विश्वबहादुरले एउटै बगानबाट बेचे ७५ लाखको सुन्तला

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका सुन्तला उत्पादक कृषक विश्वबहादुर अधिकारीले एउटै सुन्तला बगानमा उत्पादित सुन्तला ७५ लाखमा रुपैयाँमा बिक्री गरेका छन् । उनले सुन्तला व्यापारी तुलबहादुर थापालाई उक्त बगानमा उत्पादित सुन्तला सो मूल्यमा बिक्री गरेका हुन् । यहाँ उत्पादित सुन्तला विगत केही वर्षयता उनले नै ठेक्कामा खरिद गर्दै आएका छन् । कृषक अधिकारीले भने, ‘ठेक्कामा बिक्री गर्दा सजिलो हुने भएकाले एकैचोटी ठेक्कामै दिन्छु । यो वर्ष ७५ लाखमा सुन्तला बिक्री गरेको हुँ ।’ जिल्ला विकास समितिका पूर्वसभापति भइसकेका उनी सुन्तला खेतीबाट सन्तुष्ट छन् । गाउँको भिरालो जमिन सदुपयोग गरी विसं २०५२ देखि व्यावसायिकरूपले सुन्तलाखेती सुरु गरेका अधिकारीले वार्षिक ६०/७० लाखसम्मको सुन्तला बिक्री गर्दै आएका छन् । उक्त सुन्तला बगानमा एक हजार तीन सयभन्दा बढी सुन्तलाका बोट छन् । उनले भने, ‘गत वर्ष राम्रो उत्पादन भएन । कहिलेकाहीँ समस्या आउँछ । म आफैँ पनि बिरामी भएँ, व्यवस्थापन कमजोर भयो ।’ सबैभन्दा धेरै यसै वर्ष सुन्तला उत्पादन भएको अधिकारीको भनाइ थियो । उनले भने, ‘अन्य वर्ष ६०/७० लाखसम्मको सुन्तला उत्पादन भएको थियो । यो वर्ष सबैभन्दा धेरै उत्पादन भयो।’ ‘सुन्तला खेतीका लागि वार्षिक १५ लाख खर्च हुने गरेको छ’, उनले भने, ‘यो वर्ष खेताला बढी लगाउनुपरेको र मलखादको प्रयोगका कारण खर्च बढी हुन्छ । फलेका सबै सुन्तला टिपिसकेपछि बोटमा गोडमेल गर्ने, मल हाल्ने र पिना हाल्ने काम हुन्छ ।’ अधिकारीले भने, ‘उमाचोक सुन्तला उत्पादनका लागि उर्बर ठाउँ हो । सम्भावना देखेरै नै यो खेतीमा लागेको हुँ । आम्दानी पनि राम्रो भइरहेको छ । यसबाट सन्तुष्ट नहुने कुरै छैन ।’ सुन्तला बिक्रीबाट भएको आम्दानीले नै छोरा इञ्जिनियर र छोरी डाक्टर पढिसकेको उनले सुनाए । सुन्तला बगैँचा सुदृढीकरण, गोडमेल, मलखाद व्यवस्थापन, समयमा औषधोपचार गर्नसके सुन्तलाको दाना राम्रो, रसिलो, गुलियो र उत्पादन पनि राम्रो हुने उनको भनाइ छ । बगानसम्मै सडक जोडिएकाले बिक्रीका लागि सहज भएको सुन्तला खरिद गर्न ठेकेदार बगानमा नै आउने हुँदा बजारको कुनै समस्या नभएको र बिक्री हुँदैन कि भन्ने चिन्ता नभएको अधिकारी बताउँछन् । सुन्तला खरिद गर्ने ठेकेदार थापाले यहाँ उत्पादित सुन्तला काठमाडौँ लगेर बिक्री गर्ने गरेको बताए । ‘म्याग्देको खानीगाउँ, उमाचोकमा सुन्तला राम्रो भएकाले बगान नै ठेक्का लिएर खरिद गर्ने गरेको छु । यहाँ उत्पादित सुन्तलाका दाना राम्रा हुन्छन् । बजारको समस्या छैन ।’ जिल्लामा गत वर्ष २९ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । जिल्लामा उत्पादित अधिकांश सुन्तला जिल्ला बाहिर निर्यात हुने गरेको छ । त्यस वर्ष नौ हजार छ सय ४५ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर जमिनमा सुन्तलाखेती विस्तारको सम्भावना रहेको र कार्यालयले किसानलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ । यहाँ उत्पादित अधिकांश सुन्तला काठमाडौंका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका अलवा पोखरा, नारायणगढलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमादलगायत ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको सम्बद्ध किसानहरुले बताए । उक्त केन्द्रले चालु आर्थिक वर्षमा सुन्तला खेतीमा सहयोग गर्न एक करोड बजेट विनियोजन गरी किसानलाई बगैँचा व्यवस्थापनका लागि उक्त रकम सहयोग गर्ने जनाएको छ । रासस

सुन्तला खेतीबाट १० करोड भित्र्याउँदै इच्छाकामना

चितवन । सुन्तला खेतीबाट मात्रै इच्छाकामना गाउँपालिकाका किसानले मनग्य आम्दानी लिने भएका छन् । यहाँ रहेका चार सय ५० भन्दा बढी किसानले यस वर्षमात्रै १० करोड रुपैयाँ आम्दानी लिने भएका हुन् । गाउँपालिकाको कृषि विकास शाखाका अनुसार यहाँका किसानले उत्पादन गरेको सुन्तलाले राम्रो मूल्य पाएपछि यस वर्ष आम्दानी धेरै हुने भएको छ । शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार अहिले किसानको बारीबाट ७५ देखि ९० रुपैयाँ सम्ममा सुन्तला बिक्री हुने गरेको छ । यहाँ यस वर्ष ८० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको छ । त्यसमध्ये ६० हेक्टर क्षेत्रफलमा सुन्ताला उत्पादन भएको उनले बताए। गाउँपालिकामा लगाइएका २० हजार बोटमध्ये १५ हजार बोटले उत्पादन दिएको उनले जानकारी दिए। उनले भने, ‘उत्पादनका हिसाबले अघिल्लो वर्षको तुलनामा कम हो, उत्पादन कम भए पनि किसानले मूल्य भने राम्रो पाएका छन् ।’ गत वर्ष कृषि ज्ञान केन्द्रबाट सुन्तला खेती क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत पाँच हजार एक सय बिरुवा लगाइएको थियो । सो कारणले गत वर्षको तुलनामा क्षेत्रफल बढे पनि उत्पादन हुने क्षेत्रफल विस्तार हुन नसकेको उनले बताए । उनका अनुसार ६० हेक्टर क्षेत्रफलमा उत्पादन लिँदै गर्दा गत वर्षको तुलनामा यस वर्ष १२ प्रतिशत उत्पादन घटेको छ । गत वर्ष यहाँ एक हजार छ सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएकामा यस वर्ष घटेर एक हजार पाँच सय मेट्रिकटन उत्पादन भएको शाखा प्रमुख त्रिपाठीले बताए । जिल्लाको एकमात्र पहाडी क्षेत्र रहेको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला उत्पादन हुँदै आएको छ। रासस

काभ्रेमा भैँसी सुत्केरी भत्ता र पाडी वितरण कार्यक्रम प्रभावकारी

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा भैँसी सुत्केरी भत्ता कार्यक्रम प्रभावकारी बन्दै गएको छ । नगरपालिकाले भैँसी सुत्केरी भत्ताका साथै किसानलाई पाडीसमेत अनुदानमा दिने गरेको छ । विसं २०७७ मा भैँसीको पाडी ल्याएर स्याहारेकी पनौती–११ ख्याकुकी सावित्री थापाले अनुदानमा प्राप्त गरेको पाडी अहिले लैनौ भैँसी छ । त्यतिबेला भैँसी ब्याउँदा नगरपालिकाले उनलाई पाँच हजार सुत्केरी भत्ता पनि उपलब्ध गराएको थियो । ‘त्यतिबेला अनुदानमा पाएको पाडी हुर्किँदै ब्याएपछि पहिलो बेतमा दुई लाखको दूध बेचेँ’, थापाले भने । ख्याकुकै माधव थापाको परिवारमा पनि लैनो भैँसीले खुसी थपेको छ । पनौती नगरपालिकाबाट उहाँले पनि अनुदानमा पाडी प्राप्त गरेका थिए । उक्त पाडी हुर्किँदै ब्याएपछि पहिलो बेतमा एक लाख ८० हजारको दूध बिक्री गरेको थापाले बताए । यस्तै पनौती–११ कै शोभा थापाले नगरपालिकाबाट केही वर्ष अघि अनुदानमै प्राप्त गरेको पाडी हाल लैनो भैँसी बनेपछि दूध बिक्रीबाट घर खर्च चलाउँदै आएकी छन् । ‘दैनिक पाँच लिटर दूध बिक्री गर्ने गरेकी छु’, उनले भनिन् । पनौती नगरपालिको तीन वर्षको अवधिमा किसानलाई नौ सय १९ पाडी वितरण गरेको कृषि तथा पशुपन्छी शाखा प्रमुख लिलानाथ सापकोटाले जानकारी दिए । नगरपालिकाले भत्तासँगै खोप र औषधी निःशुल्क वितरण गर्ने गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि भैँसी संरक्षण–सम्वद्र्धन अभियानअन्तर्गत सुत्केरी भैँसी भत्ता कार्यक्रम सुरु गरेको हो । ‘दूध उत्पादन र भैँसीपालनको अवस्थाबारे अध्ययन गरेपछि भैँसी संरक्षण अभियानअन्तर्गत भैँसी सुत्केरी भत्ता वितरण गर्न थालेका हौँ’, शाखा प्रमुख सापकोटाले भने । पहिलो बेतको भैँसी सुत्केरी हुँदा रु पाँच हजार र त्यस पछि दुई हजारको दरले सुत्केरी भत्ता वितरण गरिएको उनले जानकारी दिए । उक्त कार्यक्रममा सहभागी हुन अनिवार्यरुपमा पशु बीमा गर्नुपर्ने प्रावधान थियो । नगरपालिकाले भैँसीलाई खोप तथा घाँसका बीउ निःशुल्क उपलब्ध गराउँदै आएको छ । शाखा प्रमुख सापकोटाका अनुसार पनौती नगरपालिकामा करिब आठ हजार भैँसी रहेका छन् । हाल दैनिक करिब ७५ हजार लिटर दूध उत्पादन भइरहेको छ । यसमध्ये ५० हजार लिटर दूध बिक्रीका लागि काठमाडौं पठाउने गरिएको छ । रासस