रुकुम र हर्रे टुनिबोटे डुँडेखोला वृहत् खानेपानी आयोजना सिन्धुपाल्चोक निर्माण गरिँदै छ । काठमाडौँका बासिन्दालाई भने शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले मेलम्ची खानेपानी आयोजना निर्माण गरिरहेको छ । रासस

भुटानी शरणार्थी शिविर अब स्मृति पुष्प बगैँचामा परिणत हुँदै, २०२० सम्म निर्माण सम्पन्न

काठमाडौं । झापाको भुटानी शरणार्थी शिविरमा ‘शरणार्थी स्मृति पुष्प बगैँचा’ निर्माण हुने भएको छ ।अर्जुनधारा नगरपालिका–३ स्थित जुकेखाडी सामुदायिक वनको हाताभित्र शरणार्थीको स्मृतिमा रु ९४ लाखको लागतमा सो बगैँचा निर्माण हुन लागेको हो । १० कठ्ठा जमीनको क्षेत्रमा विसं २०४८ देखि २०६८ सम्म भुटानी शरणार्थीले बसोवस गरेका थिए । उक्त बगैँचा सन् २०२० सम्ममा निर्माण गरिसक्ने लक्ष्य रहेको नगरप्रमुख हरिकुमार रानाले जानकारी दिए । ‘ बगैँचाका लागि प्रदेश सरकारले यस पटक रु १० लाख प्रदान गरेको छ’ भने नगरपालिका र अन्य पक्षसँगको सहकार्यमा निर्धारित समयमै बगैँचा निर्माण गरिने छ ।” भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना भएपछि सो क्षेत्रको सरकारको पर्यापर्यटन नीतिअनुरुप पर्यटकीय स्थल बनाउन लागिएको नगरप्रमुख रानाले बताएका छन् । दुई सय मिटर लम्बाइ, १६० मिटर चौडाइको सो बगैँचाका लागि इञ्जिनीयर लोकबहादुर तामाङले लागत योजना तयार भएको छ । बगैँचाको बीचमा पोखरी र त्यसमा चार वटा पुल, स्मृति स्तम्भलगायत पूर्वाधार निर्माण गर्नाका साथै शरणार्थीको इतिहास नेपाली र अङ्ग्रेजी दुबै भाषामा लिपिबद्ध गरेर राखिने जनाइएको छ । रासस