पुर्वाधार विकास कम्पनीमा लगानी थप्दै सञ्चालक, त्रिपक्षिय विवाद पनि कायमै

काठमाडौं, १८ फागुन । काठमाडौं र हेटौडालाई जोड्ने सबै भन्दा छोटो मार्गका रुपमा प्रस्ताव गरिएको काठमाडौं–कुलेखानी–हेटौडा सुरुङ मार्गको निर्माण कर्ता नेपाल पुर्वाधार विकास कम्पनीका सञ्चालकहरुले लगानी थप्ने निर्णय गरेका छन् । संस्थापक अध्यक्ष कुश कुमार जोशीले दिएको राजीनामा स्विकृत गरेपछि बसेको पहिलो बैठकले लगानी थप्ने निर्णय गरिएको हो । माघ २७ गते जोशीको राजीनामा स्विकृत गरिएको थियो भने माघ २९ गते नव नियुक्त अध्यक्ष भट्टको अध्यक्षमा बसेको पहिलो बैठकले लगानी थप्ने निर्णय गरेको हो । सो बैठकमा अध्यक्ष भवन भट्टले थप पाँच करोड रुपैंयाँ तत्काल थप्ने प्रतिवद्धता व्यक्त गरेका थिए । त्यस्तै, कुश कुमार जोशी र लालकृष्ण केसीले समेत एक एक करोड लगानी थप्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सोही बैठकले लगानी थप्ने निर्णयलाई पारित समेत गरेको थियो । भवन भट्टले एक अर्बको लगानी प्रतिवद्धता व्यक्त गर्दै यस अघि न ९ करोड ६० लाख लगानी गरिसकेका थिए । पुर्वाधार विकास कम्पनीमा अब भट्टको लगानी १४ करोड ६० लाख पुगेको छ । सबै भन्दा ठुलो लगानी कर्ताका रुपमा अध्यक्ष चुनिएका भट्टले आफ्नै कम्पनी टिबिई ग्रुपका प्रमुख कार्यकारी अधिकृत सनत न्यौपानेलाई प्रबन्ध निर्देशक(एमडी)मा नियुक्त गरेका छन् । भट्टले न्यौपानेलाई यसअघि नै आफ्नो तर्फबाट कम्पनीको सञ्चालक समितिमा राखिसकेका थिए । ‘कुश कुमार जोशीको मनलाग्दी रोक्न भट्टलाई अध्यक्ष चयन गरियो तर भट्टले पनि त्यही बाटो अपनाए ।’ एक सञ्चालकले विकासन्युजसँग भने । हाल कम्पनीमा तीन वटा समुहबिच शक्ति संघर्ष चलिरहेको छ । पुर्व अध्यक्ष कुशकुमार जोशी, वर्तमान अध्यक्ष भवन भट्ट र सञ्चालक सुभाषचन्द्र ठकुरीबिचको अन्तरसंघर्षले कम्पनीलाई थप संकटमा पुर्याएको ति सञ्चालकले बताए । नयाँ अनुहार पनि भित्रिए श्रोतका अनुसार नविन कँडेल नाम गरेको हेटौडाका स्थानिय बासिन्दा समेत कम्पनीमा भित्रिएका छन् । उनलाई सो माग बनाउने प्रक्रियामा सहजीकरणका लागि भन्दै कम्पनीमा भित्र्याइएको हो । उनी माघ २९ कै बैठकबाट कम्पनीमा भित्रिएका हुन् । सुवर्ण लालको निरन्तर डिमोसन कुश कुमार जोशीका विश्वास पात्रका रुपमा कम्पनीमा भित्रिएका सुवर्ण लाल बज्राचार्यलाई कम्पनीले निरन्तर डिमोसन गर्दै आएको छ । सुरुमा प्रमुख कार्यकारी अधिकृत(सिईओ) नियुक्त भएका बज्राचार्यलाई पछि चिफ अपरेटिङ अफिसर(सिओओ) बनाईएको थियो । हाल उनी कर्पाेरेट हेडका रुपमा कार्यरत छन् । उपाध्यक्ष खारेज गर्दै सह अध्यक्ष माघ २९ गतेकै बैठकले उपाध्यक्ष पद खारेज गरेर सह अध्यक्ष पद सृजना गरेको छ । पहिले उपाध्यक्ष रहेका लाल केसीलाई हाल सह अध्यक्ष बनाइएको छ ।

पूर्वाधार विकास कम्पनीद्धारा अध्यक्ष जोशीको राजीनामा स्विकृत, भवन भट्ट नयाँ अध्यक्ष

काठमाडौं, २८ माघ । काठमाडौं–कुलेखानी–हेटौडाँ जोड्ने सुरुङ मार्ग बनाउन भन्दै स्थापना गरिएको नेपाल पूर्वाधार विकास कम्पनीका अध्यक्ष कुशकुमार जोशीको राजीनामा स्विकृत भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले जोशीको राजीनामा सर्वसम्मतिले स्विकृत गरेको हो । जोशीको राजीनामा स्विकृत गर्दै बैठकले गैर आवासिय नेपाली संघ(एनआरएन)का उपाध्यक्ष भवन भट्टलाई अध्यक्ष चयन गरेको छ ।  कम्पनीमा सबै भन्दा धेरै लगानी गरेका भट्टलाई अध्यक्ष चयन गरिएको सञ्चालक सुवासचन्द्र ठकुरीले विकासन्युजलाई जानकारी दिए । भट्टले एक अर्बको लगानी प्रतिवद्धता व्यक्त गरेर १० करोड लगानी गरिसकेका छन् । अध्यक्ष जोशी र उपाध्यक्ष लाल केसी पक्षका बिचमा विवाद उत्पन्न भएपछि जोशीले राजीनामा दिएका थिए । जोशीलाई अध्यक्षबाट हटाउन संघर्ष समिति नै गठन गरि आन्दोलन हुँदै आएको थियो । जोशीले काम नगरेको, आर्थिक अनियमितता गरेको, लगानी जुटाउन यथोचित पहल नगरेको आरोप उनीहरुको थियो । भट्टले नेपालमा होटल, ट्राभल, एयरलाईन्स बु्रअरी, शिक्षा तथा मिडिया क्षेत्रमा लगानी गरेका भट्टको जापानमा १३० वटा भन्दा बढि रेष्टुरेण्ट, रिसोर्ट तथा विभिन्न व्यापार ब्यवसाय रहेको छ । जापान बाहेक बेल्जीयममा दुईवटा होटल साथै अमेरिका, अष्ट्रेलीया, सिंगापुर, भारत, चाईना लगाएत विश्वका विभिन्न राष्ट्रहरुमा व्यापार व्यवसाय फैलाएका छन् ।

महिलातर्फ उत्कृष्ट करदाता जया शाह पनि कर विवादमा, एशियन डिष्ट्रिलरीद्धारा ३ करोड ७१ लाख कर छलि

काठमाडौं, २४ माघ । आन्तरिक राजश्व विभागले महिला तर्फबाट सबैभन्दा बढी आय कर तिरेको भन्दै सम्मान गरेको जयाको कम्पनी एशियन डिष्ट्रिलरीले ३ करोड ७१ लाख ४१ हजार ५०५ रुपैयाँ कर छलि गरेको भेटिएको छ । शाहले आर्थिक वर्ष २०७०/७१ मा महिलातर्फबाट सबैभन्दा बढी कर तिरेको भन्दै विभागले २०७२ मंसिर १ गते चौथो राष्ट्रिय कर दिवसको अवसरमा सम्मान गरेको थियो । जया एशियन डिष्ट्रलरीको प्रबन्ध निर्देशक छिन् । उनी विजय वहादुर शाहको छोरी हुन् । आन्तरिक राजश्व विभागले दिएको उत्कृष्ट करदाता सम्मान जयाका बाबु विजय बहादुर शाहले ग्रहण गरेका गरेका थिए । अर्थमन्त्री विष्णु पौडेलको हातबाट उत्कृष्ट कर सम्मान लिदै जया शाहका बुबा विजय बहादुर शाह । कर कार्यालयले गरेको अनुसन्धानबाट उक्त रकम बराबर कर छलि गरेको पाईए पनि कम्पनीले अझै कर तिरेको छैन । कर कार्यालयले उक्त रकम हालसम्मलाई बक्यौतामा राखेको छ । उनको कम्पनीले हुँदै नभएका कर्मचारीको नाममा ३ करोड ३९ लाख ७५ हजार रुपैयाँ खर्च देखाएर त्यसको २५ प्रतिशत आयकर छलेको छ । त्यस्तै उनको कम्पनीले बैंकबाट ११ करोड ५५ लाख ५३ हजार कर्जा लिएर १ करोड ५२ लाख ५१ हजार खर्च देखाएको छ । तर लिएको कर्जाबाट कम्पनीका सञ्चालक जया शाहले ७ करोड र मेनेजमेन्ट प्रा लिले ४ करोड ३३ लाख रुपैयाँ निव्र्याजी लिएका छन् । बैंकबाट कर्जा लिने, व्याज खर्च देखाउने तर सावा सञ्चालकले अन्य प्रयोजनमा खर्च गरी कम्पनीको नाफा कम देखाएको र नियतबस कर छलि गरेको कर कार्यालयको रिर्पोटमा उल्लेख गरिएको छ । ‘कम्पनीले बोटल वासिङ खर्च ४ करोड ३५ लाख ७० हजार लेखाएको छ । जुन रकम कम्पनीको कुल बिक्री रकमको ४ प्रतिशत हो । यस्तो खर्च अन्य कम्पनीले १ प्रतिशतभन्दा कम गरेका हुन्छन् र त्यो पनि ज्याला शिर्षकमा खर्च हुन्छ । उक्त कार्य बाह्य कम्पनीबाट गराएको भए त्यसमा भ्याट, अग्रिम आय कर जोडिएर आउँछ । भ्याट वा अग्रिम कर पनि नदेखाउने, कर्मचारी खर्च पनि अधिक देखाउने, त्यसमाथि कुल बिक्रीको ४ प्रतिशत वासिङ खर्च देखाउने कार्यबाट कम्पनीको कर छलिको नियत प्रष्ट दखिन्छ’ कर कार्यालयको रिपोर्टमा प्रष्ट भनिएको छ । बोटल हासिङ शिर्षबाट मात्र ६५ लाख ३५ हजार कर छलि भएको देखिएको छ । कम्पनीले सिद्धीगणेश इन्टरप्राईजेजलाई इन्सेन्टीभ, बोनस, डिष्ट्रव्यूशन क्लेम, ढुवानी खर्च आदिको नाममा २० करोड ४० लाख ३९ हजार रुपैयाँ छुट दिएको छ । यो रकम सिद्धी गणेशलाई ढुवानी खर्च वाफत दिएको ३ करोड २९ लाख ७५ हजार वाहेक हो । यो कारोबारबाट मात्र कम्पनीले ३ करोड ६ लाख रुपैयाँ राजश्व छलि गरेको कर कार्यालयको ठहर छ । सिद्धीगणेश इन्टरप्राईजेजले पनि ३ करोड ५५ लाख रुपैयाँ भन्दा बढी कर छलेको छ । त्यस विषयमा विकासन्युजमा प्रकाशित समाचारबारे सिद्धी गणेश इन्टरप्राईजेज, कम्पनीको सञ्चाल प्रगुण राजभण्डारी, कर कार्यालय मौन बसेका छन् ।