२० वर्षसम्म हुन नसकेको विकास यो ४ बर्षमा भएको छ – गाउँपालिका अध्यक्ष कुर्मी
मायादेवी गाउँपालिका लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लामा पर्छ । यस गाउँपालिकाका अध्यक्ष बजरंगी प्रसाद कुर्मी हुन् । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो अवधिमा सामाजिक, आर्थिक तथा शैक्षिक क्षेत्रमा पालिकाले निक्कै प्रगति गरेको उनी दाबी गर्छन् । भौतिक पूर्वाधार विकाससँगै गाउँवासीलाई आत्मनिर्भर बनाउने नीति लिएको पनि अध्यक्ष कुर्मी बताउँछन् । यसैक्रममा गाउँपालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, त्यहाँ गरिएका विकास निर्माणका काम, सम्भावना, चुनौती लगायत विषयमा केन्द्रित रहेर उनै अध्यक्ष कुर्मीसँग विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : स्थानीय सरकारको नेतृत्व सम्हाल्नुभएको ४ वर्ष पुरा भयो, मायादेवी गाउँपालिकाको मुहार कत्तिको फेरियो होला त ? नयाँ संघीय संरचनाअनुसार स्थानीय तहको चुनाव भएको ४ वर्ष पुरा भएको छ । पालिकाको पहिलाको अवस्था निकै जीर्ण थियो । २० वर्षको समयसम्म जनप्रतिनिधिविहीन भइरहेको अवस्थामा नेपालको संविधान २०७२ मा भएको व्यवस्थाअनुसार प्रथम पटक संघीयताको कार्यान्वयनसँगै स्थानीयतहको चुनावमार्फत हामी पालिकामा निर्वाचित भएर आयौं । निर्वाचित भएर आइसकेपछि संघियताको मर्म र भावनालाई मध्यनजर गर्दै विकास निर्माणको कामहरू अगाडि बढाएका छौं । विगतमा जनताहरूले खेपेको सास्ती अहिले स्थानीय तहको निर्वाचन पछि अन्त्य भइसकेको छ । हाल पालिकाको धेरै क्षेत्रमा सुधार र परिवर्तन आएको छ । जनताको नजिकैको वा नागरिकको घर आँगनको सरकार स्थानीय तह हो । त्यसैले जनताको आवश्यकतालाई मध्यनजर गर्दै अगाडि बढेका छौं । पालिकाले प्रदेश र केन्द्र सरकारसँग मिलेर बहुबर्षी योजनाहरू पनि अगाडि बढाएको छ । कतिपय योजनाहरू निर्माणाधीन अवस्थामा पनि छन् । सडकको कुरा गर्दा पालिकाको प्रत्येक वडामा सडकको पहुँच पुर्याएका छौं । सडकको स्तारोन्न्ती गर्ने तथा कालोपत्रे गर्ने काम पनि भएका छन् । शिक्षा क्षेत्रतर्फ पनि धेरै कामहरू गरेका छौं । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं भने पालिकाको शैक्षिक स्तर धेरै माथि पुगेको छ । हामीले स्वास्थ्य क्षेत्रमा पनि उत्कृष्ट कामहरू गरेका छौं । नागरिकलाई स्वास्थ्य संस्थासम्म जनाको लागि प्रत्येक ठाउँमा एम्बुलेन्सको व्यवस्था गरेका छौं । स्वास्थ्य संस्थाको सुधिरिकरण गरी त्यहाँको सेवा प्रवाहलाई चुस्तदुरुस्त बनाउने काम समेत भएको छ । पालिकाको प्रत्येक वडामा प्रजनन् केन्द्र समेत रहेका छन् । पालिकामा खानेपानीको चरम अभाव थियो । खानेपानीको समस्यालाई समाधान गर्ने प्रदेश र केन्द्र सरकारसँगको साझोदारीमा पालिकाले ‘एक घर एक धारा’ खानेपानी अभियान सञ्चालन गरेको छ । जस अन्तर्गत हामीले हलसम्म धेरैको घरमा खानेपानी पुर्याई सकेका छौं । पालिका सम्पूर्ण नागरिकको घरमा खानेपानी पुर्याउने हाम्रा लक्ष्य छ । हामीले एक मात्र क्षेत्रमा नभई समग्र पालिकाको विकास निर्माणको काममा लागेका छौं । सिचाईका कामहरू पनि अगाडि बढाएका छौं । कृषि क्षेत्रमा कस्तो कामहरू भएका छन् ? कृषि क्षेत्रमा पनि पालिकाकोतर्फबाट धेरै कामहरू भएका छन् । नागरिकको आय आर्जनको मुख्य स्रोत कृषि हो । गाउँपालिकाले कृषिका विभिन्न कार्यक्रमहरू पनि गर्दै आएका छौं । जस अन्तर्गत प्लास्टिकमा तरकारी खेती, व्यवसायिक किसानलाई तालिमहरू दिने, गोष्ठी गर्ने गरेर उहाँहरूलाई कृषिमा उत्प्रेरणा गर्ने र प्रोत्साहित गर्ने पनि गर्दै आएका छौं । किसानहरूको माग अनुसार सेवा गरिरहेका छौं । हाम्रो पालिकाको प्रत्येक वडामा कृषि प्राविधिकहरू हुनुहुन्छ । उहाँहरूले कृषिमा आएको समस्यालाई समाधान गर्न र सेवालाई निरन्तरता दिनको लागि प्राविधिकहरूले हरेक ठाउँमा गएर सेवाहरू दिने गरेका छन् । उनीहरूले कृषिमा लागेका रोगको समाधान गर्ने काम गर्दै आउनु भएको छ । पालिकामा ८९ प्रतिशत नागरिकहरुले कृषि पेशा अँगालेको पाइन्छ । किसानहरूलाई ५० प्रतिशत अनुदानमा बिउ विजन वितरण गर्दै पनि आएका छन् । काम गर्ने क्रममा कस्ता चुनौती भोग्नुभयो र यसको सामना कसरी गर्नु भयो ? स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । यो भनेको जनप्रतिनिधिमूलक संस्था भएकाले यहाँ, राजनैतिक विषय जस्ता अन्य विषय पनि आउन सक्छन् । चुनौतीलाई समाधान गरी नै हामी अगाडि बढेका छौं । चुनौती आयो भनेर दबाउने होइन, कसरी यसलाई समाधान गर्ने र सरलीकृत तरीकाले अगाडि बढेका छौं । चुनैतिको समाधान गरी पालिकामा विकास निर्माणको कामलाई तीव्रता दिएका छौं । हामी गाउँगाउँमा पुगरे स्थानीय तहको अनुभूति नागरिकलाई दिन सफल भएका छौं । अहिलेसम्मको काम गराईबाट सन्तुष्ट हुनुहुन्छ ? हामी त अहिलेसम्मको काम गराईबाट सन्तुष्ट नै छौं । पालिकामा भएका विकास निर्माण पनि उपलब्धि मूलक नै छन् । ३० वर्षसम्म नभएका विकास यो ४ सालमा भएको छ । स्रोत साधनाको भरपुर उपयोग गरी पालिकाको विकास निर्माणको काम गरेका छौं । म मात्र नभई हाम्रो कामबाट पालिकाको नागरिकहरू पनि खुसी र सन्तुष्ट हुनुहुन्छ भन्ने आशा छ । हामीले सिंहदरवारको अधिकार नागरिकको घरघरमा पुर्याएका छौं । चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ? स्थानीय तहको संरचना बनि सकेपछि चुनावको बेला घोषणापत्र लिएर नागरिकको घर आगनमा गएका थियौं । यो ५ वर्षको अवधिमा गर्न सक्ने कामकोहरु घोषपत्रमा उल्लेख गरेको थियौं । त्यही अनुरुप नै पालिकामा विकास कामहरू अगाडि बढाएका छौं । चुनावी प्रतिबद्धता पूरा गर्न हामी सदैव लागिरहेका छौं । निर्वाचनमा जनतामाझ गरिएका ८० प्रतिशत प्रतिबद्धता पूरा गरेका छौं । नयाँ कार्यहरू पनि गरेका छौं । समग्रमा हामीले आफ्नो स्रोत र साधनले भ्याएसम्मको सबै कार्य गरेका छौं । पालिका भएको विकास निर्माणको काममा उत्कृष्ट नै छ । २० वर्षसम्म हुन नसकेको विकास यो ४ बर्ष भित्रमा भएका छ् । आगामी दिनका योजना कस्ता छन् ? हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । गाउँपालिका भित्र जनताको जीवनस्तर उकास्न आयआर्जनमूलक कार्यक्रम सञ्चालन गर्ने पनि हाम्रो प्रमुख योजना छ । कोभिडको रोकथाम र नियन्त्रणको लागि गाउँपालिकाकोतर्फबाट कस्तो प्रयासहरू भएका छन् ? यस महामारीको रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम पनि चालेका छौं । गाउँपालिकाले जब कोरोना संक्रमणको दोस्रो लहर सुरुभयो, लगत्तै हामीले क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनदेखि नगारिकहरुलाई यातायातको व्यवस्थासँगै जनचेतनाका कार्यक्रम गर्यौं । स्वास्थ्य क्षेत्रमा केही पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापन गरेसँगै कोरोना अस्पताल सञ्चालनमा ल्याएका छौं । कोरोनाको दोस्रो लहर पालिकामा फैलिएसँगै हामी कोरोना रोकथाम र नियन्त्रण गर्नको लागि अहोरात्र खटेर काम गर्यौं । पहिलाको तुलनामा पालिकामा संक्रमण दर घटे पनि संक्रमण बढ्न सक्ने जोखिम भने उच्च नै छ । पालिकामा सबैको सहयोगमा कोरोना रोकथाम र नियन्त्रण गर्न सकिएको छ । पालिकामा हालसम्म २ सय भन्दा बढिमा संक्रमणको पुष्टि भएको छ । अब, अन्त्यमा के भन्न चाहनुहुन्छ ? विकास निर्माणको व्यापक कामहरु गरेर नागरिकलाई समृद्ध बनाउन हामी लागि परेका छौं । सुन्दर र समृद्ध गाउँपालिका निर्माण गर्न जनप्रतिनिधिको सक्रियतासँगै आम नागरिकको साथ र सहयोग पनि उत्तिकै आवश्यक छ । हामी नागरिकको सेवाका लागि सधैं तत्पर छौं ।
एक दिनको लागि १६ वर्षीय किशोरी बनिन् गाउँपालिकाकाे अध्यक्ष
काठमाडौं । मोरङ जिल्लाको बुढीगंगा गाउँपालिकामा एक दिनको लागि १६ वर्षीय किशोरी अध्यक्ष बनेकी छन् । गाउँपालिकाले ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा सुस्मिता ऋषिदेवलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिएको हो । राष्ट्रिय बाल दिवसको उपलक्ष्यमा ऋषिदेवलाई एक दिने गाउँपालिका अध्यक्ष बनाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्मरुबल्लभ बरालले जानकारी दिए । ऋषिदेवले ११ बजे कार्यभार सम्हालेकी हुन् । उनले आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका अध्यक्षले गर्ने सबै काम गर्न पाउनेछिन् । १६ वर्षीय ऋषिदेवले आज पालिकाको स्वास्थ्य संस्था र विद्यालयहरू अनुगम गरी रहेको पनि अधिकृत बरालले बताए । गाउँपालिकाले अझै २ देखि ३ ओटा महत्वपुर्ण निर्णय गरी बालबालिकाको क्षमता अभिवृद्धि गर्नको लागि कोष खडा गरेर ५० हजार रुपैयाँ बजेट पनि विनियोजन गरेको बरालले जानकारी दिए । बालबालिकाको क्षमता अभिवृद्धि गर्न र गाउँपालिकाको भइरहेका गतिविधि बारे उनीहरूलाई राम्रो जानकारी दिन यस्ताे कार्यक्रम गरिएकाे अधिकृत बराल बताउँछन् ।
‘व्यवसायी बन्न चाहने युवाका लागि ऋणको व्यवस्था गरेका छौं, तर ऋण चाहियो भनेर कोही आएका छैनन्’
शान्तिनगर गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको पश्चिमी उत्तरतर्फ पर्दछ । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, सांस्कृतिक एवं पर्यटन लगायतका पक्षमा निक्कै धनी छ । यस गाउँपालिकाका अध्यक्ष हुन् कमानसिंह डाँगी । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि गाउँपालिकाको स्वरुप नै परिवर्तन हुँदै गएको छ । गाउँपालिका समृद्धिको अभियानमा लागी परेको छ । भौतिक पूर्वाधारका दृष्टिकोणले पनि नमुना काम गर्दै गाउँपालिका अगाडि बढिरहेको छ । उनै अध्यक्ष डाँगीसँग गाउँपालिकाले हालसम्म गरेका उपलब्धि, विकास निर्माणको काम र भावी योजनाबारे विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार : तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के–के हुन् ? हामी निर्वाचित भएपछि पालिकामा धेरै कुराहरूमा उपलब्धि भएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लगायतका भौतिक पूर्वाधारको क्षेत्रमा धेरै राम्रो काम गरेको छ । हामी निर्वाचित हुनुभन्दा अघि पालिकामा ३ ओटामात्र स्वास्थ्यचौकी थियो । हाल हामीले पालिकाको प्रत्यके वडामा स्वास्थ्यचौकीको स्थापना गरी नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचसम्म पुर्याएका छौं । हामी निर्वाचित भएर आउने बेलामा वडा कार्यालयसम्म मात्र सडक पुगेको थियो । हाल हामीले पालिकाको प्रत्येक टोलमा सडक संजाल पुर्याएका छौं । पालिकाले सडक विस्तारलाई मुख्य प्राथमिकतामा राखी पिच गर्ने र स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । प्रत्येक वडाका सडकलाई पिच गर्ने कामको पनि सुरुवात गरेका छौं । हामीले पालिकामा पहिलो वर्ष नै गरिब तथा विपन्न परिवारलाई लक्षित गरी खरको छानोमुक्त अभियान सञ्चालन गरेका थियौं । उक्त अभियान अन्तर्गत पहिलो वर्ष एक सय २२ घरलाई जस्तापाता उपलब्ध गराइएका थियौं । केही समय महामारीका कारण यो कार्यक्रम स्थगित भयो तर, यो अभियानलाई पालिकामा हाल निरन्तरता दिइरहेका छौं । पालिकामा खानेपानी, सिचाई सम्बन्धी काम पनि भएको छ । शिक्षा क्षेत्रतर्फको कुरा गर्दा हामीले पालिकाको प्रत्येक विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालन गरी पठन पाठनको सुरु गरेका छौं । पालिकाले गुणस्तरीय शिक्षालाई विशेष जोड दिँदै आएको छ । गाउँपालिकामा कृषि क्षेत्रतर्फ कस्तो कामहरू भएका छन् नी ? गाउँपालिकाले कृषि क्षेत्रमा पनि धेरै काम गरेको छ । नागरिकको आय आर्जनको मुख्य स्रोत कृषि हो । यहाँका ८२ प्रतिशत नागरिकहरुले कृषि पेसा अँगालेका छन् । गाउँपालिकामा जीवन निर्वाहका लागिमात्र नभई आफ्नो घरायसी आवश्यकताको परिपूर्ति गर्न र अतिरिक्त आयआर्जन गर्नका लागि कृषकले पशुपालन गर्ने गरेको पाइन्छ । कृषिलाई व्यवसायीकरण गर्न पनि पालिकाले किसानहरुलाई आग्रह गरेको छ । हामी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नतर्फ पनि लागेका छौं । कृषि पेसा गर्ने कृषकहरुलाई पालिकाले प्रोत्साहन पनि गर्दै आएको छ । हामीले पालिकालाई ३ ओटा खण्डमा विभाजन गरी कृषिका कामहरू अगाडि बढाएका छौं । जस्तै, पालिकाको माथिल्लो भेगलाई बाख्रा, बिचलाई भैंसी र दक्षिणी भेगलाई गाई पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । गाउँपालिकाले २५ ओटा गाई ५० प्रतिशत अनुदानमा किसानहरूलाई वितरण गरेको छ भने कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको असर पालिकामा पर्यो । यस महामारीबाट पालिका पनि अछुतो रहन सकेन । यस महामारीबाट बच्नको लागि जनचेतना जगाउने, मास्क र स्यानिटाइजर वितरण गर्ने गर्नुका साथै साबुनपानीले हातधुने कार्यमा जागरण ल्याउने काम पनि गरेका छौं । परीक्षण देखि क्वारेन्टिन व्यवस्थापन गर्नमा पनि पालिकाले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । पालिकामा संक्रमितको संख्या बढ्दै जाँदा कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएका छौं । कोरोना भाइरसबाट यहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिकाले ठुलो पहल गरेको छ । परीक्षण गर्दा पालिकामा हालसम्म लगभग १ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिडका कारण पालिकाका ५ नागरिकहरूलाई गुमाएका छौं । स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के–कस्ता चुनौती र समस्या आए त ? स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । सुरुमा सघीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । केही समयसम्म योजना सञ्चालन गर्न पनि अप्ठ्यारो भयो । हाल हामीलेस्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति,नियम र कानुनहरू बनाई स्थानीय सरकारका अधिकारका क्षेत्र प्रष्ट पारिसकेका छौं । गाउँपालिकाले दरबन्दी सिर्जना कर्मचारीहरू पनि राखेको छ । चुनौतीहरूलाई चिर्दै गाउँपालिकाको विकासको गतिलाई अगाडि बढाएका छौं । चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ? जनताको आवश्यकता धेरै छन् । हामीले पनि जनताको आवश्यकता अनुसार नै काम गरी रहेका छौं । हामीले यहाँका समसामयिक विषयलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । हाम्रो घोषणापत्रलाई रुचाएर जनताहरूले हामीलाई गाउँपालिकाको विकास र समृद्धिको जिम्मा दिनुभएको थियो । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । हाम्रो पहिलो प्राथमिकता भनेको सुशासन कायम गर्नु थियो । जसलाई हामीले केही महिनामै पूरा गरेका थियौं । हाल हामीले यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत समग्र क्षेत्रको विकास गरेका छौं । चुनावी वाचा त लगभग पूरा गरिसकेका छौं । केही पूरा गर्न पनि बाँकी पनि छन् । पूरा गर्न बाँकी भएका कुराहरूको सम्भाव्यता अध्ययन भइसकेको छ । तर, सबै बोलेका कुरा पुरा गर्न सकिँदैन । चार वर्ष जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव कस्तो रह्यो ? जनताको सेवा गर्न पाउँदा म निकै खुसी छु । जनताको सेवा गर्नको लागि म सदैव तत्पर रहनेछु । त्यस कारणले पनि जनताले मलाई अगाडि बढाउनु भएको हो भन्ने मलाई लाग्छ । हामी जुन उत्साहका साथ निर्वाचित भयौं । त्यसपश्चात जनताका अपेक्षा र चाहनालाई क्रमबद्ध ढंगले पूरा गर्ने कोसिस गरिरहेका छौं । त्यसैले म मात्र नभई नागरिक पनि सन्तुष्ट हुनुहुन्छ भन्ने आशा गरेको छु । संघ तथा प्रदेश सरकारसँग स्थानीय तहको समन्वय कस्तो रह्यो ? फरक पार्टीको नेतृत्व भएर होला संघ र प्रदेश सरकारसँग त्यति राम्रो समन्वय हुन सकेन । कहिलेकाहिँ प्रदेशको गोष्ठी सेमिनारमा गइयो तर, प्रदेशको मन्त्रालय कुन ठाउँमा कुन घरमा छ भन्ने कुरा पनि मलाई थाहा छैन । आफूले जानेअनुसार अनि भ्याएअनुसार समन्वय गरेर नै अगाडी बढिरहेका छौं । प्रदेशका मान्छेसँग चिनेकै भरमा पालिकामा बजेट आउने गरेको छ । संघ र प्रदेशबाट धेरै बजेट आएन, निर्देशन मात्र आयो । स्थानीय नागरिकहरूबाट विकासका कस्ता मागहरू आउने गरेका छन्, नागरिकका मागहरूलाई कसरी सम्बोधन गर्ने गर्नुभएको छ ? गाउँपालिकाबाट जनताले धेरै कुराको अपेक्षा राखेका छन् । टोलटोलमा सडक त पुग्यो तर कालोपत्रे, स्तरोन्नती भए हुन्थ्यो भने कुरा देखिन्छ । भौतिक पूर्वाधारसम्बन्धी धेरै चाहना हुन्छ । जनताका विकासमा माग र आवश्यकता असीमित छन्, हामीले पनि पुरा गर्ने कोसिस गरिरहेका छौ । हामी जनताबाटै निर्वाचित भएर आएका हौं । त्यसैले सीमित स्रोत र साधका बाबजुद पनि जनतको अधिकांश आवश्यकताहरू पुरा गरेका छौं । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । पालिकामा भएको बजेटबाट स्थानीबासिको मागलाई सम्बोधन गर्ने गरेका छौं ।सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नुभएको छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई जनताको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । हाम्रो कार्यकालको अन्तिमसम्म हामीले सञ्चालन गरेको योजनाहरू पुरा गर्ने लक्ष्य छ । कृषि र पशुपालन क्षेत्रको विकास गर्ने हो । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने योजना समेत बनाएका छौं । विकास निर्माणको कामलाई तीव्रता दिने हो । सिंहदरबारको अधिकार गाउँमा महसुस गर्न पाए त नागरिकले ? हामी शुसासनको लागि प्रतिबद्ध छौं । नागरिकले भन्ने ठाउँ हामीले दिएका छैनौं । काम गर्ने क्रममा कमी कमजोरी सबैबाट हुन्छ । तर, पनि नागरिकलाई हामीले सन्तुष्ट बनाएकै छौं जस्तो लाग्छ । स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ? यहाँका धेरैजसो युवा कृषि पेसामा आवद्ध छन् । कृषि पेसामा आधारित भएर युवाहरू स्वरोजगार बनि रहेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । हामीले पालिकाको प्रत्येक वडामा एकसय जनासम्मको श्रमिक बैंक सञ्चालन गरेका छौं । जुनसुकै विकास निर्माणको काम भएपनि श्रमिक बैंक सूचीकृत भएका युवाहरुलाई मात्र काममा लगाउने भनेर हामीले अभियानको रुपमानै सञ्चालन गरेका छौं । तर, यो काम भएको छैन । खालि समयमा यहाँको युवाहरू कामको खेजिमा भारत जान्छन् । हामीले व्यवसायिक बन्न चााहने युवाहरूको लागि सामान्य ऋणको पनि व्यवस्था गरेका छौं । तर, व्यावसायिक बन्छु ऋण चाहियो भनेर हालसम्म युवाहरू आएका छैनन् । पालिकामा विभिन्न युवा स्वरोजगारका कार्यक्रमहरू रहेको छ । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेसामा संलग्न छन् भने हामीले पनि युवालाई कृषि क्षेत्रमा जोडिन आग्रह गरेका छौं । अब, अन्त्यमा पालिकावासीलाई के भन्न चाहनुहुन्छ ? हामीले गरेको कामबाट नागरिकहरू असन्तुष्ट हुनुहुन्छ भने मलाई भन्न सक्नुहुन्छ र मैले गर्नसक्ने काम अझै पनि गर्छु । नागरिकहरूले आफ्नो समस्या हामीसँग खुलस्त राख्नुहुन अनुरोध गर्दछु । सकेसम्म नागरिकका आवश्यकता पुरा गर्नेछौं । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि पालिकावासीसँग अनुरोध गर्छु ।