नारच्याङमा जलविद्युत् आयोजनाका काम धमाधम

म्याग्दी । जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएका छन् । नारच्याङमा अहिले ५ वटा जलविद्युत् आयोजनाले निर्माण अगाडि बढाएका छन् । जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएसँगै नारच्याङ छिट्टै जलविद्युत् गाउँका रुपमा विकास हुने भएको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने घलेम्दीखोलाबाट विद्युत् उत्पादन गर्न लागेको घलेम्दीखोला जलविद्युत् आयोजनाले आगामी चैतभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको पाँच मेगावाट क्षमताको सो आयोजनाको करिब एक हजार ७ सय मिटर लामो सुरुङ निर्माण सकिएको छ । सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै बाँधतर्फ सामान ढुवानी गर्न सकिने भएकाले निर्माण सहज भएको घलेम्दी हाइड्रो लिमिटेडका अध्यक्ष किशोर सुवेदीले बताए । सो आयोजना जिल्लाकै लगानीकर्ता र प्रवद्र्धकको प्रयासमा निर्माण हुन लागेको पहिलो आयोजना हो । विसं २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम हालसम्म ७५ प्रतिशत पूरा भएको छ । आयोजनाबाट २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य छ । आयोजनामा लुम्बिनी र टुरिजम् डेभलपमेन्ट बैंकले ५५ करोड रुपैयाँ लगानी गरेका छन् । सो आयोजनाबाट उत्पादन हुने विद्युत्लाई नारच्याङकै घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने योजना छ । नारच्याङमा ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । रोवष्ट इनर्जी प्रालिले निर्माण गर्न लागेको सो आयोजनाको काम विगत करिब १ वर्षदेखि दु्रत गतिमा बढेको छ । निलगिरि र घलेम्दीखोलाको दोभानमा बाँध रहने यस आयोजनाको २ हजार ३ सय मिटर सुरुङमार्गबाट ल्याइने पानीलाई २ सय ८७ मिटर हेडबाट नारच्याङको बेँसीगाउँस्थित कालीगण्डकी नदीको किनारमा रहने विद्युत् गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । पूर्वाधार निर्माणमा परिचालन भएको हाई हिमाल हाइड्रो कन्स्ट्रक्सनले अहिलेसम्म ९ सय ६० मिटरभन्दा बढी सुरुङमार्ग निर्माण गरिसकेको परामर्शदाता हाइड्रो कन्सल्ट इन्जिनियरिङका आवासिय इन्जिनियर दिवाकर खड्काले बताए । सन् २०१६ को जुनदेखि पूर्वाधार निर्माण शुरु गरेको उक्त आयोजनाबाट सन् २०१९ फेब्रुअरीसम्ममा विद्युत् उत्पादन शुरु गर्ने लक्ष्यअनुसार काम भइरहेको छ । नारच्याङमै निलगिरि खोलाबाट जलविद्युत् उत्पादनका लागि २ वटा आयोजनाको काम अगाडि बढेको छ । ३८ मेगावाटको निलगिरि र ६२ मेगावाट क्षमताको निलगिरि क्यास्केटका प्रवद्र्धकले निलगिरि खोलाको किनार हुँदै सडक निर्माण भइरहेको स्थानीय जनजागरण युवा क्लबका तमबहादुर चोचाङ्गीले बताए । नारच्याङमा विसं २०४३ मा निर्माण शुरु भएर २०४४ देखि जिल्लामै पहिलोपटक विद्युत् वितरण थालेको दुई मेगावाट क्षमताको तातोपानी जलविद्युत् आयोजनाले जलविद्युत्को सम्भावनाको ढोका खोलेको थियो । अन्नपूर्ण साउथबाट बग्ने घलेम्दी, निलगिरि हिमालबाट बग्ने निलगिरि र खयरवराह तालबाट बग्ने रेले खोला तथा कालीगण्डकी नदीबाट विद्युत् उत्पादनका लागि अहिलेसम्म नारच्याङमा मात्रै १० वटा जलविद्युत् आयोजना दर्ता भइसकेका छन् । दर्ता भएकामध्ये १० मेगावाटको रेलेखोला जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकेको छ भने १० मेगावाट क्षमताको माथिल्लो घलेम्दी, पाँच मेगावाटको निलगिरि माथिल्लो र ५० मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना अहिले दर्ता भएर इआइएको चरणमा छन् । लाइसेन्स खारेजीमा परेको १६५ मेगावाट क्षमताको कालीगण्डकी गर्ज डिटेल सर्वेको काम सकेको र करिब ३ सय रोपनी जग्गाको मुआब्जा वितरण गरिसकेकाले उक्त आयोजना लगानीकर्ताको खोजीमा छ । जलविद्युत् आयोजनासँगै गाउँमा भौतिक पूर्वाधार विकासले गति लिएको छ । स्थानीयस्तरमा उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि म्याग्दीको दाना र पर्वतको खुर्कोटमा २ सय २० केभी क्षमताको सबस्टेसन तथा ३८ किमी दूरीको दाना–खुर्कोट प्रसारण लाइन निर्माण शुरु गरेपछि जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएका हुन् । आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्ने प्रसारण लाइन र सबस्टेसनको अभावमा यसअघि अनुमति लिएर पनि लामो समयदेखि दर्तामै थन्किनु परेको थियो । रासस

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातमा पनि खुल्ला

? चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको आज यहाँ सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरेको छ । गत असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो । मुग्लिनबाट आउने सवारीलाई साँझ ७ देखि बिहान ५ बजेसम्म रोकिँदै आएको छ भने नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ देखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ । रातिको समयमा पहिरोको जोखिम बढेपछि सवारी साधन रोकिएको र मौसममा सुधार आएसँगै चाडपर्वलाई मध्यनजर गर्दै रातिको समयमा पनि सडक खुल्ला गर्ने निर्णय गरिएको बैठकमा सहभागी नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले बताए । यात्रुबाहक सवारी साधनको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहकलाई प्राथमिकताका साथ सडक पार गराउने बैठकले निर्णय गरेको छ । बैठकले कालोपत्रे गर्ने कार्य छोटोछोटो दूरीमा आवागमनलाई असर नपर्ने गरी गर्ने, खाल्टाखुल्टी तत्काल पुर्ने, धुलो उड्ने ठाउँमा पानी छर्कने, रातको समयमा सुरक्षा प्रबन्ध व्यवस्थित गर्ने निर्णय गरेको छ । त्यसैगरी सडक सुरक्षाका लागि कन्भेन्स लेन्स राख्नाका साथै सडक सुरक्षासम्बन्धी सन्देश प्रचारप्रसार गर्ने निर्णयसमेत बैठकले गरेको छ । बैठकमा प्रदेश नं ३ का प्रहरी प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक केशरीराज घिमिरे, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापा, नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रतिनिधि, परामर्शदाता कम्पनीका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, यातायात व्यवसायी सङ्घका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । राजधानी काठमाडौँबाट दशै, तिहारसहितका चाडपर्वको समयमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार तीन वर्षअघिको तथ्यांकअनुसार दशैँको बेला यो सडक हुँदै दैनिक १० हजार ६ सय ९१ वटासम्म सवारी साधन आवतजावत गरेका थिए । आगामी पुससम्म सम्पन्न गर्नुपर्ने उक्त सडकखण्डको हालसम्म ५४ प्रतिशतमात्रै काम भएको छ । रासस

भूकम्पको २९ महिनापछि सिंहदरबारमा १ करोेड ६० लाखको टेको, १० महिना भित्रै रेट्रो फिटिङ(फोटो फिचरसहित)

काठमाडौं । भूकम्पको २९ महिनापछि सिंहदरबारमा टेको लगाइएको छ । भत्काएर नयाँ बनाउने वा पुननिर्माण गर्ने भन्ने लामो विवादको किनारा लगाउँदै सिंहदरबारमा रेट्रो फिटिङ गर्ने टुंगो लागेको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोबिन्द पोखरेलले टेको लगाएर भएपनि सिंहदरबार जोगाउने बताएका थिए । उनकै अग्रसरतामा सिंहदबार भत्काउने निर्णय उल्टिएको थियो । यतिबेला एक करोड ६०लाख रुपैंयाँ खर्चेर सिंहदरबारमा टेको लगाउने काम भैरहेको छ । ‘एक करोड ६० लाखमा स्काफ फोल्डिङको काम सुरु भएको छ, एक दुई दिनभित्रै कन्सल्टेन्ट नियुक्तीका लागि सूचना निकाल्छौं’, पुननिर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले विकासन्युजसँग भने । उनका अनुसार एक दुई दिनभित्रै सिंहदबारमा रेट्रो फिटिङ सम्बन्धी विस्तृत अध्ययन गर्न टेण्डर आव्हान गरिँदैछ । अन्तिम छनौटमा परेको कम्पनीले २ करोडको लागतमा सिंहदबारमा रेट्रो फिटिङका बारेमा विस्तृत अध्ययन गर्नेछ । सो अध्ययन प्रतिवेदन प्राप्त भएपछि रेट्रो फिटिङको कार्य आरम्भ गरिनेछ । ‘अबको १० महिनाभित्र सिंहदबारको पुननिर्माण सम्पन्न भैसक्छ, सिंहदबार पुरानै स्वरुपमा आउनेछ’, प्राधिकरणका सहसचिव मानन्धरले भने ।