राष्ट्रिय गौरवको आयोजना मध्यकाे हुलाकी राजमार्गमा कालोपत्रकाे काम शुरू

काठमाडौं । बाँकेमा हुलाकी राजमार्ग अन्तर्गतको सडक कालोपत्र गर्ने काम शुरु गरिएको छ । साढे एक किलोमिटर बाटोमा कालोपत्रेका लागि गर्नुपर्ने पहिलो चरणको काम सकिएको इञ्जिनीयर तुलसीराम भण्डारीले बताएका छन् । नेपालगञ्जको पुरैनादेखि सुइया बघौडा सम्मको ४४ दशमलव ६ किलोमिटरको हुलाकी राजमार्गअन्तर्गतको सडक कालोपत्रे हुने बताइएको छ । योजनाको बजेट सरकारले नियमित उपलब्ध गराउँदै गएमा २०७६ साउन सम्ममा काम सक्ने गरी कालोपत्रे शुरु गरिएको इञ्जिनीयर भण्डारीको भनाई रहेको छ । नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा शिवचोकबाट पुरैनासम्मको सडक ११ मिटर चौडा हुनुपर्नेमा सात मिटरमै बनाउन थालेको भन्दै स्थानीयवासीले अवरोध गरेका छन् । सडकमा घर परेका स्थानीयवासी रामनारायण बर्माले आफ्नो घर भत्काउन आलटाल गरेपछि अन्य स्थानीयवासीले भने मापदण्डआनुसारकै सडक संरचना निर्माण हुनुपर्ने माग गरेका हुन् । स्थानीयले आफ्नो घर अगाडिको नाली आफैँ निर्माण गर्न थालेपछि नगर प्रहरीले स्थानीयवासीको आग्रहमा ढलान गरेको नाली भत्काएको छ । सहमतिको आधारमा समाधान गरेर सडक बनाउने उपमहा नगरपालिकाका उपप्रमुख उमा थापा मगरले बताएका छन् । रासस

अब लभ्ली हिलसम्म पक्की बाटो, पर्यटक बढ्ने दावी

बेनी । म्याग्दी सदरमुकाम बेनीबजारदेखि पर्यटकीयस्थल लभ्लीहिल जाने पदमार्ग निर्माण शुरु भएको छ । बेनी नगरपालिका–२ मा रहेको पर्यटकीयस्थल लभ्लीहिल जाने पर्यटकको सुविधाका लागि बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) र म्याग्दी उद्योग वाणिज्य सङ्घको त्रिपक्षीय साझेदारीमा पदमार्ग निर्माण शुरु गरिएको हो । बेनीको हाँडेभीरदेखि लभ्लीहिल जोड्ने सो पदमार्गको आइतबारदेखि पूर्वाधार निर्माण शुरु गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले जानकारी दिए । १ दशमलव ७ मिटर चौडाइ भएको सो पदमार्ग निर्माणमा ७८ लाख बढी लागत अनुमान गरिएको छ । नगरपालिका, मोना र सङ्घले क्रमशः ५०, ४०, र १० प्रतिशत लगानी गर्ने यस पदमार्गलाई आगामी ३ महीनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । पदमार्गको लागि रेखाङ्कन गरिएको क्षेत्रको झाडी सरसफाइ शुरु गरिएको छ । दुईदेखि तीन समूहमा जनशक्ति परिचालन गरेर पदमार्ग निर्माणकार्यलाई तीव्रता दिइने शाक्यले बताए । हाँडेभीरदेखि लम्भीहिलसम्म ६७७ मिटर लामो बाटोमा पक्की ढलान गरिएको पदमार्ग निर्माण हुने सङ्घका अध्यक्षसमेत रहेका पदमार्ग निर्माण समितिका संयोजक उत्तम कर्माचार्यले जानकारी दिए । “म्याग्दी भ्रमण वर्षको अवसरमा सरकारी, निजी र प्रवासी म्याग्देलीको साझेदारीमा पर्यटन पूर्वाधार निर्माण गर्न लागेका हौँ, पदमार्ग निर्माणपछि सदरमुकाम बेनीसँगै लभ्लीहिल क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, अध्यक्ष कर्माचार्यले भने । रासस

भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने, ६ करोड २ लाखकाे लागत

चितवन। चितवनको भरतपुर अस्पतालमा बिरामी कुरूवाका लागि छुट्टै भवन बन्ने भएको छ । भरतपुर अस्पताल स्वास्थ्य मन्त्रालय मातहत रहेपनि सहरी विकास मन्त्रालय अन्तर्गत रहेको उक्त भवन ६ करोड २ लाख रूपैयाँमा बनाउन लागिएको हो । भवन निर्माणका लागि निर्माणकर्ताको समेत छनोट भइसकेको छ । बोलपत्र आह्वानपछि निर्माणको ठेक्का रविना जोशी फूलजोर जेभीले पाएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त भवन अस्पतालको पुर्वपट्टिको खाली ठाउँमा बन्ने उनले बताए अस्पतालको स्तरोन्नति स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई स्तरोन्नति गरी ५ सय शैय्या बनाउन गरेको प्रस्तावमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति जनाइसकेको छ । ३ सय शैय्याको सरकारी स्वीकृत रहेको अस्पतालमा हाल समितिका तर्फबाट समेत गरी ६ सय शैय्यामा चलिरहेको छ । यसअघि जिल्ला अस्पतालको मात्र मान्यता रहेको भरतपुर अस्पतालसहित कोशीअञ्चल अस्पताल, नारायणी अञ्चल अस्पताल, भेरी अञ्चल अस्पताल र डँडेलधुरा उपक्षेत्रीय अस्पताललाई स्तरोन्नति गर्ने प्रस्ताव गत मन्त्रिपरिषद्को बैठकमा लगिएको थियो । भरतपुर अस्पतालद्वारा रिफर गरिएका बिरामी हेर्नुपर्ने भएपनि जनशक्ति र सेवा सुविधा नभएका कारण समस्या परेको थियो । शैय्या बढेपछि कर्मचारी दरबन्दी पनि बढ्ने अस्पतालले बताएको छ । आकस्मिक कक्ष अलपत्र भरतपुर अस्पतालमा अहिले १२ शैय्याको आकस्मिक कक्ष छ । पुरानो भवनमा रहेको आकस्मिक कक्ष पनि सुविधा सम्पन्न छैन । अस्पतालको अन्य उपचार विभाग भन्दा यही विभाग अव्यवस्थित एवं साँघुरो देखिन्छ । प्रत्येक १० शैय्या बराबर १ आकस्मिक शैय्या हुनुपर्नेमा भरतपुर अस्पतालमा जम्मा १२ वटा मात्र आकस्मिक शैय्या रहेको अस्पतालका मेसु डा। पौडेलले जानकारी दिए । २० वटा शैया आकस्मिक अब्जर्वेसन रहेको उनले बताए । अस्पताल ६ सय शैय्यामा सञ्चालित छ । अस्पतालको टड्कारो आवश्यकता भनेको आकस्मिक भवनको निर्माण नै हो’, मेसु पौडेलले भने, ‘अहिले अस्पताल प्रशासन आकस्मिक भवन निर्माणका लागि विभाग र मन्त्रालयमा धाइरहेको छ ।’ सुत्केरीको भुइँमै उपचार भरतपुर अस्पतालमा अहिले १ सय २० शैयाको स्त्री तथा प्रसूति विभाग रहेको छ । यहाँ दैनिक ४० जना बच्चा जन्मन्छन् । शैया अभावमा नवजात शिशु र सुत्केरीको भुइँमै उपचार हुने गरेको छ । बर्सेनि अस्पतालमा सुत्केरी गराउनेको संख्या बढे पनि शैय्या भने निश्चित हुँदा उनीहरु भुइँमै बसेर उपचार गराउन बाध्य छन् । भरतपुर अस्पतालले यस विभागका लागि थप शैय्या व्यवस्थापन गर्न लागिपरेको तर, जनशक्ति अभावले समस्या भएको अस्पतालले जनाएको छ ।