दैनिक उपभोग्य वस्तु अभावमा भुल्के गाउँको जनजीवन कष्टकर बन्दै

काठमाडौं । भुल्के गाउँमा दैनिक उपभोग्य वस्तुको अभाव हुँदा स्थानीयवासीको जनजीवन कष्टकर बन्न पुगेको छ । उदयपुर जिल्लाकाे त्रियुगा नगरपालिका–३ को सो गाउँलाई स्थानीय प्रशासनले कोभिड–१९ को थप जोखिम हुन नदिन दुई हप्तादेखि सिल गरेपछि खाद्यान्न अभाव हुन पुगेको बताइएको छ । गाउँमा खाने तेल, नुन, चामल, ग्यासदेखि लिएर साबुनलगायतका वस्तुसमेत अभाव भएको र अन्यत्र किन्न जान नपाइने भएपछि अहिले आफूहरुले ज्यादै कष्टकर जीवन बिताउनुपरेको स्थानीय यदुप्रसाद ढकाल जानकारी दिए । उनले भने, “ गरिब मजदुरले राहत पाएको सबै कुरा खाइसके । अब खानेकुरा छैन । अन्य स्थानीय गाउँलेको घरमा धान छ । गाउँमा मिल चल्दैन । घरमा तोरी छ । मिलमा लगेर पिसाउने अवस्था छैन । भएको नुन सकियो ।” स्थानीय कुमार भट्टराई अहिले आफूहरुले कष्टकर जीवन भोग्न परेकोकोे दुःखेको व्यक्त गरे । उनले भने, “बाहिर कतै चामल तेल, नुन साबुन किन्न जान पाइँदैन । गाउँको पसलमा केही पनि छैन । बस्तुहरुलाई खुवाउने घाँस पनि छैन । ” आफूहरु घरभित्र भोकभोकै सुत्नुपर्ने अवस्था आएको स्थानीय गीता थापाले बताए । “खेतबारीमा मकै गोड्ने बेला भयो । ती मकै नै पनि उखेलेर वस्तुलाई खुवाउन पाएका छैनौं। ” गाउँको धान कुट्ने मिल चल्न दिने वातावरण बनाएदिन स्थानीयवासी सीता थापाले माग गरे सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भने, “ दैनिक उपभोग्य वस्तुको व्यवस्था मिलाउन स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न तयार छौ ।” त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीसँग भुल्केमा खाद्यान्न अभाव हुन नदिन राहतका योजना अगाडि बढेको जानकारी दिए । रासस

पैदलै थातथलो फर्किने क्रम बढ्दै

काठमाडाैं ।  कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि पैदलै भए पनि हिँडेर आफ्नो थातथलो फर्किने क्रम बढेको छ ।सोही क्रममा यहाँका विभिन्न स्थानीय तहले काठमाडौंँबाट बसमा सर्वसाधारण ओसार्न थालेपछि स्थानीय प्रशासनले रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले लकडाउनको उल्लङ्घन हुनेगरी काठमाडौँबाट बसका बस यात्रु ओसार्न थालिएपछि रोक लगाइएको जानकारी दिए । “लकडाउन भनेको जो जहाँ छ, त्यही बस्ने हो, तर स्थानीय निकायले बसबाट बस मान्छे ओसारेपछि लकडाउनको के अर्थ रह्यो र रु”, उनले भने । यसअघि जिल्लाको लालबन्दी, हरिवन र वाग्मती नगरपालिकालगायत जिल्लास्थित विभिन्न स्थानीय निकायले काठमाडौँ बस पठाएर सर्वसाधारणलाई जिल्ला भित्र्याइरहेका थिए । हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले स्थानीय प्रशासनबाट काठमाडौँमा बसेका सर्वसाधारण बसमा ओसार्न रोक लगाइएको आरोप लगाए । यसअघि विभिन्न सवारी साधनको प्रयोग गरी जिल्ला बाहिर रहेका आफ्ना नागरिकलाई स्थानीय निकायले जिल्ला भित्र्याएका थिए । रासस

कोरोना संक्रमणः यस्तो छ ताजा तथ्यांक

काठमाडौं । नेपाली समय अनुसार अहिले विहान ८ः१५ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख ३० हजार ५१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म १ लाख ९७ हजार २ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७ लाख ९८ हजार ७ सय ७२ जना निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ५२ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने ९ लाख २५ हजार ३८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ भने अहिलेसम्म ७८० जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ४९ जना संक्रमित भएका छन् भने १० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)