स्याङ्जाको गल्याङ नगरपालिकाले ल्यायो छोरी जन्मिएपछि पाँच हजारमा बैंक खाता खोलिदिने कार्यक्रम
स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । गल्याङभित्रका एघार वडामा चालु आर्थिक वर्षमा जन्मिएका छोरीहरूको नाममा गल्याङस्थित गरिमा विकास बैंकमा खाता खोलिदिने र सो खातामा नगद पाँच हजार नगरपालिकाले जम्मा गरिदिने उपप्रमुख हेमा न्यौपानेले जानकारी दिइन् । ‘नगरपालिकाले छोरीहरूको प्रोत्साहनका लागि ‘नगरकी छोरी’ कार्यक्रम सञ्चालन गरेका हौँ’, उनले भनिन्, ‘चालु आर्थिक वर्षबाट सुरु भएको यो कार्यक्रमलाई अब निरन्तरता दिँदै जाने छौँ ।’ छोरी जन्मिनासाथै जनप्रतिनिधि, नगर तथा बैंकका कर्मचारी घरमै पुगेर प्रक्रिया पूरा गरी छोरीको नाममा बैंक खाता खोलिदिएको उनले बताइन् । बिहीबार गल्याङ–३ स्थित एक दलित समुदायकी सुत्केरी आमाले छैटौँ छोरीका रूपमा जन्मदिएकी नवजात शिशुको नाममा खाता खोलेर ‘नगरकी छोरी’ कार्यक्रमको थालनी भएको हो । ‘हाम्रो गाउँ समाजमा छोराछोरीप्रतिको विभेद न्यूनीकरण हुँदै गए पनि आंशिकरूपमा कायमै छ’, उपप्रमुख न्यौपानेले भनिन्, ‘नगरपालिकाले सुरु गरेको ‘नगरकी छोरी’ कार्यक्रम विशेषगरी छोरीलाई प्रोत्साहन र हौसला दिनका लागि बढी महत्त्वपूर्ण हुने विश्वास लिएका छौँ ।’ नगरपालिकाले छोरीको नाममा खोलिदिएको खातामा रहेको रकम १८ वर्ष उमेर नपुग्दासम्म झिक्न पाइँदैन । छोरी जन्मिएसँगै बचत गर्ने बानीको विकास गर्न उत्प्रेरित गरेको उनले बताइन्। ‘नगरपालिकाले सुरुमा खाता खोलेर रकम जम्मा गरिदिन्छ, पछिका दिनमा छोरीको नाममा घरपरिवारले थप रकम जम्मा गरिदिँदै जाँदा १८ वर्षमा ठूलो रकम प्राप्त हुन्छ’, उनले भनिन्, ‘तत्काल छोरीको प्रोत्साहनका लागि भए पनि पछि गएर आर्थिकरूपमा पनि सवलतातर्फ लैजान्छ ।’ नगरपालिकामा ‘उपप्रमुखसँग सुत्केरी पोषिलो झोला कार्यक्रम’ र ‘गर्भवतीलाई अण्डा वितरण’ कार्यक्रम सञ्चालनमा छन् ।
निःशुल्क सामूहिक विवाह : नगरपालिकाले नै दिन्छ जन्तीलाई भोजदेखि लत्ताकपडा
महोत्तरी । महोत्तरी जिल्लाको मनरा शिसवा नगरपालिकाले नगरक्षेत्रभित्रका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ । नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका छोराछोरीको निःशुल्क सामूहिक विवाह गरिदिने पालिका कार्यालयले जनाएको छ । नगर प्रमुख मोहन पाण्डेयले आफ्नो नगरक्षेत्रभित्र गरिब तथा विपन्न परिवारको बाहुल्यता बढी रहेकाले उनीहरुका छोराछोरीको विवाह लाग्ने खर्च नगरपालिकाले दिने गरी ‘सामूहिक विवाह’ को योजना ल्याइएको बताए । नेपाल सरकारले विवाह गर्न मान्यता दिएको उमेर (२० वर्ष) पुगेका, आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीलाई नगरपालिकाले निःशुल्क रुपमा विवाह गरिदिन उनको भनाइ थियो । मनरा शिसवा नगरपालिकाले ११ औंँ नगरसभाबाट नगरक्षेत्रका इच्छुक, उमेर पुगेका, गरिब तथा विपन्न परिवारका बरबधुलाई सामूहिक विवाह सम्बन्धी योजना नै पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत माधवेन्द्र चौधरीले जानकारी दिए । उक्त कार्यक्रमका लागि सोही सभाबाट १० पनि विनियोजन गरिएको उहाँले बताउनुभयो । मङ्सिर महिनाभित्र नगरपालिकाको प्रत्येक (१० वटै) वडामा विवाह गर्न इच्छुक परिवारलाई वडा कार्यालय वा नगरपालिकाको सामाजिक विकास शाखामा निवेदन दर्ता गराउन अभियान चलाइएको चौधरीले बताए । निवेदन दर्ता भइसकेपछि पालिकाले विवाहको मिति तोकेर एक्कैचोटी एउटै मण्डपमा सबै दुलाहादुलहीको विवाह गरिदिने कार्यक्रम रहेको उनले जानकारी दिए । तराई–मधेशमा दाईजो प्रथाले जरो गाडेकाले न्यून आय भएका, आर्थिक रुपमा कमजोर, तथा विपन्न परिवारले छोराछोरीको विवाह गर्न सक्षम नभएको गुनासो आएपछि पालिकाको नगरसभा बैठकबाट सामूहिक विवाहसम्बन्धी योजना पारित गरिएको प्रमुख पाण्डेयको भनाइ थियो । उनका अनुसार यस विवाहमा नगरपालिकाले सबै दुलाहादुलही जोडीलाई एक/एक जोर लुगा, दुलहीलाई चुरा, पोते, शृङ्गारका आवश्यक सामान र जन्तीलाई भोजभतेर तथा बासको व्यवस्था मिलाउने कार्यक्रम रहेको छ । नगरपालिकाले विवाह गर्ने दुलही (केटी) अनिवार्य रुपमा यही नगरपालिका क्षेत्रभित्रको हुनुपर्ने शर्त राखिएको जनाउँदै विशेष गरी नगरक्षेत्रभित्रका केटीलाई लक्षित गरी यो कार्यक्रममा ल्याइएको नगर प्रमुख पाण्डेयले बताए । उनले पहिलो पटक नगरले यस्तो कार्यक्रम ल्याएको भन्दै यसले सकारात्मक सन्देश दिए प्रत्येक वर्ष यस कार्यक्रमलाई निरन्तरता दिइने बताए । रासस
थप सुरक्षित र व्यवस्थित बन्दै ठमेल क्षेत्र, एकैपटक जडान भए ८० वटा सिसी क्यामरा
काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसी क्यामरा जडान सुरु गरिएको छ । ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलका प्रत्येक चोकमा सिसी क्यामरा जडान गरिएको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेल क्षेत्रको शान्तिसुरक्षा बलियो बनाइ यस क्षेत्रलाई सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि सिसी क्यामरा जडान सुरु गरिएको जानकारी दिए । अध्यक्ष शर्माले ठमेलभित्रको लैनचौर मार्ग, क्षेत्रपाटी मार्ग, नर्सिङ चोक मार्ग, भगवती बहाल मार्ग, चाक्सीबारी मार्ग, सातघुम्ती मार्ग, जेपी लाइन मार्ग र पर्यटन मार्गभित्र ८० सिसी क्यामरा जडान गरिएको बताए । ‘चार ठूला क्यामरासहित एक सय १२ सिसी क्यामरा जडान गर्नेगरी काम भइरहेको छ, हाल ८० क्यामरा जडान गर्ने कार्य सम्पन्न भएको छ’, अध्यक्ष शर्माले भने । ठमेल क्षेत्रभित्र सिसी क्यामरा जडान गर्न यसअघि काठमाडौं महानगर प्रहरी, काठमाडौं उपत्यका प्रहरी कार्यालय र ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधिले ठमेल क्षेत्रभित्र आवश्यक पर्ने सिसी क्यामराको अध्ययन गरेको थियो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई नियन्त्रणका लागि सिसि क्यामराले सहयोग पुग्ने बताए । विसं २०४७ मा ठमेल क्षेत्रको विकासका लागि स्थापना भएको परिषद्मा ठमेलभित्रका दुई हजारभन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन् । उक्त परिषद्ले ठमेल क्षेत्रको विकासका क्षेत्रमा काम गर्दै आइरहेको छ । यस्तै परिषद्ले ठमेलभित्रका प्रत्येक गल्लीलाई कालोपत्र गर्नका लागि सम्बन्धित निकायसँग पहलकदमी लिँदै आएको छ भने प्रत्येक बिजुलीका खम्बामा सडक बत्ती जडानको कामलाई समेत अगाडि सारेको छ ।