मेलम्चीमा गैरकानुनी रुपमा निर्मित संरचना हटाउन निर्देशन
सिन्धुपाल्चोक । गैरकानुनी रुपमा बनेका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन दिँदै मेलम्ची नगरपालिकाले बजार अनुगमन गरेको छ । घर अगाडि बनाइएका भञ्याङ, व्यापारिक प्रयोजनका लागि हालिएका पालि तथा अन्य संरचना हटाउन निर्देशन दिइएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिए । जिल्लाको पश्चिमी भेगको सबैभन्दा ठूलो बजार हो मेलम्ची । मेलम्ची घुम्न दैनिक सयौँ पर्यटक पनि आउने गरेका छन् । पर्यटकलाई आकर्षित बनाउन र सफा, सुन्दर अनि सुरक्षित बजार निमार्णका लागि यस्ता संरचना हटाउन आग्रह गरिएको नगर प्रमुख तामाङले बताए । व्यवस्थित बजार बनाउन बजारवासी, उपभोक्ता र स्थानीय सरकारको भूमिका उत्तिकै महत्वपूर्ण हुने भन्दै पैदलयात्रु हिँड्ने बाटो मिचेर पसल राख्ने, जथाभावी टहरा बनाउँदा बजार अव्यस्थित तथा कुरुप बन्दै गएको स्थानीयवासीले बताएका छन् । नगर प्रमुख तामाङसहित उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, मेलम्ची–११ वडाध्यक्ष चन्द्रबहादुर तामाङ, बजार व्यवस्थापन तथा अनुगमन समितिका संयोजक एवं मेलम्ची–९ का वडाध्यक्ष किरणदीप खड्का, मेलम्ची नगर उद्योग वाणिज्य सङ्घ, लायन्स क्लब अफ लगायतका स्थानीय जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा बजार अनुगमन गरिएको थियो । मेलम्ची बजारमा नगरपालिकाका बासिन्दाबाहेक पाँचपोखरी, हेलम्बु, इन्द्रावती गाउँपालिकाका र नुवाकोटका नागरिक किनमेलका लागि आउँछन् । बजारमा व्यवस्थित पार्किङ, सार्वजनिक शौचालय अभाव, पिउने पानीको समेत व्यवस्था नहुँदा सर्वसाधारणले भने सास्ती खेप्न परेको छ । मुख्य बजारमा यी संरचना भइदियोस् भन्ने उपभोक्ताको चाहना पनि छ । अहिले नगरपालिकाले गैरकानुनी रुपमा निर्माण गरिएका संरचना हटाउने, जथाभावी फोहर फाल्न नदिने, बजारमा अस्तव्यस्त पार्किङ गर्न नपाइने भनेर सूचना निकालेको छ । नगरपालिकाको यो निर्णयको बजारवासीले स्वागत गरेका छन् । नगरपालिकाको गत साउन ४ गतेको बैठकले १५ दिने सूचना जारी गरे पनि अहिलेसम्म कसैले पनि यस्ता संरचना हटाएका छैनन् ।
अब ललितपुर महानगरको कार्यालय अगाडि पार्किङ गर्न पैसा नलाग्ने
काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो कार्यालय अगाडीको पार्किङ स्थल नि:शुल्क बनाएको छ । महानगरले बुधबारबाट लागु हुने गरी कार्यलय अगाडीको पार्किङ स्थल नि:शुल्क बनाएको हो । महानगरको कार्यपालिका बैठकले पुल्चोकस्थित कार्यालयअघि सडक किनाराको पार्किङ शुल्क हटाउने निर्णय गरेको हो ।
मध्यपुर थिमिले मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउन निकाल्यो ३५ दिने सूचना
काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ पसल हटाउन ३५ दिने सूचना जारी गरेको छ । नगरपालिकाले सडकहरु अतिक्रमण भएका संरचना र फुटपाथ पसल हटाउन ३५ दिने सूचना जारी गरेको हो । नगरपालिकाले आफ्नो क्षेत्रभित्रको अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरू र नगरका अन्य भित्री सडकहरू तथा क्षेत्रमा मापदण्ड विपरित सार्वजनिक बाटो, सडक, जग्गा अतिक्रमण गरी विभिन्न संरचनाहरू निर्माण गर्ने, आवागमनमा अवरोध पुग्ने गरी सामग्री राख्ने, अव्यवस्थित रूपमा सवारी पार्किङ गर्ने र सडक फुटपाथमा व्यापार व्यवसाय गरी आवागमन अवरूद्ध बनाउने कार्य गरेको देखिएकोले सार्वजनिक सूचना जारी गरेको जनाएको छ । नगरपालिकाले ३५ दिनभित्र संरचना नहटाए स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम र प्रचलित कानुन बमोजिम कारवाही गरिने बताएको छ ।