तिलिचो ताल जाने छोटो पदमार्गको निर्माण

मुस्ताङ । विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको भनी चिनिएको तिलिचो ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास भञ्ज्याङ भई पुग्न सकिने छोटो पदमार्गको निर्माण भएको छ । उक्त पदमार्ग निर्माण तथा साइन पोस्टिङको कार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, जोमसोमद्वारा गरिएको हो । गत साल र अहिले गरी उक्त निर्माण तथा साइन पोस्टिङको कार्य सफल पारिएको हो । तिलिचो ताल जाने बाटो निर्माण तथा मर्मत कार्यका लागि यस वर्ष अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय जोमसोमद्वारा १० लाख रुपैयाँ बजेट छुट्याइएको त्यस कार्यालयका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए । जोमसोम तिलिचो पदमार्ग निर्माण सम्बन्धि आवश्यक ग्याबिन, पुल तथा अन्य आवश्यक सामग्री प्रयोग गरी उक्त बाटो ९.५ किमी लम्बाइ र दुई मिटर चौडाइ निर्माण गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालयका सब इञ्जिनियर निकेश शेरचनले बताए । विसं २०७० मा थोरङ पास र डोल्पाको क्षेत्रमा घटेको डरलाग्दो घटनामा धेरै पर्यटकको मृत्यु भएपछि तिलिचो ताल जाने बीचबाटो अथवा तिलिचो बेस क्याम्पमा पनि एउटा बस्ने ठाउँ अथवा टि हाउस चिया पसल र छहारी निर्माण गर्नु आवश्यक भएको हुनाले पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गतको रकमबाट १२ लाख रुपैयाँ सांसद श्रीमाया थकालीको पहलमा सांसद विकास कोषबाट बजेटको व्यवस्था गरिएको हो । हाल याकखर्कमा उक्त पाटी निर्माण भएकाले पर्यटक तथा पदयात्रीलाई बस्नका लागि तथा तिलिचो ताल पदयात्राका लागि धेरै सहज हुने सांसद थकालीले बताए। यो पदमार्गलाई उचित तरिकाले दिगोरुपमा व्यवस्थापन गर्नसके अन्नपूर्ण राउन्डको थोरङ पास जत्तिकै प्रख्यात तथा पर्यटकले रुचाउने कुरामा पूर्णरुपमा विश्वास भएको जनमुक्ति युवा क्लबका अध्यक्ष नरेन्द्र थकालीले जानकारी दिए । यो पदमार्ग निर्माण ठिनी गाउँ र समस्त मुस्ताङ जिल्लाको पर्यटन विकासमा कोशेढुंगा नै भएकोमा अध्यक्ष थकालीले जोड दिए । रासस

भाईटीकामा मात्रै खुल्ने रानीपोखरीको मन्दिर पुन:निर्माण सुरु, सात महिनामै सम्पन्न हुने

काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुन:निर्माण सात महिनामा सम्पन्न गरिने भएको छ । लामो समयसम्म विवादका कारण ढिलाई भएको यो एतिहासिक मन्दिरको पुन:निर्माण ढिलो गरि सम्पन्न हुन लागेको हो । भूकम्प अगाडि भाइटिका र छठ पर्वको अवसरमा मात्र खुला हुने गरेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनः निर्माण सुरु भएको छ । दुई महिना अघि पुरातत्व विभागले यो मन्दिरको पुन : निर्माण थालेको छ । रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर आगामी बैशाखमा सम्पन्न हुने प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । सुरुमा महानगरपालिकाले आरसीसी ढलान गरेर सम्पुर्ण रानी पोखरीको पुननिर्माण गर्ने भनेको थियो । तर युनेस्कोले आपत्ति जनाएपछि बालगोपालेश्वर मन्दिरमा आधुनिक निर्माण सामग्री प्रयोग नगरी पुननिर्माण गर्ने जिम्मा पुरात्व विभागलाई दिइएको थियो । पुनःनिर्माण कार्य सम्पन्न गर्न १ वर्षको म्याद तोकीएको छ । हालै आएर कामदार खटाएको २ महिना भएको भएता पनि आर्थिक कारोबार भने अघि सारिएको छैन । सो भवन निर्माण गर्नको लागि १ करोड ४० लाख विनीयोजन गरेकोमा खर्च कटौती नगरिएको पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । पहिलाको जस्तै संरचना बन्ने भनेको छ तर अन्य बाहिरी वातावरणीय संरचनाका कार्यमा पोखरी तथा मन्दिर जाने बाटोलगायतका कार्य भने नगरपालीकाले कार्य अघि सार्ने विभागले जनाएको छ । विभागका प्रवक्ता कुँवरले भने,‘सम्पदालाई विशेष ध्यान दिएर बनाउन पर्ने हुन्छ, घर बनाए जस्तो होइन ।’ सम्पदा निर्माणको लागि कामदारहरु खटाइएको हुनाले काम तोकीएको समय अवधिमा नै पुरा हुने उनले बताए  । विभागले १ करोड ४० लाख रुपैयाँमा ठेक्का लगाएको छ । यहि बैशाख ५ गते कडेँल÷राम जेभी रानीबारीलाई बालगोपालेश्वर मन्दिर पुननिर्माणको ठेक्का दिइएको विभागले जानकारी दिएको छ । ‘ढुंगा, डाँची अप्पा र मा अप्पा सहित सुर्की मोटारको प्रयोग गरेर बालगोपालेश्वर मन्दिरको पुननिर्माण अघि बढेको छ, तोकिएको समयभित्रै पुरातात्विक महत्त्व झल्किने गरि निर्माण गर्नेछौं’, पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले भने । पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले भने ‘एक करोडको लागतमा बालगोपालेश्वर मन्दिर बनाउने तयारी अन्तिम चरणमा पुगेको छ’, विभागका सिडिई घिमिरेले भने । ‘पोखरीको बिचमा बन्ने भएकाले मन्दिर बलियो नै बनाउनु पर्छ, हामी इतिहास पनि जोगाउने र बलियो पनि बनाउने योजनामा छौं’, घिमिरेले भने । पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर बनाउनेछ भने बाँकी सबै संरचना काठमाडौं महानगरपालिका आफैंले निर्माण गर्नेछ । महानगरले यस अघि लगाएको ठेक्का अनुसार नै रानीपोखरीका अन्य संरचनाको निर्माण हुने पनि घिमिरले जानकारी दिए । १६७० सालमा तत्कालीन राजा प्रताप मल्लले पुत्र वियोगमा परेकी रानीलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए । विनाशकारी भुकम्पपछि ध्वस्त रहेको रानीपोखरी बल्ल पुनःनिमार्ण कार्य अघि बढेको छ ।

महाकाली नदी नियन्त्रणका लागि ४० करोड खर्च गरिने, निर्माणको काम अन्तिम चरणमा

दार्चुला । महाकाली नदी किनारमा तटबन्ध अन्तर्गतको छवटा प्याकेज निर्माण अन्तिम चरणमा पुगेको छ । तटबन्ध निर्माण तीन महिना भित्र सम्पन्न हुने महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख सुशील देवकोटाले जानकारी दिए । पहिलो चरणमा ठेक्का सम्झौता भएका प्याकेज नं १, २, ३, ४, ५ र ६ मा ९० देखि ९८ प्रतिशत तटबन्ध निर्माण भइसकेको छ । यस्तै, प्याकेज नं ७, ८, १० र ११ मा चालु आव २०७४/७५ भित्र तटबन्ध निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको देवकोटाले बताए । चालु आवमा तीनवटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । कोर क्षेत्रको १३ नं प्याकेज तथा अन्य क्षेत्रको १४ र १५ नं प्याकेजको काम तिहार लगत्तै सञ्चालन हुने देवकोटाको भनाइ छ । “गत आवमा गिट्टी अभावका कारण तटबन्ध निर्माणको काम प्रभावित बन्यो,” देवकोटाले भने । आयोजनाले चालु आवमा ४० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ । चालु आवका लागि २८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएकामा १२ करोड रुपैयाँ थप खर्च गर्ने योजना रहेको देवकोटाले बताए । वर्षेनी जिल्लाबाट अन्य विकासे कार्यालयको बजेट काम गर्न नसकी फिर्ता हुने गरेकामा महाकाली नदी नियन्त्रण आयोजनाले भने थप बजेट माग गरी खर्च गर्ने गरेको छ । रासस