निजी निवास बनाउने सोचमा हुनुहुन्छ ? जानुस्, चावहिलको मोडर्न होम बिल्डर्स

काठमाडौं । निजी निवास बनाउने सोच राख्नु भएको छ ? छ भने जानुस् काठमाडौंको चावहिलमा रहेको मोडर्न होम बिल्डर्स प्रा. लि. । निजी निवास बनाउने सोच राख्नेलाई लक्षित गरि खुलेको मोडर्न होम बिल्डर्सले विशेषगरी आवाशीय घरहरु निर्माण गर्नुका साथै पुरानो घरहरु सबलीकरण गर्ने, घरको फिनिशिंग गर्ने तथा उचित परामर्श दिने काम पनि गर्नेछ । नेपालमा अहिले घर निर्माण गर्ने इच्छा भएको तर समय अभावले गर्दा निर्माण कार्य शुरु गर्न नसकेका व्यक्तिहरुलाई यस कम्पनी सहयोगी साबित हुनेछ । उच्च गुणस्तरको निर्माण सामग्री, दक्ष इन्जिनियर र कामदारहरु ले निर्माण कार्य गर्ने हुँदा यस कम्पनीले निर्माण गरेका घरहरु गुणस्तरीय हुने कुरामा ढुक्क हुन यस कम्पनीका प्रबन्ध निर्देशकले देवराज लामाले आग्रह गरेका छन् । बजारमा अहिले विभिन्न निर्माण कम्पनीहरु रहे पनि गुणस्तरीय र विश्वसनीय ढंगमा काम नगर्ने हुँदा निर्माण गरेका घरहरु कमसल हुने विभिन्न समस्याहरु आउनुका साथै समयमा नै निर्माण सम्पन्न गरि हस्तान्तरण नगर्दा समस्या हुने गरेको छ । उक्त समस्यालाई न्युनिकरण गर्दै मोर्डन होम बिल्डर्सले भने आफुले निर्माण गरेको घरहरु उच्च गुणस्तरको मात्र नभएर समयमा नै निर्माण सम्पन्न गरि हस्तान्तरण गर्ने रहेको बताए । नेपालमा अहिले पनि पुरानै ढाँचामा घर निर्माण भैरहेकोमा यस कम्पनीले अत्याधुनिक प्रविधिको विस्तार गर्दै कामदारहरु को सुरक्षालायी समेत बिशेष प्राथमिकतामा राखेर काम गर्ने बताएको छ । कम्पनीले अहिले चलन चल्तीमा रहेको काम गर्ने तरिकालाई समेत परिमार्जन गरि स साना कुराहरुको सुक्ष्म अध्यन गरि संरचना निर्माण गर्ने बताएको छ । सो क्रममा कोहि कसैलै बाधा अबरोध नहुने गरि काम गर्ने प्रतिबद्ता समेत कम्पनीले व्यक्त गरेको छ ।

पोखराको भलाम खोलामा २ करोड लागतमा पक्की पुल निर्माण

पोखरा। पोखरा महानगरपालिका–२० स्थित भलामखोलामा रु एक करोड ९२ लाख ६८ हजार ९४७ लागतमा पक्की पुल निर्माण गरिएको छ । नेपाल सरकारको रु एक करोड ७३ लाख ४२ हजार ५२ र रु १९ लाख २६ हजार ८९४ स्थानीय जनसहभागितामा पुल निर्माण सम्पन्न गरिएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शनिबार नवनिर्मित पुलको उद्घाटन गर्दै पुल निर्माणसँगै यस क्षेत्रको विकासको ढोका खुलेको बताए। प्रदेश सरकारले गौरवको योजनाअन्तर्गत पोखरा ११ देखि २० को भलाम, चण्डी देउराली, हरिहर गुफा, डाँडागाउँ हुँदै वडा नं १६ को अर्मलासम्म जोड्ने पक्की सडक निर्माण गरिने बताउँदै उनले उक्त योजना सम्पन्न गर्न स्थानीय वासिन्दाको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गरेका छन्। गण्डकी प्रदेशसभा सदस्य बिन्दुकुमार थापाले सडक पूर्वाधार विकास पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै विकास निर्माणमा सबैको सहयोग अपरिहार्य रहेको बताए । अर्का प्रदेशसभा सदस्य प्रभा कोइरालाले पुल निर्माणसँगै पोखराको भलामदेखि मौजासम्म उत्पादित कृषि उपज बजारीकरणमा सहयोग पुग्नुका साथै त्यस क्षेत्रका कृषकको समृद्धिमा सहयोगी बन्ने बताए। पुलबाट पोखरा ११ को फूलबारी मणिपाल, भलाम मौजा र बाटुलेचौरसम्मका स्थानीय वासिन्दा लाभान्वित हुने पोखरा २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए। पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन खत्री, वडा सदस्य भीमप्रसाद बास्तोला, जिल्ला समन्वय समिति कास्कीका जिल्ला प्राविधिक इञ्जिनीयर नारायण बराल र नेकपा कार्यदल कास्कीका सदस्य सुशील बस्नेतले सडकको महत्वमाथि प्रकाश परेका थिए। रासस

हनुमन्ते खोलाको वारीपारी नयाँ शहर बन्ने

भक्तपुर । सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिकाले संयुक्त रुपमा हनुमन्ते नदीलाई व्यवस्थित गर्दै नयाँ शहर निर्माण गर्ने भएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको हनुमन्ते करिडोर निर्माण तथा जग्गा एकिकरणबारे दुवै नगरपालिकाबीचको संयुक्त विस्तारित बैठकमा भक्तपुर २ न क्षेत्रका प्रतिनिधिसभा एवं प्रदेशसभाका सांसद महेश बस्नेतसहितको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले नदीको ५०० मिटर क्षेत्रभित्रको जग्गामा एकिकरण आयोजना सञ्चालन गर्दै नयाँ, व्यवस्थित र सुरक्षित शहर निर्माण गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । बैठकले दुई नगरपालिकाको क्षेत्र अन्तर्गत हनुमन्ते पुलबाट सूर्यविनायक–२, ३, ४, ५ बालकोट, दधिकोट, कटुञ्जेसम्म र मध्यपुरथिमिका १, ३, ४, ५ र ९ राधेराधे हुँदै लोकन्थली मनोहरा प्लानिङको सिमाना अर्थात ललितपुरको सिमानाको गोदाबरी खोला राम मन्दिरसम्मकोे क्षेत्रफलमा जग्गा एकिकरण आयोजना सञ्चालन गर्दै नदीको व्यवस्थापन र सुरक्षित आवास निर्माण गर्ने गरी कार्य अगाडि बढाउनेबारेमा छलफल तथा निर्णय भएको सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले जानकारी दिए । आयोजनालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सूर्यविनायकका प्रमुख थापाको संयोजकत्वमा मध्यपुरथिमिका प्रमुख श्रेष्ठ सहसंयोजक र आयोजना क्षेत्रभित्र पर्ने दुबै नगरपालिकाका वडाअध्यक्ष सदस्य रहनेगरी आयोजना व्यवस्थापन समिति गठन गरिएको छ । सोही कार्यक्रममा भक्तपुरको समग्र विकासलाई सफलतापूर्वक सम्पन्न गर्न नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको संयोजकत्वमा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । उक्त समितिमा ३ नं प्रदेशसभा सदस्य शशीजङ्ग थापा, डा राजेन्द्रमान श्रेष्ठ, प्रतिमा श्रेष्ठ, रजनी जोन्छे, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, नेपाली काङ्ग्रेस जिल्ला सभापति दुर्लभ थापा, नेता अष्ट कवे, मदनकृष्ण श्रेष्ठ, नेकपाका नेता सुचित्रा श्रेष्ठ, भाइकृष्ण श्रेष्ठ, काङ्ग्रेस मध्यपुरका नगरसभापति सुरेन्द्र श्रेष्ठ, काङ्ग्रेसका नेता विष्णुराज कार्की र बालकृष्ण श्रेष्ठ सदस्य रहेका छन। रासस