अग्रता कायम गर्दै बालेन, कटाए १० हजार मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २४ हजार ७०० मतगणना हुँदा स्वतन्त्र उमेदवार शाहले १० हजार २४१ मत प्राप्त गरेका छन् । यस्तै एमालेका केशव स्थापितले ५ हजार ४५३ मत प्राप्त गरेका छन् भने कांग्रेस उमेदवार सिर्जना सिंहले ४ हजार ७४२ मत प्राप्त गरेकी छिन् ।

ललितपुरकाे महाँकालमा कांग्रेसका गणेश केसी विजयी

ललितपुर । महाँकाल गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश केसी विजयी भएका छन् । गाउँपालिका उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का डोल्मामाया गोले विजयी भएकी छिन् । गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा वडा नं १ मा रामप्रसाद घिमिरे, २ मा जोनी न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा कृष्णप्रसाद तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र वडा नं ६ मा विनोद चौरेल विजयी भएका छन् ।

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेको काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए । यसैगरी उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्मेद्वार बनेकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६६५ मत प्राप्त गरी विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गरेकी थिइन् ।