देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा
रूपन्देही । मानवसेवा आश्रमको सहकार्यमा बिहीबार रूपन्देहीस्थित देवदह नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको छ । यस घोषणासँगै अब नगरभित्र सडकमा बेवारिसे भएर बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । साथै सडकआश्रित तथा असहाय व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार र दीर्घकालीन व्यवस्थापनलाई संस्थागत रूपमा अगाडि बढाइने नगरपालिकाले जनाएको छ । देवदह नगरपालिकाको सभाहलमा आयोजित औपचारिक कार्यक्रममा नगर प्रमुख ध्रुवप्रसाद खरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति, रूपन्देहीका प्रमुख उमानन्द चापाईं, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारी, स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सामाजिक अभियन्ता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा वक्ताहरूले मानवसेवा आश्रम र स्थानीय तहबीचको सहकार्यबाट देवदह नगरपालिका सहयोगापेक्षी सडकआश्रित मानवमुक्त घोषणा हुनु सामाजिक उत्तरदायित्व र मानवीय संवेदनाको महत्त्वपूर्ण उपलब्धि भएको बताए। मानवसेवा आश्रमले देशका विभिन्न स्थानीय तहमा सञ्चालन गर्दै आएको सहयोगापेक्षी सडकआश्रित मानवमुक्त अभियानमा देवदह नगरपालिका जोडिनु एक महत्त्वपूर्ण उपलब्धि भएको जनाइएको छ । आश्रमले विसं २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने लक्ष्यसहित देशभर अभियान तीव्र पारेको छ ।
स्थानीय तहबाटै प्यान कार्ड जारी, कर चुक्ता पनि पालिकाबाटै
काठमाडौं । हिमाल पारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरूले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए । सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेसँगै उक्त कार्यालयबाट प्रवाह हुने कतिपय सेवासुविधा कोष तथा लेखा नियन्त्रण कार्यालय वा स्थानीय तहबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । सरकारको सोही निर्णय बमोजिम चुमनुब्री गाउँपालिका स्थानीय तहबाटै करसम्बन्धी सेवा शुभारम्भ गरेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत लामिछानेले जानकारी दिए । उनका अनुसार पालिकाबाट कर सेवा शुभारम्भ गर्ने सम्बन्धमा बुधबार गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, दमौलीबीच सम्झौता भएको छ । ‘सम्झौताअनुसार पालिकाबाट स्थायी नम्बर (प्यान) र व्यावसायिक स्थायी लेखा नम्बर (बिजनेस प्यान) जारी गर्न मिल्छ,’ उनले भने । पालिकाले आफ्नो क्षेत्राधिकार भित्रका करदातालाई आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क लगायतका कर सिफारिस गर्ने, दर्ता प्रमाणपत्र र इजाजतपत्र उपलब्ध गराउने, संशोधन गर्ने र आफूबाट हुन नसकेका काम सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने सम्झौता भएको उनको भनाइ छ । पालिकाबाट उक्त सेवा सञ्चालन गर्न आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन पालिका आफैंले गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत लामिछाने बताउँछन् । ‘गाउँपालिकाले आन्तरिक राजस्व विभागबाट सञ्चालित पोर्टल प्रयोग गरेर करसम्बन्धी सेवा सञ्चालन गर्नुपर्ने हुन्छ । विभागको पोर्टल के, कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा उहाँहरूले नै हाम्रो कर्मचारीलाई आवश्यक तालिम तथा जानकारी दिने सम्झौता भएको छ,’ उनले भने । करदातालाई प्रदान गरिने सेवाको सुनिश्चतता र आवश्यक समन्वयका लागि दुवै पक्षले एक-एक जना अधिकृतस्तरको कर्मचारीलाई ‘जिम्मेवार व्यक्ति’ तोक्ने निर्णय सम्झौताले गरेको छ । सेवा प्रवाह गर्ने प्रक्रियामा कुनै समस्या आएमा सम्बन्धित आन्तरिक राजस्व विभागसँग आवश्यक सहजीकरण र समन्वय गर्ने सम्झौता भएको छ । करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णय बुधबारदेखि लागू भएको कोष तथा लेखा नियन्त्रक कार्यालय (कोनेनिका) का प्रमुख इन्द्रप्रसाद पौडेलले बताए । कर कार्यालय खारेज भएसँगै कोलेनिकाले बुधबारबाटै करसम्बन्धी सेवा प्रवाह सुरु गरेको उनले जानकारी दिए । ‘कोलेनिकाले बुधबार पहिलो दिन करसम्बन्धी सेवा प्रवाह सुरु गरेको भए पनि सेवाग्राहीको सङ्ख्या धेरै नै देखियो । हाम्रा कर्मचारीलाई कर कार्यालयको काम कारबाही बुझ्न समय लाग्ने भएकाले त्यहाँका कर्मचारी केही समय यहीँ बसेर काम गर्नुहुन्छ । बिस्तारै हामी आफैंले आवश्यक कर्मचारी व्यवस्थापन गरेर कर सेवा प्रवाह गर्ने छौँ,’ उनले भने । कार्यालयले पहिलो दिन स्थायी लेखा नम्बर वितरण र कर चुक्ताको काम गरेको प्रमुख पौडेलले बताए ।
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
महेन्द्रनगर । केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयको भनाइ छ । चिसो बढेसँगै यहाँका पालिकाले सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन बन्द गराएका हुन् । यहाँको बेल्डाडी गाउँपालिकाले सामुदायिक तथा संस्थागत विद्यालय सोमबारदेखि तीन दिनका लागि बिदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । त्यसैगरी, अत्यधिक जाडोका कारण विद्यार्थी, शिक्षक र कर्मचारीको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी आगामी पुस २५ गतेसम्म जाडो बिदा गरिएको बेलौरी नगरपालिकाका प्रवक्ता हर्कबहादुर भुलले जानकारी दिए । यस्तै, लालझाडी गाउँपालिकाले पनि सोमबार सूचना जारी गरी विद्यालयको सञ्चित हिउँदे बिदाबाट कट्टा हुनेगरी मङ्गलबार र बुधबार गरी दुई दिन बिदा दिएको छ । लगातारको चिसोका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र यहाँका सबै पालिकाको जनजीवन प्रभावित बनेको छ भने बजारक्षेत्रमा चहलपहल पनि घटेको छ ।