प्रधानमन्त्रीबाट कुलेखानी तेस्रो आयोजनाको निरीक्षण, साउनबाट ४० मेघावटा विजुली उत्पादन हुने

हेटौँडा, २ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको विकास आयोजना निर्माण गर्ने क्रममा पारदर्शी र गुणस्तरीय सेवा तोकिएको समयमा पुरा गर्न सम्बन्धित आयोजनाका प्रमुखहरू बढी जिम्मेवार हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री दाहालले मकवानपुर जिल्लाको भैसे गाविस–६ कमलमत्तामा निर्माणाधिन कुलेखानी तेस्रो आयोजनाको विद्युत् गृह जलाशय मार्ग र टर्वाइनको आज निरीक्षण गर्दै आयोजनाका प्रमुखले छिटोछरितो ढङ्गबाट सरकारले उपलब्ध गराएको स्रोत साधनलाई परिचालन गरी कार्य सम्पन्न गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले जनताले छिटै आयोजनाको उपलब्धि चाहेकाले विकास आयोजनाका पदाधिकारीले ढिलासुस्ती र अवरोध हुने समस्यालाई तत्कालै निराकरण गरी अघि बढ्न आग्रह गर्दै सरकारले ती आयोजना निर्माणका लागि आवश्यक बजेट र प्राविधिक उपलब्ध गराउन सरकार कटिवद्ध रहेको बताए । उनले कुलेखानी तेस्रो आयोजनाको निर्माणकार्य गर्ने चिनियाँ ठेकेदारले ढिलासुस्ती गरेकाले ती आयोजना छिटै सम्पन्न गराउन नेपाल सरकारले चिनियाँ सरकारसँग पहल गर्ने बताए । कुलेखानी तेस्रो आयोजनाका प्रमुख सुवास मिश्रले सो आयोजनाको निर्माणकार्य सन् २०१२ डिसेम्बर १५ बाट सुरु गरिएको भए तापनि चिनियाँ ठेकेदारहरूले काम गर्न ढिलासुस्ती गरेकाले आगामी २०७४ साल साउन मसान्तभित्र सो आयोजनाको निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताए । नेपाल सरकारको रु चार अर्ब ६३ करोड लगानीमा सो निर्माणकार्य सम्पन्न हुने सो आयोजनाले जनाएको छ । कुलेखानी तेस्रो आयोजनाबाट प्रतिघन्टा ४० मेघावाट विद्युत् उत्पादन हुने आयोजना प्रमुख मिश्रले जानकारी दिए । सो आयोजनाको भौतिक निर्माण ६० प्रतिशत पुरा भै सकेको र ४० प्रतिशत प्राविधिक पक्ष पुरा हुन बाँकी रहेको छ । रासस

नेपालमा आइएनजिओको मनपरी, पुनर्निर्माण गर्ने काममा अपूर्ण र अस्पष्ट विवरण पेश

काठमाडौं २, पुस काठमाडौं । भूकम्प प्रभावित जिल्लामा काम गर्न पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका अधिकांश आइएनजिओले आफूखुसी काम गरेर प्राधिकरणको कार्यविधिलाई बेवास्ता गरेका छन्। आठ आइएनजिओले त प्राधिकरणको स्वीकृतिसमेत लिएका छैनन्। धेरैले प्राधिकरणलाई प्रगति विवरण बुझाएका छैनन्। बुझाउनेहरूको पनि विवरण अपूर्ण र विवादास्पद छ। प्राधिकरणका एक कर्मचारीले करिब ५० प्रतिशत संस्थाले विवरण बुझाएको, तर अपूर्ण र विवादास्पद रहेको जानकारी दिए। प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले आइएनजिओले सम्झौताअनुसार प्रगति विवरण बुझाउन अटेर गरेको बताए। प्राधिकरणले प्रगति विवरण बुझाउन आइएनजिओहरूलाई पत्रसमेत काटेको छ। विवरण नबुझाएका आइएनजिओको काम पनि प्रस्ट भएको छैन। प्राधिकरणले पनि सबैको अनुगमन गर्न सकेको छैन। ‘प्राधिकरणले अनुगमन गर्न नसकेको सत्य हो,’ प्रवक्ता थपलियाले भने, ‘स्थानीय तहबाट गुनासोहरू आइरहेका छन्।’ जिल्लामा काम गर्दा आइएनजिओले स्थानीय एनजिओसँग सहकार्य गर्नुपर्ने हुन्छ। तर, अधिकांश आइएनजिओले आफूखुसी स्थानीय संस्था छनोट गर्ने गरेका छन् भने कार्यविधि अटेर गरेर जिल्लामा आफ्नै कार्यालय खोलेका छन्। केहीले आफूअनुकूलका स्थानीय एनजिओसँग मात्र सहकार्य गरेका छन्। अमेरिकाको केयर इन्टरनेसनल नामक आइएनजिओले केयर नेपाल नामक आफ्नै एनजिओबाट काम गरिरहेको छ। प्लान इन्टरनेसनलले पनि प्लान नेपालमार्फत काम गरेको छ। आइएनजिओले स्थानीय तहमा एनजिओको सहकार्यमा काम गर्नुपर्ने प्राधिकरणको कार्यविधि छ। तर, बेलायती सहयोगको हेल्प एज इन्टरनेसनल नेपाल र अक्सफाम, जर्मनीको टेर्‍देस होम्मेस, अमेरिकाको इन्टरनेसनल मेडिकल क्रप्सलगायतका आइएनजिओले स्थानीय सहयोगी संस्थाविना नै काम गरिरहेका छन्। हेल्पएज इन्टरनेसनल नेपालको १ अर्ब ४५ करोड रुपैयाँको तीनवर्षे प्रोजेक्ट छ भने अक्सफामको २ अर्ब ४० करोडभन्दा बढी रकमको ४० महिनाको प्रोजेक्ट सञ्चालनमा छ। प्राधिकरणका अनुसार १० करोड ६० लाख रुपैयाँबराबरको प्रोजेक्ट सञ्चालन गरेको क्याथोलिक रिलिफ सर्भिस नामक अमेरिकी संस्थाले पनि कुन एनजिओसँग काम गर्ने भन्ने खुलाएको छैन। क्यानडाको सेन्टर फर इन्टरनेसनल स्टडी एन्ड कर्पोरेसनले १ करोड १४ लाख रुपैयाँबराबरको प्रोजेक्ट चलाइरहेको छ। चाइना फाउन्डेसन फर पोभर्टी एलिभेसन नामक चिनियाँ आइएनजिओले एक करोड रुपैयाँबराबरको प्रोजेक्ट सञ्चालन गरे पनि नेपाली सहयोगी संस्थाबारे खुलाएको छैन। एक करोड रुपैयाँबराबरको क्रिश्चियन एड आइएनजिओले स्थानीय सहयोगी संस्थाविनै काम गरिरहेको छ। भूकम्पप्रभावित जिल्लामा काम गर्न पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेका केही आइएनजिओले कार्यविधिविपरीत धर्म प्रचार गरेको आरोप लागेको छ। मनोसामाजिक परामर्श, सरसफाइ तथा आपत्कालीन व्यवस्थापन सहयोगलगायतका शीर्षकमा काम गर्न अनुमति लिएका संस्थाले धार्मिक गतिविधि गरेको आरोप लागेको प्राधिकरणका एक कर्मचारीले बताए। ती कर्मचारीका अनुसार धर्मप्रचारको आरोप लागेका केही आइएनजिओलाई प्राधिकरणले अप्रत्यक्ष रूपमा स्पष्टीकरण मागेको छ। प्राधिकरण स्रोतका अनुसार गोरखामा कार्यरत वल्र्डभिजन इन्टरनेसनल नामक आइएनजिओले चेस नामक एनजिओमार्फत धर्म प्रचार गरेको तथा सीपमूलक तालिम पनि बीचमै छोडेको गुनासो स्थानीयले गरेका थिए। सोही आधारमा प्राधिकरणले १९ मंसिरमा पत्र काटेर वल्र्डभिजनसँग ‘किन कारबाही नगर्ने’ भनेर स्पष्टीकरण मागेको छ। खानेपानी, शिक्षा, जीवनस्तर सुधारलगायतका कार्यक्रम सञ्चालनको स्वीकृति लिएका क्रिश्चियन एड नेपाल, फिन चर्च एड फाउन्डेसन नेपाल, पिस विन्डस्, लुथरन वल्र्ड, कारितास नेपाललगायतका संस्थाले पनि धर्म प्रचार गरेको गुनासो आएको प्राधिकरण स्रोतको भनाइ छ। यी संस्थाले करिब ६ अर्ब रुपैयाँबराबरको कार्यक्रम भूकम्पप्रभावित जिल्लामा सञ्चालन गरेका छन्। कार्यविधिअनुसार स्वीकृति लिएनन् भूकम्पप्रभावित जिल्लामा कार्यक्रम सञ्चालन गर्न आइएनजिओले समाज कल्याण परिषद् र पुनर्निर्माण प्राधिकरण दुवैबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ। तर, परिषद्बाट स्वीकृति लिएकामध्ये आठ आइएनजिओले प्राधिकरणबाट स्वीकृति लिएका छैनन्। नयाँ पत्रिकादै निकबाट ।

नारायणघाट–मुग्लिङ्ग सडक पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द, निर्माण अवधि अनिश्चित

काठमाडौं, १ पुस । नारायणघाटदेखि मुग्लिङ्ग सडकखण्ड पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुने भएको छ । नारायणघाट–मुग्लिङ्ग सडक आयोजनाले पुस ७ गतेदेखि अनिश्चित अवधिसम्म विहान ११ बजेदेखि दिहुँसो ३ बजेसम्म सवारी साधन चल्न नदिने जनाएको छ । आयोजनाले बैकल्पिक सडक प्रयोग गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । तर उक्त सडक खण्डआसपासमा बैकल्पिक सडक छैनन् । विश्व बैंकको ऋण सहयोगमा नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तरगर्त उक्त खण्डमा सकड विस्तार कार्य गत दुई वर्षदेखि हुँदै आएको छ । उक्त सडक खण्ड निर्माणमा गम्भिर लापरवाही भएको, करोडौ रुपैयाँ घोटाला भएको र वर्षौसम्म सर्वसाधारणले सास्ती भोग्नु भर्ने देखिएको स्थानीय जानकारहरु बताउँछन् ।