गर्भनिरोधक चक्कीका कारण आर्थिक क्रान्ति
काठमाडाैं । गर्भनिरोधक चक्कीले गम्भीर सामाजिक परिणामहरु दिएको छ। यसबारे सबै सहमत छन्। वास्तवमै त्यो कुरा पहिला नै उठाइएको थियो। गर्भ नियन्त्रणसम्बन्धी अभियान चलाएकी मार्गरेट स्याङगरले महिलाहरुलाई यौनिक तथा सामाजिक रुपमा स्वतन्त्र बनाउन र पुरुष जतिकै समान हैसियत दिनका लागि गर्भनिरोधक चक्की बनाउन वैज्ञानिकहरुलाई अपील नै गरेकी थिइन्। तर उक्त चक्की सामाजिक रुपमा मात्र क्रान्तिकारी थिएन। २० औं शताब्दीको सम्भवत सबभन्दा महत्वपूर्ण आर्थिक परिवर्तन जसलाई आर्थिक क्रान्ति पनि भनिन्छ त्यसलाई सल्काउन यसले निकै महत्वपूर्ण भूमिका खेलेको छ। किन होला? त्यो जान्न उक्त चक्कीले महिलाहरुलाई के दियो पहिला त्यो हेरौँ। सबभन्दा शुरुमा अरु कैयौँ विकल्पहरुको तुलनामा यो बढी परिणाममुखी देखियो। शताब्दीऔंसम्म प्रेमी प्रेमिकाले गर्भ रोक्न सबै प्रकारका, कतिपय अप्रिय लाग्ने, विधिहरु पनि अपनाए। प्राचीन इजिप्टमा गोहीको गोबरको प्रयोग गरिएको थियो भने एरिस्टोटलले सेडरको तेल प्रयोग गर्न सुझाव दिएका थिए। १८ औँ शताब्दीमा क्यासानोभा विधि अन्तर्गत कागतीको बोक्रालाई महिलाको यौनाङमा राख्ने गरिन्थ्यो। तर सबभन्दा आधुनिक र बढी प्रयोग हुने विकल्प कण्डमको समेत असफलता दर उच्च रहेको छ। किनभने मानिसहरुले त्यसलाई ठ्याक्कै जसरी प्रयोग गर्नुपर्ने हो गरिरहेका छैनन्। कतिपय अवस्थामा यौनसम्पर्कको समयमा कण्डम च्यातिन्छ वा फुस्किन्छ। अहिलेसम्म यौनसम्पर्कमा एक वर्षसम्म निरन्तर क्रियाशील कण्डम प्रयोग गर्ने १०० महिलामध्ये १८ जनाको गर्भ रहने पाइएको छ। तर गर्भनिरोधक चक्कीको असफलताको दर करिब ६ प्रतिशत मात्रै रहेको छ जुन कण्डमभन्दा तीन गुणा बढी सुरक्षित देखिन्छ। एकदमै सही रुपमा प्रयोग गर्ने हो भने उक्त असफलता दर त्यसको २० भागको एक भागमा सीमित हुने बताइन्छ। आर्थिक क्रान्ति कण्डम प्रयोग गर्नु भनेको आफ्नो यौन साथीसँग सम्झौता गर्नु भन्ने ठानिन्थ्यो। महिलाहरुले प्रयोग गर्ने डायफ्राम र एक किसिमको स्पुन्जको प्रयोग निकै झन्झटिलो थियो। तर गर्भनिरोधक चक्की प्रयोग गर्ने निर्णय महिलाहरुकै थियो र यो निजी मात्र नभई गोप्य पनि थियो। आश्चर्य मान्नुपर्दैन, महिलाहरुले नै यस्तो चक्की चाहेका थिए। मार्गरेट स्याङगरले गर्भपतन र परिवार नियोजनका साधनहरुको प्रयोग गैरकानुनी नै हुँदा सन् १९१६ मा न्युयोर्कमा पहिलो परिवार नियोजन केन्द्र स्थापना गरेकी थिइन् सन् १९६० मा अमेरिकामा गर्भनिरोधक चक्कीलाई अनुमति दिइएको थियो। त्यसको मात्रै पाँच वर्षमा लगभग आधा विवाहित महिलाहरुले गर्भ रोक्न सो चक्कीको प्रयोग गरिरहेको पाइएको थियो। तर खास क्रान्ति अविवाहित महिलाहरुलाई पनि त्यस्तो चक्की किन्न पहुँच दिने निर्णय गरिएपछि आएको हो। त्यसका लागि केही समय लाग्यो। तर सन् १९७० तिर एकपछि अर्को अमेरिकी राज्यहरुले अविवाहित महिलाहरुले पनि उक्त चक्की खरिद गर्न पाउने निर्णय लिए। विश्वविद्यालयहरुले परिवार नियोजन केन्द्रहरु स्थापना गर्न थाले। सन् १९७० को मध्यसम्म आइपुग्दा त अमेरिकामा १८ देखि १९ वर्ष उमेरका किशोरीहरुमा गर्भनिरोधक चक्की सबैभन्दा लोकप्रिय परिवार नियोजनको साधन बनिसकेको थियो। र, ठीक त्यही समय हो, जतिबेला विश्वमा वास्तवमै आर्थिक क्रान्ति शुरु भयो। अमेरिकामा महिलाहरुले विशेष खालका डिग्रीहरु लिन थाले। त्यसअघि चिकित्सा विज्ञान, दन्त विज्ञान र व्यवस्थापन लगायतका विषय पुरुषहरुले मात्रै पढ्ने गर्थे। सन् १९७० मा मेडिकल डिग्री लिने विद्यार्थीहरुमध्ये ९० प्रतिशतभन्दा बढी पुरुष थिए। कानुन र व्यवस्थापन संकायमा डिग्री लिएका ९५ प्रतिशत पुरुषमात्रै थिए। दन्त विज्ञानमा ९९ प्रतिशत पुरुषहरु थिए। तर सन् १९७० मा गर्भनिरोधक चक्कीहरुमा पहुँच पाउन थालेपछि यी संकायहरुमा पढ्ने महिलाहरुको संख्या ह्वात्तै बढ्यो। शुरुमा पाँचमध्ये एक विद्यार्थी महिला हुन थाले त्यसपछि त्यो बढेर एक चौथाई पुग्यो र सन् १९८० सम्म आइपुग्दा उक्त संख्या एक तिहाई पुगिसकेको थियो। महिलाहरु विश्वविद्यालय जान इच्छुक भएकाले मात्रै यस्तो भएको भने थिएन। व्यावसायिक प्रगति विश्वविद्यालयमा अध्ययन गर्ने निर्णय लिइसकेका महिलाहरुले यस्ता व्यावसायिक शिक्षा रोज्ने निर्णय गरेका थिए। त्यसबेला चिकित्सा र कानुन जस्ता विषय अध्ययन गर्न चाहने महिलाहरुको संख्या निक्कै नाटकीय रुपमा वृद्धि भयो र अरु पेशाहरुमा पनि त्यस्को लगत्तै महिलाहरुको उपस्थिति तीव्र रुपमा बढ्यो। तर गर्भनिरोधक चक्कीसँग यस्को के सम्बन्ध छ? भन्ने प्रश्न उठ्छ। आफ्नो प्रजननसम्म नियन्त्रण दिएर गर्भनिरोधक चक्कीले उनीहरुलाई आफ्नो भविष्यका लागि लगानी गर्ने अवसर दियो। गर्भनिरोधक चक्की उपलब्ध हुनु अघिसम्म पाँच वर्ष वा त्यो भन्दा बढी समय चिकित्सक वा वकिल बन्न खर्च गर्नु महिलाहरुका लागि पैसा र समय दुवैको सही सदुपयोग थिएन। यी विषयहरुको अध्ययनबाट साँच्चै फाइदा लिन एकजना महिलाले विश्वस्नीय रुपमा आफू आमा बन्ने उमेर कम्तीमा ३० वर्ष बनाउनुपर्थ्यो। गलत समयमा सन्तान जन्मिए त्यसले उनको अध्ययन वा पेशागत प्रगतिलाई बाधा पुर्याउँथ्यो। कतिसम्म भन्ने गरिन्थ्यो यौन सम्बन्धमा क्रियाशील महिलाले चिकित्सक, दन्त चिकित्सक वा वकिल बन्नु भनेको भूकम्पको जोखिम रहेको क्षेत्रमा एउटा फ्याक्ट्री निर्माण गर्नु हो जुन भाग्यले एक पटक साथ दिएन भन्ने पुरै लगानी स्वाहा हुन्थ्यो। विवाहको स्थगन वास्तवमै पेशागत शिक्षा लिने इच्छा राख्ने हो भने त्यसका लागि महिलाहरु यौन गतिविधिबाट परै बस्न पनि सक्थे। तर धेरै जना त्यसो गर्न चाहँदैन थिए। आफ्नो भविष्यका लागि यौन सम्बन्धमा निषेध गर्ने निर्णय लिने महिलाहरुले ३० वर्षको उमेरमा श्रीमान्को खोजी गर्नुपर्थ्यो र त्यसबेलासम्म सबै राम्रा पुरुषहरु लभगभ सम्बन्धमा भइसकेको हुने अवस्था थियो। गर्भनिरोधक चक्कीले यी दुवै अवस्था अन्त्य गरिदियो। यसको अर्थ अविवाहित महिलाहरुले गर्भ रहने जोखिम एकदमै न्यून हुने गरी यौनसम्पर्क राख्न सक्ने परिस्थिति बन्यो। यसबाहेक विवाहको प्रवृत्तिमा त यसले एकदमै आमूल परिवर्तन ल्याइदियो। सबैले, चक्की प्रयोग नगर्ने महिलाहरुले, समेत ढिला विवाह गर्न थाले। सन्तानहरु पनि, महिलाहरुलाई आफूलाई सजिलो हुने समयमा, ढिलो जन्माउन थालियो। र, त्यसको अर्थ कम्तीमा महिलाहरुले आफ्नो पेशागत भविष्य सुरक्षित गर्ने अवसर पाए। त्यसबाहेक सन् १९७० को दशकमा अमेरिकी महिलाहरुका लागि धैरै अरु कुराहरु पनि फेरिँदै गयो। आम्दानीमा वृद्धि गर्भपतनलाई कानुनी मान्यता दिइयो, यौन भेदभावविरुद्ध कानुन नै बनाइयो, नारी पुरुष बराबरी हुनुपर्छ भन्ने सिद्धान्त अभियानका रुपमा नै देखापर्यो र युवा पुरुष सिपाहीहरु भियतनाम युद्धमा लड्नुपर्ने भएकाले महिलाहरुलाई रोजगारीमा अवसर पनि बढ्दै गयो। तर हार्वड विश्वविद्यालयका अर्थशास्त्रीहरु क्लाउडीया गोल्डिन र लरेन्स कात्जले निकै विचार गरेर गरेको तथ्यांकको एउटा अध्ययनले गर्भनिरोधक चक्कीले महिलाहरुलाई विवाह र सन्तान जन्माउने कामलाई पर सार्न एकदमै महत्वपूर्ण योगदान दिएको देखाएको छ। ती अर्थशास्त्रीहरुका अनुसार त्यसले महिलाहरुलाई आफ्नो भविष्यका लागि लगानी गर्ने अवसर समेत दियो। गोल्डीन र कात्जले अमेरिकाका राज्यपिच्छे किशोरी महिलाहरुले गर्भनिरोधक चक्कीसम्म कतिको पहुँच पाए भन्नेबारे अध्ययन गरेका थिए। उनीहरुले प्रत्येक राज्यले महिलाहरुलाई परिवार नियोजनका साधनहरुसम्म पहुँच दिएको र त्यसका कारण पेशागत क्षमता बढाउने विषयहरुमा अध्ययन गर्ने महिलाहरुको संख्यामा वृद्धि भएको र महिलाको आम्दानी पनि बढेको देखाएको थियो। केही वर्षअघि अर्थविद् अमालीया मिलरले तथ्यांकीय विधिबाट एउटा अध्ययन गर्दै यदि आफ्नो २० औं वर्षको दशकमा महिलाहरुले सन्तान जन्माउने उमेर एक वर्ष मात्रै ढिला गर्न सकेको भए उनीहरुको जीवनभरको आय १० प्रतिशतले बढ्ने निचोड निकालेकी थिइन्। आफ्नो शिक्षा पूरा गरी सन्तान जन्माउनु पहिले नै आफ्नो भविष्य सुरक्षित गर्न थालेका महिलाहरुलाई प्राप्त अवसरबारे उक्त अध्ययनले केही मापन गर्ने उद्देश्य बोकेको थियो। वैकल्पिक सत्य तर न् १९७० को दशकका किशोरीहरुले अमालीया मिलरको अनुसन्धानलाई हेर्नु नि परेन किनभने उनीहरुलाई त्यो सत्य भएको थाहा थिएन। गर्भनिरोधक चक्कीहरु उपलब्ध हुन थालेपछि उनीहरुले लामो पेशागत शिक्षा संकायहरुमा कीर्तिमानी संख्यामा भर्ना हुन थाले। अहिले अमेरिकी महिलाहरुले वैकल्पिक सत्य खोजीका लागि प्रशान्त महासागरभन्दा पारिपट्टी आफैं हेर्न सक्छन्। जापानमा महिलाहरुले निकै ढिला आएर परिवार नियोजनका साधनहरुमा पहुँच पाए। प्रविधिमा विश्वकै सबैभन्दा प्रगति गरेको जापानी समाजमा सन् १९९९ सम्म गर्भनिरोधक चक्कीहरुको प्रयोगलाई अनुमति दिइएको थिएन। जापानी महिलाहरुले आफ्ना अमेरिकी सहकर्मीहरुभन्दा ३९ वर्ष ढिला उक्त परिवार नियोजनको साधनमा पहुँच पाए। तर त्यसको ठ्याक्कै उल्टो, यौन क्षमता बढाउने औषधि भियाग्राले अमेरिकामा अनुमति पाएको केही महिनापछि नै त्यो जापानमा पनि पुग्यो। विकसित विश्वमा जापानमा जति लैङ्गिक विभेद अन्यत्र कतै पनि नभएको ठानिन्छ। त्यहाँ अहिले पनि महिलाहरु काम गर्ने ठाउँमा उचित सम्मानको खोजीमा संघर्ष गरिरहेका छन्। यहाँ कारण र परिणामलाई अलग गरेर हेर्न खोजिएको होइन तर अमेरिकी अनुभवले संयोगले मात्र त्यस्तो नभएको संकेत गर्छ। दुईवटा पुस्तासम्म गर्भनिरोधक चक्कीमा पहुँच नदिनुस् त, त्यसले महिलामाथि पार्ने आर्थिक असर निकै भयावह हुनेछ। त्यही एउटा सानो चक्कीले अहिले पनि निरन्तर विश्व अर्थतन्त्रलाई रुपान्तरण गराइरहेको छ। (साभारःबीबीसी)
रबर, काठदेखि हिरासम्मको प्रयोग भएका संसारकै अनौठा कारहरु
नवभारतटाइम्स । अमेरिकी कार निर्माता कम्पनी ‘फोर्ड’ले कारको भित्री भाग (इन्टियर्स)बाँसले बनाउँने काम गरीरहेको छ । सुन्दा आश्चर्य लाग्नसक्छ – पहिला देश-दुनियाँमा सुनचाँदी तथा विभिन्न आनौठा वस्तुहरुबाट बनाइने गरिन्थ्यो । लेन्बोर्गिनी दुनियाँकै सबैभन्दा महंगो कारमा विशुद्ध सुनको प्रयोग गरीएको छ । यसमा पाँच सय किलो शुद्ध सुनको प्रयोग भएको छ । सन् २०१३मा दुबईको एक मलमा प्रदर्शनीकालागि राखियो । यसको मूल्य सात मिलियन अमेरिकी डलर थियो । यो कारको मूल्यलाई ल्याम्बोर्गिनी र यसका डिजाइनर रबर्ट गुल्पनले तोकेका थिए । सोलिड सिल्भर अडी एएट सन् २०११मा चाँदीको यो कार पनि चर्चाको विषय थियो । यसलाई पूर्णरुपमा चाँदीले श्रृंगारिएको थियो । जसकारण यसको तौल तीन गुणाले बढेको थियो । चाँदीको प्रयोगपछि यसको टायर पनि बदलिएको थियो। हिराजडित मर्सेडिज हिराको कारले पनि दुनियाँमा तहल्का मच्चाइसकेको छ । साउदीका राजकुमार वलीद बिन तलालले आफ्नो ओपन मर्सडिजमा ३१ करोड भारु खर्च गरेर हिराको प्रयोग गरेका थिए । टाढाबाट हेर्दा कारलाई चमकिलो वस्तुले रंगाएको भान हुन्थ्यो। तर वास्तवमा त्यो कारमा हिराको प्रयोग गरीएको थियो । बाँस को कार ‘फोर्ड’ ले कार इंटीरिअर में बाँस प्रयोग गर्ने काम सुरु गरीसकेको छ । तर यस अगाडी पनि बाँसले कार नबनेको भने होइन । ‘कोबनप्यू र बर्कनर’ ले १२.७ फुटको २ सीटर कार महज १० दिनमा निर्माण गरेका थिए, जसमा बाँसको प्रयोग गरिएको थियो। तर, यसमा मोटर आदि फिट गर्न भने सकिएन, यद्यपी यो कॉन्सेप्टमा पूर्णरुपमा कार बनिसकेको थियो। हिस्पानी सीजा टूलिपवुड टोर्पीडो १९२४ सन् १९२४ मा दुई सय हर्स पावर आठ लिटर, टुलिपवुड (काठ)बाट कार बनाइएको थियो । यो तत्कालिन अवस्थामा इटालीमा हुन गइरहेको गाडी दौड प्रतियोगिताका लागि बनाइएको थियो । लेग्जस कार्डबोर्ड कार जापानी कार मेकर लेग्जसले १७०० कार्डबोर्ड सीटका साथ कार बनाएको थियो। यो कार लण्डनका पाँच कुशल डिजाइनरहरुले डिजाइन गरेका थिए। यूके ग्र्याण्ड डिजाइन नामक प्रत्यक्ष प्रसारणबाट यसको प्रदर्शनी गरिएको थियो । रबर कार अमेरीकाको प्रख्यात सहर न्यू योर्कमा यो स्मार्ट कारको निर्माण रबरबाट गरीएको थियो । यद्यपी यो कन्सेप्ट अत्याधिक तापक्रम जस्ता चुनौतीहरुका कारण चल्न सकेन ।
स्टिकरबाट पानीकाे वर्गीकरण, सीधै पीउने, उमाल्नुपर्ने र लुगा तथा भाडा धुने गरी स्टिकर
काठमाडौं । उपत्यकाभित्र पानी वितरण गर्ने ट्यांकरमा अब स्टिकर टाँसिने भएको छ । ती ट्यांकरले आपूर्ति गर्ने खानेपानीको शुद्धताका आधारमा स्टिकर दिने सरकारी तयारी छ । काठमाडौं खानेपानी विकास बोर्डले ट्यांकरले आपूर्ति गर्ने पानीको शुद्धता मापन गरेर स्टिकर दिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । स्टिकर सर्वसाधारणले देख्ने गरी ट्यांकरमा टाँस्नुपर्नेछ । मन्त्रालयका अनुसार ५ वैशाखबाट उपत्यकाभित्र यो नियम लागू हुनेछ । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले उपत्यकावासीलाई शुद्ध पानी वितरणको उद्देश्यले स्टिकरको व्यवस्था गर्न लागिएको बताए । ‘उपत्यकाभित्र खानेपानी अभाव छ । सर्वसाधारण ट्यांकरबाट ल्याइएको पानी पिउन विवश छन् । तर, त्यो पानीको शुद्धता नापिएको छैन,’ मन्त्री शाहीले भने, ‘पिउनयोग्य नभएको पानी पनि सर्वसाधारण पिउन बाध्य छन् । यसलाई नियन्त्रण गर्न स्टिकर प्रणाली लागू गर्न खोजिएको हो । ५ वैशाखबाट यो प्रणाली लागू हुन्छ ।’ खानेपानी विकास बोर्डले अनुगमन र परीक्षण गरेपछि ट्यांकरमा हरियो, नीलो र पहेँलो स्टिकर टाँसिने मन्त्री शाहीले बताए । ‘ट्यांकरले आपूर्ति गर्ने पानी कति शुद्ध छ भन्ने मापन हुनेछ । मापनका लागि काठमाडौं खानेपानी विकास बोर्डलाई निर्देशन भइसकेको छ,’ शाहीले भने, ‘शुद्ध र सीधै पिउनयोग्य पानी छ भने हरियो, उमालेर खानयोग्य भएमा नीलो तथा भाँडा र लुगा धुन मात्रै योग्य पानी मात्र आपूर्ति गर्ने भएमा पहेँलो स्टिकर दिने निर्णय भएको छ । अब सबैले नियम पालना गर्नुपर्नेछ । नियम नमान्नेलाई कारबाही हुन्छ ।’ कति छन् उपात्यकामा पानी बोक्ने ट्यांकर रु उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार उपत्यकाभित्र खानेपानी वितरण गर्न सात सय ट्यांकर सञ्चालनमा छन् । ती ट्यांकरले हाल दैनिक पाँच करोड लिटर पानी वितरण गर्दै आएका छन् । तर, सुक्खायाममा दैनिक १० करोड लिटरसम्म माग हुने गरेको व्यवसायीको दाबी छ । उपत्यकामा भक्तपुरको झौखेल, सातदोबाटो, गोदावरी, चाल्नाखेल, चोभार, मातातीर्थ, स्वयम्भू, बालाजु, जोरपाटी, सानेपाको बागमती नदीछेउको क्षेत्रमा आधुनिक मेसिन राखेर जमिनमुनिको पानी तानेर ट्यांकरबाट आपूर्ति हुने गरेको छ । दैनिक झन्डै १९ करोडको पानी बिक्री उपत्यका खानेपानी स्रोत तथा ट्यांकर व्यवसायी संघका अनुसार ट्यांकरबाट आपूर्ति हुने पानी दैनिक १७ करोड ५० लाख, जारको पानी दैनिक ३५ लाख, बोतलको पानी दैनिक ९६ लाख रुपैयाँको बिक्री हुन्छ । सबै गरी सुक्खायाममा उपत्यकामा दैनिक १८ करोड ८१ लाख रुपैयाँको पानी माग भइरहेको संघले जनाएको छ । जारमा पनि स्टिकर खानेपानी तथा सरसफाइ मन्त्रालयले बजारमा बिक्री भइरहेका जारको पानी परीक्षण गरेर स्टिकर दिने भएको छ । बोतल वाटर उद्योग संघका अनुसार सामान्य अवस्थामा २० लिटर पानी अटाउने जार दैनिक ४५ देखि ५० हजारवटा खपत हुने गर्छ । सुक्खायाममा भने ७० हजारवटासम्म जारको पानी खपत हुने संघको दाबी छ । एकदेखि डेढ लिटर अटाउने बोतलको पानी दैनिक २० देखि २५ हजार केस खपत हुने संघले जनाएको छ । एक केसमा १२ बोतल हुन्छ । गर्मीमा ४० प्रतिशत बढी माग हुने संघको दाबी छ । नयाँ पत्रिका दैनिकबाट ।