चारवटा व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दर्ता, ऐन विपरीत कारोबार गरेको आरोप

धनगढी । खाद्य ऐन नियम विपरीत कारोबार गरेको आरोपमा चारवटा व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले चालु वर्षको चौमासिक अवधिमा कञ्चनपुरका तीन र बझाङका एक व्यापारिक फर्मका सञ्चालकमाथि मुद्दा दायर गरेको हो । आज यहाँ आयोजित प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा कार्यालयका प्रमुख उपेन्द्र रायले खाद्य ऐननियम विपरीत गई कारोबार गरेको फेला परेकाले यी व्यापारिक फर्मका सञ्चालकमाथि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको जानकारी दिए । सो अबधिमा कार्यालयले ९६४ खाद्य वस्तुका नमूनाको विश्लेषण र परीक्षण पनि गरेको छ । खाद्य बजार, होटेल, रेस्टुरेन्ट लगायतको अनुगमन गर्दा संकलन गरिएका १०२ वटा खाद्यका नमूनामध्ये सातवटा नमूनामा गुणस्तरयुक्त नभएको फेला परेका छन् । कार्यालयले सीमित साधान र स्रोतका बाबजुत विभिन्न जिल्लाका बजारमा गरिरहेको अनुगमन निरीक्षणका फलस्वरुप विगतको तुलनामा खाद्य गुणस्तरमा सुधार हुँदै गएको बताइएको छ । साधनस्रोतको अभावका कारण कार्यालयले ७ नं प्रदेशका पहाडी क्षेत्रका कतिपय जिल्लामा अझैसम्म नियमित रुपमा अनुगमन निरीक्षण गर्न सकेको छैन । कार्यक्रममा खाद्य क्वारेन्टाइन प्रयोगशाला गड्डा चौकी ९कञ्चनपुर०का प्रमुख गणेशदत्त जोशीले आफ्नो कार्यालयको प्रगतिबारे जानकारी दिएका थिए । सहभागीले खाद्यको गुणस्तर कायम गर्न मौजुदा खाद्य ऐननियमलाई समयानुकूल बनाउनुपर्नेमा जोड दिए । रासस

३८ किलो गाँजाको धुलोसहित एकजना पक्राउ

धादिङ । लुकाइछिपाइ वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा धादिङ जिल्लाको गजुरी गाउँपालिका वडा नं १ गजुरीबजारमा आज जाँचका क्रममा गाँजाको धुलोसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना२ख ७३११ नं को ट्रकको क्याबिनभित्र राखेर लैजाँदै गर्दा प्रहरीले जाँच गरी ३८ किलो गाँजाको धुलो बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ध्रुवराज राउतले बताए । साना–साना २२ वटा पोको पारेर राखिएको गाँजासहित प्रहरीले सोही गाडी चालक पर्सा जिल्ला कल्याणपुर गाउँपालिका वडा नं ४ का २७ वर्षीय हृदयनन्दप्रसाद महतोलाई पक्राउ गरेको छ । आरोपी महतोलाई लागुऔषध कारोबार ऐनअनुसार मुद्दा चलाउने प्रहरी उपरीक्षक राउतले जानकारी दिएका छन् । गाँजा बोक्ने गाडी र आरोपी महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

न्यायाधीशविरुद्ध ९२ वर्षीया वृद्धाको उजुरी, पैसामा बिकेको आरोप

काठमाडौं । ललितपुर जिल्ला अदालतका एक न्यायाधीशमाथि आर्थिक प्रलोभनमा परी फैसला सुनाएको आरोपसहित ९२ वर्षीया एक वृद्धाले न्याय परिषद्, कानुन मन्त्री र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयसमक्ष ‘इन्साफ बेच्ने कार्य रोकी पाउन’ उजुरी दिएकी छन् । उजुरी दिएको एक वर्ष भन्दा बढी समय व्यतित भइसक्दा पनि त्यसमा सुनुवाइ भएको छैन । आफ्नो स्वामित्व कायम हुने ललितपुर इमाडोलको जग्गालाई हकदावी नै नपुगेका र कानुनी आधार नै नभएका व्यक्तिको नाममा ती न्यायाधीशले हक स्थापित गरिदिएपछि फैसलामा न्यायाधीशबाट गम्भीर त्रुटि भएको दाबीसहित आशामाया गोर्खाली श्रेष्ठले उजुरी दिएकी हुन् । ललितपुर जिल्ला इमाडोलको ८ क कि. नं ६९ को एक रोपनी जग्गाको स्वामित्व विवादमा चलेको मुद्दामा २०७२ चैत ३० गते गरिएको निर्णयमाथि ललितपुर जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्यालविरुद्ध उजुरी परेको हो । काठमाडौं चिकंंमुगल वडा न २० बस्ने आशामायाले ललितपुर जिल्ला अदालतले २०७२ चैत ३० मा विपक्षीका सम्पूर्ण रूपले बनावटी र सिर्जित लिखतलाई आधार मानी वादीलाई जसरी पनि हराउने नियतले कानुनी व्याख्यामा समेत जानाजानी गम्भीर त्रुटि गरेको आरोप आफ्नो उजुरीमा लगाएका छन् । जग्गा दर्ताका लागि २०६६ भदौ १९ गते दिएको निवेदनमाथि मालपोत कार्यालयबाट कुनै कार्वाही अघि नबढाइए पछि दोस्रो चोटि २०७० मङ्सिर २५ मा निवेदन दिएकामा उक्त जग्गा राम बहादुर बाबुका छोरा काठमाडौं महानगरपालिका वडा नं १३ निवासी ५७ वर्षीय नरोत्तम बाबुको नाममा २०६८ चैत्र ३ को निर्णयले दा। खा। नामसारी भइसकेको जानकारी पाएपछि स्तब्ध बनेकी आशामाया अदालत गुहार्न पुगेकी थिइन् । विपक्षीद्धारा लगत भिडाउन प्रस्तुत कागजातसँग विवादित जग्गाको चार किल्ला तथा क्षेत्रफल मिल्दैन र पेस गरिएको १९९२ सालको लगतसँग उनका पिता भनिएका व्यक्तिको नाम र वतनसँग मिल्दैन र भिड्दैन । लुभु नासल बस्ने रामबहादुर श्रेष्ठको उनाउ व्यक्तिको लगत जालसाजी गरेर नरोत्तम बाबुले किर्ते कागज बनाएको पीडित महिलाले आरोप लगाएकी छन् । उनको लगत बमोजिम पिता भनिएका व्यक्ति पाँच वर्षका देखिने र पाँच वर्षका बालक मालपोत कार्यालयमा गई सही दस्तखत गर्ने कल्पना पनि गर्न नसकिने आशामायाको दलील छ । आशामायाका अनुसार १९९५ सालदेखि हालसम्मका जग्गाधनीका तीन पुस्ताका र मोहीका तीन पुस्ताका लिखतहरु तथा तत्कालीन भूमि प्रशासन कार्यालयमा रहेका अकाट्य प्रमाणहरुलाई फैसला सुनाउँदा नजरअन्दाज गरिएको छ । रामबहादुर भन्ने ससुरा विष्णुलाललाई १९९९ वैशाख ३१ मा मोही वंसलालले गरिदिएको कूत कबुलियतनामा लिखत र पारसिं ज्यापूले गरिदिएको सोही चार किल्ला उल्लेख भएको फाछ्र्यापत्रको लिखतलाई आशामायाले आफ्ना प्रमाणका रुपमा अघि सारेकी छिन् । वंशलालसँग ज्यापूले गरिदिएको कूत कबुलियतनामाको लिखतमा उल्लेख गरिएका चारकिल्लामा रहेका किल्ला अहिले उक्त जग्गाको नापीको फिल्ड नक्शामा उल्लिखित चारकिल्ला रहेको कित्ताका साविक जग्गावाल र निजहरुका हकवालाहरुकै नाममा दाःखा. नामसारी भएको हो । ललितपुर केरुगाउँ बस्ने मोही वंशलाल ज्यापूसँग १९९९/१/३१ मा कूत कबुलियतनामा गर्दा उक्त जग्गाको फिल्डबुकमा मोहीका नाममा उल्लेख भएका टिकाचा ज्यापूले साक्षी बसी ल्याप्चे सहिछाप गरेको पीडितको भनाइ छ । उजुरीमा काठमाडौँ वडा नं १३ बाट स्थलगत सर्जमिन नै नगराई राम बहादुर बाबु राजवंशीको नाम राम बहादुर श्रेष्ठ हो भनी विपक्षीहरूले कोरा सिफारिशपत्र बनाई हक स्थापित हुुने जग्गाको लगत, मोठ, तिरो, खला, मौजा, कूतकबुलियतनामा, आफ्नो पुर्खाका नाममा के कसरी उक्त जग्गा आएको हो भन्ने प्रमाण विना नै निवेदन दिएको उल्लेख छ । आशामायाले उजुरीमा भनेकी छिन् – कार्यविधि कानुनका तीन आधार स्तम्भ हकदैया, हदम्याद र क्षेत्राधिकारमध्ये कुनै एक आधारबाट कुनै पनि मुद्दा गर्ने पक्ष चुक्दछ भने सो मुद्दामा अदालतले तथ्यमा प्रवेश गरी अन्य प्रमाण र ऐनको विवेचना गर्र्दैन र मुद्दा नै खारेज गरिन्छ । यस्ता वस्तुगत आधारलाई विचारै नगरी फैसला पीडित महिलाको विरुद्ध ‘विपक्षीको एक पक्षीय हितमा’ र ‘विपक्षीको प्रत्यक्ष मोलाहिजामा परी’ गरिएको छ । न्यायाधीशको फैसलाको आधारमा विपक्षीले ‘यसै कि.नं ६९ को….’ भन्ने वाक्यांश उल्लेख गरिनुले फैसला प्रथम दृष्टि मै आपत्तिजनक रहेको’ पनि उजुरीमा उल्लेख छ । ‘इन्साफ बेच्ने कार्य रोकी पाउँ’ भनी दिनुभएको उजुरीमा उनाउ व्यक्तिहरु एक आपसमा सांगठनिक रुपमा मिली, षडयन्त्र र परिपञ्च रचेको, जे जसरी भए पनि जग्गा हडप्ने नियतमा जिल्ला न्यायाधीश पनि आर्थिक प्रलोभनमा परेको पुष्टि भएको पुनरावेदक वृद्धा आशामायाको दाबी छ र विपक्षीबाट रुपैयाँ लिई गलत, दूषित एवं अपमानजनक न्याय सम्पादन गर्ने न्यायाधीश अर्यालमाथि अविलम्ब कारबाही होस् भन्ने उनको माग छ । रासस