भरतपुरमा रेनुको अग्रता कायमै

चितवन । भरतपुर महानगरपालिकाको जारी मतगणनामा पाँच दलीय गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । पाँच दलीय गठबन्धनबाट प्रमुख पदको उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र) की रेनु दाहालले छ हजार २०७ मतका साथ अग्रता लिएकी हुन् । नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले छ हजार ११५ मतका साथ उनलाई पच्छ्याइरहेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २२ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले सात हजार ५५८ र राप्रपाका हिमला गुरुङले पाँच हजार १० मत प्राप्त गरेका छन् । भरतपुर महानगरपालिका–५ को एक हजार ३१७ मत गणना हुँदा वडाध्यक्षमा गठबन्धनका युद्धप्रसाद श्रेष्ठले ५७८ मत र नेकपा एमालेका पदमपाणि सुवेदीले ५७२ मत प्राप्त गरेका छन् । यसअघि महानगरको वडा नं १, २ र ४ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ भने वडा नं ३ मा नेकपा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडी र इच्छाकामना बाहेकका चार पालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै छ ।

रुपन्देहीको तिलोत्तमाको मतगणना स्थगित

रुपन्देही । यहाँको तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो । तिलोत्तमा नगरपालिकामा रहेको यातायात कार्यालयमा भएको वडा नम्बर १६ र २ को मतगणना रोकिएको हो । मतगणनापछि सङ्ख्या टिपोट गर्ने क्रममा गणक र पार्टी प्रतिनिधिबीच मत सङ्ख्यामा फरक पर्न गएकाले वास्तविक तथ्याङ्क हेरेर गणना अगाडि बढाइने सहमति भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले बताए । अहिले मतगणनास्थल बाहिर कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

भिमाद नगरपालिमाको प्रमुखमा दधिराज र उपप्रमुखमा शारदा निर्वाचित

काठमाडौं । तनहुँको भिमाद नगरपालिमा प्रमुख र उपप्रमुख नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारहरु निर्वाचित भएका छन् । प्रमुख पदमा दधिराज सुवेदी र उपप्रमुखमा शारदा खनाल निर्वाचित भएकी हुन् । सुवेदीले उनले ८ हजार १ सय २८ मत प्राप्त गरे नगर प्रमुख पदमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाल नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का उम्मेदवार काजीमान श्रेष्ठले ५ हजार ८५७ मत ल्याई दोस्रो स्थान लिन सफल भए । यस्तै, खनालले ७ हजार ६ सय ६७ मत प्राप्त उपप्रमुखमा निर्वाचित भएकी छिन् । कांग्रेसका मिलन आले ७ हजार २ सय ५ मत प्राप्त गर्दै दोस्रो भए ।