फोहरलाई मोहरमा परिणत गर्दै व्यास नगरपालिका, ७ लाख आम्दानी
तनहुँ । जिल्लाको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्रीबाट चालु आवको पहिलो चार महिनामा सात लाख रुपैयाँ आम्दानी गरेको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तुको वर्गीकरण गरी गत वर्षदेखि बिक्री गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । व्यास नगरपालिकाले दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहर संकलन गर्दै आएको छ र कुहिने फोहरलाई गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरिन्छ । पहिलो चरणमा नकुहिने फोहरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरी बिक्री गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले प्लास्टिक, कपडा, फलाम र सिसाजन्य वस्तु बिक्रीका लागि बोलपत्र आह्वान गरी बिक्री गर्न थालिएको नगरपालिकाको वन, वातावरण तथा सरसफाइ शाखाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत लम्सालले भने, 'व्यास नगरपालिका परिसरमा ‘बेलिङ’ मेसिन जडान गरी नकुहिने प्लास्टिकजन्य, फलामजन्य र कागजजन्यलाई ठूलो आकारबाट दाबेर सानो आकारमा परिणत गरी भण्डारण गरिन्छ ।' कार्यालयका अनुसार आल्मुनियम प्रतिकेजी ६०, फलाम प्रतिकेजी ३५, टिन २५, पानीको बोतल तथा अन्य बोतल २३, कपडा पाँच रूपैयाँ ५० पैसा, कपी १६ र किताब १४ दररेट कायम गरिएको छ । नगरपालिकाले यसअघि वडा नं ३ मादी नदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएको थियो । त्यस क्षेत्रको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहर व्यवस्थापन गर्न लागिएको हो । कुहिने फोहरलाई नगरले व्यास–१० स्थित गौ संरक्षण केन्द्र भतेरीमा व्यवस्थापन गर्दै आएको छ । नकुहिने फोहरको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएकामा त्यहाँ पनि स्थानीयले विरोध गरेकाले जग्गा खरिद प्रक्रिया हाललाई रोकिएको छ । नगरपालिकाले सरसफाइ क्षेत्रमा लाखौँ खर्च गर्दै आएकामा अब फोहरबाट राम्रो आम्दानी स्रोत बनाउन थालेको व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए । रासस
बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनःस्थापित
काठमाडौं । वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो । विसं २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो । तोरण पुनःस्थापित गराउनुअघि महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २३ (कुमारी घर रहेको वडा) का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौतम शाक्यसहित अधिकारी तोरण बुझ्न संग्रहालय पुगेका थिए । उनीहरुले तोरण बुझ्ने पत्रमा हस्ताक्षर तथा औँठाछाप लगाएर फिर्ता ल्याएका हुन् । त्यस क्रममा सम्पदा संरक्षणकर्मी, स्थानीयवासीहरुको उल्लासमय सहभागिता थियो । कुमारी घरको भुइँ तलामा रहेका झ्याल ढोकामध्ये बायाँतर्फबाट पाँचौ नम्बरमा पर्ने झ्याल माथि राखिएको अर्धगोलाकार काठको क्षेपु आकृति भएको तोरण १७ देखि १८ औँ शताव्दीमा काठबाट निर्माण भएको हो । यो १०४.५५ सेन्टिमिटरको छ । कुमारी बहाल राजा जय प्रकाश मल्लको पाला (वि.सं. १८१४) मा निर्माण भएको हो ।
थापाथली-टेकु दोभानका सम्पदाको संरक्षणमा गुठी संस्थानसँग काठमाडौं महानगर सहकार्य गर्न तयार
काठमाडौं । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले थापाथली टेकु दोभानसम्मका सम्पदाहरुको संरक्षण, सम्बर्धन, रेखदेख तथा उचित प्रबन्ध गर्न गुठी संस्थानसँग सहकार्य गर्न लागिएको बताएका छन् । बिहीबार समितिको बैठकमा गुठी संस्थानका अधिकारीहरूसँगको छलफलमा उनले परम्पराको निरन्तरता र भौतिक सांस्कृतिक सम्पदाको बचावटलाई नतिजा मानेर काम गरिने बताए । २०७२ सालको भूकम्पबाट क्षति भएका सम्पदाहरूको पुनःनिर्माण सकेर गुठी संस्थानमा हस्तान्तरण भइसकेका सम्पत्तिको दिगो व्यवस्थापनबाट यस क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आपसी सहयोग, समन्वय र सहकार्यका लागि सम्झौता गरिने संगतको भनाइ छ । काठमाडौं महानगरपालिकाले सहरको प्राचीनता, इतिहास र संस्कृतिसँग जोडिएका पक्षको संरक्षण गर्ने कामलाई ठोस आकार प्रदान गर्न लागेको लागेकोमा उनले खुसी व्यक्त गरे । हाल दुई पक्षका दायित्वका विषयमा छलफल भइरहेको छ । प्रारम्भिक मस्यौदा तयार भएको र यसमा आपसी पृष्ठपोषणपछि निर्णय प्रक्रियामा लैजाने तयारी भएको समितिका सदस्य सचिव एवं सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिए । भूकम्पले भत्किएका तथा जीर्ण भएका सम्पदामध्ये थापाथली टेकु दोभान नदी किनाराका सम्पदाहरूको ३ चरणमा पुनःनिर्माण गरिएको काठमाडौं महानगरले जनाएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहायताबाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजना कार्यान्वयन गरिएको परियोजनामा जीर्ण सम्पदाको पुनःनिर्माण, सवलीकरण (रेक्टोफिटिङ), मर्मत सम्भार तथा सौन्दर्य वृद्धि गरिएको छ । यसमा लागतको ५० प्रतिशत नेपाल सरकारले बेहोरेको छ । बाँकी ५० प्रतिशत एडीबीको ऋण सहयोग हो । यसअन्तर्गत पहिलो चरणमा ११ वटा र दोस्रो चरणमा १३ वटा संरचना पुनःनिर्माण सकेर गुठी संस्थानलाई हस्तान्तरण भइसकेका छन् । परियोजनाको पहिलो चरणमा ३८ करोड ८२ लाख ६२ हजार १७६ रुपियाँ लागतमा पुनःनिर्माण गरिएको हो । यसबाट मानन्धर सत्तल, मुन्सी घाट सत्तल, पञ्चनारी घाट निजी गुठी हुन् । शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, राजभण्डारी सत्तल, पुरोहित घाट सत्तल, वेस्ट सत्तलको पुनःनिर्माण भएको हो । दोस्रो चरणमा ४८ करोड ६४ लाख १६ हजार १९२ रुपियाँ लागतमा १३ वटा सम्पदा संरचना पुनःनिर्माण सम्पन्न भएका हुन् । यीमध्ये माथेमा सत्तल निजी गुठी हो । अहिलेसम्म यसका गुठीयार सम्पर्कमा आएका छैनन् । त्रिपुरेश्वरमा रहेको धर्मशाला नेपाल प्रहरीले प्रयोग गरिरहेको छ । तीन देवल मन्दिर, नारायण सत्तल, शिव मन्दिर, सीताराम मन्दिर, हनुमान सत्तलको सवलीकरण भइसकेको छ । बम बिकटेश्वर परिसरको सीमा पर्खाल लगाइएको छ । यसकै प्रवेश द्वार, चौघेरा सत्तल, पञ्चलिङ्गेश्वर मन्दिर, कृष्ण शुभद्रा मन्दिर, शिव मन्दिर सवलीकरण भइसकेका छन् । तेस्रो चरणको काम ४५ करोड १३ लाख १२ हजार २८५ रुपियाँ लागतको हो । यस चरणमा कालमोचन घाट सत्तल, बैरागी सत्तल, उदासी सत्तल र सन्यासी सत्तल पुननिर्माण भएको हो । २ किलोमिटर दुरीभित्र फैलिएको यो स्थानले महानगरका वडा नं। ११ र १२ गरी २ वटा वडा समेट्छ । यहाँ सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्वका प्राचीन सम्पदा छन् । यी भकारी, अखडा, मन्दिर, घाट, देवलका चाखलाग्दा पक्ष कलाकारिता, सभ्यताहरु पर्यटन प्रवर्धनका लागि अमूल्य पूर्वाधार हुन् । यी मूर्त सम्पदाहरुको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति र परम्परासँग सम्बन्धित छन् । सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित कथा छन् । मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको ठाउँ हो, यो । प्रमाणित तथ्य र प्रामाणिक अभिलेख नभएका सम्पदासँग जनश्रुति र कथनसँग सम्बन्धित कथा छन्।