नक्कली गुरु रेम्पोछेको नाममा ब्रम्हलूट

काठमाडौं । विश्वकै बौद्ध धर्मालम्वीहरुको आस्थाको केन्द्र बौद्धनाथ मन्दिर परिसरमा नक्कली गुरु रिम्पोछेको नाममा अनियमितता तथा असुली गर्ने कार्यहरु हुँदा समेत नेपाल सरकारले केही गर्न सकेको छैन । चिनियाँ लामाको उत्तराधिकारी भन्दै राजु लामा अर्थात भूपति नामका एक व्यक्तिले आफूले आफैलाई गुरु रिम्पोछे घोषणा गरेपछि बौद्धनाथ परिसरमा कुनै पनि बेला अप्रिय घटना घट्न सक्ने देखिएको छ । नेपाल सरकारले नियुक्त गर्ने बौद्ध क्षेत्र विकास समितिसँग क्षेत्राधिकार विवाद गर्दै हस्तक्षेप गर्दै आएका यिनै नक्कली रिम्पोछेले पछिल्लो समय बौद्धनाथ मन्दिरमा हुने नियमित पूजाआजा समेत भाँड्दै आएका छन् । सार्वजनिक रुपमा सामना गर्न नसक्ने र केही मानिसहरु भेला पारी आफू अनूकूलको काम गर्दै आएका नक्कली रिम्पोछेको हर्कतबारे महानगरीय प्रहरी बृत्त बौद्धमा समेत छलफल भएको बुझिएको छ । यसअघि शाह बंशीय राजाको पालामा राजपरिषद स्थायी समितिको सदस्य समेत रहेका गणेश बज्रको उत्तराधिकारी हुन आएका नक्कली रिम्पोक्षेका कारण बौद्धनाथ क्षेत्रमा अशान्ती बढ्दै गएको स्थानीयबासीले गुनासो गरेका छन् । बौद्धनाथ क्षेत्र मन्दिरमा शान्ति कायम राख्ने सम्बन्धमा बौद्ध प्रहरी कार्यालयमा सहमति गरेपनि नक्कली रिम्पोछे अर्थात राजु लामाले विभिन्न च्यानलबाट शुक्रबार आयोजना गरिएको विशेष पूजा भाँड्ने प्रयास गरेको पूजा आयोजक समितिका एक सदस्यले बताए । घ्याङ गुठीको आवरणमा नक्कली रिम्पोछेले बौद्धनाथ मन्दिर परिसरमा हस्तक्षेप बढाउँदै लगेपनि सरकारको आधिकारिक निकाय बौद्धनाथ क्षेत्र विकास समितिले हस्तक्षे गर्न नसकेको र पवित्र मन्दिरमा दुई थरीको राजनीतिले स्थानीयबासी तथा भक्तजनहरुलाई समस्या परेको गुनासो एक भक्तजनले गरेका छन् । बौद्धनाथ क्षेत्र विकास समितिलाई घ्याङ गुठीले विभिन्न काममा अबरोध गर्दै आएपनि स्थानीय प्रशासनले समेत आवश्यक सहयोग नगर्ने गरेको समेत गुनासो सुनिन थालेको छ ।

देवःविकास बैंकद्धारा बृद्धाश्रमलाई आर्थिक सहयोग

काठमाडौं । देवःविकास बैंक लिमिटेडले देवघाटको रोटरी करुणाल बृद्धाश्रमलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त आश्रमलाई एक लाख ५० हजार रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको हो । सोमबार आयोजित एक कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष शरद गोपाल न्याछ्योलाई बैंकका सहायक महाप्रबन्धक एवं क्षेत्रीय प्रमुख विष्णु रेग्मीले सो रकमको चेक हस्तान्तरण गरेका हुन् । बैंकले स्वार्थ भन्दामाथी सेवा हो भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै चितवनका प्रतिष्ठित रोटरीयनहरुको पहलमा स्थापना भएको उक्त आश्रमलाई सो मात्राको रकम सहयोग गरेको बताएको छ । साथै, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आगामि दिनहरुमा पनि बैंकले आफ्नो सहयोगलाई निरन्तरता प्रदान गरी रहने बताएको छ ।

“महालक्ष्मी साहित्य पुरस्कार” चितवनको धनराज गिरिलाई

काठमाडौं । २०७३ सालको पन्ध्रौ “महालक्ष्मी साहित्य पुरस्कार” चितवन जिल्लाका हास्य विद्याका साहित्यकार धनराज गिरिले पाएका छन् । गिरिलाई एक समारोहका बिच प्रमुख अतिथि डा. तुलसी भट्टराई र हेटौंडा शाखा प्रबन्धक राजेश लामिछानेले संयुक्त रुपमा उक्त पुरस्कार दिएका हुन् । गिरिले उक्त पुरस्कार स्वरुप २१ हजार एक रुपैयाँको चेक पाएका छन् । उक्त समारोहमा वरिष्ठ कवि तिर्थ श्रेष्ठ, छन्द कवि राजेश्वरी काफ्ले, साहित्यकार दाहाल यज्ञनिधि लगायतलाई विभिन्न पुरस्कारहरुद्धारा सम्मानित गरिएको थियो । उक्त समारोहमा साहित्य विद्याका व्यक्तिहरुको उपस्थिति रहेको थियो । भाषा साहित्यको क्षेत्रमा यथासम्भव योगदान पुर्याउने उद्देश्यले वि.सं. २०५९ सालमा “यती फाइनान्स साहित्य पुरस्कार” को नामबाट स्थापना भएको थियो । सो पुरस्कार “यति साहित्य पुरस्कार” हुँदै हाल वि.सं. २०७३ सालको पन्ध्रौ श्रृंखलादेखि पुरस्कारको नाम परीवर्तन भई “महालक्ष्मी साहित्य पुरस्कार भएको छ” । साथै, पुरस्कार राशि १५ हजार रुपैयाँबाट वृद्धि गरि यसै बर्षदेखि २१ हजार एक रुपैयाँ पुर्याइएको बैंकले जनाएको छ ।