शक्ति बस्नेतले बाचा पुरा गरे, कुशेमा पुग्यो बस

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो चुनावी प्रचारप्रसारको क्रममा जुम्लाको सिमानासँग जोडिएको कुशेगाउँपालिकामा एक वर्षभित्र बस सञ्चालन गराउने प्रतिबद्धता पूरा गरेका छन । मन्त्री बस्नेतले चुनावका क्रममा एक बर्षभित्र बस गुडाउने प्रतिवद्धता पुरा गरेपछि जाजरकोट कुशे गाउँपालिका, छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिकाका स्थानीयवासी खुशी भएका छन् । सडक निर्माणकार्य थालिएको १२ वर्ष पुग्दासम्म वर्षेनी सडक खन्दै पुर्दै गर्दा विकास नभएको भनी तीव्र आलोचना भएका बेला मन्त्री बस्नेतले पटक–पटक स्थलगत रूपमा अवलोकन गरी केन्द्रबाट पठाएको बजेट सदुपयोग र काममा निगरानी गरेपछि अहिले एक वर्षभित्र यातायात सञ्चालनमा आएको कुशेगाउँपालिका–१ का वडाध्यक्ष गोपाल नेपाली बताए । एक हप्तादेखि जाजरकोट कुशेगाउँपालिकाको थर्पुमा बस सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासी खुशी भएका छन् । जाजरकोट शिवालय गाउँपालिकाको छेडाचौरदेखि थलहबजार–ढुङ्गील–साँधीबिसाउना हुँदै कुशेगाउँपालिका–६ थर्पुसम्म सडक निर्माण गर्न थालिएको १२ वर्षपछि बस सञ्चालनमा आएसँगै अब यहाँको जीवनस्तर माथि उठ्ने विश्वास लिएको नेपालीले बताए । उत्पादन क्षेत्र, बाक्लो मानवबस्ती, पर्यटन क्षेत्र, ऐतिहासिक स्थललगायत स्थानसम्म छिटोभन्दा छिटो सडक पु¥याउने लक्ष्यअनुसार काम भइरहेकाले निरन्तर अनुगमनदेखि गुणस्तरसम्मका काम हेरफेर भइरहेको सांसद गणेशप्रसाद सिंहले बताए । कुशेगाउँपालिकामा सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थरलगायत खनिज र सयौँ प्रकारका जडीबुटीको भण्डारका रूपमा चिनिन्छ  । जुम्लाको सिमानासँग जोडिएको कुशे गाउँपालिकाको केन्द्र सडक सञ्जालमा जोडिएपछि स्थानीयवासीले थाप्लोमा भारी बोकेर पैदल हिँड्नुपर्ने दिनको अन्त्य भएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । रासस

सरकार शहर केन्द्रित, गाउँ विकासको आयोजना अन्योलमा

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले स्थानीय तहमा केन्द्रीय सरकारको उपस्थिति नभएको भन्दै विकास निर्माणको काम प्रभावित भएको बताएका छन् । विगतमा केन्द्रीय सरकारको बजेटबाट अगाडि बढाइएका विकास निर्माण, खानेपानी तथा स्वास्थ्य तथा शिक्षाका योजना अलपत्र परेको भन्दै ती परियोजना स्थानीय तह र प्रदेश सरकारले समेत ध्यान नदिएकोमा जानकारी दिएका छन् । सांसद गोपालबहादुर बमले विगतका योजना अलपत्र परेका कारण स्थानीय जनता समस्यामा तत्काल विशेष ध्यान दिन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकको शून्य समयमा सांसद डा अमरेशकुमार सिंहले चिनी मिलले उखु क्रसिङ शुरु नगर्दा किसान मर्कामा परेको भन्दै तत्काल उखुको समर्थन मूल्य तोक्न र उखु क्रसिङ शुरु गराउन सरकारले पहल गर्नुपर्ने बताएका छन् । सांसद खगराज अधिकारीले मादी करिडोरको बजेट हराएको भन्दै खोजी गरिदिन सरकार र सदनको ध्यानकर्षण गराएका छन् । सो करिडोरको बजेट केन्द्र सरकारसँग पनि छैन, प्रदेशले पनि पाएको छैन । यस्तै केही सांसदले विकास निर्माणको कामको जिम्मा लिएका निर्माण व्यवसायीले अलपत्र पारेको भन्दै त्यस्ता व्यवसायीलाई कारवाही गर्न माग गरेका छन् । रासस

गण्डकी प्रदेश सरकार र विश्व बैंकको आर्थिक सहयोगमा, लुदीखोलामा पक्की पुल बन्दै

काठमाडौं । गण्डकी प्रदेश सरकार र विश्व बैंकको आर्थिक सहयोगमा गोरखाकाे लुदीखोला पक्की पुल बन्ने भएको छ । शहीद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ जोड्ने लुदीखोलामाथि पक्की पुल निर्माण हुने भएको छ । गण्डकी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय लमजुङ र विश्व बैंकको आर्थिक सहयोगमा पुल निर्माण हुन लागेको हो । कूल रु तीन करोड ४४ लाख ३१ हजारको लागतमा पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमख राम पराजुलीले जानकारी दिएका छन् । विसं २०७६ असार मसान्तसम्म काम सक्ने गरी पुल निर्माणका लागि नीलगिरि अधिकारी जेभी काठमाडौंसँग ठेक्का सम्झौता भएको छ । कार्यालय प्रमुख पराजुलीले सम्झौता अवधिभित्र जुनसुकै हालतमा पनि पुल निर्माण हुनु पर्ने जनाएका छन् । अन्य विकासको आयोजना जस्तो यसमा सम्झौता अवधि थप गर्न सकिने अवस्था छैन विश्व बैंकको ग्रामीण विकास पूर्वाधार कार्यक्रम अन्तर्गत प्राप्त पुल निर्माणका लागि आएको यो कार्यक्रम असार मसान्तसम्म सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन् । पुलको कुल लम्बाइ २१ दशमलव ७ किलोमिटर रहनेछ भने चौडाइ छ मिटरको हुने समय पहिले नै पुल निर्माणको काम अघि बढ्नुपर्ने भए पनि जग्गा विवादका कारण केही ढिलाइ भएको आयोजकले बताएको छ । पुल निर्माण भएसँगै शहीद लखन गाउँपालिकाभित्र उत्पादन हुने कृषिजन्य सामग्रीको बजारीकरणका लागि सहज हुने भएको छ । उक्त सडकखण्ड शहीद लखन गाउँपालिकाबाट मुख्य राजमार्ग पृथ्वी राजमार्गसँग जोडिएको सबैभन्दा छोटो दूरीको सडकखण्ड भएकाले पनि त्यहाँका स्थानीयवासीलाई राजधानी काठमाडौँ, पोखरा, चितुवन लगायतका शहर आवातजावतमा छिटो र सजिलो हुनेछ । झोलुङ्गे पुलसमेत नहुँदा त्यस क्षेत्रका स्थानीयवासीले बाह्रै महीना आवातजावतमा हैरानी खेप्दै आएका छन् । रासस