कञ्चनपुरमा नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता
कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् । शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन् । दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उनले त्यसबापत शुल्क तिर्ने गरेको बताइन् । बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ । सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीय काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर गर्ने गरेका छन् । शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा राना लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयको शिक्षण गर्छिन् । दैनिक दोदा नदी तर्न काठे पुल प्रयोग गर्ने उनले त्यसबापत शुल्क तिर्ने गरेको बताइन् । स्थानीयले काठे पुल प्रयोग गरेबापत साइकलको रु १० र मोटरसाइकलको रु २० शुल्क तिर्ने गरेका छन् । नदीमा व्यक्तिगत लगानीमा स्थानीय मङ्गलबहादुर चौधरीले काठको फड्के निर्माण गरेका हुन् । सालको काठबाट फलेक जोडेर बनाइएको अस्थायी पुल जीर्ण बन्दै गएको स्थानीय कृष्ण रानाले बताए । ‘पुलका टेको मक्किएका छन् । दुर्घटनाको खतरा छ । हामीले कहिलेसम्म काठे पुल प्रयोग गर्ने ?’, उनले भने । बर्खामा बाढी आउने हुनाले जिल्लाको दुर्गम क्षेत्रअन्तर्गत पर्ने लालझाडीसँगको सम्पर्कबिच्छेद हुने गरेको छ । बर्खामा उर्लिएर आउने दोदा नदीले यहाँका स्थानीयलाई दुःख दिने गरेको छ । ‘वर्षात्मा काठको पुलबाट आवतजावत गर्न सकिँदैन । बाढीले बगाउने हुनाले पुल हटाइन्छ’, उनले भने, ‘त्यसपछि ट्युबको सहायताले जोखिम मोलेर नदी वारपार गर्नुपर्छ ।’ रासस
६ करोडभन्दा बढीको अदुवा गाउँबाटै बिक्री
रुकुम । रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाबाट छ करोड भन्दा बढीको अदुवा बिक्री भएको छ । पालिकाभर दुई हजार छ सय किसानले उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी दिए । गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुुरी रहेका र पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको जनाइएको छ । एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको उनले जानकारी दिए । प्रत्येक किसानले गाउँबाटै एक क्वीन्टललाई चार हजारका दरले बिक्री गरेका छन् । अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नरहेको कृषि शाखाले जनाएको छ । व्यावसायिक रूपमा अदुवाखेती गरेका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले यस वर्ष अदुवा बिक्रीबाट एक लाख आम्दानी गरेको बताए । विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका उनले निरन्तर खेती गर्दै आएका छन् । यस वर्ष उत्पादन भएको साढे तीन क्वीन्टल बीउका लागि र १२ क्वीन्टल प्रतिक्वीन्टल चार हजारदेखि आठ हजारका दरले बिक्री गरेको उनले बताए । त्रिवेणी–४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले यस वर्ष अदुवा राम्रो उत्पादन भएको जानकारी दिए । तीस वर्षदेखि निरन्तर कृषि पेसा गर्दै आएका उनले यस वर्ष अदुवा बिक्रीबाट एक लाख ५० हजार आम्दानी गरेको बताए । अदुवा गाउँबाटै प्रतिक्वीन्टल चार हजार र बीउका लागि प्रयाेग हुने अदुवा प्रतिक्न्विन्टल आठ हजाार देखि १० हजारसम्म बिक्री भएकामा उनी खुसी छन् । ‘पहिले एक क्वीन्टल अदुवाबाट सात क्वीन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्वीन्टलसम्म उत्पादन गर्ने गरेको छु’, उनले भने । यस वर्ष बीउका लागि १२ क्वीन्टल अदुवा भण्डारण गरेर राखेको किसान खड्काले बताए । रासस
कालीगण्डकी नदीको बगर सम्याएर खेलमैदान
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैँको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर सम्याएर खेलमैदान बनाइएको हो । कालीगण्डकी युवा क्लब पोखरेबगरका अध्यक्ष रामकृष्ण खड्काले आठ लाख पचास हजार खर्च गरेर खेलमैदान तयार पारिएको जानकारी दिए । ‘पोखरेबगरवासीको भेलाको निर्णय अनुसार कालीगण्डकी किनारको उपभोगविहीन सार्वजनिक जमिनमा करिब २० दिनमा खेलमैदान तयार पारेका छौँ,’ उनले भने, ‘योसँगै खेलकुद प्रतियोगिता सञ्चालन गर्न र खेलाडीलाई अभ्यास गर्न सहज भएको छ।’ एक सय १२ मिटर लम्बाइ र ४० मिटर चौडाइ भएको खेलमैदानमा सेभेन ‘ए’ साइड फुटबल, भलिबल, बाँस्केटबल, क्रिकेट, ब्याडमिन्टन, एथलेटिक्स खेल सञ्चालन गर्न सकिने अध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार डोजर लगाएर सम्याइएको खेलमैदानको सतहमा माटो राखिएको छ भने स्टेजका लागि पर्खाल निर्माण गरिएको छ । उक्त खेलमैदानमा पुस ७ गतेदेखि सुरु भएको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सोमबार सकिएको छ । खेलमैदान नहुँदा यसअघि पोखरेबगर आधारभूत विद्यालय परिसरमा खेलकुद प्रतियोगिता तथा अभ्यास हुने गरेको थियो । खेलकुद गतिविधिका कारण विद्यालयको पठनपाठनमा असर पुगेको थियो । पोखरेबगर अन्नपूर्ण गाउँपालिकाको केन्द्र हो । तीव्र रुपमा बस्ती विस्तार भएको पोखरेबगरको अन्य ठाउँमा सार्वजनिक जग्गा नहुँदा खेलमैदान निर्माण हुनसकेको थिएन् । खेलमैदान निर्माण भएको बगरको कालीगण्डकी किनारमा यसअघि ग्याबिन पर्खाल बनाएर तटबन्ध गरिएको थियो । खेलमैदानको छेउमा निर्माणाधीन सार्वजनिक शौचालयलाई पनि पूर्णता दिइएको अध्यक्ष खड्काले बताए । खेलमैदान बनेपछि सार्वजनिक जग्गाको संरक्षण भएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले युवा क्लबको नेतृत्वमा मेलाबाट बचत भएको रकम परिचालन गरेर छोटो समयमा खेलमैदान तयार गरेर उदाहरणीय काम गरेको बताए । खेलमैदानलाई थप व्यवस्थित गर्दै पूर्वाधार विस्तार गर्न गाउँपालिकाले सघाउने उनको भनाइ थियो । रासस