दक्षिणकालीमा प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

काठमाडौं । दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका हुन् । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए । उनले सात हजार २०१ मत प्राप्त गरेकाे नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिए । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्यले पाँच हजार १९२ मत पाए । नगर उपप्रमुखमा पनि कांग्रेसकै वसन्ती डङ्गोल तामाङ विजयी भएकी छिन् । उनी पनि यसअघिको निर्वाचनमा उपप्रमुख पदमा विजयी भएका थिइन् । उपप्रमुख तामाङले सात हजार ६२३ मत पाउनुभएको नगर निर्वाचन कार्यालयले जनाएको छ । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले चार हजार ८३० मत पाएका छन् । नौ वटा वडा रहेको नगरपालिकाको छ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ । कांग्रेसले २, ४, ५, ६, ८ र ९ नं. वडाका वडा अध्यक्ष विजयी गराउन सफल भएको छ । वडा नं १, ३ र ७ मा भने एमालेका वडा अध्यक्ष विजयी भएका छन् । नगरपालिकामा १७ हजार ९१६ मतदाता छन् । वैशाख ३० गतेको निर्वाचनमा १४ हजार ४८८ मत खसेको थियो । यो कुल मतदाताको ८०.८७ प्रतिशत भएको नगर निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

मुगु जिल्लाको वडाध्यक्षमा पहिलोपटक महिला निर्वाचित

काठमाडौं । मुगु जिल्लामै पहिलोपटक वडाध्यक्षमा महिला निर्वाचित भएकी छिन् । मुगु जिल्लाकै इतिहासमा पहिलोपटक वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार बनेकी कुन्जुमा कुमाई निर्वाचित भएकी हुन् । मुगुस्थित छायाँनाथ रारा नगरपालिका–ं ११ को वडाध्यक्षमा कुमाई निर्वाचित भएका हुन् ।  

पौवादुङमा गाउँपालिका अध्यक्ष किरण र उपाध्यक्षमा ज्योत्सना राई निर्वाचित

काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा एमालेका किरण राई र उपाध्यक्षमा ज्योत्सना राई निर्वाचित भएका हुन् । दुई हजार ४९९ मतसहित निर्वाचित भएका किरण राइका निकटतम प्रतिस्प्रर्धी माओवादी केन्द्रका नगेन्द्र भुजेलले एक हजार ६८८ मत ल्याएका थिए । यस्तै, दुई हजार ४ सय ६ मत ल्याएर उपाध्यक्ष निर्वाचित भएकी ज्योत्सना राईको निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले एक हजार ७६९ मत ल्याएकी थिइन् ।