मुग्लिन-नारायणगढको विकल्पमा प्रयोग गर्न सकिन्छ यो सडक
काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोलामा पहिरो खस्दा केही दिनयता दैनिक जसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् । पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् । मुग्लिन-नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ । साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली-खैरेनीटारबाट बाँयातर्फबाट भीमाद-मानपुर हुँदै डेढगाउँ-वुलिङटार-ढोडेनी-गैँडाकोट पुग्न सकिने यो बाटो प्रयोग गरिसकेका प्रकाशचन्द्र भट्टराईले जानकारी दिए । मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार-भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद-मानपुर कच्ची सडक ३५ किलोमिटर छ । मानपुर-डेढगाउँ कालोपत्रे (४० किमि), डेढ गाउँदेखि नारायणगढ ७० किमी रहेको छ । मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन-नारायण सडक खण्ड निस्किएर यात्रा गर्न सक्ने धरमपानीका स्थानीय विजय रानाको भनाइ छ । मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उनले बताए ।
तुइनखोलामा ठूलो पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक फेरि पूर्णरूपमा अवरुद्ध
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा मंगलबार दिउँसो पुनः सुक्खा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित उक्त स्थानमा लगातार पहिरो खसिरहेकाले दुईतर्फी सवारी सञ्चालन ठप्प भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिए । उनका अनुसार मंगलबार अपरान्ह ३ः२० बजे खसेको भीषण सुख्खा पहिरो अहिले पनि निरन्तर खसिरहेकोले सडक खुलाउने प्रयासमा कठिनाइ भइरहेको छ । पहिरो खसिरहेकै कारण सडक नै भासिन सक्ने जोखिम बढेको जनाउँदै सुरक्षाका लागि सवारीसाधनहरूलाई तत्काल फर्काइएको छ । तुइन खोलामा पहिरोको संकट नयाँ भने होइन। । शुक्रबार साँझ ६ः०० बजेदेखि सुरु भएको सुख्खा पहिरोको श्रृंखला मंगलबारसम्म आइपुग्दा अझ भयावह बनिरहेको छ । मंगलबार बिहान मात्र धादिङको बेनीघाट रोराङ-१०, जवाङखोला (बाँदरे मोड) मा खसेको अर्को पहिरो झन्डै १० घण्टा प्रयासपछि हटाइएको थियो। त्यसपछि मात्र सडक दुईतर्फी रुपमा खुलाइएको थियो। तर अपरान्ह पुनः ठूलो पहिरो खस्दै आएको छ । प्रहरी र सडक विभागले जोखिमलाई मध्यनजर गर्दै सवारी चालक तथा यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेका छन्। विशेषगरी काठमाडौं प्रवेश गर्ने र त्यहाँबाट बाहिरिने यात्रुहरूले वैकल्पिक बाटो रोज्नुपर्ने अवस्था आएको छ । सडक विभागका अनुसार हाल प्रयोग गर्न सकिने तीन वैकल्पिक मार्गहरूमा काठमाडौंदेखि हेटौंडा हुँदै नारायणगढ, त्रिशूली-धुन्चे-गल्छी मार्ग, सिद्धलेक-गजुरी हुँदै जान सकिने जनाएको छ । सुक्खा पहिरो निरन्तर खसिरहेको र भु-स्खलनको सम्भावना कायमै रहेकाले स्थानीय प्रशासनले जोखिम मोलेर यात्रा नगर्न अनुरोध गरेको छ । पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास हुनेछ ।
निजी केबलकार पनि अब सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना
काठमाडौं । सरकारले निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा निर्धारण गरेको छ । आइतबार बसेको बैठकले मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । राजपत्रमा प्रकाशित सूचना अनुसार सरकारले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र, सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन तथा निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनाहरूलाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको हो । निजी क्षेत्रबाट सञ्चालन हुने केबलकार आयोजनामा पाल्पाको सत्यवती दर्शन प्रालि, इलामको सानो पाथीभरा केबलकार प्रालि, कास्कीको सिक्लेश अन्नपूर्ण केबलकार प्रालि, मौलाकालीको ड्रिम्स हिल्स प्रालि, अर्घाखाँचीको सुपा देउराली केबलकार प्रालि र सिन्धुपाल्चोकको सूर्य कुण्ड गोसाइँकुण्ड केबलकार प्रालि रहेका छन् । यसैगरी, औद्योगिक ग्राम अन्तर्गत सुनसरीको बराहक्षेत्र औद्योगिक ग्राम र डोटीको जोरायल औद्योगिक ग्राम रहेका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड अन्तर्गतको आयोजनामा झापाको दमक औद्योगिक क्षेत्र, मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्र, चितवनको शक्तिखोर औद्योगिक क्षेत्र, दाङको लक्ष्मीपुर औद्योगिक क्षेत्र, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र, बाँकेको नौवस्ता औद्योगिक क्षेत्र र कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र रहेका छन् । त्यस्तै, सरकारले विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत दुई क्षेत्र तोकेको छ । काभ्रेको पाँचखाल विशेष आर्थिक क्षेत्र र कैलालीको हरैया विशेष आर्थिक क्षेत्र विशेष आर्थिक क्षेत्र प्राधिकरण अन्तर्गत रहेका छन् । नेपाल इन्टरमोडल यातायात विकास समिति अन्तर्गतको आयोजनामा कञ्चनपुरको दोधारा चाँदनी सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी रहेका छन् । त्यस्तै, नेपाल आयल निगम अन्तर्गतका आयोजनामा भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना, अमलेखगन्ज देखि चितवनको लोथर सम्म पेट्रोलियम पाइप लाइन विस्तार तथा ग्रिन फिल्ड टर्मिनल निर्माण आयोजना रहेका छन् । हेनूहोस् सूचना :