सोचे जस्तो काम नबन्दा असफल भइयो कि भन्ने महशुस हुन्छः अध्यक्ष गुरुङ
धार्चे गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा पर्छ । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै भौगोलिक तथा सांस्कृतिक रूपमा पनि विविधतायुक्त छ । यो गाउँपालिकाका अध्यक्ष हुन् सन्त बहादुर गुरूङ । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पुरा भएको छ । उक्त अवधिभर गाउँपालिकाले शिक्षा, स्वास्थ्य, पूर्वाधारलाई प्राथमिकतामा राखेर विकास निर्माणका योजना अगाडि बढाइरहेको उनी बताउँछन् । तर, उनको योजना अनुसारको काम नभएको कारण उनी आफैदेखि असन्तुष्ट छन् । उनै गुरूङसँग जनप्रतिनिधिका रूपमा चार वर्षसम्म काम गर्दाको अनुभव, सामाजिक रूपान्तरण, विकास निर्माण गतिविधि, पालिकाको आर्थिक विकासको रणनीति, आगामी योजना लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । गाउँपालिकाको अध्यक्ष भएपछिको सुरुवाती दिनलाई कसरी सम्झनुहुन्छ ? हामी निर्वाचित हुँदै गर्दा घोषणा पत्र अनुसार मतदातालाई पाँच वर्षभित्र यो-यो काम गर्न सक्छौं भनेर विश्वास दिलाएका थियौं । जनतामाझ भोट माग्न जाँदा घोषणापत्र लिएर गाएका थियौं । गाउँपालिका आवश्यकता र समसामयिक विषयहरूलाई घोषणापत्रमा उल्लेख गरेका थियौं । हाम्रो घोषणापत्र रुचाएर जनताले गाउँपालिको विकास र समृद्ध बनाउने जिम्मा दिनुभयो । निर्वाचित पश्चात् हामीले पालिकामा विकाको गतिलाई तीव्रता दियौं । समस्या नै समस्याको बिचबाट हामीले विकास निर्माण, भौतिक संरचना तथा नागरिकका आवश्यकतालाई सम्वोधन गर्दै अगाडि बढ्यौं । हामीले जुन लक्ष्य तथा योजना लिएर अगाडि बढेका थियौं, त्यो काम बन्न नसक्दा अलि असन्तुष्ट छु । कोभिड-१९, बाढी-पहिरो लगायका प्राकृतिक विपद जस्ता कारणले हाम्रो योजना अनुरुपका काम गर्न सकेनौं । संघ र प्रदेश सरकारको कार्यविधि समयमा नै उपलब्ध नभएको र उपलब्ध भएको प्रतिवेदन स्पष्ट नभएको कारण अन्योल सिर्जना भयो । हाम्रो पालिका दुर्गम भएको कारणले गर्दा दक्ष कर्मचारी आउन नचाहने, आएको कर्मचारी समयावधि भर नबस्ने जस्ता कारणले पनि सोचेको जस्तो काम हनु सकेको छैन । चुनावी बाचा कति पुरा गर्नु भयो ? चुनावी बाचा लगभग पुरा भयो । हामी लिखित प्रतिविद्धताका साथ जनतामाझ गएका थियौं । हामीले चुनाव अघि विद्युत, खानेपानी, सडक, सिचाइको सुविधा, कृषिलाई उत्पादन मूलक, स्वास्थ्य सेवा प्रत्येक वडामा पुर्याउने, शैक्षिक क्षेत्रको विकास गर्ने भनेका थियौं । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्छौं भनेका थियौं । हामीले भोट माग्न जाँदा सबै वडाको बिचमा गाउँपालिकाको प्रशासनिक भवनको निर्माण गर्छौं भनेका थियौं । केही समय भवन निर्माणको लागि जग्गा नभएको र केही विवादको कारण निर्माण कार्य अन्योलमा थियो । हाल गाउँपालिकाको प्रशासनिक भवन पनि निर्माणको क्रममा छ । उक्त भवन ८ करोड रुपैयाँको लगानीमा निर्माण हुँदै छ । केही काम वाहेक हामीले चुनावमा गरेका प्रतिबद्धता पुरा गरेका छौं । तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के-के हुन् ? हामी निर्वाचित भएपछि गाउँपालिकाको धेरै कुराहरूमा उपलब्धि भएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लगायतका भौतिक पूर्वाधारको क्षेत्रमा धेरै राम्रो काम गरेको छ । निर्वाचित भएपछिको पहिलो गाउँसभाबाट नै पालिकालाई लोडसेडिङ मुक्त बनाउने निर्णय गरेका थियौं । हाल पालिकामा ११ मेगावाटको जलविद्युतको आयोजना निर्माणाधीन अवस्थामा छ । यसलाई हामीले रेमिट हाइड्रोपावरको नामबाट नामकरण गरेका छौं । उक्त आयोजनाको निर्माण कार्य हाम्रो कार्यकालको अन्तसम्ममा सम्पन्न हुनेछ । यस आयोजनाको निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रसारण लाइन जडान गरिनेछ । पालिकाको ३ ठाउँमा हाइड्रोपावरको काम द्रुत गतिमा अगाडि बढि रहेको छ । बाढी पहिरोका कारण जलविद्युतका आयोजनामा समस्या देखिएको छ । पालिकाको ४ ओटा वडामा बिजुलीको लाइन बिस्तार भइसकेको छ । हाम्रो कार्यकालको अन्तिमसम्ममा पालिका प्रत्येक नागरिक घरमा बिजुली पुर्याउने लक्ष्यका साथ अगाडि बढेका छौं । पालिकाको ७ वटै वडामा इन्टरनेट जडान गरेका छौं । केही ठाउँमा इन्टरनेट जडान गर्ने काम भइरहेको रहेको छ । हामीले गाउँपालिकाको केन्द्रदेखि प्रत्येक वडासम्म सडक सञ्जाल पुर्याउछौं भनेका थियौं । वडा नं. एक वाहेक अन्य सबै वडाको केन्द्रसम्म सडक सञ्जाल पुर्याएका छौं । सडक पुग्न बाँकी रहेको १ नं. वडामा पनि यस वर्ष सडक पुर्याउने लक्ष्य राखेका छौं । हाम्रो साजा शत्रु भनेको गरिबी हो । गरिबीलाई न्यूनीकरण गर्ने र स्वावलम्बी बन्नको लागि युवा लक्षित चुनौती कोषहरू खडा गरी व्यवसायी सञ्जाल पनि बनाएका छौं । पर्यटकीय हिसाबले हाम्रो पालिका निकै महत्वपुर्ण छ । हामीले पर्यटनलाई गाउँपालिकाको समृद्धको मूल आधार मानेका छौं । पर्यटन क्षेत्रको पूर्वाधारका कामहरू पनि भएका छन् । स्वास्थ्य र शैक्षिक क्षेत्रमा कस्ता कामहरू भएका छन् नी ? स्वास्थ्यको सवालमा हामीले पालिकाको प्रत्येक वडामा स्वास्थ्य सेवा उपलब्ध गराएका छौं । १५ शैयाको अस्पताल निर्माण गर्दैछौं । नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याएका छौं । स्वास्थ्य संस्थाको सुदृढिकरण गरी त्यहाँको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने काम समेत भएको छ । २ वटा वडा वाहेक पालिकाको प्रत्यके वडामा प्रजनन् केन्द्र समेत रहेका छन् । पालिकाले गर्भवती महिलाहरूलाई पनि सहयोग गर्दै आएको छ । महिला स्वास्थ्य स्वयम् सेविकाहरूलाई पनि सक्रिय अवस्थामा राखेका छौं । गर्भवती महिलाहरूको अवस्थाबारे बुझेको लागि स्वयम् सेविकाहरूलाई ३ महिनामा ५ सय रुपैयाँ रिर्चाज कार्ड पनि उपलब्ध गराएका छौं । हामीले प्लस टु का कक्षाहरू पनि सञ्चालन गरेका छौं । पालिकामा नै ३ वर्षे बन विज्ञानका कक्षा सञ्चालन गर्नको लागि अनुमति लिएका छौं । शिक्षालाई व्यवस्थित गर्न दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्थायी दरबन्दी तथा करार शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं । पालिकाले शैक्षिक गुणस्तरलाई विशेष जोड दिएको छ । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ । चार वर्ष जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव कस्ता रह्यो ? प्रत्येक वडामा एकएक ओटा गौरवशाली आयोजना सम्पन्न गर्ने योजना बनाएका थियौं । त्यो योजनाअनुसार काम गर्न सकेनौं । बजेट थोरै हुन्छ जनकाङक्षा धेरै हन्छ । स–साना विकासका काम त धेरै भएका छन् । तर, सा–सानो कामको नतिजा चाहिँ नदेखिने कारणले गर्दा हाम्रो नेतृत्व असफल रहेको हो कि भने कुराको महशुष गरेका छौं । आगामी दिनका योजना कस्ता छन् ? हामीले सञ्चालन गरेका तर पुरा नभएका अधुरा योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । कृषिलाई व्यवसायीकरण गर्ने सोच बनाएका छौं । सडक धेरै निर्माण नगर्ने भएका सडकलाई स्तारोन्नती गर्ने योजना बनाएका छौं । पर्यटन गाउँपालिका बनाउको लागि भौतिक पूर्वाधार जस्तै संग्राहलय पदमार्ग, बनाउने योजनामा छौं । गाउँपालिका भित्र जनताको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने पनि हाम्रो प्रमुख योजना छ । अन्त्यमा, के भन्न चाहनु हुन्छ ? कोभिडका कारणले हामीले सोचेको जस्तो काम गर्ने सकेनौं । सदैव कोभिड–१९ नहुन सक्छ । अब हामीले आर्थिक क्रान्तीको रूपमा अगाडि बढ्नु पर्छ । राज्यको नेतृत्व र जनताको बुझाई एक ठाउँमा भयो भने विकासले अपेक्षाकृत फड्को मार्न सक्छ । त्यसैले जनता र सरकार एक ठाउँमा भएर विकासको गतिलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु । सदैव सुझाव, सल्लाह र साथ सहयोग गरी सहकार्य गर्नु हुन हार्दिक अनुरोध गर्छु ।
महालक्ष्मी नगरपालिकाले सुरु गर्याे जेष्ठ नागरिककाे स्वास्थ्य परीक्षण
काठमाडौं । महालक्ष्मी नगरपालिकाले जेष्ठ नागरिकका लागि प्रत्येक महिना घरदैलोमै गई स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमको शुभारम्भ गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम बमोजिम ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रमको शुभारम्भ गरेको हो । यस कार्यक्रम अन्तर्गत पालिकाले प्रत्येक महिना ७० वर्ष नाघेका जेष्ठ नागरिकहरुको घरदैलोमै गई स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि वितरण गर्नेछ । बिहीबार नगरपालिकाले ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा यस सेवाको शुभारम्भ गरेको हो । ४० जना ज्येष्ठ नागरिकहरूको मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मीहरूबाट रक्तचाप, मधुमेह, नाडीको गति, अक्सिजन लेभल लगाएतका सामान्य स्वास्थ्य परीक्षण गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको थियो । कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिकहरूलाई खादा र कम्वल वितरण गरी नगर प्रमुख र उपप्रमुखले सम्मान गरेका थिए । यस्तै सो कार्यक्रमा नगरप्रमुख श्रेष्ठले ज्येष्ठ नागरिक समाजको आदरणीय अङ्ग भएकाले सधै सबैले उच्च सम्मान प्रकट गर्नुपर्नेमा बताएका थिए । उक्त कार्यक्रममा नगर उपप्रमुख निर्मला थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य र नगरसभा सदस्यहरू, प्रमुख शिक्षा अधिकृत चिरञ्जीवी पौडेलसहित नगरपालिकाका कर्मचारी ताथ स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।
काभ्रेका छ पालिकामा कोरोना सङ्क्रमणदर शून्य
काभ्रेपलाञ्चोक । यहाँका दुई नगरपालिका र चार गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका छन् । अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि सङ्क्रमणमुक्त हुनेको सङ्ख्या भने बढिरहेको तथ्याङ्कले देखाएको छ । सङ्क्रमणमुक्त हुनेमा मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा चौँरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका छन् । भुम्लु र महाभारत गाउँपालिकामा एक/एक सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डिसीसिएमसी०ले जनाएको छ । केन्द्रका अनुसार पछिल्लोे २४ घण्टामा जिल्लामा ११ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २२ सङ्क्रमणमुक्त भएका हुन् । सोमबार नौ सङ्क्रमित थपिए भने २० सङ्क्रमणमुक्त भएका छन् । चौंरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका भने केही हप्तादेखि सङ्क्रमणमुक्त भएका हुन् । जिल्लामा हाल ७४ सक्रिय सङ्क्रमितमध्ये बनेपामा २६, पाँचखालमा आठ, धुलिखेलमा २२, पनौती नगरपालिकामा छ तथा बेथानचोक गाउँपालिकामा १० सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । केन्द्रअनुसार यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदर भन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो । जिल्लामा हालसम्म १४ हजार ५७० मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । गत भदौ महिनायता नगन्यदरमा सङ्क्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ दशमलव १७ प्रतिशत अर्थात् १४ हजार ३०४ सङ्क्रमणमुक्त भइसकेका छन् । सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले जिल्लामा पछिल्ला केही हप्तादेखि यही असोज ५ गतेसम्म ‘मिक्स लकडाउन’ गर्दै आएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो । रासस