हुमन फाउन्डेशनको सहयोगमा १६ वटा मानव विद्यालय बन्दै, नेपाली विद्यार्थीको आर्ट कोरियामा प्रदर्शन
काठमाडौं । नेपालको शिक्षा, स्वास्थ्य र कलाको क्षेत्रमा काम गरिरहेको दक्षिण कोरियाली संस्था यूएम होङ गिल हुमन फाउन्डेशनले ९ जना नेपाली विद्यार्थीहरुलाई कोरियामा शैक्षिक भ्रमण गराउनुको साथै १३ जना नेपाली विद्यार्थीहरुले बनाएको आर्टहरु कोरियामा प्रदर्शन गराएको छ । सेप्टेम्बर १३ देखि १९ तारिकसम्म भएको उक्त शैक्षिक भ्रमणको क्रममा विद्यार्थीहरुले आर्ट प्रदर्शनीमा भाग लिनुको अतिरिक्त कोरियाका विभिन्न आर्ट संग्रालय, स्कूल, उद्योग, कोरियाका पर्यटकीय गन्तव्यहरुको भ्रमण गरेका छन् । विरेथान्ती माध्यमिक विद्यालयका मानार्थ प्रधानाध्यापक तथा आर्ट टिचर कु ह्युन–किमले ती विद्यार्थीहरुलाई आर्ट सिकाएका थिए । उनी कोरियाको आर्ट विश्वविद्यालयको प्रध्यापक हुन् । नेपाल भ्रमणमा आउँदा नेपाली विद्यार्थीलाई कला र संस्कृतिको बारेमा पढाईदैन भन्ने जानकारी पाएपछि उनले स्वंसेवकको रुपमा विरेथान्ती माध्यमिक विद्यालयका विद्यार्थीलाई कला सिकाएका थिए । सिकाईमा आवश्यक सामाग्री जुटाउन फाउन्डेशनले सहयोग गरेको थियो । १५० भन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा गराई उत्कृष्ठ १३ विद्यार्थीको आर्ट कोरियामा प्रदर्शनी गरिएको र उनीहरु मध्ये ९ जनालाई कोरिया भ्रमणमा समेत लगेको सो संस्थाले जनाएको छ । भ्रमणको क्रममा विद्यार्थीहरुले अनुशासन, सहकार्य र एकता नै सफलताको सुत्र भएको कोरियाबाट सिकेको बताए । ‘कामको सम्मान गर्नुपर्छ, मिहेनत गर्नुपर्छ, अनुशाशित हुनुपर्छ, सहयोगी बन्नुपर्छ, सहकार्य र एकता नै बल हो भन्ने तथ्य हामीले कोरियाबाट सिकेका छौं’ भ्रमण सकेर काठमाडौं फर्केका विद्यार्थी प्रदीप आचार्यले भने । कास्की जिल्लााको विरेथान्ती माध्यमिक विद्यालयका आइतसुबा विक, अञ्जना सुनार, अलिशा तामाङ, अर्जुन राई, विशाल चापाई, मेनुका तामाङ, नविन परियार, प्रदीप आचार्य, पुजा परियार, सविता परियार, शोभा परियार, सिर्जना राई र ताप्लेजुङ जिल्लाको मायम माध्यमिक विद्यालयका यमबहादुर सेन्चुरीले बनाएका आर्टहरु प्रदर्शन गरिएको हुमन फाउन्डेशनले जनाएको छ । यूएम होङ गिल हुमन फाउन्डेशनले नेपालमा १६ स्थानमा स्कूल निर्माण गरिरहेको छ । होङ गिलले विश्वका अग्ला १६ शिखर चढेको संस्मरणमा नेपालमा १६ वटा विद्यालयहरु बनाउने घोषणा गरेको छ । यो संस्थाले सन् २००९ देखि नै विद्यालयहरु निर्माणमा थालेको हो । हालसम्म १२ वटा विद्यालय भवन निर्माण सम्पन्न भएको, ३ वटा विद्यालय निर्माण भईरहेको र एउटा भवन निर्माणको लागि उपयुक्त स्थान खोजी भईरहेको उक्त संस्थाका नेपालस्थिति कन्ट्री डाइरेक्ट चोङ क्वाङ सिकले जानकारी दिए । यो संस्थाले ‘ड्रिम्स एण्ड होप फर दी चिल्ड्रेन अफ हिमालयज’ परियोजना अन्तरगत हुमन स्कूलहरु बनाउदै आएको छ । यसअन्तरगत विद्यालयहरुको भवन निर्माण, शिक्षक, स्टेशनरी, स्कलरशिप, अन्य शैक्षिक सामाग्रीमा समेत सहयोग गर्दै आएको छ । यस संस्थाले हिमाली क्षेत्रमा ‘हिमालय मेडिकल केयर, हिमालय भोलुन्ट्री सर्भिस, होप्स प्लान प्रोजेक्ट समेत सञ्चालन गर्दै आएको छ । यूएम होङ गिल हुमन फाउन्डेशन क्याप्टेन यूएम होङ गिलको नाममा स्थापना भएको अन्तराष्ट्रिय गैरसरकारी संस्था हो । क्याप्टेन गिल कोरियाली नागरिक हुन् । उनले सन् २००७ अघि नै ८ हजार मिटरभन्दा अग्ला १६ वटा हिमाल आरोहण गरेर विश्व किर्तिमान कायम गरेका छन् । क्याप्टेन गिलले सगरमाथाको सफल आरोहण सन् १९९८ मा गरेका थिए । उनले साहासिक पर्वतारोहण गरेको, शिक्षा र मानवताको क्षेत्रमा योगदान गरेको भन्दै कोरिया सरकार र विभिन्न संस्थाबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको २१ वटा सम्मान तथा पुरस्कार पाएका छन् ।
कर्मचारीको दशैंः एक दिने टिकादेखि ह्विस्कीको चुस्कीसम्म
काठमाडौं । दशैं पर्वले सिंगो नेपाली समाजलाई जोड्ने प्रयास गरिरहेको छ । आर्थिक गतिबिधि र चहलपहलले दशैं अब हिन्दुहरुको मात्रै चाड नभएर सबै नेपालीहरुको साझा पर्वका रुपमा विकास भैरहेको छ । नेपालकै पनि बिभिन्न ठाउँमा दशैं मनाउने तौर तरिका फरक छन् । यस्तो छ पाँच जना सरकारी कर्मचारीहरुको दशैं योजना दशैंमा हल्का चुस्कीः निरज गिरी, प्रवक्ता, नेपाल धितोपत्र बोर्ड मेरो मावली पनि काठमाडौंमै छ । ससुराली पनि यतै छ । बुवा आमा सबै जना काठमाडौंमै हुनुहुन्छ । हामी दशैंमा मान्न २० जना जति भेट हुन्छौं । हाम्रो परिवार अझै पनि संयुक्त परिवार नै हो । बुवा आमाको हातबाट टिका र आशिर्वाद लिन्छौं । पुर्णिमाको दिन बाहेक सबै दिन हामी टिका लगाउने र आशिर्वाद दिने काममा व्यस्त हुन्छौं । मलाई सेकुवा साह्रै मन पर्छ । साथी भाई भेट्दा हल्का चुस्की पनि लगाइन्छ । दशैंमा पनि आफन्तजनसँग बसेर एक दुई पेग लगाउँछु । कुन ब्राण्डको पिउने भन्ने त्यस्तो बिशेष रोजाई छैन् । टिका एक दिन मात्रै लगाइन्छः राजुरमण पौडेल, निर्देशक, बीमा समिति यसपालीको दशैं काठमाडौंमै मनाउने हो । नवमीको दिनदेखि मात्रै दशैं सुरु हुन्छ । आमा र दाईको हातबाट टिका लगाउने हो । मेरी छोरी र भतिज विदेशमा छन् । परिवारका बाँकी सदस्य सबै भेला हुन्छौं । म तास फिटिक्कै खेल्दिन् । अलि अलि ह्विस्कीको चुस्की लगाउँछु । एक दुई पेग भए पुग्छ । मात्तिने गरि पिउँदिन् । स्पेशल ब्राण्ड पनि छैन् । मासुको आइटम मन पर्छ । बिशेष गरि खसीको मासुमा मेरो रोजाईमा पर्छ । हामी एक दिन मात्रै टिका लगाउँछौं । यो पश्चिम नेपालको चलन हो । म काठमाडौं आएको त २० बर्ष भयो तर पनि दशैंको टिका लगाउने चलन भने अझै पनि एक दिन नै कायम छ । रक्सी नखाएको डेढ दशक भयोः राजेन्द्र पण्डित, सहायक प्रवक्ता, नेपाल राष्ट्र बैंक म फुलपातिको दिन दशैं मान्न पुख्र्याैली घर तनहुँ आएँ । हाम्रो परिवारमा दशैं मनाउन ११ जना जम्मा भएका छौं । बुवा आमाको हातबाट टिका लगाउने हो । हामी दशमीको दिन मात्रै टिका लगाउँछौं । बरु त्यो दिन राती १२ बजेसम्मै टिका लगाउँछौं तर एकादशीबाट टिका लगाउने चलन छैन् । म टिका लगाएर एकादशीकै दिन काठमाडौं फर्कने योजनामा छु । मलाई गाउँका उत्पादन मन पर्छ । लोकल खसिको कबाब मलाई मन पर्ने आइटम हो । काँक्रोको अचार भनेपछि हुरुक्कै हुन्छु । रोलरोटी पनि मलाई असाध्यै मन पर्छ । मैले रक्सी नखाएको १७ बर्षपछि भैसक्यो । बरु साथीभाइहरुको समुह पुगेन भने म्यारिज र कल ब्रेक खेल्न भने तयार हुन्छु । दशैंमा उत्पात पढ्ने योजना छः प्रकाशभक्त उपाध्याय, सिडिई, रेल विभाग यसपालीको दशैं काठमाडौंमै मनाइन्छ । मेरो खुट्टामा समस्या छ, आराम गरिरहेको छु, त्यसकारण दशैंमा चितवन झरिन्न । बुवाको हातबाट टिका र आशिर्वाद थापिन्छ । हामी तनहुँबाट चितवन झरेका हौं, त्यसकारण हाम्रो टिका एक दिन मात्रै हुन्छ । टाढाबाट आफन्तलाई मात्रै टिकाको भोली पल्ट पनि टिका लगाइदिन्छौं नत्र दशैंको टिका एक दिन मात्रै लगाउने चलन छ । मलाई कबाव साह्रै मन पर्छ । रक्सी खान्न । तास त मैले जीवनमै समाएको छैन् । यसपाली खुट्टाले साथ दिएको छैन, त्यसैले दशैंमा उत्पात पढ्ने योजना छ । मलाई फुर्सदको समय पढ्न मन लाग्छ । त्यसैले यसपालीको दशैं भनेको पढेरै बिताउने योजना छ । परिवारसँग टिका लगाउने, भेटघाट गर्ने अनि मज्जाले पढेर बस्ने योजना बनाएको छु । रक्सी खान्न, ससुराली पनि जान्नः मिनप्रसाद अर्याल, प्रवक्ता, नेपाल दुर सञ्चार प्राधिकरण मेरो घर गोरखा हो । फुलपातिका दिन गोरखाको गोरखा नगरपालिका वडा नम्बर ३ मा रहेको पुख्र्यौली घर आएँ । बुवासहित हाम्रो घरमा १८ जनाको भेट हुन्छ दशैंमा । श्रीमति र छोरीसहित ३ जना हामी काठमाडौंबाट जान्छौं । बुवाकै हातबाट दशैंको टिका थापिन्छ । म माछा मासुमा खासै रुचि राख्दिन् । दुध, घ्यु, पनिर जस्ता आइटममा अलि बढि नै रुचि छ । म रक्सी पनि खाँदिन र तास, कौडा खोल्ने बानी पनि छैन् । साथी भाईको अनुरोधमा पनि म तास खेल्दिन् । ससुराली धनकुटा भएकाले यसपाली दशैंमा ससुराली जाने कार्यक्रम पनि छैन् । टिकाको भोली पल्टै काठमाडौं फर्कन्छु । ससुरालीको पनि काठमाडौंमा घर चैँ छ । पुर्णिमाको दिनसम्ममा ससुरालीबाट कोहि काठमाडौं आउनु भयो भने टिका लगाउन चैँ जान सक्छु । तर दशैंमा धनकुटामा ससुराली जाने कार्यक्रम भने छैन् । गोरखा पुगेका बेला त्यहाँ सूचना प्रबिधीको अवस्था, नागरिकको गुनासो र सुलभ तथा गुणस्तरिय सेवा कसरी दिन सकिन्छ भन्नेबारे केहि छलफल गर्ने कार्यक्रम पनि बनाएको छु ।
इन्च्यान्टर मिस टिन नेपाल २०१७ को ताज सन्जु मोक्तानलाई
काठमाडौं । जेसिस्द्वारा आयोजना गरिएको ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ यहि असोज ६ गते नेपाल एकेडेमीहलमा भव्यताका साथ सम्पन्न भएको छ । इन्च्यान्टरको प्रायोजन र रिलायन्स पेन्ट्सको सह–प्रायोजनमा आयोजित मिस टिन २०१७को १५ औं संस्करणमा १६ देखि १९ वर्षका २७ जना प्रतियोगीहरुले मिस टिन ताजका लागि प्रतिस्पर्धा गरेका थिए । उक्त २७ प्रतियोगीहरु मध्ये सन्जु मोक्तान ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ बन्न सफल भएकी थिइन भने मेरी लिम्बू फस्ट रनर–अप र दिया मन्डल सिजापति सेकेन्ड रनर–अप बन्न सफल भएकी थिइन् । ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ कोेमन्चले विगतका वर्षहरुदेखि नारीहरुलाई हौसला र आत्मविश्वास प्रदान गर्दै आएको छ । विश्वभर नारी सौन्दर्यलाई प्राथमिक्ता दिदैं आएको इन्च्यान्टरको प्रायोजनमा आयोजित उक्त ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ लाई सफल बनाउनु हुने सबैमा इन्च्यान्टर कृतज्ञ रहेको विज्ञप्तिमा जारी गरिएको छ ।