उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने

काठमाडौं । जापान सरकारको सहयोगमा काठमाडौं उपत्यकाका छ स्थानमा भूकम्प मापन गर्ने एक्सेलोमिटर केन्द्र निर्माण हुने भएको छ । विसं २०७२ वैशाख १२को भूकम्पपछि जापान सरकारले नेपाललाई काठमाडौं उपत्यकामा १० वटा एक्सेलोमिटर केन्द्र र उपत्यका बाहिर १० वटा जिपिएस केन्द्र निर्माणका लागि सहयोग गरेको थियो । सोहीअनुसार साँगा, कपन, लुभू, सिनामंगल, थानकोट र खरिपाटीमा एक्सेलोमिटर केन्द्र निर्माण हुन लागेको हो । खानी तथा भूगर्भ विभागअन्तर्गतको भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले विसं २०७२ को भूकम्पले बढी क्षति गरेका ठाउँमा केन्द्र स्थापना गर्न लागेको जानकारी दिए । “उपत्यकाको ठेचो, साँखु, माछापोखरी र झोरमा गतवर्ष नै केन्द्र स्थापना गरिसकेका थियौँ यस महिनाभित्र बाँकी छ स्थानमा केन्द्र राख्छौँ”, उनले भने । यस्तै जिपिएस केन्द्र उपत्यका बाहिर चितवन, कपिलवस्तु र स्याङ्जामा निर्माण भइसकेको र रुकुम, रोल्पा र गुल्मीमा यसैवर्ष निर्माण हुन लागेको विभागले जनाएको छ । एक्सेलोमिटर केन्द्रले ठूलाठूला भूकम्पको मापन गर्छ भने जिपिएस केन्द्रले साना र ठूला दुवै प्रकारका भूकम्प मापन गर्छ । नेपालमा विसं २०३६ मा फ्रान्सको डस संस्थाको सहयोगमा २१ स्थानमा भूकम्प मापन केन्द्र निर्माण भएका थिए । यस्तै त्रिभुवन विश्वविद्यालयको सहयोगमा काठमाडौं उपत्यकाका विभिन्न चार स्थान र अमेरिकन युएसजिएस संस्थाको सहयोगमा खानी विभागमा भूकम्प मापन केन्द्र स्थापना गरिएको छ । रासस

खाल्डाखुल्डी पुर्न तम्सियो महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले विकासका कामलाई तिव्रता दिन थालको छ । वर्षामा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने अडान राख्दै आएको महानगरपालिकाले वर्षा सकिएसँगै कामको गति अघि बढाउन थालेको हो । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने, सडक निर्माण गर्ने जस्ता कामलाई पनि तिव्रता दिन थालेको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए । अहिले नरदेवी कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको पनि मेयर शाक्यले जानकारी दिए । उनले यही मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुरेर कालोपत्रे सुरु गर्ने योजना रहेको पनि बताए । ‘अब हिउँद लाग्यो खाल्डाखुल्डी पुर्ने, सडक निर्माण गर्ने जस्ता काम तीव्र गतिमा हुनेछन्।’ काठमाडौं महानगरपालिकाले केही पनि गतिविधि नगरेको भन्ने आरोप आइरहेका बेला उनले अब कामको गतिलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । ‘विकासको गति अघि बढ्छ,’ उनले भने, ‘अब कसैले रोकेर पनि काम रोकिनेवाला छैन । महानगरका जनताको भावना अनुरुप नै काम अघि बढ्छ ।’ उनले मेयर अब महानगरको विकासका लागि जनताको घरदैलोमा पुग्ने पनि दाबी गरे । मेयर शाक्यले अब आफू दिनरात नभनी काममा खट्ने पनि दाबी गरेका छन् । आज मात्रै पनि मेयर शाक्यले काठमाडौं महानगरपालिकाको वडा नम्बर-३२ का विभिन्न स्थानमा भैरहेको सडक निर्माणको अवलोकन गरेका छन् । उनले सेती ओपी मार्ग कामनपा-३२ माभैरहेको सडक निर्माणबारे अवलोकन गर्दै इञ्जिनियहरुसँग पनि सडक निर्माणका बारेमा जानकारी लिए । त्यसैगरी, उनले वडा-३२ कै मदन भण्डारी स्मृति वाटिकाको पनि अवलोकन गरेका छन्। उनीसँगै एमालेका पोलिट्व्युरो सदस्य अग्नी खरेल, युवा तथा खेलकुद सचिव तथा सोही वडाका बासिन्दा महेश दाहाल, वडा अध्यक्षलगायत पनि मेयर शाक्यको साथमा थिए । साथै, मेयर शाक्यले अब महानगरविकासको काममा निरन्तर खट्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणको जिम्मेवारी प्राधिकरणलाई

काठमाडौं । बाढीबाट प्रभावित तराईका जिल्लाको पुनःनिर्माणको जिम्मेवारीसमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिइएको छ । बाढी प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि आवश्यक अध्ययन गरी नीतिगत व्यवस्था मिलाउन र पुनःनिर्माणको समन्वय गर्न प्राधिकरण मातहत विशेष बाढी पुनःनिर्माण आयोजना एकाइ निर्माण गरिएको हो । मन्त्रिपरिषद्को कात्तिक ६ गतेको बैठकले बाढी तथा डुबान प्रभावित क्षेत्रमा पुनःस्थापना तथा पुनःनिर्माण गराउने विषयको अध्ययन, नीतिगत सम्बोधन र पुनःनिर्माणको समन्वय गर्न प्राधिकरण अन्तर्गत विशेष एकाइको गठन गर्ने निर्णय गरेको थियो । यो विशेष एकाइको आयोजना प्रमुखका रुपमा डा सुमन कर्ण नियुक्त भएका छन् । कर्णले कात्तिक १३ गते सोमबारदेखि नै जिम्मेवारी सम्हालेका छन् । मोरङका डा कर्णले यसअघि प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृतको विशेष सल्लाहकारका रुपमा काम गरेका थिए । शहरी विकासमा विद्यावारिधि गरेका डा कर्णसँग संयुक्त राष्ट्रसंघमा आबद्ध भई इराक, सुडान, अफगानिस्तान र जोर्डनमा पुनःनिर्माण तथा विकाससम्बन्धी कार्य गरेको अनुभव छ । बाढीबाट तराईमा भएको क्षतिको विस्तृत अध्ययन राष्ट्रिय योजना आयोगले गरिरहेको आयोजना प्रमुख कर्णले बताए। अहिलेसम्म अनुमानित ६० हजार घर पूर्णरुपमा क्षति भएको विवरण प्राप्त भएको प्राधिकरणले जनाएको छ । “आंशिकरुपमा क्षति भएका घरको विवरण आयोगको प्रतिवेदनपछि मात्र भन्न सकिन्छ, बाढीको क्षति कम भएकाले छिटोछरितो पुनःनिर्माण गरिन्छ, पुनःनिर्माणमा स्थानीय तहलाई पनि सहभागी गराएर पीडितलाई राहत दिने योजना बनाएका छौँ”-उनले भने । बाढीले तराईमा सिँचाइ, कृषि, सडक, पुललगायत भौतिक संरचनामा पनि क्षति पुर्याएको थियो । बाढीबाट तराईका २४ जिल्ला प्रभावित बनेका थिए । आयोगले गरेको अध्ययनको प्रतिवेदन यसै साता प्राधिकरणलाई बुझाउने जनाइएको छ । रासस