न्युरोडको महर्जन कम्प्लेक्स वैशाखदेखि सञ्चालनमा, एक हजारले रोजगारी पाउने
काठमाडौं । आगामी वैशाखदेखि राजधानीको न्युरोडमा रहेको महर्जन कम्प्लेक्स सञ्चालनमा आउने भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत तारिफ गरेको उक्त व्यावसायिक भवन सञ्चालनमा आएपछि एक हजार जनाले रोजगारी पाउने बताइएको छ । युनेस्कोले २२ नोभेम्बर २०१७ मा प्रेषित गरेको एक पत्रमा उक्त भवनको ‘नियो क्लासिकल’ (नव पारम्परिक) स्वरुपको तारिफ गरिएको थियो । युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दो भएको, भवनविश्व सम्पदा भन्दा बाहिर रहेको र यसमा युनेस्कोलाई कुनै आपत्ति नभएको उल्लेख छ । उक्त भवन ९ रेक्टर स्केलको भुइँचालो थेग्ने गरी बनाइएको यसका प्रवद्र्धक कृष्णलाल महर्जनले बताए । भवनको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी र फायर फाइटिङ सिस्टम छ । कम्प्लेक्सको बनावट परम्परागत शैलीको छ । यसको बीचभागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ जसले गर्दा कम्प्लेक्स भित्र अक्सिजन सहितको खुला हावा उपलव्ध हुने छ । चारैतिर भवनले घेरिएको बीच भागमा पुग्दा सहरको कुनै परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुन्छ । साबिकमा क्रिस्टल होटल रहेको जग्गामा बनेको देशकै पहिलो सम्पदामैत्री ‘महर्जन कम्प्लेक्स’लाई लिएर दायर मुद्दामा सर्वोच्च अदालतले कम्प्लेक्स प्रवद्र्धकको पक्षमा फैसला गरेपछि सञ्चालनको बाटो खुलेको हो । सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स संरक्षित स्मारक क्षेत्र (कोर जोन) भन्दाबाहिर बफर जोनमा र सोको पुष्टि नेपाल सरकार हनुमानढोका संरक्षण संग्रहालय विकास समिति २०६७ ले प्रकाशन गरेको स्मारिका २०७५ को प्रकाशित नक्साबाट समेत थप प्रष्ट भएको उल्लेख छ । सर्वोच्चको फैसलामा उक्त कम्प्लेक्स काठमाडौं महानगरपालिकाको भवन निर्माण मापदण्ड २०७५ अनुसार भएको पनि उल्लेख गरिएको छ । उक्त कम्प्लेक्समा करिब पाँच दर्जन पसल कबल रहने छ । साथै, निकट भविष्यमै स्पेस बुकिङ खुला हुने प्रवद्र्धकहरुको भनाइ छ ।
काठमाडौँ भ्यू टावर निर्माणमा ढिलाई, साढे ३ अर्ब लागत लाग्ने अनुमान
काठमाडौँ । करीब चार वर्षदेखि निर्माण कार्य शुरु गरेको काठमाडौँ भ्यू टावर (दृश्यावलोकनस्तम्भ) निर्माणको कामले अझै गति लिन सकेको छैन । निर्माण कार्य शुरु गरेको चार वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको छ । उक्त भ्यू टावर निर्माणका लागि रु तीन अर्ब ५० करोड लाग्ने अनुमान रहको छ । कामपा, निजी साझेदारी एकाइ प्रमुख धु्र्व काफ्लेका अनुसार सम्झौता भएको काम हुने हो र अहिले त कम्तिमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो तर त्यस्तो अवस्था नरहेको बताएका छन् । स्तम्भका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । सोमध्ये ४० प्रतिशत भूभागमा स्तम्भ बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । सो अग्लो घर नेपाली कलासंस्कृति झल्किने खालको हुने, कामपा र ठेकेदार कम्पनीबीच भएको सम्झौतानुसार कम्पनीले वार्षिक रु दुई करोड ३५ लाख तिर्नुपर्ने हुन्छ । यो वार्षिक २ दशमलव ५ प्रतिशतका दरले बढ्दै जान्छ । निर्माणको जिम्मा पाएको कम्पनीले अहिलेसम्म कामपालाई कर स्वरुप रु पाँच करोड बुझाइसकेको छ । स्तम्भको सबैभन्दा तल्लो तलामा बसको पार्किङस्थल रहनेछ । त्यसको माथि दोस्रो तलामा हलुका, गाडीको पार्किङस्थल, व्यवस्थित चलचित्र घर, पौडी पोखरी, खाजाघर, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछन् । हालसम्ममा जमीन मुनी ८० प्रतिशत काम भएको छ भनेमाथि नगन्य मात्रामा मात्रै काम भएको छ, समग्रमा १५ प्रतिशत मात्र काम भएको छ । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच विसं २०७१ फागुन २२ मा सम्झौता भएको थियो । सम्झौतानुसार सम्झौता भएको पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउने व्यहोरा रहेको थियो । रासस
निर्माण लागतमा ३० प्रतिशत घटाउने एएसी ब्लक नेपाली बजारमा
काठमाडौं । भारतीय कम्पनी कृष ह्वाइट ब्रिक्स एलएलपीले संरचनाको लागत ३० प्रतिशत भन्दा बढीले कटौती गर्ने भएकाे छ । परम्परागत इँटाको तुलनामा निकै बलियो एरेटेड कंक्रिट सेल्युलर (एएसी) ब्लक नेपाली बजारमा ल्याएको छ । यो ब्लकलाई सिमेन्टमा आधारित एड्हेसिभ ‘ज्वाइन्टिङ केमिकल’ले जोड्न सकिने हुँदा गारो लगाउँदा सिमेन्ट र बालुवामा हुने खर्च बचत गर्न सकिनेछ । संचरना निर्माणमा यसको प्रयोग गर्दा इँटाको लागत २० प्रतिशत हाराहारीमा र श्रमिक खर्च ५० प्रतिशतभन्दा बढी घटाउन सकिन्छ । यो ब्लक उत्पादनको क्रममा निकै थोरै परिमाणमा ऊर्जा आवश्यक पर्ने हुँदा हानिकारक ग्यास उत्सर्जन नहुने भएकोले यसलाई वातावरणमैत्री मानिएको हो । मेल्टिङ प्वाइन्ट २९सय फरेनहाइट हुन्छ, जुन भवनमा आगलागी हुँदा निस्कने ताप १२ सय फरेनहाइटको तुलनामा दोब्बर भन्दा पनि धेरै हुनेछ । ब्लकले संरचना तयार गर्दा भित्री भागमा प्लास्टर गर्नु नपर्ने हुँदा लाग्ने सामान र श्रमिक खर्चको बचत हुने जानकारी बाहिर १० एमएम मात्र प्लास्टर गरे पुग्नेछ । गारोले कम स्पेस ओगट्ने हुँदा यो ब्लक प्रयोग भएको भवनका कोठा तुलनात्मक रुपमा फराकिला हुन्छन् । उक्त ब्लक प्रयोग गर्दा भवनको भार २० प्रतिशत कम हुने पुष्टि भएको छ । स्टिल लागत पनि २० प्रतिशतले कटौती गर्न सकिन्छ । कम भार भएका भवनहरु भूकम्पीय जोखिमको हिसावले सुरक्षित मानिएको छ । एएसी ब्लकको थर्मल कन्डक्टिभिटी रातो इँटाको केडब्लु–एमसी ०.८१ को तुलनामा निकै कम अर्थात २० प्रतिशत मात्र हुने र यसमा रहेको वायु छिद्रले उच्चस्तरीय थर्मल इन्सुलेसन प्रदान गर्ने हुँदा एयर कन्डिसनसर सञ्चालनमा खर्च हुने बिजुलीको बिल ३० प्रतिशतले घटाउन सकिनेछ ।