सिक्टा सिँचाइको पश्चिम मूल नहर फेरि भत्कियो, माटोमै समस्या रहेको निष्कर्ष
काठमाडौं । बाँकेकाे रहेकाे सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किदै आएको छ । उक्त आयोजना फेरि भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केनुको कारण खण्डमा घुलनशील माटो भएको निष्कर्ष आएको छ । विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको थियो । आयोजना प्रमुख कृष्णप्रसाद नेपालको भनाइ अनुसार विज्ञहरुले फिल्डमै गएर केही ठाउँको माटो परीक्षण पछ्यात निरीक्षण गरि माटोमा समस्या रहेको औँल्याइएको बताएका छन् । विज्ञहरूले परीक्षण गर्न माटो लैजान चाहेको तर सरकारी प्रक्रिया लामो हुने भएकाले उनीहरूले नलगेको चर्चा गर्दै अध्ययन गर्न पुराना कागजात लागिएको करीब एक महीनाभित्र प्रतिवेदन पेश गरिने जानकारी दिएका छन् । घुलनशील माटोमाथि अम्लियपन बढी भएको माटो भरेर वा छोपेर पानी चुहिन नदिने प्रक्रिया अपनाउन सकिने र समस्याग्रस्त ठाउँमा तल–माथि र दायाँ–बायाँ ‘काउन्टर बर्म’ ड्रेनेज निर्माण गर्नुपर्ने पनि विज्ञहरूले सुझाएका थिए । पश्चिम मूल नहरको ४५ किमीमध्ये २० देखि ३५ किमी खण्डमा बढी समस्या जानकारी दिएका छन् । प्राकृतिक भौगर्भिक समस्याले नहर भत्किए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा इञ्जिनीयरको दोष देखाउँदै निर्माणमा संलग्न उच्च अधिकारी, ठेकेदार तथा परामर्शदाताले आर्थिक अनियमितताको आरोपमा २१ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस
कृषि अनुसन्धान र प्रविधि विस्तार गर्न सम्झौता, चीन सरकारले २७ मिलियन चाइनिज युआन सहयोग
काठमाडौं । नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा चीन सरकारले सहयोग गर्ने भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, राज्यमन्त्री रामकुमारी चौधरीको उपस्थितिमा मन्त्रालयका तर्फबाट योजना महाशाखा प्रमुख सहसचिव डा योगेन्द्रकुमार कार्की र चीनको स्वशासित क्षेत्र तिबेत इन्टरनेशनल इकोनोमिक एक्सचेञ्ज सर्भिस सेन्टरका प्रबन्धक बेन जेनबीच मन्त्रालयमा सहयोग सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा सञ्चालन गरिने परियोजनाले मुख्य गरी आलुबाली, घाँस, ब्रोइलर तथा लेयर्स कुखुरा, च्याउ, तरकारी र रेन्बो ट्राउट माछामा विभिन्न अत्याधुनिक प्रविधिको अनुसन्धान तथा विस्तार परियोजना सञ्चालन गरिने मन्त्रालयका उपसचिव शङ्कर सापकोटाले बताएका छन् । परियोजना तीन वर्षसम्म सञ्चालन हुने भएको छ । परियोजना सञ्चालनका लागि चीन सरकारले २७ मिलियन चाइनिज युआन सहयोग गर्ने बताइएको छ । परियोजनाले ती जिल्लाका कृषक र प्राविधिक कर्मचारीलाई तालीम दिने जनाइएको छ । रासस
२५ करोडको लगानीमा नेपालमै पहिलो जैविक रिसोर्ट अब नुवाकोटमा
काठमाडौं । कृषि तथा पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा नेपालकै पहिलो एग्रो टुरिजममा आधारित जैविक रिसोर्ट सञ्चालन गरिने भएको छ । नुवाकोटको बेल्कोटगडी नगरपालिका–८ जिलिङको फेदीमा ड्रिम ल्याण्ड रिसोर्ट एण्ड प्राङ्गारिक फार्म हाउस रु २५ करोडको लगानीमा सञ्चालनको तयारी हुन लागेको हो । स्थानीय नेपाली परम्परा, संस्कृति, लोप हुन लागेका पुर्खौली वस्तु र पर्यटन प्रवद्र्धमा धार्मिक महत्वको जर्गेना र विकास गर्ने उद्देश्यका साथ यस रिसोर्ट सञ्चानमा ल्याउन लागिएको रिसोर्टका अध्यक्ष विष्णुप्रसाद नेपालले बताएका छन् । त्यसका लागि पाँच करोडको जग्गा खरीद गर्नुका साथै रु १५ करोडको पूर्वाधार निर्माणमा लगानी गरिने बताएका छन् । पर्यटनलाई लक्षित गरि नेपालमै पहिलो जैविक रिसोर्ट सञ्चालन गर्न लागेका, पर्यटन र मानव स्वास्थ्य तथा मानिसको जीवनशैलीमा यसको महत्व रहेको छ । समयको विकासक्रम सँगसँगै हरेक भान्सा र खाद्य परिकारमा जैविक मिश्रणले मानव स्वास्थ्यमा निम्त्याइरहेको हानिलाई पनि न्यूनीकरण गर्न यो रिसोर्ट एक अध्ययन केन्द्र बन्न सक्ने बताएका छन् । केरुङ नाका जोड्ने सडक मार्गसँगै अवस्थित छ भने धार्मिक महत्वको हिसाबले प्रसिद्ध देवीघाटको जालपा क्षेत्र, मानसरोवर र गोसाइँकुण्ड जाने धार्मिक पर्यटकको रुटमा समेत यो देवीघाटमा बन्ने रिसोर्ट भएकाले धार्मिक पर्यटनको प्रवद्र्धनमा सघाउ पुग्ने उपेक्षा गरिएको छ । हाल निर्माणाधीन मध्यपहाडी लोकमार्ग समेतले यसलाई समेटेको छ । यस प्रकृतिको रिसोर्टका लागि पहिलो ठूलो लगानीमा आउन लागेको यस रिसोर्टमा सबै प्रकारको सेवा–सुविधा सम्पन्न रहने र रिसोर्टमा आउने पाहुनाको लागि खाने परिकारदेखि लिएर हरेक सामान जैविक हुने नेपालले बताएका छन् । यहाँ आएका हरेक पर्यटक तथा पाहुनाले यहाँ पालिएका गाईभैँसीको दूध, कुखुरालगायत रिसोर्टमै उत्पादित तरकारी र फलफूल आफ्नो चाहना र रुचिअनुसार खान पाउने ती सबै विषदीरहित जैविक बताएको जानकारी दिएका छन् । सबै जैविक सामानले राख्दा विदेशी पाहुनाले नेपाली पुर्खाको सामान यस्ता राम्रा हुँदा रहेछन् भनेर थाहा पाउनेछन् । नुवाकोटको पहिचान जोगाउने र अर्कोतर्फ लोकल र जैविक खाने कुराले स्वास्थ्यका लागि फाइदा पनि हुने, व्यापार व्यावसायमा पनि राम्रो आम्दानी हुने भएकाले योजनासहित रिसोर्टको काम अघि बढाएको सञ्चालकले बताएका छन् । ड्रिम ल्याण्ड रिर्सोड एण्ड जैविक फार्म हाउसमा गाउँघरमा हुने पुराना संस्कृति झल्किने सामान जस्तैः ढिकी, जाँतो, ओखल, खल, हँसिया, करौँती, हलोजुवा, कोदाली, कुट्टोलगायतका मौलिक कृषि औजार तथा सामान हेर्नका लागि राखिने रिसोर्टका सचिव नुरप्रसाद दाहाल बताएका छन् । दाहालका अनुसार ४२ रोपनीमा सञ्चालन हुन लागिएको रिसोर्टमा आफ्नै फार्म हाउसभित्रै स्वदेशी तथा विदेशी पर्यटकलाई दूधको लागि गाईहरु पाल्नुका साथै स्थानीय स्तरमा उत्पादन हुने दूध, मोही, दही रिर्सोटमा आउने ग्राहकलाई खुवाइने छ । त्रिशूलीको लोकल माछा त्यहीँ रिसोर्टमै पाल्ने, बाख्रा पाल्ने, स्थानीय प्रजातिका कुखुरा पाल्ने योजनासमेत रहेको रिसोर्टले जनाएको छ । रासस