विरेन्द्रनगरका वडाध्यक्ष रोकाय भन्छन् ‘नतिजा आएकै छैन, तर लोकसेवा आयोगमा पास भएको समाचार आयो’
काठमाडौं । सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष देवबहादुर रोकायको आज एउटा समाचारपत्रमा लोकसेवा आयोगमार्फत अमिन पदमा नाम निस्किएको समाचार प्रकाशित भयो । समाचारको लिंक सेयर गरेर धेरैले वडाध्यक्ष रोकायालाई बिहानैदेखि बधाई दिन शुरु गरे । कतिपयले म्यासेज र फोनमार्फत बधाई दिए । रोकायले बधाईको ओइरो आएपछि लोकसेवा आयोगको सूचना हेर्दा भने नतिजा प्रकाशित भएकै रहेनछ । वडाध्यक्ष रोकायले आफूले अमिन पदको लागि आयोगमा परीक्षा दिएको तर, परीक्षाको नतिजा नआउँदै पास भएको भनेर समाचार आएकोले आफू आश्चर्यमा परेको बताए । ‘लोकसेवाको फर्म भरेको हो, तर नतिजा नआउँदै समाचार बनाएछन्’, उनले भने, ‘समाचार बनाउनुअघि मलाई एकपटक सोधेको भए राम्रो हुन्थ्यो ।’ वडा अध्यक्ष रोकाय कक्षा १२ पास गरेर स्नातक तहमा अध्ययन गर्दैछन् । आफ्नो पढाइमा निरन्तरता होस् भन्ने हिसाबले आयोगको परीक्षा पनि दिएको उनले बताए । राजनीतिमा अनिश्चितता भएकोले पढाइलाई पनि सँगसँगै अगाडि बढाएको उनको भनाइ छ । समाचारमा लेखिएझैं पास भएको नतिजा आएपनि तत्काल जनप्रतिनिधिको जिम्मेवारी नछाड्ने भन्दै अध्यक्ष रोकायले बताएका छन् । ‘देशको राजनीति यस्तो छ, मैले आफ्नो पढाइलाई निरन्तरता दिने क्रममा लोकसेवा आयोगमा पनि फर्म भरेको हुँ’, उनले भने, ‘तर, नतिजा जे आएपनि पाँच वर्षलाई जिम्मेवारी छाड्दिन ।
दुई दशक देखिको विवाद दुई दिनमै मिलापत्र
कञ्चनपुर । दुई दशकदेखिको जग्गा अंश सम्बन्धिको विवाद दुई दिनमै मिलापत्र भएपछि शुक्लाफाँटा नगरपालिका- १२ देखतभूली अग्लीपट्टीका इतवरीया राना निकै खुसी भएका छन् । नगरपालिकाको न्यायिक समितिले उनको उजुरी आएको दुई दिनममै अंश पाउने गरी विवादको टुंगाे लगाइदिएको थियो । झण्डै तीस वर्षअघि राना परिवार बस्दै आएको दुई बिघा दर्ता भएको जग्गा र तीन बिघा ऐलानी जग्गा दोदा नदीले कटान गरी बगाएको थियो । ‘जग्गा कटान भएको दुई दशकपछि नदीले बहाव परिवर्तन गर्दै जग्गा भएर बग्न छाडेपछि चारजना बुवाको अंश लाग्ने जग्गामा तीन जना बुवाका छोराहरुले खेती गर्न थालेका थिए’, रानाले भने, ‘मैले अंश माग्न खोज्दा गालीगलौज र कुटपिट गर्न आउन थाले, त्यसपछि अंशकै लागि नगरपालिकाको न्यायिक समितिलाई गुहारें ।’ दुवै पक्षलाईसँगै राखेर न्यायिक समितिको इजलासमा छलफल बहस भयो । विगतका कटुतालाई बिर्सिदैं चारवटै बुवाका छोरा बन्धा, सन्धा, सुकराम बसेर अंश दिने सहमति गरेको इतवरीयाले बताए । ‘वर्षौंदेखि आफ्ना दाजुभाइसँग जग्गाकै लागि बोलिचाली बन्द गरेका थियौं’, उनले भने, ‘न्यायपालिकाको पहलमा भाइहरूसँगको सम्बन्ध स्थापित भएको छ, अंशबाट वञ्चित थिए, त्यो पनि पाएँ ।’ भोगचलन गर्दै आएको ऐलानी जग्गाबाट छ कठ्ठामा भोगचलन गर्न दिने गरी सहमति गरिएको नगरपालिकाको न्यायिक शाखाका कर्मचारी सुरेन्द्रप्रसाद भट्टले बताए । ‘राना बन्धुको वर्षाैंदेखिको जग्गा विवाद रहेको थियो’, उनले भने, ‘पक्ष विपक्षलाईसँगै राखेर उजुरी आएको दुई दिनमै छलफल गरी सौर्हाद रूपमा विवाद टुङग्याएका छौं ।’ वडाध्यक्ष, न्यायिक समितिका संयोजक, जग्गा नापजाँच गर्ने अमिनको रोहवरमा फिल्डमा गएर जग्गा बाँडफाँड गरिने भएको उनको भनाइ छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ अनुसार न्यायिक समितिको अधिकार क्षेत्रभित्र पर्ने भएकाले आइन्दा दुवै पक्षले मिलेर बस्ने, एक अर्कालाई गाली बेज्जती नगर्ने सम्बन्धमा दुवै पक्षलाई न्यायिक समितिमा उपस्थित गराइ छलफल गराइ मिलापत्रसमेत गरिएको उनले उल्लेख गरे । नगरपालिकाका न्यायिक समितिको संयोजक तथा उपप्रमुख कल्पना पन्तका अनुसार रानाका जस्तै न्यायिक समितिमा ज्याला मजदुरी, रकम लेनदेन, जग्गासम्बन्धी, अंश, बाटो, कुुलो, खानेपानी सम्बन्धिका २४ विवादमा चालु आवमा मिलापत्र गरिएको छ । दुई विवादका उजुरी विचाराधीन अवस्थामा रहेका छन् । न्यायपालिकामा छवटा नयाँ विवाद दर्ता भएका छन्। दुई विवाद गत वर्षबाट सरि आएको उनको भनाइ छ । न्यायपालिकामा आएका सबै विवादको पक्ष विपक्षलाईसँगै राखेर जितजितको भावना राखेर मिलापत्र गराइदै आएको नगर उपप्रमुख पन्तको भनाइ छ । रासस
काठमाडौं महानगरले माग्यो ३२ जना कर्मचारी (सूचनासहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीको माग गरेको छ । महानगरपालिकाले करारमा ३२ जना कर्मचारीको माग गरेको हो । महानगरले शुक्रबार एक सूचना जारी गर्दै फुड टेक्नोलोजिस्ट,माइक्रो बायोलोजिस्ट र मेडिकल अधिकृत पदका लागि कर्मचारीको माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उमेदवारले अनलाइनमार्फत मंसिर २३ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ ।