पैदलै थातथलो फर्किने क्रम बढ्दै
काठमाडाैं । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि पैदलै भए पनि हिँडेर आफ्नो थातथलो फर्किने क्रम बढेको छ ।सोही क्रममा यहाँका विभिन्न स्थानीय तहले काठमाडौंँबाट बसमा सर्वसाधारण ओसार्न थालेपछि स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले लकडाउनको उल्लङ्घन हुनेगरी काठमाडौँबाट बसका बस यात्रु ओसार्न थालिएपछि रोक लगाइएको जानकारी दिए । “लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो, तर स्थानीय निकायले बसबाट बस मान्छे ओसारेपछि लकडाउनको के अर्थ रह्यो र रु”, उनले भने । यसअघि जिल्लाको लालबन्दी, हरिवन र वाग्मती नगरपालिकालगायत जिल्लास्थित विभिन्न स्थानीय निकायले काठमाडौँ बस पठाएर सर्वसाधारणलाई जिल्ला भित्र्याइरहेका थिए । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले स्थानीय प्रशासनबाट काठमाडौँमा बसेका सर्वसाधारण बसमा ओसार्न रोक लगाइएको आरोप लगाए । यसअघि विभिन्न सवारी साधनको प्रयोग गरी जिल्ला बाहिर रहेका आफ्ना नागरिकलाई स्थानीय निकायले जिल्ला भित्र्याएका थिए । रासस
कोरोना संक्रमणः यस्तो छ ताजा तथ्यांक
काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ८ः१५ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख ३० हजार ५१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९७ हजार २ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ९८ हजार ७ सय ७२ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५२ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ९ लाख २५ हजार ३८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ भने अहिलेसम्म ७८० जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भएका छन् भने १० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
राहत पनि पाइएन र काम गर्न पनि पाइएन : वादी समुदाय
काठमाडौं । दैनिक ज्यालादारी तथा मागेर जीवन निर्वाह गर्दै आएका कैलालीका वादी समुदायलाई छाक टार्न समस्या भएको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहेपछि वादी समुदायले काम गर्न र अन्यत्र घरघर गएर माग्न जान पाएका छैनन् । कतिपयले छिमेकीसँग सरसापट गरेर गुजारा गरेको पीडा पोखे । एक महिनासम्म काम गर्न नपाएपछि छिमेकी तथा आफन्तले पनि सहयोग गर्न नसक्दा छाक टार्न मुस्किल भएको उनीहरुको गुनासो छ । “राहत पनि पाएनौँ, ज्यालादारी गर्न बाहिरी जिल्ला गएका छोराहरु पनि उतै अलपत्र परेका छन्”, टीकापुर–८ सूर्यपुरकी रेखा वादीले भने, “म एकल महिला हुँ, राहत नपाएपछि सरकारले दोस्रो किस्ताको भत्ता दिएको भए किनेर खान्थ्यौँ ।” उनले अनुसार वडा कार्यालयले पाँच कठ्ठा जमिन छ भन्दै राहत दिन मानेन । “सात जनाको परिवार छ, पाँच कठ्ठाको अन्न दुई महिना मात्र पुग्छ”, रेखा भने, “घरमा अन्न छैन, न त ऋण पाइन्छ न सापटी पाइन्छ ।” वादी समुदायका धेरै नागरिक ज्यालादारीको काम गर्छन् । लकडाउनका कारण काम गर्न जान नपाएपछि सबैको घरमा समस्या हुन थालेको छ । सूर्यपुरकै नीतु वादीको चार जनाको परिवार छ । “आजभोलि एक छाक मात्र खाएर बाँच्नुपरेको छ”, उनले भने, “सरकारले राहत नदिए पनि काम दिएको भए हुन्थ्यो, काम गर्न नपाए हामी के खानु ?” अमृता नेपालीका चार सन्तान छन् । “छोराछोरी भोक लाग्यो भन्छन्, घरमा अन्न छैन”, उनले भने, “के खुवाउनु, कसलाई भन्नु ? हामीलाई त लकडाउनको एक महिना एक वर्षजस्तै लागेको छ ।” सुदूरपश्चिम प्रदेशका सांसद तथा वादी अभियन्ता उमादेवी वादीले कैलालीमा रहेका ९० प्रतिशत वादी परिवार समस्यामा रहेको जानकारी दिए । “राहत केही सीमितले पाएका छन् । यो पर्याप्त छैन”, उनले भने, “लकडाउन लम्बिने हो भने खाद्य सङ्कट पर्छ । यसबारेमा सरकारको ध्यान जानुपर्छ ।” उनका अनुसार कैलालीमा एक हजार पाँच सय परिवार वादी छन् । कैलालीको टीकापुर, लम्की चुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा वादी समुदायको बसोबास बाक्लो छ । वादी बस्ती रहेको टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले जग्गा नभएका परिवारलाई मात्र राहत उपलब्ध गराएको जानकारी दिए । रासस