काठमाडौं महानगरभित्र दुई बसपार्क : जडीबुटीमा अर्को थपियो

काठमाडौं । मुलुकको सङ्घीय राजधानी काठमाडौंको एकमात्र काठमाडौं महानगरपालिकाभित्र दुई बसपार्क सञ्चालनमा आएका छन् । अरनिको यातायात प्रालिले व्यक्तिगत जग्गा पाँच वर्षलाई भाडामा लिएर वडा नं ३२ जडीबुटीमा बसपार्क निर्माण गरेसँगै एउटै स्थानीय तहभित्र दुई बसपार्क सञ्चालन भएका हुन् । जापान सरकारले कामपा–२६ गोंगबुस्थित विष्णुमति खोला किनारामा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क निर्माण गरेर नेपाल सरकारमार्फत महानगरलाई सञ्चालनको जिम्मेवारी दिएको हो । अरनिको यातायातले कामपाबाट स्वीकृति नै नलिइकन बसपार्क सञ्चालन गरेको महानगर प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । एक महानगरभित्र एकमात्र बसपार्क बनाउने कामपाको नीति भएकाले दुई बसपार्क सञ्चालनको स्वीकृति नदिइएको उनको भनाइ थियो । मानन्धरका अनुसार विसं २०५६ मा महानगरका तत्कालीन नगर प्रमुख केशव स्थापित र लोत्से बहुउद्देश्यीय प्रालिका तत्कालीन अध्यक्ष गेहेन्द्रबहादुर कार्कीबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भएर बसपार्क सञ्चालनमा ल्याइएको थियो । उक्त बसपार्कबाट दैनिक झण्डै पाँच सय सार्वजनिक सवारी साधन देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका जनाउँदै महानगरभित्र एकमात्र बसपार्क रहेको उनले बताए । ‘हामीले जडीबुटीको बसपार्कलाई मान्यता दिएका छैनौँ । महानगरको एकमात्र गोँगबुस्थित नयाँ बसपार्क मात्रै हो’, उनले भने । प्रवक्ता मानन्धरले एउटै पालिकाभित्र धेरै बसपार्क सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमासमेत समस्या हुने भएकाले एक पालिका एक बसपार्कको नीति दिइएको जानकारी दिए । उनका अनुसार पछिल्लो समय कमपाले यत्रतत्र छरिएर रहेका सार्वजनिक बसलाई अनिवार्यरुपमा बसपार्क भित्रबाट सञ्चालन गर्न सूचना जारी गरेको छ । ‘काठमाडौंभित्रको ट्राफिक व्यवस्थापनलाई थप सहजता होस् भनेर महानगरले चक्रपथ वरपर सडकबाट जथाभावी छुट्ने सार्वजनिक सवारी साधनलाई बसपार्कभित्रबाट सञ्चालन गर्न सूचना जारी गरेका हौँ’, प्रवक्ता मानन्धरले भने । महानगरका यातायात विज्ञ जगतमान श्रेष्ठले कामपाको एक महानगर, एक बसपार्क नीति भएकाले जडीबुटीमा सञ्चालित बसपार्कलाई मान्यता नदिइएको बताए । ‘अरनिको यातायातले केही वर्षका लागि व्यक्तिगत जग्गा भाडामा लिएर क्षणिक स्वार्थका लागि बसपार्क सञ्चालन गरेका छन् । उक्त बसपार्कलाई कामपाले मान्यता दिएको छैन’, उनले भने । पर्यटकका लागि छैन बसपार्क कामपाभित्र दुई बसपार्क सञ्चालन हुँदा देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटक बसका लागि भने बसपार्क सञ्चालन हुन सकेको छैन । काठमाडौंको गोंगबुमा एक सय ६१ रोपनी क्षेत्रफलमा नयाँ बसपार्क सञ्चालन हुँदा यहाँदेखि दुई किलोमिटर पर सोह्रखुट्टेको सडकबाट पर्यटक बस देशका विभिन्न भागमा आवतजावत गर्दै आएका छन् । कोरोना महामारीका कारण नराम्रोसँग थला परेको नेपालको पर्यटन व्यवसायलाई अगाडि बढाउन सरकारले विभिन्न कार्यक्रम अगाडि सारे पनि सङ्घीय राजधानी काठमाडौँमै पर्यटकीय बसका लागि पार्किङस्थल नहुँदा व्यवसायीहरु समस्यामा परेका हुन् । टुरिस्ट बस एशोसियशन अफ नेपाल ९टिवान०का अध्यक्ष कृष्ण आचार्यले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख व्यवसाय मानिएको पर्यटनका लागि छुट्टै बसपार्क नहुँदा समस्या भएको बताए । ‘विदेशी पर्यटक नेपालमा घुम्न आउने गरेका छन् । घुम्नका लागि कहाँबाट बस चढ्ने भन्नेबारे उनीहरुमा अन्योलता छ’, उनले भने, ‘अहिलेसम्म एउटा व्यवस्थित पर्यटकीय बसपार्क नहुँदा अन्तर्राष्ट्रियस्तरमा समेत नेपालको पर्यटन क्षेत्रको राम्रो सन्देश जान सकेको छैन ।’ टिवानका पूर्वअध्यक्ष एवं बाबा एडभेन्चर ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक प्रह्लाद लोहनीले विश्वका धेरै मुलुकले पर्यटन क्षेत्रको विकासका लागि पर्यटक बोक्ने सवारीसाधनलाई छुट्टै बसपार्कका रूपमा विकास गरे पनि नेपालमा यो व्यवस्था नहुँदा विदेशी पर्यटकलाई आवतजावतमा समस्या हुने गरेको बताए । ‘मुलुककै राजधानीमा पर्यटकका लागि बसपार्क नहुँदा विश्वमा नेपालको पर्यटन व्यवसायबारे गलत सन्देश जान सक्छ’, उनले भने । हाल काठमाडौंदेखि पोखरा र चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायत प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी पर्यटक लैजान पर्यटकीय बस सञ्चालन हुँदै आएका छन् । तीन दशकभन्दा बढी समय कान्तिपथबाट पर्यटकीय सवारीसाधन ओहोरदोहोर गर्ने गरेकामा महानगर र ट्राफिक प्रहरीले यस क्षेत्रमा धेरै भीडभाड हुने गरेको भन्दै विसं २०७५ असार १६ गते कान्तिपथबाट पर्यटकीय सवारीसाधनको आवागमन हटाएर अस्थायी रुपमा सोह्रखुट्टेमा स्थानान्तरण गराएको थियो । सोह्रखुट्टेबाट सञ्चालित पर्यटकीय बस बिहान ७ बजे स्वदेशी तथा विदेशी पर्यटक बोकेर मुलुकको प्रमुख पर्यटकीय गन्तव्य पोखरा, सौराहा, लुम्बिनी र जनकपुर जाने गरेका छन् । कामपाका प्रवक्ता मानन्धरले महानगरभित्र पर्यटक बसपार्क बनाउने बारेमा अध्ययन भइरहेको जानकारी दिए । ‘महानगरभित्र पर्यटक बसपार्क निर्माणका लागि आठ स्थानमा अध्ययन गरेर वजेट विनियोजन गरिसकिएको छ’, उनले भने, ‘पर्यटन क्षेत्रको विकासका लागि महानगर सधैँ तयार रहेको छ ।’ रासस

वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने

स्याङ्जा । स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’अन्तर्गत सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो । सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नगरभित्रका प्रत्येक घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको नगर प्रमुख कृष्ण खाणले जानकारी दिए । नगरका १४ वटै वडामा रहेका प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरणसहित घर जिपिएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी नम्बर प्लेट टाँस्न लागिएको उनले बताए । ‘यो कार्यक्रममार्फत प्रत्येक नागरिकको स्वास्थ्य स्थितिकाबारेमा नगरपालिका जानकार भइरहने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीति तयार गर्न सघाउ पुग्ने देखिन्छ’, खाणले भने, ‘वडा नं ३ को माझकोटबाट सुरु भएको यो अभियानलाई एक महिनाको अवधिमा नगरका सबै वडामा पुर्‍याउँछौं ।’ सरुवा रोगको सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै रोगका बारेमा सचेतना फैलाउन यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । नसर्ने रोगका बारेमा पनि नागरिकलाई सचेत बनाइने भएको उपप्रमुख कविता तिवारी गैरेले बताइन् । अभियानलाई प्रभावकारीरुपमा अगाडि बढाउन प्रत्येक वडामा नर्सहरु खटाइएको छ । नर्समार्फत नागरिकमा देखिने मुटुरोग, मनोरोग, पाठेघरको क्यान्सर, स्तन क्यान्सर लगायतका रोगका बारेमा जानकारी दिने र स्वस्थ जीवनशैली कसरी हुनसक्छ भन्ने विषयमा सचेतना जगाउने उनले बताइन् । ‘सबैभन्दा ठूलो सम्पत्ति नै स्वास्थ्य हो,’ उनले भनिन्, ‘यहाँका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउनका लागि स्वास्थ्यकर्मीलाई घरघरमै पठाएका छौँ । प्रत्येक घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्ने र बिरामीलाई आवश्यक परामर्श प्रदान गरिनेछ ।’ विशेष गरी ग्रामीण भेगमा बस्ने नागरिकले नसर्ने रोगका कारण अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले यो अभियान अगाडि बढाइएको स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । नगरपालिकाले घरघरमा नम्बर प्लेट टाँससँगै घरका सदस्यको स्वास्थ्य अवस्थाको सबै विवरण राखिने भएकाले पनि पहिचान गर्न सहज हुने उनको भनाइ छ । रासस

स्वरोजगार बनेपछि बदलियो गृहिणीको जीवनशैली

ढोरपाटन । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले २० जना गृहिणीलाई ४५ दिन स्विटर बुन्ने तालिम दिएपछि जीवनस्तरमा परिवर्तन आएको तालिममा सहभागी गृहिणी बताउँछन् । महिलाले स्विटर उद्योगलाई ‘नरेठाँटी होच्यारी महिला उद्यमी’ नाम दिएका छन् । अहिले साँघुरो ठाउँमा उद्योग सञ्चालन गरिए पनि यसलाई विस्तार गरी ठूलो बनाउने सोँच रहेको महिला उद्यमीकी संयोजक धनमाया खड्काथोकीले बताइन् । गलकोट–२ नरेठाँटीकी ५१ वर्षीया सावित्रा कार्की हिजोआज घर छेउको स्वीटर उद्योगमा भेटिन्छन् । दुई वर्ष अगाडिसम्म पशुचौपाया पाल्ने, खेतीपाती गर्ने र अरुको काम गरेर गुजारा चलाउने सावित्रा अहिले आफ्नै उद्योगमा मालिक बनेर काम गरिरहेकी छन् । उनीसँगै नरेठाँटीका सातजना महिला यही उद्योगमा काम गर्छन् । उद्योग सञ्चालनमा आएपछि अहिले सातै जनाले अरुको काम गर्नु नपरेको बताउँछन् । स्वरोजगार बनेपछि दैनिकी र जीवनस्तर बदलिँदै गएको उनीहरुको भनाइ छ । सावित्राले पाँच दशक बढीको उमेर चुलोचौको र मेलापातमा बिताइन् । पचास नाघेपछि उद्यमी बन्दा उनी खुसी छन् । कुनै सीप नहुँदा जीवनकालमा निकै कष्टकर दिन बिताएको सम्झना सावित्राको मानसपटलमा अझै ताजा छ । काममा व्यस्त हुन थालेपछि पुराना दिनलाई विस्तारै भुल्दै गएको सावित्रीको भनाइ थियो । उद्योगमा हरेक दिन आफू जस्तै महिलाले काम गर्ने भएकाले दैनिकी सहज बन्दै गएको उनले बताइन् । गलकोट–२ को वडा कार्यालय नजिकै रहेको स्विटर उद्योगमा केही १८–२० वर्षका युवती छन् भने कोही पाका महिला छन् । युवादेखि पाकासम्मका महिलालाई उद्यमसँग जोड्न नगरपालिकाले भूमिका खेलेको छ । पालिकाले तालिम दिएर सीप सिकाएपछि उद्यमी बनेका महिलाले अब अरुको काम गर्नु नपर्ने सुनाउँछन् । सावित्राले परिवार चलाउनका लागि रात दिन अरुको काम गरेको स्मरण गर्दै अहिले आफूलाई अनुकूल समय निकालेर काम गरिरहेको बताए । उनले सबैभन्दा ठूलो सीप रहेको भन्दै सीप भएपछि कुनै पनि व्यक्तिले दु:ख पाउन नपर्ने बताए । नगरपालिकाले गृहिणी महिलाका लागि ठूलो अवसर दिएपछि आयआर्जनसँग जोडिन थालेको सावित्रीको भनाइ थियो । अहिले आफै मालिक भएर काम गर्दा गौरवको अनुभूति भएको उनले अनुभव सुनाए । ‘पहिले अरुको काम गर्नुपथ्र्यो । अरुको काम गरेर पैसा पाउन निकै गाह्रो हुन्थ्यो । परिवारको खर्चका लागि मेलापात गर्नुको विकल्प थिएन’, उनले भने, ‘अहिले सीप सिकेपछि दुई/चार पैसा कमाउन गाह्रो छैन । आफ्नै व्यवसाय छ । आफै काम गर्ने आफै कमाउने भएका छौँ ।’ महिला उद्यमीकी संयोजक खड्काथोकीले नगरपालिकाले दिएको स्विटर बुन्ने तालिमले आफूहरुको जीवनस्तरमा परिवर्तन गराइदिएको बताए । तालिम पश्चात् उद्योग परीक्षणकालमा रहे पनि व्यवसाय फस्टाउँदै गएको उनले बताए । यहाँ महिला तथा पुरुषका लागि स्विटर, विद्यार्थीका लागि पोसाक, गलबन्दि, टोपीलगायतका सामग्री उत्पादन गर्ने भन्दै बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन हुने खड्काथोकीले दाबी गरे । व्यवसाय सञ्चालन गरेको एक वर्षमै धेरै ठाउँबाट उत्पादनको माग आएको भन्दै मागअनुसार पुर्‍याउन नसकेको खड्काथोकीले जानकारी दिइन् । उद्योग सञ्चालनमा अधिकांश लगानी नगरपालिकाले गरेको भन्दै यहाँ आवद्ध महिलाले प्रतिव्यक्ति पचास हजार लगानी गरेका उनले बताए । उनका अनुसार कच्चापर्दाथ बुटवल र काठमाडौँबाट ल्याउने भएकाले समस्या भएको छैन । संयोजक खड्काथोकीले उद्यमले गृहिणीको आर्थिक अवस्थालाई बलियो बनाउन थालेको बताइन । पहिले अरुको काम गर्दा दिनको रू पाँच सय कमाउने गरेकामा अहिले रू एक हजारदेखि रू बाह्र सयसम्म आम्दानी हुने गरेको उनले जानकारी दिइन । ‘सीप नहुँदा मैले पनि अरुको काम गर्थेँ । अरुको काम गर्दा पैसा लिन नै समस्या थियो । अहिले नगरपालिकाले सीप सिकाएपछि हामीहरु उद्यमी बनेका छौँ । यहाँ बाहिरबाट आउने कपडाभन्दा गुणस्तरीय उत्पादन गरिरहेका छौँ । तुलनात्मक रुपमा यहाँ सस्ता पनि पर्छ’, खड्काथोकीले भनिन्, ‘अहिले माग बढिरहेको छ । मागअनुसारको उत्पादन पुर्‍याउन सकिएको छैन । उत्पादन गर्ने ठाउँमै आएर किन्ने धेरै हुनुहुन्छ । उद्योगमा हामी आफूलाई मिल्ने समयमा आएर काम गर्छौँ । अहिले मासिक रू ३०/३२ हजार कमाउनलाई गाह्रो छैन ।’ गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गृहिणीलाई स्वरोजगार बनाउने योजनाअन्तर्गत दुई वर्ष अगाडि तालिम दिएर उद्यमी बनाइएको जानकारी दिए । पछिल्लो समय धेरै गृहिणी विदेश पलायन हुनथालेपछि गाउँ रित्तिन थालेको भन्दै उनीहरुलाई गाउँमै रोक्न सीप सिकाएर व्यवसायसँग जोडेको उनको भनाइ थियो । नगरपालिकाले तालिमसहित करिब रू सात लाख बराबरको मेसिन सहयोग गरेको भन्दै उद्योगका लागि घर पनि पालिकाले नै व्यवस्थापन गरिदिएको प्रवक्ता भण्डारीले बताए । ‘सुरुमा तालिम लिने दिदीबहिनी धेरै हुनुहुन्थ्यो । व्यवसाय गर्न चाहीँ सात जनाले मात्रै थाल्नुभयो । उहाँहरु अहिले आत्मनिर्भर बन्दै जानुभएको छ । सात जनाले भए पनि यहाँ रोजगार पाउनुभएको छ’, उनले  भने, ‘अझै उद्योगमा धेरै कामदारको आवश्यकता परेमा उद्योग विस्तार गर्दै लगे धेरैले रोजगार पाउने छन् ।’ यहाँ आवद्ध सबैको आर्थिक अवस्था सुधार भएको भन्दै प्रवक्ता भण्डारीले महिला आयआर्जनसँग जोडिएसँगै उनीहरुको जीवनशैली पनि बदलिएको बताए । नगरपालिकाले अन्य वडामा पनि सीपमूलक तालिम दिएर महिलालाई व्यवसायसँग जोडेको उनको भनाइ थियो । रासस