व्यास नगरपालिकाले गर्यो एक करोड पच्चीस लाख रुपैयाँ राजश्व सङ्कलन
काठमाडौ । व्यास नगरपालिकाले एक महिनाका अवधिमा एक करोड पच्चीस लाख बत्तीस हजार एक सय ४४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गत साउन मसान्तसम्मका अवधिमा आन्तरिक आयबाट उक्त राजस्व सङ्कलन गरेको हो । नगरपालिकाले टोल फ्रि कल सेन्टर, नागरिक सहायता कक्ष, वडा कार्यालयमा यही भदौ १ गतेदेखि सञ्चालन गरिसकेको छ । आर्थिक ऐनले तोकेको दस्तुर बाहेक अन्य फोटोकपी, निवेदन दस्तुर लगायतका सेवा निःशुल्क प्रदान गर्ने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए। सो नगरपालिकाभित्र लिफ्टिङ खानेपानी योजना र सडक बत्तीमा स्थानीय उपभोक्ताबाट भुक्तानी भएको मासिक विद्युत् महसुलको विवरण वडा कार्यालयमार्फत हुने जनाइएको छ । गण्डकी प्रदेश सरकारबाट व्यास–१ स्थित निर्मल माध्यमिक विद्यालयको भवन र प्रयोगशाला निर्माण कार्यक्रमका लागि रु तीन करोड विनियोजन भएको छ । बोलपत्र प्रक्रियाबाट प्रारम्भ हुने योजनाको २०७९ पुस मसान्तभित्र सम्झौता गर्ने गरी प्रक्रिया अघि बढाउने , २०८० जेठ मसान्तभित्र योजनाको मूल्याङ्कन र भुक्तानीको व्यवस्था मिलाउने गरी कार्यतालिका बनाइएको छ ।
एक्शनमा बालेन, अतिक्रमण हटाउन दौडधुप, संरचना हटाउन एकैदिन काठमाडौं मलदेखि कोटेश्वरसम्म
काठमाडौं । काठमाडौँ महानगरपालिकाले नक्सा पास नगरी अवैध रुपमा निर्माण गरिएका संरचना भत्काउने काम सुरु गरेको छ । यसअघि कामपाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको बेवास्ता गरे पनि आजदेखि अवैध संरचना भत्काउन सुरु गरिएको हो । महानगरका मेयर बालेन्द्र साह (बालेन) बुधबार काठमाडौंका विभिन्न ठाउँहरुमा पुगेर संरचना भत्काउनेदेखि संरचना हटाउनका लागि निर्देशन दिने काम गरेका छन् । कामपाभित्र नक्सा पास नगरी वा पास गरिएको नक्साभन्दा विपरीत रहेर निर्माण गरिएको संरचना भत्काइएको साहको सचिवालय सदस्य सुनील लम्सालले जानकारी दिए । उक्त काम सुरु गरेसँगै आगामी दिनमा २५ प्रतिशत पार्किङको समस्या समाधान हुने कामपाले विश्वास लिएको छ । सुन्धारास्थित काठमाडौँ मलको अनधिकृत रुपमा बनाइएको संरचनामा आज डोजर लगाएर भत्काएको छ । त्यसैगरी प्रमुख साहको उपस्तिथिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ भने आज नै दरबार मार्गमा केही त्यस्ता संरचना भत्काइने कामपाले जानकारी दिएको छ । त्यस्तै कामपाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पनि पत्राचार गरेको छ । यसअघि नयाँ बानेश्वर क्षेत्रमा पार्किङका लागि बनाइएको स्थानमा राखिएका पसलसमेत हटाइएको स्मरण गराउँदै लम्सालले भने, ‘अब विगतमा झै मनोमानी चल्दैन यस कार्य नियमित रुपमा जानेछन् ।’ आजै महानगरले खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा डोजर लगाएको थियो । त्यस लगत्तै महानगरले दरबारमार्गमा लन्डन पब र मात्सुरी टोक्यो क्याफेको सामान हटाएको हो । दरबारमार्गमा पुगेका मेयर बालेनले बुधबार र बिहीबारसम्म सामान हटाउन व्यापारीहरुलाई निर्देशन दिएका पनि छन् । यस्तै, मेयर बालेनले कोटेश्वर क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन पनि सुरु गरेका छन् । कोटेश्वर क्षेत्रमा फुटपाथ ओगटेर व्यापार–व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुको सामान हटाउने, जफत गर्ने काम महानगर प्रहरीले गरेको हो । काठमाडौंको फुटपाथ, पुल लगायतका क्षेत्रमा व्यापार–व्यवसाय सञ्चालन गर्दा पैदलयात्रुहरुलाई हिँड्न गाह्रो भएको भन्दै महानगरले फुटपाथ व्यवसायीलाई हटाएको हो । यसअघि फुटपाथ व्यवयसाय सञ्चालनमा रोक लगाएपछि फुटपाथ व्यवसायीहरुले मेयर साहविरुद्ध काठमाडौं महानगरपालिका कार्यालय अगाडि नाराबाजी समेत गरेका थिए ।
राति जथाभावी फोहर फाल्नेलाई सिसी टिभी हेरेर कारबाही गर्छौं : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकामा रातको समयमा जथाभावी फोहर फाल्नेलाई सिसी क्यामराको श्रव्यदृष्य हेरेर कारबाही गर्ने बताएका छन् । नेपाल प्रहरीको आयोजनामा आज काठमाडौंमा भएको उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अहिले उपत्यकामा रहेको फोहरको पूर्ण व्यवस्थापन लगत्तै ट्राफिक प्रहरीको समन्वयमा सिसी टिभी हेरेर जथाभावी फोहर फाल्ने व्यक्तिलाई कारबाही गरिने बताए । विशेष गरी रातको समयमा यसरी जथाभावी रूपमा फोहर फालिने गरिएको छ । उनले उपत्यकाको सिसी टिभी क्यामराका लागि महानगरले बजेटसमेत व्यवस्थापन गरेको पनि जानकारी दिए । नेपाल प्रहरीले उपत्यकामा हाल पाँच हजार सिसी क्यामरा रहेको र यहाँको शान्ति सुरक्षा चुस्त बनाउन र अपराध नियन्त्रणमा २५ हजार सिसी क्यामरा चाहिने जनाएको छ । प्रमुख साहले नेपाल प्रहरीसँग सहकार्य गरेर भवन जुन प्रयोजनका लागि नक्सा पास भएको छ, त्यही प्रयोजनमा ल्याउनका लागि प्रयास थालिएको पनि जानकारी दिए । उनले पार्किङको लागि बनाइएको क्षेत्रमा पसल, व्यवसाय सञ्चालन गरिएको ठाउँमा हटाउने कार्यमा प्रहरीसँग सहकार्यमा काम भइरहेको बताए । रासस